“विश्वका क्रान्तिकारी महिलाहरू”: तुलनात्मक अध्ययन एक अवसर – २
- बैशाख १७, २०८१
‘माछी मार्न जाउँ है दाजै कालापानीमा’
माछी मार्न जाउँ है दाजै कालापानीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा,
छेकीवारि दुवाली महाकालीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा ।
भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूभागमा पारिएपछि यो गीत फेरि एकपटक चर्चामा छ ।
विधान श्रेष्ठ, रीता उपाध्याय र जे पापीले गाएको यो गीतमा भौगोलिक हिसाबले सानो राष्ट्र नेपालको पीडाको चित्रण गरिएको छ ।
उक्त गीतले चारैतिरबाट नेपालको सीमामाथि भइरहेको अतिक्रमणको चित्रण गर्न खोजेको रचनाकार तथा सङ्गीतकार विजय श्रेष्ठ बताउनुहुन्छ ।
२०५५/५६ सालतिर सार्वजनिक भएको सो गीत केही समयपछि नै सरकारी सञ्चारमाध्यममा नबजाउन निर्देशन दिइएको हुनसक्ने रचनाकार श्रेष्ठको दाबी छ ।
यसरी बन्यो गीत
राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीतको रचनामा टेलिभिजनकर्मी भूषण दाहालको हात रहेको श्रेष्ठ बताउनुहुन्छ ।
सुनसरीको इनरूवाका रचनाकार श्रेष्ठ भन्नुहुन्छ, “कालापानीको विषयमा गीत नभएको भनेर छोरा विधानसँग कुरा गरेका रहेछन् । त्यो कुरा मलाई विधानले सुनायो ।”
“गीतै लेख्छु भन्ने त सोचेको थिइन तर मनमा कहीँ कतै गडेको थियो । पछि गीतकै रूपमा फुर्दै गयो ।”
“यसमा मेरो फरक वा विशेष सोच थिएन । यी शब्द मनबाट आएका हुन् ।”
श्रेष्ठका अनुसार आफ्नै घरको कोठामा छिर्दै गर्दा ‘माछी मार्न जाउँ है दाजै कालापानीमा” बोल फुरेको हो । स्थायी भेटिएपछि त्यसकै आधारमा अन्तरा भर्दै गएको उहाँ बताउनुहुन्छ ।
‘छेकी वारि दुवाली महाकालीमा’ जस्ता गीतका केही अंश भने लोकभाकाबाट लिइएको हो ।
कालापानी वा अन्य सीमा नाकाका बारेमा धेरै जानकारी नभए पनि आफूलाई नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको राष्ट्र भएको थाहा भएकै आधारमा गीतले स्वरूप लिँदै गएको श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ बताउनुहुन्छ, “त्यसैकारण गीतमा उल्लेख गरिएको कालापानी शब्द खासमा सङ्केत हो ।”
पारिवारिक पृष्ठभूमि
राष्ट्रिय भावनाका गीत लेखेका श्रेष्ठ पारिवारिक वातावरणका कारण आफूमा राजनीतिक चेत रहेको बताउनुहुन्छ ।
उहाँका बुबा दिलबहादुर श्रेष्ठ पञ्चायतकालमा गृहमन्त्री हुनुहुन्थ्यो । परिवारका अन्य सदस्य पनि मन्त्री रहेको उहाँ बताउनुहुन्छ ।
“राष्ट्रिय भाव भित्रैबाट गढेर होला देशभित्रै बाट घेरामा पर्दै गएको छ भन्ने मेरो बुझाइ थियो । त्यो बुझाइको पाटा गीतबाट बाहिरियो”, श्रेष्ठले भन्नुभयो ।
“बनको काँडाले कहिले नि कोरेन फलामे काँडाको तार अहिले”
गीतमा भएको यी शब्द त्यसबेला समाचारमा भारतीय सैनिकले कालापानीमा तारबार गरेको भन्ने कुरा पढेको आधारमा लेखेको उहाँ बताउनुहुन्छ ।
प्रतिबन्ध ?
श्रेष्ठका अनुसार उक्त गीतका शब्दले सर्वसाधारण नेपालीको मन छुन सफल भयो ।
नेपालीहरूले सङ्गीत, भावना र लयमा पनि आफ्नो शैली र राष्ट्रियताको भाव पाएकाले गीत हालसम्म रूचाइएको उहाँको बुझाइ छ ।
तर, गीत सार्वजनिक भएको केही समयपछि सरकारी सञ्चारमाध्यमका बज्न छोड्यो । त्यसको कारण के थियो भन्ने प्रश्नको स्पष्ट उत्तर श्रेष्ठसँग छैन ।
उहाँका अन्य केही गीत प्रतिबन्धमा परेका छन् । “ए छोरा, तिमीहरू हुँदाहुँदै म कसरी घेरामा” बोलको गीत पनि प्रतिबन्धमा परेको उहाँको दाबी छ ।
उहाँ भन्नुहुन्छ, “रमाइलो कुरो के छ भने नेपालको राष्ट्रियताविरूद्ध तपाईँ जे पनि बोल्न पाउनु हुन्छ । तर नेपालको पक्षमा बोल्न भने प्रतिबन्ध छ । त्यसैले मेरो गीतमाथि प्रतिबन्ध लगाइएको होला ।”
–बीबीसी नेपाली सेवा
Leave a Reply