भर्खरै :

दुई महान् सोभियत रुसी कविहरू ः सेर्गेइ एसेनीन र भ्लादिमीर मायाकोभ्स्की

 राजदास श्रेष्ठ
विश्व साहित्य इतिहासमा रुसको स्थान धेरै ठूलो छ । सन् १९१७ को महान् अक्टोबर क्रान्तिबाट सोभियत सङ्घ स्थापना हुनु धेरै अघिदेखि नै रुसमा विश्वविख्यात साहित्यकारहरू जन्मेका थिए । जस्तै ः अलेक्जेन्डर पुश्कीन, लिओ टल्स्टोई, तुर्गेनेभ, दस्तोयेभ्स्की, लेर्मेन्टोभ, आन्टोन चेखोभ, गोगल आदि । अलेक्जेन्डर पुश्कीनलाई रुसी साहित्यको आदि कवि (फाडर अफ रसियन लिटरेचर) भन्थे । लिओ टल्स्टोईलाई उन्नाइसौँ शताब्दीको सर्वोश्रेष्ठ उपन्यासकार भनियो ।
टल्स्टोईको सर्वोत्कृष्ट साहित्यिक रचना थियो – ‘युद्ध र शान्ति’ ।
‘युद्ध र शान्ति’ ले विश्वमै ठूलो तहल्का मच्चाएको थियो विश्वका धेरै भाषामा यो कृति अनुवाद गरिएको छ आज । १९ औँ शताब्दीको अन्तमा आएर रुसमा दुई जना अति लोकप्रिय र अति विवादित कविहरू जन्मे । उनीहरू थिए ः भ्लादिमीर मायाकोभ्स्की र सेर्गेइ एसेनीन ।
मायाकोभ्स्की र एसेनीन दुवैजना धेरै जेहेनदार कवि थिए । तर दुवै रुसी कवि सोभियत साहित्य समाजमा विवादित थिए । दुवैले सन् १९१७ को अक्टोबर क्रान्तिलाई सहर्ष स्वीकार गरेका थिए ।
मायाकोभ्स्कीले त क्रान्ति हुनु केही वर्ष अघिदेखि समाजवाद र क्रान्तिको लागि दौडधूप नै गरेका थिए र अक्टोबर क्रान्तिका महान नेता भ्लादिमीर लेनिनका ठूलो प्रशंसक थिए ।
मायाकोभ्स्कीले क्रान्तिकारी कविताहरू लेख्दै समाजवादी क्रान्तिको लागि आफ्नो कविताहरूद्वारा गाउँ गाउँ बस्ती बस्तीमा प्रचारप्रसार गर्दै हिँड्दा सेर्गेइ एसेनीन रोमान्टिक कविताहरू लेख्दै गर्थे र यी दुई कविहरू एक आपसमा प्रतिस्पर्धीका रूपमा प्रकट भए । एसेनीन प्रकृतिको सुन्दरताको विषयमा भावनात्मक कविताहरू लेख्न मनपराउँथे भने मायाकोभ्स्की औद्योगिक क्रान्तिका कविता । दुवैजना रचनामा सशक्त थिए र उत्तिकै लोकप्रिय थिए । एसेनीन बाल्यकालदेखि कविता लेख्थे र धेरै केटीहरूले उनलाई मनपराउँथे । सन् १९२५ मा एसेनीनको मृत्यु हुँदा कैँयौँ युवतीहरूले उनको नाममा आत्महत्यासमेत गरे ।
एसेनीनलाई मायाकोभ्स्कीको जस्तो क्रान्तिकारी कविता मनपर्दैनथ्यो र मायाकोभ्स्कीलाई हेप्ने गर्थे । तर उनीभन्दा दुई वर्ष जेठो कवि मायाकोभ्स्कीले प्रेमपूर्वक उनलाई सम्झाउँँथे र भन्ने गर्थे, “तिमी धेरै राम्रा कवि हौ, आफ्नो ऊर्जा खेर नफाल । त्यसै प्रकृतिको मात्र बयानमा बोल्सेभिक कम्युनिस्ट पार्टीको लागि लेख्ने गर ।”
क्रान्तिलाई दुवै कविले स्वीकारे, तर क्रान्तिपछिको देशको दुरवस्था, भोकमरी, दरिद्रता र साथै नेताहरूको देश चलाउने तरिकाले गर्दा दुवै कविलाई क्रान्तिपछिको अवस्था राम्रो लागेन र दुवै सोभियत साहित्य चौतारीमा आलोचनात्मक ढङ्गमा प्रस्तुत भए ।
भ्लादिमीर मायाकोभ्स्की क्रान्ति हुनुअघि जति आशावादी थिए समाजवादी क्रान्तिप्रति त्यतिकै उनी निरास भए । क्रान्तिपछिको सोभियत समाजमा र उनले असन्तुष्टिका विभिन्न कविताहरू लेख्न थाले– विभिन्न आलोचनासहित । त्यसकारण तत्कालीन सोभियत सङ्घको प्रगतिशील लेखक सङ्घले मायाकोभ्स्कीलाई आफ्नो वृत्तबाट पर राख्यो र सोभियत सरकारले पनि उनलाई समर्थन गर्न छोड्यो यद्यपि दोस्रो महान कम्युनिस्ट नेता स्टालिनले भन्ने गर्थे, “भ्लादीमीर मायाकोभ्स्की सोभियत सङ्घको सबभन्दा राम्रो र उत्कृष्ट कवि छन् ।”
स्टालिनको यस प्रशंसापश्चात् पनि सोभियत साहित्य जगतले मायाकोभ्स्कीलाई आलोचना गर्न छोडेन । उसको पछिल्लो कृतिहरूबारे निरन्तररूपमा आलोचना गर्दै रह्यो ।
मायाकोभ्स्की कविमात्र थिएनन्, उनी नाटककार र कलाकार पनि थिए । अक्टोबर क्रान्ति हुनु अगाडिका वर्षहरूमा उनी नाटकहरू लेख्दै गाउँगाउँमा गएर यी नाटकहरू प्रदर्शन गर्दै हिँड्थे । नाटकबाहेक चलचित्रहरूमा पनि उनी देखिए । उनले एक कलाकारको रूपमा र पत्रपत्रिकाहरू पनि प्रकाशन गरे ।
मायाकोभ्स्कीको जीउडाल अलि ठूलो थियो । उनको शरीरको उचाइ ६ फिट ४ इञ्चभन्दा अलि बढी नै थियो । उनको जुत्ताको साइज बजारमा पाइँदैनथ्यो । उनको शरीर यति अग्लो र ठूलो थियो । मानिसहरूले उनलाई बाटोमा देख्दा नरमाइलोसँग जिस्क्याउने पनि गर्थे । यसले गर्दा उनको मानसपटलमा केही नकारात्मक प्रभाव पनि परेको हुनसक्छ । सन् १९३० मा गरेको भनिएको आत्महत्यामा यसले पनि केही प्रभाव पारेको थियो कि भन्ने आशङ्का गर्ने ठाउँ छोडेको छैन भन्न सकिन्न ।
भ्लादिमीर मायाकोभ्स्की लेनिनका ठूला प्रशंसक थिए र स्टालिनले पनि उनको ठूलो प्रशंसा गरेका थिए । मायाकोभ्स्कीको जन्म सन् १८९३ मा जर्जिया राज्यको बग्दादी भन्ने सहरमा भएको थियो । स्टालिन पनि जर्जियाकै थिए । उनी सन् १८७८ मा जर्जियाको गोरी सहरमा जन्मेका थिए र उनको मृत्यु सन् १९५३ मा भएको थियो ।
स्टालिनको मृत्यु मस्तिष्कघाटबाट भएको भनिए तापनि उनको मृत्यु स्वाभाविकरूपमा भएको थियो भन्ने कुरामा धेरैले शड्ढा गर्थे । त्यस्तै सन् १९३० मा ३७ वर्षको उमेरमा मायाकोभ्स्कीले आत्महत्या गरे भन्ने कुरामा पनि धेरैले आशङ्का गरे ।
सन् १९२४ मा सोभियत सङ्घका संस्थापक नेता भ्लादीमीर लेनिनको मृत्युपश्चात् मायाकोभ्स्कीले लेनिनको मृत्युलाई संस्मरण गर्दै, ‘भ्लादिमीर र इल्यिच लेनिन’ भन्ने एक लामो कविता लेखे । जुन सोभियत सङ्घमा अति प्रशंसित भए । यस कविताले मायाकोभ्स्की सोभियत सङ्घमा मात्र होइन विश्व साहित्य जगतमा नै अति प्रख्यात भए ।
मायाकोभ्स्कीको ‘लेनिन…’ कविता धेरै लामो थियो । यो महाकाव्यको रूपमा लेखिएको थियो ।
यो कविता सन् १९२३–१९२४ मा लेखिएको थियो । यसका पहिला केही हरफहरू सन् १९२४ को अक्टोबरमा सोभियत पत्रपत्रिकाहरूमा निस्केका थिए र पछि सन् १९२५ को फेबु्रअरी महिनामा सोभियत सङ्घको आधिकारिक पत्रिकामा यसको पूरा पाठ निस्केको थियो ।
मायाकोभ्स्कीको मृत्यु सोभियत सङ्घमै सङ्घर्ष गर्दै बितेको थियो भने सोभियत रुसको अर्को विश्व विख्यात कवि सेर्गेइ एसेनीनको पनि अत्यन्त रहस्यमय अवस्थामा सोभियत सङ्घमै मृत्यु भएको थियो ।
सेर्गेइ एसेनीन मायाकोभ्स्कीभन्दा दुई वर्षले मात्र कान्छा थिए । उनको मृत्यु ३० वर्षकै उमेरमा भएको थियो एक इङ्गलेटेरा भन्ने होटेलको सिलिङ्गमा झुन्डिएको अवस्थामा । तत्कालीन सोभियत सङ्घको लेनिनग्राड (सेन्ट पिटस्वर्ग) भन्ने सहरको एक इङ्गलेटेरा नामक होटेलमा बसेका थिए आफ्नो जीवनको अन्तिम दिनमा सेर्गेइ एसेनीन । त्यही होटलमा उनले आफ्नो जीवनको अन्तिम कविता ‘अलबिदा मेरो साथी’ भनेर लेखेका थिए  ।
एसेनीनले ‘अलबिदा मेरो साथी’ भन्ने रुसी भाषामा लेखिएको कविता आफ्नो नाडीको नशा काटेर आफ्नै रगतले लेखेर गएका थिए । सायद संसारमा नै कोही होला आफ्नो कवितालाई यति धेरै माया गर्ने ।
एसेनीन धेरै भावुक कवि थिए । प्रकृतिको सुन्दरताको बयान हुन्थ्यो उनको कवितामा । सोभियत रुसमा उनको कवितामा धेरै सुन्दर र मीठा गीतहरू बजे । उनी अति लोकप्रिय बने जनताका बीच र उनका धेरै सुन्दरी युवतीहरू थिए जो उनलाई प्रेम र माया गर्थे ।
तीनजना महिलाहरूसँग उनको औपचारिक वैवाहिक सम्बन्ध थियो भने एकजनासँग अनौपचारिक सम्बन्ध थियो र उनीहरूबाट चार सन्तान थिए । एक जेठी छोरी र तीन छोराहरू ।
एसेनीनले आफ्नो जीवनको अन्तिम समयमा उपन्यासकार लियो टाल्स्टोयकी एक नातिनी सोफिया टाल्स्टायासँग सन् १९२५ को सेप्टेम्बर महिनामा वैवाहिक सम्बन्ध गाँसेका थिए । त्यही वर्ष डिसेम्बरमा एसेनीनको मृत्यु भएको थियो ।
यसरी एसेनीन २० औँ शताब्दीका एक महान् लोकप्रिय कवि भएर पनि उनको निजी र वैवाहिक जीवन कहिले पनि सुखद भएन ।
एसेनीन तीक्ष्ण दिमागका कवि थिए । बाल्यकालदेखि नै कविता कोर्थे । आफ्नो २१ वर्षको उमेरमा उनले सन् १९१६ मा तत्कालीन रुसको शासक जार निकोलाई दोस्रो परिवारसामु आफ्ना रचनाहरू सुनाउने अवसर पाएका थिए ।
कविता लेखनमा प्रकृति र प्रेम उनका मनपर्ने विषय थिए ।
सन् १९१४ मा अन्ना इज्ड्राभ्नोभ्ना भन्ने एक सुन्दरी नारीको तर्फबाट एक छोरो युरीको जन्म भएको थियो । आन्ना र एसेनीनको सम्बन्ध सन् १९१३ देखि १९१६ सम्म रह्यो । त्यसपछि सन् १९१७ मा एक अर्की सुन्दरी कलाकार जीनाइदा राइखसँग विवाह भयो र उनको तर्फबाट टाचीयाना भन्ने एक छोरी र कन्स्टानटीन भन्ने छोराको जन्म भयो । विवाह गरेको दुई वर्षमा उनीहरूको सम्बन्ध विच्छेद भयो र एसेनीनले एक विश्व प्रख्यात अमेरिकी नर्तकी ईसाडोरा डुकानसँग दोस्रो आधिकारिक विवाह गरे । इसाडोरा आफ्नो नृत्य प्रदर्शनको सिलसिलामा युरोप हुँदै रुस सम्पर्कमा आउँदा उनीहरू वैवाहिक सम्बन्धमा गाँसिए ।
ईसाडोरा डुकान सेर्गेइ एसेनीनभन्दा १७–१८ वर्षले जेठी थिइन् र उनीहरूको वैवाहिक सम्बन्ध भए पनि एक अर्काको भाषा बुझ्दैनथे । न ईसाडोरालाई रुसी भाषा आउँथ्यो, न त एसेनीन अङ्ग्रेजी बोल्न सक्थ्यो । अचम्मको थियो जोडी ।
तैपनि दुवैसँगै रहे, सँगै बसे र इशाडोराको नृत्य प्रदर्शन गर्ने सिलसिलामा युरोपका फ्रान्सलगायत अन्य सहरहरू हुँदै दुवैजना अमेरिका पुगे । इशाडोरा आफ्नो नृत्य कलाकारिता प्रदर्शन गर्दै जाँदा सेर्गेइ एसेनीन पनि आफ्नो कविता वाचन गर्दै जान्थे ठाउँठाउँमा । एक साहित्यकार कवि र अर्को कलाकार नृत्याङ्गिनी भएकोले पनि दुईजनाको सहबास राम्रो र सुखद रहेन । झैझगडा र खिचलोले भरियो दुई वर्षको यी कलाकारहरूको जोडी ।
एक त भाषाको समस्या छँदै थियो । अर्को यो भन्दा पनि ठूलो समस्या प¥यो एसेनीनलाई आफ्नो व्यक्तिगत जीवनमा । संयुक्त राज्य अमेरिकामा जाँदा अमेरिकी गुप्तचर विभागले उनलाई सोभियत रुसको जासुसको रूपमा हेर्न थाले भने आफ्नै देशमा पछि फर्कँदा उनलाई सोभियत सरकारले अमेरिकी जासुसको रूपमा लिनथाल्यो ।
यसरी उनलाई न आफ्नो देशमा सुखले बस्न पाए न त श्रीमतीको देश अमेरिकामा । इसाडोरासँग वैवाहिक सम्बन्ध त्यागेर सन् १९२३ मे महिनामा सेर्गेइ स्वदेश फर्के ।
एसेनीनको वैवाहिक सम्बन्ध कसैसँग पनि सुमधुर नरहे पनि उनले आफ्नो कविता लेख्ने बानी कहिले पनि त्यागेनन् । लेख्दै रहे लेख्दै गए । उनको लोकप्रियता बढ्दै रहयो यद्यपि अक्टोबर क्रान्तिपछि उनलाई सोभियत सत्ताले हेर्ने दृष्टि त्यति राम्रो थिएन ।
अक्टोबरको महान समाजवादी क्रान्तिले रुसी जनताको जीवनमा राम्रो सुधार र परिवर्तन ल्याएकोले उनले अक्टोबर क्रान्तिलाई समर्थन गरे जसरी अर्को कवि मायाकोभ्स्कीले गरे । तर दुवै कविमा रुसी राजनीतिक परिवर्तनले खुसी ल्याएन । उनीहरूले सोचेअनुसारको परिवर्तन देखेनन् र दुवै कविले आफ्ना साहित्यिक रचनाद्वारा सोभियत समाजवादी सत्ताको आलोचना गर्दै हिँडे र दुवैले आत्महत्या गरे । एउटा कविले एउटा होटेलको कोठामा झुन्डेर र अर्को कविले आफैले आफूलाई गोली हानेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *