भर्खरै :

पर्यटन चेत विकास खोइ ?

–प्रभा श्रेष्ठ
ईश्वी संवत्को २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाई वर्षदिनभित्र २० लाख पर्यटक भिँयाउने लक्ष्य सरकारले घोषणा गरेको छ । सरकारले नेपाल भ्रमण वर्षको प्रचारप्रसारका लागि अर्बाैं रुपैयाँ खर्च गरेको छ । तर, त्यसको यथोचित परिणाम देखिएको छैन । सर्वसाधारण जनताको कुरा त बेग्लै सरकारी कार्यालयका कर्मचारी र कतिपय स्थानीय तहका पदाधिकारीहरूमा समेत पर्यटन चेतको विकास देखिएको छैन । त्यसैले नेपाल भ्रमण वर्षको सङ्घारमै सयौँ वर्ष पुराना सम्पदा म्हास्ने काम भइरहेका छन् । विदेशी पर्यटकहरू नेपालमा चौडा सडक र ग्राभेलिङ गरिएको बाटो हेर्न आउने पक्कै होइन । विशेषतया नेपालमा विदेशी पर्यटकलाई दुइटा चीजले आकर्षण गर्ने गरेका छन् । पहिलो नेपालको प्राकृतिक सुन्दरता र दोस्रो नेपालका प्राचीन र मध्यकालीन कला कौशल । विडम्बनाको कुरा आज पर्यटन चेतको अभावमा सरकार, स्थानीय तह र सर्वसाधारण जनताबाट देशको प्राकृतिक सुन्दरता तथा कलात्मक सम्पदा म्हास्ने काम भइरहेका छन् । गाउँबस्ती र खोलानाला प्रदूषित पार्ने नकाम भइरहेका छन् ।
जिल्ला–जिल्लालाई मात्र होइन गाउँ–गाउँलाई सडकले जोड्ने लहर नै चलेको छ । सडक बन्नु गलत होइन तर त्यसरी सडक बनाउँदा ऐतिहासिक सुन्दर गाउँ र सम्पदाहरू म्हासिनुभएन, पर्यटनको पूर्वाधारका रूपमा रहेका पदमार्ग भत्काउनु र म्हास्नु भएन । वनजङ्गल, खोलानाला र झरनाहरू सुकाउन वा धमिल्याउन भएन । काठमाडाँै, भक्तपुर, ललितपुरलगायत पुराना बस्तीहरूमा सकेसम्म मध्यकालीन शैलीले मात्र घरभवनहरू निर्माण गर्नुपर्छ । युरोपका सबैजसो विकसित देशमा पुराना सहर र बस्तीहरू पुरानै शैलीमा मर्मत र पुनःनिर्माण गरी मौलिकता कायम राखेको हामी पाउँछौँ । हामीले पनि हाम्रा पुर्खाहरूको निर्माण शैलीमा केही समयअनुसारको परिमार्जन गरी पुरानै स्वरुप र शैलीमा नगर र गाउँबस्ती कायम राख्न सक्यौँ भने त्यो पर्यटकीय आकर्षण बन्नेछ । हाम्रो नगर र गाउँलाई पर्यटक गन्तव्य बनाउन ती सम्पदाले ठूलो टेवा पु¥याउने छ ।
फेरि पर्यटन विकासका लागि भौतिक पूर्वाधारमात्र भएर पुग्दैन, पर्यटन चेत नै जरुरी छ । हाम्रा राम्रा कुरा पर्यटकहरूलाई देखाएर, नराम्रा कुरा हटाउँदै लगेर हामीले आफ्नो सभ्यता र संस्कृति देखाउने र त्यसबाट उचित आम्दानी गर्ने सोच हामीमा हुनैपर्छ । विदेशीले एकैपटक हाम्रो भाषा नसिक्ने हुनाले हामी र हाम्रा सन्ततिले नै एक–दुई वटा अन्तर्राष्ट्रिय भाषा सिक्यौँ भने हामी पर्यटकमैत्री र पर्यटन उद्यमीसमेत बन्न सक्छौँ । यसतर्फ सरकार र सम्बद्ध पक्षहरूको कममात्र ध्यान जानु खेदजनक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *