सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
कुनै हप्ता बस वा वाहन दुर्घटनामा यात्रु नमरेको समाचार सुन्न नपरे नेपालीहरू पनि अब त ‘समझदार’ भए भन्ने मनोदशामा बाँच्न सकिने थियो । १८ कार्तिकको समाचारपत्रले लेख्यो – “पटक–पटक बिग्रिएको बस सुनकोशीमा खस्दा १७ को मृत्यु ।”
राजधानीले लेख्यो – “सुनकोशीमा बस खस्यो, १७ को मृत्यु, ५० घाइते ।” दुर्घटना हुने अधिकांश बसमा यात्रुहरू खचाखच हुनुको साथै बसको छतमा समेत यात्रुहरू भरिभराउ हुनेगर्छ । तर, प्रायः बस दुर्घटना हुँदा चालक भने बचेको हुन्छ । दुर्घटनापछि सरकारी पक्ष, घाइते र मृतकका परिवारहरू अस्पताल र काजकिरियामा लाग्छन् भने बस सेवा संस्था र अन्य समूह मृतक र घाइतेहरूलाई क्षतिपूर्ति दिने मोलमोलाइमा लाग्छन् । बस दुर्घटनाका विविध कारण खुट्याउन र समाधान गर्न बिर्सन्छन् ।
सरकारका सम्बन्धित कार्यालयहरूले ध्यान दिनुपर्ने विषय निम्न देखिन्छ –
क) सडक निर्माण गर्दा आवश्यक माटो वा ढुङ्गा नकाटी इन्जिनियर, सुपरभाइजर र ठेकेदारको मिलेमतोमा निर्माणको प्राविधिक त्रुटि र कमजोरी भएको हो–होइनबारे छानबिन गरी आवश्यक मर्मत वा पुनःनिर्माण तुरून्त सुरू गर्नुपर्ने हो । तर, यसबारे कहिल्यै गम्भीर ध्यान दिएको सुनिएको छैन ।
ख) एउटै ठाउँमा पटक–पटक एउटै प्रकारको दुर्घटना हुनुमा सडक निर्माणमा हुने प्राविधिक त्रुटि नै बढी दोषी हुने जानकारहरू बताउँछन् । दुर्घटनाको निरीक्षणमा निश्चित विशेषज्ञ पठाउनु आवश्यक छ । तर, अहिलेसम्म निश्चित विशेषज्ञ नपठाई सडक विभागकै प्राविधिक पठाउने गरिएको छ । जुन गलत छ ।
ग) पटक–पटक बिग्रेको बसभित्र यात्रु कोचाकोच राख्नु, अझ छतमा पनि सामान वा यात्रु राखी बस चलाउँदा क्षमताभन्दा बढी बोझको कारण वाहनले सन्तुलन गुमाउनु स्वाभाविक हो । यसमा दोषी वा जिम्मेवार पक्ष बस मालिक नै हो । चालक बाँचेको भए उसले बताउने थियो – “मालिकलाई प्रतिटीपको यति दिनुपर्ने, नत्र हाम्रो तलब वा खाजाबाट कटाउने हुँदा बढी यात्रु राख्नुपर्ने भयो ।”
जनताका छोराछोरी मरे मरोस् मलाई महिनामा चालक र सहचालकले यति दिनुपर्छ भन्ने मानसिकतामा बाँच्ने मालिक नै बस दुर्घटना हुने एउटा कारण हुनसक्छ भन्ने हालसालै चर्चाको विषय बनेको छ ।
“मालिकले हरेक दिन र बेला–मौकामा आफ्नो बसको अवस्था र आफ्ना कामदारहरू (चालक र सहचालक) सँग छलफल गरी व्यक्त गरेका गुनासाहरूमा ध्यान दिनुपर्ने थियो । त्यसो नगर्दा मानसिकरूपले असन्तुस्ट र क्रोधी चालकहरूको कारण पनि अनेक दुर्घटनाहरू हुने गरेको सुनिन्छ” – भुक्तभोगीहरू बताउँछन् ।
यस्ता दुर्घटना रोक्नको निम्ति प्राविधिक कारणबाहेक सामाजिक विषयमा पनि चिन्तन गर्नुपर्ने खाँचो देखिँदैछ । बरोबर निश्चित समयमा अग्रिम सूचना दिई ट्राफिक प्रहरी (प्रशासन), बस वा वाहनका मालिकहरू, बस सेवा समितिका जिम्मेवार प्रतिनिधिहरू, चालक र सहचालकहरू तथा सरोकारवाला वा बसका यात्रीहरूका स्थानीय प्रतिनिधिहरूमाझ सरसल्लाह गरे समस्या समाधानमा सहयोग मिल्ने सम्भावना इन्कार गर्नु मनासिब हुनेछैन ।
बस बिसौनी र बस पार्कसँगै प्रहरी वा ट्राफिक कार्यालय भएमा बसको मनपरी, बढी यात्रु कोच्ने, छतमा राख्नेजस्ता ‘यमराजको यात्रा’ लाई सहयोग पुग्नेछैन । यसबारे बस चालक र सहचालकहरूको जवाफ हुनसक्छ – “यात्रुहरू नै कोचाकोच बस्न तयार हुन्छन् । एकछिन नै नपर्खी छतमै यात्रा गर्न चाहन्छन् भने चालक र मालिकहरूको दोष के !?”
सत्य यही हो भने गाउँपालिका, नगरपालिका र प्रदेश सरकारहरूले यसबारे गम्भीरतापूर्वक ध्यान दिनु उचित हुनेछ ।
Leave a Reply