भर्खरै :

पुष्पकमल रामदेवको ठगी धन्दाका अंशियार हुन् ?

नेकपाका ‘जुनियर’ अध्यक्ष पुष्पकमल दाहालको वैचारिक स्खलनको समाचार नयाँहोइन । कुनै बेला द्वन्द्वात्मक भौतिकवादलाई जीवन दर्शन मानेका उनले एकपछि अर्को त्यो दर्शनसँग कहीँ कतै मेल नखाने गतिविधि गर्दा उनको दोहोरो चरित्र छर्लङ्ग भएको हो । उनी कतिबेला भैँसी पूजा गर्छन् । कहिले धार्नीका धार्नी माला लगाएर निधार छोपिने टीका लगाएर हिँड्छन् । उनी कहिले आफ्नी श्रीमतीसँग पुनः विवाह गर्छन् अनि कहिले शक्तिपीठको पूजा गर्छन् । उनका यस्ता गतिविधिले उनलाई जीवनका आदर्श मानेर ‘क्रान्ति’ मा होमिएका कार्यकर्तालाई मात्र होइन, आफ्नो देशको नेताको चालामाला देखेर सर्वसाधारणलाई समेत लज्जित बनाएको छ । शुक्रबार सञ्चारमाध्यममा सार्वजनिक दाहालकै परिवारका केही तस्वीरले उनीभित्र जड बनेर रहेको अन्धविश्वास र अवैज्ञानिक चिन्तन उजागर गरेको छ । दाहाल पत्नी सीता दाहाल उपचारको लागि भारतको हरिद्वारस्थित रामदेवको आश्रममा बसेको केही तस्वीर देखेर धेरै नेपाली जनता चकित परे ।
रामदेव भारतमै ‘ठग’ भनी कुख्यात छन् । उनी वास्तवमा गेरु वस्त्र लगाएर धर्म, उपचार र योगको नाममा ठगी धन्दा गर्ने व्यापारी हुन् । उनी कुनै चिकित्सक होइनन् । बरू उनी भारतीय गुप्तचर संस्थाका लागि काम गर्छन् भनी धेरैले आशड्ढा गर्छन् । त्यस्ता ठगको शिविरमा नेपालको शासक दलका एक जना नेताकी श्रीमती पुगेको देख्दा जनता निराश हुनु स्वाभाविक हो । नेपाली राजनीतिमा भारतबाट दाहालकै शब्दमा ‘सूक्ष्म व्यवस्थापन’ कुन गहिराइमा भइरहेको छ भन्ने कुराको यो एउटा उदाहरण हो ।
श्रीमतीको स्वास्थ्योपचारको निम्ति भनेर दाहालले सीता दाहालसँगै भव्य दोस्रो ‘विवाह’ पनि गरे । दाहाललाई शुभकामना दिन उच्चपदस्थहरूको ठूलै लर्को लागेको थियो । तर, त्यसको परिणाम के आयो ? दोस्रो विवाहपछि के सीताको स्वास्थ्यमा कुनै सुधार आयो ? आएन । आउने थिएन पनि । किनभने त्यो उपचार नै थिएन । अहिले उपचारकै नाममा सीतालाई रामदेवको आश्रममा पु¥याइएको छ । तर, के रामदेवले सीताको स्वास्थ्योपचार गर्लान् ? सिङ्गापुर र अमेरिकामा पुगेर पनि उपचार नभएको सीताको रोग रामदेवले समाधान गर्लान् ? के पुष्पकमल दाहालले यो कुरामा विश्वास मानेका हुन् ? यदि उनले रामदेवबाटै समाधान आउने मानेका हुन् भने वैज्ञानिक चिन्तनसँग उनले सम्बन्धविच्छेद गरेको घोषणा गर्नुपर्छ ।
दाहाल सर्वसाधारण मानिस होइनन् । उनी नेपालका पूर्वप्रधानमन्त्री र कुनै पनि बेला फेरि प्रधानमन्त्री बन्न सक्ने व्यक्ति हुन् । उनले कुनै पनि कदम चाल्दा वा व्यक्तिसँग सम्बन्ध राख्दा त्यसको भावी प्रभावबारे विचार गर्नुपर्छ । भारतमै विवादास्पद मानिएका व्यक्तिको शरणमा आफ्नो परिवारलाई हुनै नसक्ने उपचारको लागि पठाउनु दाहालको लागि सुहाउने कुरा होइन । यस्ता गतिविधिले दाहालको बचेखुचेको इज्जतसमेत ध्वस्त बनाउने छ । हिजो उनले आफ्ना कार्यकर्तासामु दिएको प्रशिक्षण सबै झूट भएको र खासमा आफूले बोलेको कुराप्रति उनी स्वयम्को विश्वास नभएको घटनाक्रमले पुष्टि गरेको छ । रामदेवजस्ता धेरै ठगबाट हाम्रा नेताहरू ठगिएका छन् भने जनता कति ठगिए होलान् ¤ वास्तवमा रामदेव आश्रममा सीता दाहाल जानु रामदेवको व्यापारमा पुष्पकमल दाहालले योगदान गर्नुमात्र हो । अब नेपाली जनताले ‘रामदेवको ठगी धन्दामा दाहालको अंशियारी कति छ ?’ भनी प्रश्न गर्नु स्वाभाविक हो । के अझै पनि आफूलाई कम्युनिस्ट भनिरहन पुष्पकमल दाहाललाई लाज हुन्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *