देशको क्रान्तिकारी सङ्घर्षबाट पनि सिक्नु आवश्यक छ
- आश्विन १०, २०८३
साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरू समाजवादका निम्ति सङ्र्षरत कम्युनिस्ट पार्टी र पार्टीको सरकारलाई मात्र होइन, साम्राज्यवाद र विस्तारवादविरोधीहरूलाई पनि हेर्न चाहँदैनन् । उनीहरूको प्रगति र विकासमा बाधा हाल्न, उनीहरूबिच आन्तरिक द्वन्द्व बढाउन साम्राज्यवादीहरू अनेक चलखेल गर्छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्संस्था प्रयोग गर्छन्, विकास र आर्थिक सहयोगको लोभ देखाउँछन् । तर, साम्राज्यवादी र प्रतिक्रियावादीहरूले इतिहासको प्रवाहलाई रोक्न सक्दैनन्, क्रान्तिकारी, देशभक्त र शान्तिकामी जनताको हृदयलाई परिवर्तन गर्न सक्दैनन् । विश्वका क्रान्तिकारी पार्टी र जनताको सङ्र्षमार्फत आखिर देशमा समाजवाद स्थापना हुनेछ । यस कार्यमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया लागिपरेको छ ।
जुछे विचारधारा समाजवादको वैचारिक आधार हो । यो क्रान्ति एवं निर्माणको एकमात्र मार्गनिर्देशक सिद्धान्त हो । समाजवाद जनताको माग हो, जुच्छे विचारधारा समाजवादको आधार हो । प्रजग कोरियाका महान् नेता किम इल सङले समाजवादी विचारधाराको प्रवर्तन गर्नुभयो । यसलाई उहाँले दृढताका साथ आत्मसात गर्दै क्रान्ति एवं निर्माणको नेतृत्व गर्नुभयो । समाजवाद र समाजवादी विचारलाई व्यवहारमा लागू गर्न समाजवादी पक्षधरहरूले साम्राज्यवाद, विस्तारवाद र उपनिवेशवादको विरोध गर्नैपर्छ, श्रमिक जनतामा समाजवादी व्यवस्था, समाजवादी विचार तथा मूल्य र मान्यताको कुरा पु¥याउनुपर्छ ।
साम्राज्यवादीहरू संसारका मुलुकलाई आफ्नो मुठीमा राख्न चाहन्छन् । मुठीमा राख्न अनेक जाल रच्छन्, भूमिका बाँड्छन् र गोटी चाल्छन् । देशभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था छिर्छन् । समाजवादी देश र समाजवादी पक्षधर दल तथा दलका नेताहरूलाई साम्राज्यवादीहरू निरङ्कुश ठान्छन्, हुकुमी शासन चलाउने भनी लाञ्छना लगाउँछन् । यो उनीहरूको अतार्किक र सैद्धान्तिक आधाररहित मिथ्या हो । यसरी समाजवादको विरोधमा लागेका मिथ्या राजनीतिबारे जनतालाई सुसूचित पार्न प्रचार–प्रसार गर्नुपर्छ । प्रचार–प्रसार गर्ने एक भरपर्दाे आधार सञ्चार क्षेत्र पनि हो । कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, कम्युनिस्ट पार्टीप्रति आबद्ध लेखक, सञ्चारकर्मी तथा राजनीतिक विश्लेषकहरूले विभिन्न पत्रिकाको माध्यमबाट लेख–रचना छापिरहनुपर्छ, साहित्यिक गतिविधि गरिरहनुपर्छ । राजनीतिक गतिविधि गर्नु त धर्म नै भयो ।
यसबारे प्रजग कोरिया सचेत छ । प्रजग कोरियाले समाजवादी क्रान्ति तथा समाजवादी निर्माणको लागि विचारधारात्मक, प्राविधिक तथा सांस्कृतिक क्रान्ति गर्नुपर्ने अवधारणा ल्याएको थियो । त्यही अवधारणा कार्यान्वयन गर्न प्रजग कोरिया लागिरहेको हो । समाजवादप्रति लगाइएका झूटा कुराको खण्डन गर्दै समाजवादी पक्षधरहरू अग्रसर हुनुपर्छ । माक्र्स, एङ्गेल्स र लेनिनले मानवहितका लागि गरेका महान् कार्यलाई आत्मसात् गरी सम्मान गर्नुपर्छ । माक्र्सवाद र लेनिनवादको सिर्जनाले गर्दा समाजवादी सिद्धान्त कल्पनाबाट विज्ञानमा विकसित भयो र श्रमिकवर्ग इतिहासमा पहिलोपल्ट एउटा मार्गनिर्देशक विचारधारा प्राप्त गर्न सफल भयो । हामीले जनतालाई माक्र्सवाद–लेनिनवादबारे सही ज्ञान दिन र यो विचारधारा नमान्ने साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादी र पुँजीवादीहरूको आक्रमण, थिचोमिचो, शोषण, दमन तथा जनविरोधी नियम सबै जनतासामु उदाङ्ग्याउनुपर्छ ।
अहिले पनि साम्राज्यवादीहरू अन्य स्वतन्त्र तथा सार्वभौम देशमा आक्रमण गरेर ध्वस्त पार्ने चेतावनी दिँदै छन् । देशलाई ध्वस्त पार्ने, भौतिक संरचना नष्ट गर्ने र त्यहाँ रहेका प्राकृतिक स्रोत, साधन तथा पेट्रोल खानीहरू आफ्नो कब्जामा राख्ने धृष्टता गर्दै छन् । अमेरिकाले भेनेजुयलामा त्यस्तै आक्रमण गरेर राष्ट्रपतिलाई पक्राउ गरी तेल खानी आफ्नो हातमा लिँदै छ । यसरी नै पहिले अमेरिकाकै नेतृत्वमा इराकमा आक्रमण भएको थियो । त्यहाँ राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । सिरिया र लिबियामा त्यस्तै गरिएको थियो । साम्राज्यवादी देशहरूको यस्तै अहङ्कार, छेलोखेलो र आक्रमणका कारण साम्राज्यवादी देशविरुद्ध विश्वमा जनमत बढेको हो । विश्वका जनताले त्यस नीतिको विरोध गरेका छन्, विरोध गर्दै छन् । यही कारण साम्राज्यवादी देशहरू विश्वमा उदाङ्गिदै छन् । साम्राज्यवादी देश अमेरिका विश्वबाट एक्लिँदै छ ।
Leave a Reply