साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
प्रिय बहिनी स्नेही,
मैले समयमै तिम्रो साथीबाट पत्र प्राप्त गरेँ । तिमीले हाम्रो पुरानो क्षेत्र छोडेर नयाँ क्षेत्र रोज्यौ र भन्यौ, “मानिस विचारशील प्राणी भएकोले होला, ‘पुरानो विचार छोडेर नयाँ विचारमा आउने र जाने व्यक्तिहरूको समाजमा कमी छैन ।”
हो, तिमीले देखेकै र भोगेकै कुरा बोल्यौ, कुरा नलुकाई यथार्थ कुरा बोल्यौ राम्रो हो, फेरि तिमी सङ्गठनको भइनसकेको र समर्थकमात्र भएको हुँदा नियमका धेरै कुरा थाहा पनि त थिएन होला !
अब म यसबारे तिम्रा अन्य साथीहरूलाई पनि सच्चाइ के हो र व्यवहार कस्तो हुनुपर्ने हो भन्नेबारे केही उदाहरणहरूबाट म सचेत पार्ने कोसिस गर्छु ।
तिमीलाई साथीहरूले साथ छोड्ने कुरा भइरहँदा चित्त दुखाएर भनेकी थियौ, “हुन्छ, दाइहरूलाई धन्यवाद छ– ‘ पाले पुण्य र मारे पाप लाग्छ’ भन्ने उखानले दाइहरू झस्के र असमझदारीलाई फुकाउने कोसिस गरी तिम्रो चित्त दुखाइमा मलमपट्टि लाग्यो ।”
तर, चुरो कुरो के हो भने तिमीले अर्कै निर्णय लिने पाइला लिइसकेकी थियौ । ती सब कुरा बुझेर पनि दाइहरूले तिम्रो चित्त दुखाइ एक मानवीय स्वभाव सम्झेर शिक्षा फाँटमा तिमीलाई निरन्तरता दिए र तिमीबाट छात्र–छात्राहरूले पनि एक–दुई वर्षको थप नयाँ नयाँ पाठ सिक्ने अवसर पाए ।
तिमीले पत्रमा प्रजातन्त्रमा व्यक्तिगत इच्छा र भावनाका विषयलाई बढी जोड दिएको बारे एक दुई घटना बताउन चाहन्छु –
देशको संसदीय निर्वाचनको हरेक कानुनी सङ्घर्षमा शासक दलहरूका उम्मेदवारहरूको तर्फबाट खाममा केही रकम, खानेकुरा, कुर्ता, फरिया र चोलो, घरको निम्ति ग्यासको सिलिन्डरसमेत बाँडेको देखिए । कति आर्थिक र राजनैतिक रूपले सचेत नभइसकेका दिदी–बहिनी र दाजुभाइहरूले चिट्ठी पाएसरह खुसी भएर लिए । तर, सच्चाइ के हो भने दिने र लिने दुवैले निर्वाचन नियमावलीविपरीत अपराध गरेको साबित हुन्छ । मुद्दा नचले पनि नैतिक अपराधबाट तिनीहरू कोही जोगिने कुरै भएन ।
तिमीले भन्ने छौ– धर्ममा त अब लेनदेन र उपचार, घर खर्च आदिको बन्दोबस्त भइरहेको छ भने बरोबर भइआएको निर्वाचन तमासामा के फरक प¥यो र ?!
बहिनी स्नेही, तिम्रो नामले नै तिमीलाई उत्तरमा दिने शब्दहरू आफै नरम भइदिँदा म आफै लाचार हुन्छु किनभने सम्भवतः तिमीले नेपालमा क्रिश्चियन धर्म प्रचारबारे भन्न खोजेकी हौली !
यी सब शताब्दी पुरानो विषय भयो । यसकारण, संसारमा धर्मको नाममा धेरै युद्ध भए अर्थात् धेरै धनजनको क्षति भयो । इजरायल र प्यालेस्टिनीहरूको झगडामा लाखौँ मानिस मारिए र ‘गाजा’ क्षेत्रमा महिला र स–साना नानीहरू प्यालेस्टिनी जनसङ्ख्या नबढोस् भन्ने उद्देश्यले गरिएको यो एक क्रुरताको उदाहरण हो । यो मानव सभ्यतामाथि एक ठुलो व्यङ्ग्य हो । हामी आशा गरौँ– समयले धर्मको नाममा क्रुरता र असभ्यताको प्रवृत्ति घट्दै जानेछ– कारण संसारमा त्यसको व्यापक विरोध हुँदै छ ।
तर, राजनीतिमा त्यसको महत्व अझ बढी हुन्छ; राजनीतिको अर्थ शासन गर्ने शैली र उद्देश्यसँग सम्बन्धित विषय हो । यसकारण, यसमा कुनै पनि प्रकारको अनैतिक वा पैसा र समाजको लेनदेन गरेर वा जात–धर्म–नातागोता तथा डर र धम्की दिएर प्रभाव पार्नु अपराध थियो । हिजो जेनजी (नयाँ पुस्ता) को आन्दोलन भनी खुब प्रचार भइरहेकै बेला संरा अमेरिकी प्रचार यन्त्रहरूबाटै ‘अमेरिकी गुप्तचर विभागको रकम बाँडेर केही वर्षदेखि नेपाली युवाहरूलाई’ २०८२ को भदौ २३ र २४ गतेको विध्वंश गराउने नियोजित भन्ने कुरा नेपाल र नेपाली जनतामाथि आक्रमण भएको प्रस्ट भयो । नेपालका पुराना शासक दलहरूको नालायकीपनको पनि उदाङ्गो भयो ।
बहिनी स्नेही, हिजो अस्तिकै जस्ता केही घटना सुनाउँदै छु – दुई विषयमा आचार्य (मास्टर) उत्तीर्ण गरेका एक माध्यमिक विद्यालयका प्राचार्य स्वयम् एक सङ्गठनका नाइके थिए । जेलमा उनले रोएर ‘अबदेखि त्यो दलको गतिविधिमा लाग्ने छैन’ भनी कागज लेखेर छुटे तथा सबै कागजात र सामान फर्काएर सरकारको चरम दमनको बेला ।
त्यस अपराधपछि उनको शिर कहिले ठाडो भएन र आफ्ना नातागोता र छोराछोरीले पनि थाहा पाए– आफ्ना बुबाको आफ्नो सङ्गठनप्रतिको विश्वासघात’ बारे ।
केही वर्षमै उनी हिनताबोध र अपराधबोधले मृत्युशøयामा छटपटाइरहे र अमेरिकामा काम गरिरहेका छोरालाई तुरुन्त आउन तार ग¥यो । तर, छोराले प्रस्ट भाषामा आफू आउन नमिल्ने र सम्पत्तिको भाग सुरक्षित राख्न फोन ग¥यो । उनका बुबा पश्चातापले छटपटिएर मरे ।
प्रिय बहिनी, हामी जुनसुकै पेसा वा सङ्गठनमा लागे पनि बुझेर तथा इमानदारीपूर्वक लागौँ र कर्तव्यप्रति समर्पित रहौँ । यसले मन चङ्गा रहने मात्र होइन, समाजमा आफूले पूरा गरेको कर्तव्यको कारण गौरवको पनि अनुभव भित्रभित्र हुँदै जानेछ । सङ्गठनप्रति इमानदारी र कर्तव्यप्रतिको निष्ठा नै कुनै व्यक्तिको भित्री गुण वा व्यक्तित्व हो ।
यसकारण, बहिनी म केही यस्ता उदाहरण दिँदै छु – दोस्रो विश्व युद्धको हाराहारीमा क्यानाडाका एक शल्यक्रियाका डाक्टर (सर्जन) नर्मन बेथुन स्पेनको न्यायोचित गृहयुद्धको हारपछि उनले जापानी फासीवादले चीनमाथि गरेको आक्रमणको क्रुरताको विरोधमा चिनियाँ जनताको मुक्तिको पक्षमा आफूलाई समर्पित गरे । प्रजातन्त्र र शान्तिका विरोधी एवं नरसंहार मन पराउने फासीवादी जापानको आक्रमण बढ्दै जाँदा चिनियाँ मुक्तिसेनाले डा. बेथुनले हात समातेर भगाउन चाहे, विदेशी ठाउँमा अर्थात् डा. बेथुनलाई सुरक्षित ठाउँमा लैजान खोजे– माथिको आदेशअनुसार !
तर, डाक्टरले अडान लिँदै भने, “डाक्टरले रोगी छोड्दैन, डाक्टर रोगीको निम्ति हो ।” सो अडानले चिनियाँ मुक्तिसेना बाध्य भएर सबै रोगीहरूलाई सुरक्षित क्षेत्रमा सार्न लगाए र डाक्टरले नयाँ क्षेत्रलाई पनि अस्पतालको रूप दिन र घाइतेहरूको सेवा चालू राख्दै भने, “मलाई सेनाको बन्दुकजस्तै काममा लगाउनू, ममा चेत भएसम्म म चिरफारको काम गर्छु ।” बम वर्षाले अचानक उनको हातमा अपरेसनको चक्कुले घाउ लाग्यो र घाउको त्यहाँ उपचार गर्न नसक्ने हुँदा उनले अन्तिम दमसम्म घाइतेहरूको सेवा गर्दै गए । घाइते सिपाहीँहरू भन्दै थिए, “डा. बेथुन हामी पुनः लडाइँको मोर्चामा गएर तपाईँलाई सघाउने छौँ ।”
त्यही जापानविरोधी लडाइँमा द्वारिकानाथ कोटनिस नामको भारतीय डाक्टरले आफ्नो घाइते रोगीहरू थरथर काम्दै मरेको हेर्दा ती रोगीहरूको उपचारको निम्ति रोगको निदान गर्न उनले आफ्नो हातमा घाउ गरी रोगीको रोगको किटाणु सारी रोगको नाम र उपचारबारे लेखेर मरे । आफ्ना रोगीहरूको उपचारको निम्ति कोटनिसले आफूलाई समर्पित गरे आफू आफ्ना जहानलाई थाहै नदिई !
संसारमा यस्ता रोगीहरूप्रति समर्पित डाक्टरहरू धेरै छन् र अझै यस्ता धेरै डाक्टरको आवश्यकता छ ।
बहिनी स्नेही, अब म भारतीय गरिब किसान जनतामाथि सामन्तवर्गले गरेको शोषण र अन्यायको सङ्घर्ष गर्ने ‘नक्सलवादी आन्दोलन’ मा केही किसान विद्रोहीहरूलाई सरकारले ज्यान सजाय ग¥यो । सरकारले राष्ट्रपतिसँग माफी मागेमा छोड्ने आश्वासन दियो । तर, तिनीहरू पुँजीवादी व्यवस्थाको अगाडि झुक्न अस्वीकार गरे ।
अन्तमा, उनको ज्यान सजात्न्दा पहिले एक पत्रकारले एक किसान क्रान्तिकारीसँग सोध्यो, “तिम्रो अन्तिम इच्छा के हो ?”
“मेरो आँखा एक गरिब किसानलाई दिन चाहन्छु ।”
पत्रकारले सोध्यो, “किन ? बहादुर क्रान्तिकारी किसानले मर्नु अगाडि उत्तर दिए– मेरो देशमा कहिल्यै समाजवाद देख्न पाइनँ, तर एक गरिब किसानको आँखाले समाजवाद हेरेको चाहन्छु ।” अरु पनि भारतका अनेक किसानहरू क्रान्तिको निम्ति लड्दै छन् ।
नागभुषण पटनायक दक्षिण भारतका एक चर्चित वकिल थिए । उनी गरिब किसानहरूको पक्षमा जमिनदारहरूको अन्यायपूर्ण अदालतको हरेक मुद्दालाई हारमा तुहाई दिन्थे आफ्नो समर्पण र योग्यताले । उनको हत्याको निम्ति जमिनदारहरू वर्षाैँदेखि लागेका थिए । वकिल पक्राउ परे तर उनलाई थाहै भएन । पक्राउपछि उसलाई नै दोषी ठह¥याउन सयौँ मुद्दा दर्ता गरे – जमिनदारहरूले ।
सारा जनतालाई थाहा थियो – मुद्दा षड्यन्त्रबाहेक केही थिएन, तर पनि उनलाई पनि ज्यान सजाय सुनायो भारत सरकारले । इन्दिरा गान्धीको सरकार थियो ।
छोरीको विवाह हुँदै थियो – कारागारमा बुबालाई आफ्नो ‘कन्यादान’ को निम्ति राष्ट्रपतिसँग कन्यादानमा जान केही दिन निगरानीमा घर जान बिन्तीपत्र लेख्ने उपाय बताइन् ।
बुबाले छोरीलाई माया गरेर सोधे, “छोरी के तिम्रो कन्यादानको निम्ति तिमी मलाई पुँजीवादी सरकारसँग झुकाउन चाहन्छौ ?” छोरीले उत्तर दिइन्, “होइन बुबा मेरो त्यस्तो आशय होइन ।”
कन्यादानको काम आफ्नो परम्पराअनुसार टुङ्ग्याएको केही महिनापछि मुद्दा फिर्ता लिएर नागभुषण पटनायक जेलबाट रिहा गर्न भारत सरकार बाध्य भयो । झूटा मुद्दाहरू खारेज हुँदै आखिर सबै क्रान्तिकारी राजबन्दीहरू छोड्न सरकार बाध्य भयो ।
बहिनी स्नेही,
देश विदेशका सङ्घर्षका शिक्षाहरूबाट एक देशबाट अर्काे देशमा सिक्ने परम्परा चालू छ । यसकारण, हामीले आफ्नै देशको क्रान्तिकारी सङ्घर्षबाट पनि सिक्नु आवश्यक छ । पत्र अरु साथीहरूलाई पनि देखाउनू ।
माया गर्ने दाजु
Leave a Reply