भर्खरै :

पथप्रदर्शक तीन कथाहरू ः सर्पको डाक्टर र अरू बालकथाहरू

 सुन्दर वासी
चिनियाँ तीन कथाहरूको सङ्गालोको नाम हो – सर्पको डाक्टर र अरू बालकथाहरू । चिनियाँ तीन जना कथाकारहरू हुङ शुनताओ, च्याङ थ्येनयी र वई चिनचीका बालकथाले पाठकलाई मोहित बनाउँछ, गम्भीर बनाउँछ र जिम्मेवारीबोध गराउँछ । तीनवटै कथाहरू बालमनोविज्ञानसित सम्बन्धित छन् । बालबालिकालाई प्रगतिपथमा लम्काउन के गर्नुपर्छ ? आदर्श अनि सभ्य समाज बनाउन बालबालिकाको भूमिका कस्तो हुनुपर्छ ? भन्ने विषयमा कथाहरू केन्द्रित छन् ।
सङ्गालोको पहिलो कथामा शीर्षक दिइएको छ, सर्पले टोकेका दबाइ गर्ने डाक्टर । यो कथा तीस पृष्ठ लामो बालकथा हो । कथाका नायक च्याङ तुकन शनिबार बिदाको दिनमा दाउरा लिन जङ्गल गयो । बाटोमा सर्पले टोकेकोमा दबाइ गर्ने ‘डाक्टर’ ह आहसीले आफ्नो विज्ञापन गर्दै गरेको देख्यो । ‘पाँच पाइले’ औधी विषालु सर्पले टोकेर आफ्नै छिमेकी साथी चओ पाओल्यू मर्नै लाग्दा “हाम्रा डाँडाकाँडामा थुप्रै सर्प छन् । विषालु सर्पले टोकेर मानिसहरूले मर्नु कति दुःखको कुरा हकि ? सर्पले टोकेको दबाइमुलो गरेर त्यस्ता मानिसको ज्यान बचाउन सके कति राम्रो हुन्थ्यो ।” भनेको कुराले तुकनलाई पिरोलिराखेको थियो । त्यसैले ह आहसीबाट सर्पले टोकेका बिरामीको उपचार गर्ने विद्या सिक्न तुकन सा¥है उत्साहित भयो ।
तुकनलाई समाजका अरू मानिसले मात्र होइन, आफ्नै आमाले पनि ओखती विद्या सिक्न लोभी र मगन्ते ह आहसीको पछि नलाग्न सम्झाइन् । तुकनको बाले थाहा पाए अझै उपद्रो हुनसक्ने बताइन् । अलमलमा परेको तुकनले ज्ञानगुणका कुरा सिकाउने काका शुन फुसित सल्लाह लियो । शुन फुले तुकनलाई हौस्याएर भने, “स्यावास केटा, डाक्टर भएर सर्पले टोकेको दबाइमूलो गर्नसक्ने भयौ भने तिमीले मानिसहरूको दुःख हटाउन सक्नेछौ । यो सा¥है राम्रो जुक्ति हो । लौ कम्मरकसेर लाग । एकदुई जनाले कुरा काटे भन्दैमा खिस्रिक्क पर्नुपर्ने के छ ?” तुकनले सर्पले टोकेका बिरामीको उपचार गर्ने विद्या सिक्ने अठोट ग¥यो ।
बिरामीको उपचारभन्दा पनि उपचारको नाममा पैसा धुत्न खोज्ने आहसीले तुकनलाई सिकाउन मन लगाएको थिएन । तुकनले आहसीलाई फकाएर, सेवा गरेर आखिर विश्वास जित्यो । आहसी मर्नुअघि पितापुर्खा पालादेखि हातहातै सर्दै आएको जडिबुटी र सर्पको उपचार गर्नेसम्बन्धी गोप्य पुस्तक तुकनलाई दियो । तुकन साँच्चिकै सर्पले टोकेकाको दबाइ गर्ने डाक्टर बन्यो । चुच्चे ढुङ्गाको बाटो हिडेर टाढा टाढा गाउँका जनताको बिनाशुल्क उपचारमा ऊ लाग्यो । आफ्नो राजीरोटी खोसिएला भनी ह आहसीले गोप्य राखेको सर्पले टोकेकाको दबाइ गर्ने सीप अरूलाई पनि सिकायो । तुकन आफू बिरामी हुँदा पनि सर्पले टोकेकाको बिरामी बचाउन खट्यो । ‘सर्पले टोकेका दबाइ गर्ने डाक्टर’ कथाको सार यति नै हो ।
कथामा आहसी देखेर घिन लागे पनि सर्पले टोकेकाको उपचार गर्ने विद्या सिक्न तुकन तल्लीन हुनु, आफ्नै बुबासँग झगडा परेको मानिसलाई पनि सेवा गर्नु, पुरानो विचारको आहसीको लास गाड्ने बेला अत्याचारी क्वोमिन्ताङको हुकुम गल्र्याम्मै ढलेको देखाउनु, गाउँका पार्टी सचिव शुन फुले तुकनलगायत गाउँका जनतालाई समाजमा सेवा गर्न उत्प्रेरित गर्नु, सर्पको टोकाइमा परेकी १२ वर्षकी केटीको घरमा माओको तस्बिरमुनि प्रमाणपत्रमा ह ल्यान हुनु र ह ल्यानका बाआमा कोरियामा पराइ देशका मिचाहाहरूसँग लड्न गएको अनि घरमा देश र जनताका लागि ज्यान दिने वीरहरूको गुणगान गर्दै लेखिएका किताबहरू देख्नु आदि दृश्यचित्रले सामन्ती र पिछडिएको चिनियाँ जनताको सांस्कृतिक रूपान्तरणलाई उजागर गरेको छ । सानोतिनो व्यक्तिगत स्वार्थमै अल्झिएर पछाडि परेको चिनियाँ समाजमा कम्युनिस्ट पार्टीले बालबालिका बेलादेखि नै एक सबैको लागि सबै एकको लागि भन्ने भावना जगाएको र निःस्वार्थरूपमा देश र जनताको सेवामा समर्पित हुने सन्देश दिएको छ ।
‘ल्वो वेनइङ कसरी सानो अगुवा बन्यो’ शीर्षकको कथा दोस्रो र मध्यम लम्बाइको कथा हो । कथामा इस्पात ज्यामी र विद्यार्थीहरूबीच मितेरी हुन्छ । मितेरीबीच पत्र आदानप्रदान गर्ने क्रममा ल्वो वेनइङबारे लेखिएको चिठी नै कथावस्तु हो । देशको निम्ति काम गर्ने इस्पात ज्यामी बन्न ठूलो रहर गर्ने तर सही समयमा सही काम गर्न नसक्ने ल्वो वेनइङको आचरण सुधार्न गरिएको सामूहिक प्रयास नै कथाको केन्द्रीय सार हो ।
ल्वो वेनइङ साना अगुवाहरूको टोलीमा भर्ना भएका छन् । तर, पढाइमा लगाव लगाउन सक्दैन । वेनइङलाई समय अनमोल भएको र एक एक सेकेन्ड पनि राम्ररी उपयोग गर्नुपर्छ भन्ने गुरुमा चओको भनाइ कण्ठ छ अनि उसलाई असल विद्यार्थी बन्ने पनि चाहना छ । तर, वेनइङले होमवर्क पनि गर्न भ्याउँदैन, घरमा आमालाई सघाउन भ्याउँदैन । जुन पनि काम पछि गरौँला भन्दाभन्दै उसलाई फुर्सद नै हुँदैन । वेनइङ विद्यालयबाट फर्किनेबेलामा सहरको बाटोमा नयाँ नयाँ वस्तु देख्छ अनि हेर्न मन लाग्छ । कहिले अरूहरू खेलेको पनि हेर्न मन लाग्छ । बाटोमा समय धेरै खर्च हुँदा उसलाई आफूले गर्नुपर्ने काम पनि याद आउँछ अनि बेचैन हुन्छ । हतार हतार घरमा आए पनि ल्याउनुपर्ने सामान भुल्छ । त्यसैले वेनइङलाई आफ्नै बानी दिक्क लाग्छ ।
एक दिन साथीहरूबीच लि श्याओछिनको घरमा सामूहिक होमवर्क गर्ने सल्लाह हुन्छ । सुरुमा त वेनइङले अर्को हप्तादेखि थाल्ने भन्छ तर सबैले त्यही दिनबाट गर्ने भनेपछि मान्छ । वेनइङ घरबाट निस्कनेबेला झोला लिएर जाँदा अरूले स्कूलबाटै अबेला आएको भन्ला भन्ने दकस हुन्छ । पत्रिकामा किताब पोको पारेर लान खोज्दा पत्रिकामा भएको तबिर हेर्नतिर ध्यान जान्छ । हुँदाहुँदा साढे छ बजे लि श्याओछिनको जम्मा हुने भनेको छ पैंतालीस भइसकेको हुन्छ । साथीहरूले फेरि पनि ढिला गरिस् भन्ला भनेरै ऊ श्याओछिनको घर जाने आँट गर्नसक्दैन । साथीहरू नै लिन आउँछन् । ढिला भएको लाजले वेनइङले “म जान्न, फुर्सद छैन” भन्छ । “फुर्सद छैन रे ? फुर्सद नभए यो तस्बिरको पत्रिका पढ्ने समय कताबाट आयो नि ? जाऔँ, गइहालौँ । साथीहरू पर्खिबसेका छन् ।” भनी श्याओछिनले सम्झाई । श्याओछिनले वेनइङलाई घरमा खोज्ने, घरमा नभेटिए बजारमा खोज्ने र बजारमा पनि नभेटिए पुलिसलाई गुहारेर भए पनि फेला पार्ने साथीहरूको निधो सुनाइन् । सबैको आशा अनि घच्घच्याइबाटै वेनइङले आफ्नो बानी सुधा¥यो । वेनइङले आफ्नो वचन पूरा गरेरै छाड्न थाल्यो ।
कथाभित्रको पत्रको अन्तिममा वेनइङकै भनाइ राखिएको छ, “पहिले पहिले मलाई पनि फुसर्द हुन्नथ्यो । जे गरुँ भन्यो फुर्सद नहुने । तर, काकाहरू र साथीहरूको अर्तीबुद्धि र सरसघाउले गर्दा मेरो आनीबानी सप्य्रो । अचेल त गर्नुपर्ने जम्मै काम पनि गरेकै छु । खेलकुद पनि भ्याएकै छु । अचेल म सा¥है खुसी पनि छु … ” यसरी एकजना विद्यार्थीको बानी सुधार्न र समयको सदुपयोग गराउन सामूहिक प्रयास र सामूहिक भावनालाई कथाले प्रकाश पारेको छ ।
अन्तिम कथामा शीर्षक दिइएको छ, ‘जति छिटो उति राम्रो ।’ कथामा छन पुकाओलाई चलाख र पढाइमा मिहिनेती भए पनि स्वार्थी भएकोले असल भन्न नमिल्ने देखाइएको छ । उसलाई अरूको सामान लिन र अरूलाई दिन पनि मन लाग्दैन । एक दिन उसले वाङ नियाङसीको डेस्कमुनि एउटा किताब भेटायो । कसैले पनि नदेखेको हुँदा पढेर फर्काऔँला भनी उसले किताब घरमा लिएर गयो । भोलिपल्ट कक्षामा वाङ नियाङसीले “मेरो पुस्तक कसले चोरेको छ भन्ने कुरा मलाई पक्कापक्की थाहा छ । मैले गुरुमा चिनलाई यो कुरा भनिसकेको छु । फेला परेपछि त्यसको बेइजती हुने छ” भनेको छन पुकाओले सुन्यो । आफ्नै लापरबाहीले हराएको किताब चोरेको भनेपछि छन पुकाओलाई रिस उठ्यो अनि सबै गइसकेपछि डेस्कमुनि छुटेको किताब लिएको भन्दा कसैले पत्याउन्न कि भनी रातो मुख लाएर बस्यो । गुरुमा चिनले कक्षामा विद्यार्थीहरूको मुख हेर्दै किताब छन पुकाओसँग रहेको थाहा पाइसकेकी थिइन् । तर, कक्षामा अरू विद्यार्थीहरूको अगाडि अप्थ्यारो हुने भएकोले कक्षा बाहिर सम्झाइन् र पनि छन पुकाओले मुख खोल्न सकेन ।
अर्को दिन छन पुकाओकै कलम हरायो । साथीहरूलाई सोध्यो । साथीहरूले खोजी गरे । अन्तमा वाङ नियाङसीले विद्यालयबाहिर हिलोमा खसेको कलम एक जना पुलिसले अफिसमा बुझाइराखेको भेटायो । आफ्नो हराएको कलम भेटाइदिएपछि छन पुकाओ झन् रोयो । त्यसपछि गुरुमा चिनले कक्षामा छोडेको किताब छन पुकाओले लिएको रहस्य खोलिन् । भेटेको कलम बुझाउने पुलिसको नक्कल गर्नुपर्ने सुझाइन् । वाङ नियाङसीलाई किताब फिर्ता दिएपछि गुरुमा चिनले आपसमा मद्दत गर्नुपर्ने, मतलबी हुन नहुने र सबै मौरीको गोलोजस्तो भएर रहनुपर्ने सिकाइन् ।
सरल र जीवन्त तीनवटै कथाहरूले पाठकहरूलाई आदर्श समाज निर्माणमा योगदान पु¥याउने प्रेरणा दिन सफल छन् । यी कथाहरूले स्थापित गरिदिएको सांस्कृतिक स्तरकै जगमा नयाँ चीन घोषणा भएको सत्तरी वर्षभित्रै चीन संसारकै अग्रपङ्क्तिमा आउन सफल भएको हो भन्दा अतिसयोक्ति नहोला ।
कतै कतै गैरनेपाली भाषीले अनुवाद गरेको देखिने ती कथाहरूको अनुवाद खगेन्द्र सङ्ग्रौलाले गरेका हुन् । गुनिलो प्रकाशनबाट २०४६ मा प्रकाशित पुस्तकमा मूल्य नौ रूपैयाँ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *