सुनिता गाइसी
कुरिलो एक औषधीय गुण भएको स्वादिष्ट तरकारी हो । यसलाई संस्कृतमा ‘शताबरी’ भनिन्छ भने अङ्ग्रेजीमा ब्कउबचबनगक भनिन्छ । यसको खेती गर्न सजिलो छ एक पटक रोपेपछि २, ३ वर्षसम्म उत्पादन लिन सकिने र हेरविचार पनि कमै गरे पुग्ने हुनाले किसानहरू यसको खेतीतर्फ आकर्षित भएको देखिन्छ । कुरिलो मैदानी भूभागदेखि हिमाली भू–भागसम्म पाइने औषधीय गुण भएको वनस्पति हो । यसलाई आयुर्वेदले औषधिको रानी मानिन्छ । यो दुई प्रकारको हुन्छ एउटा काँडा भएको र अर्को काँडा नभएको । उच्च हिमाली भेगमा पाइने कुरिलोलाई अस्पारागस पिलिसिनस भनिन्छ । हाल आएर तारे होटलमा पनि सुपको रूपमा प्रयोग गर्ने क्रम बढेको छ । यसका विभिन्न फाइदाहरू छन् । कुरिलोको सेवनले पीडा कम गर्न मद्दत गर्दछ । बच्चालाई स्तनपान गराइरहेको महिलाले कुरिलो खाँदा दूधको मात्रा बढ्ने गर्दछ । भोक नलाग्ने समस्याको समाधान गर्दछ । पाचन प्रणालीमा सुधार हुँदै जान्छ । घाँटीमा भएको सङ्क्रमण ब्रोकाइटिसलगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ । यी रोगका उपचारका लागि जरा र काण्ड दुवै प्रयोग गरिन्छ ।
कुरिलो उपयोगी गुणकारी वनस्पति हो यसलाई सुप वा तरकारी बनाएर खान सकिन्छ । यसले रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ । झाडापखाला लागेको बेलामा यसको सेवन गर्दा राहत मिल्दछ । हाल धेरै मानिसलाई प्रेसर, सुगरले सताएको छ । कुरिलोले प्रेसर, सुगरलाई नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा एन्टीअक्सिडेन्ट हुन्छ जसले बुढ्यौलीपनलाई कम गर्न मद्दत गर्दछ । कुरिलो खानाले मभउचभककष्यल को उपचारमा पनि सहयोेग गर्दछ । आजकल हामी खानपिनमा त्यति ध्यान दिँदैनौ जसका कारणले कम उमेरमै विभिन्न किसिमका रोगहरूको सिकार हुने गरेका छन् । त्यसैले हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ ।
यसरी कुरिलोको विभिन्न फाइदा हुँदा हुँदै पनि कसै कसैलाई नकारात्मकरूपले असर पनि गर्ने गरेको छ । कुरिलो खाँदा एलर्जी भएर, छाला चिलाउने, डाबरहरू आउने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने हुनसक्दछ । यस्तो समस्या देखापरेमा तुरुन्तै चिकित्सककहाँ गई जाँच गराउनुपर्दछ । जुनसुकै कुरा पनि गुणकारी छ भन्दैमा बढी खानुहुँदैन । ठीक मात्रामा खानाले यसले हामीलाई स्वस्थ राख्दछ । त्यसैले बेलैमा हामी आफ्नो स्वास्थ्यप्रति सचेत र सजग हुन जरुरी छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्घिमानी हो ।