भर्खरै :

देशको रक्षा गर्नु नेपाल र नेपालीको कर्तव्य

– गोपाल नगरकोटी
शक्तिशाली देश बन्नुको कारण अरु स्वाधीन देशमा आक्रमण गर्ने, हस्तक्षेप गर्ने, आन्तरिक कलह चर्काउने, सीमा अतिक्रमण गर्ने, सेना तैनाथ गर्ने, सरकार प्रमुखलाई सत्ताच्युत गराउने र आर्थिक नाकाबन्दी गर्ने होइन । यस्ता कार्य गर्नेमा संयुक्त राज्य अमेरिका र भारत अग्रस्थानमा छन् । संसारमा सबभन्दा बढी देशको विरोध अमेरिका र भारतकै भइरहेको छ । भारतले नेपाली भूमि मिचेको सन्दर्भमा आम जनताको विरोध छ । सरकारले पनि नेपाली भूमि नेपालकै हुनुपर्ने विचार अघि सारेको छ । तर, सरकारले त्यसको प्रक्रिया अघि बढाएको छैन । नेपाली जनताको यति विरोध भए पनि भारत सरकार अझै मौन रहेको छ ।
नेपालका लागि भारतका पूर्व राजदूत रणजित रायले नेपाली भूमि नेपालको हुनुपर्नेमा मागसहितको अन्दोलन चलिरहेको बेला नेपाल–भारत सीमा विवाद अन्त्य गर्नेबारे वार्ता नहुने बताएका छन् । नेपाली जनताले अतिक्रमित नेपाली भूमि फिर्ताको माग नगरेका भए अर्काे नेपाली भूमि अतिक्रमण गर्न भारत पछि पर्ने छैन । भारत सरकार नेपाली भूमि मिचेरै बसिरहने छ । नेपाली भूमि नेपालको हुनुपर्छ भनी नेपाली जनताले आन्दोलन गरिरहँदा वार्ता सम्भव छैन भन्नुको अर्थ के मिचेको भूमि भारतले नछोड्ने भनेको हो ? आन्दोलन गर्दा वातचितको प्रक्रिया अघि बढ्दैन भने आन्दोलन नभएको बेला भारतले स्वविवेकमा नेपाली भूमि फिर्ता दिनुपर्ने हो नि ¤ भारतले स्वविवेकमा मिचेको कुन नेपाली भूमि फिर्ता गरेको छ ? नेपाली भूमि मिचे पनि नेपाल सरकार र नेपाली जनता सहेर बसेकै कारण झन् झन् मिच्न थालेको हो, मिचिरहेको हो । मिचेको नेपाली भूमि औपचारिकरूपमा आफ्नै भूमि बनाउन भारतको नयाँ नक्सामा नेपाली भूमि गाभेको हो । यो जतिको मित्र देश भारतको अर्काे मूर्खता के होला ?
नेपाली भूमि मिच्नु शक्तिशाली भारतको अभिमानी हो । भूमि मिचे पनि सानो देश नेपालले के नै गर्नसक्छ र भन्ने भारतको मनसाय देखिन्छ । नेपाली भूमि जति मिचे पनि नपुग्ने भारतको दाउ कस्तो ¤ भारतको यति धेरै अतिक्रमण किन ? के सानो मुलुकको धर्म ठूला शक्ति राष्ट्रले जे गरे पनि सहेर बस्नुमात्र हो ? शक्तिशाली देश अमेरिकाको दादागिरी त झनै डरलाग्दो छ । अमेरिका र भारतले संसारका दर्जनौँ मुलुकमा प्रत्यक्ष या अप्रत्यक्ष हस्तक्षेप गरिरहेका छन्, नाकाबन्दी गरिरहेका छन् । देश भड्काउने, आन्तरिक कलह मच्चाउने काम गरिरहेका छन् । संसारका कुनै पनि मुलुकले कुनै पनि मुलुकमा गर्ने दमन, अन्यायको विरोध गर्छ, गर्नुपर्छ । आफ्नो देशको सुरक्षा सर्वप्रथम आफूले गर्नुपर्छ, सुरक्षा गर्न पहल गर्नुपर्छ । त्यसो नभए नेपाल या अन्य त्यस्तै सानो स्वाधीन र सार्वभौम देशलाई ठूला देशले सजिलै निल्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *