भर्खरै :

विश्व सम्पदा भैरवनाथ मन्दिर पुनः निर्माणको आय व्यय सार्वजनिक

भक्तपुर, २९ पुस । २०७२ सालको भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनःनिर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम मङ्गलबार टौमढीमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी प्राविधिक नक्सा डिजाइनसङ्ग्रह’ पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको कला–संस्कृति हाम्रो आफ्नै सम्पत्ति भएको हुँदा यसको संरक्षण र जगेर्ना गर्नु नेपालीहरूको कर्तव्य भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माण कार्यको व्यवस्थित दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्दिर पुनःनिर्माणमा संलग्न उपभोक्ता समितिका पदाधिकारी, प्राविधिक, डकर्मी, चन्दादाता तथा सम्पूर्ण सहयोगीहरू धन्यवादका पात्र भएको बताउँदै उहाँले आगामी दिनहरूमा पनि जनताको व्यापक सहभागितामा विकास निर्माणका कार्यहरू अगाडि बढाउनु उपयुक्त हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले २०७२ सालमा नेपालमा गएको भूकम्पले विश्व सम्पदा क्षेत्रमा सूचिकृत धेरै सम्पदा र निजी आवासहरूमा क्षति पु¥याएको तथ्याङ्क प्रस्तुत गर्दै भूकम्प पीडितलाई दिँदै आएको रु. ३ लाख अनुदान अपुग भएको बताउनुभयो ।
सरकारले भूकम्प पीडितको लागि विशेष योजना बनाएर सहयोग रकम थप गर्नुपर्ने र समय अवधि बढाउनुपर्नेमा जोड दिँदै सांसद सुवालले भैरवनाथ मन्दिरको जीर्णाेद्धार भक्तपुर नपाले दुईपटक गरिसकेको अवगत गराउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भैरवनाथ मन्दिर जीर्णोद्धार निर्देशक समिति, उपभोक्ता समिति, अनुगमन समिति, प्राविधिक समितिमा बसेर सहयोगी भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
भैरवनाथ मन्दिर २०७५ साल असोज ३ गतेबाट जीर्णोद्धार सुरु भई २०७६ साल असारमा सम्पन्न भएको अवगत गराउँदै प्रमुख प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई कार्यान्वयनको पक्षमा नगरपालिका निरन्तर लागिपरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले काठमाडौँ उपत्यकाको सौन्दर्य र कला–संस्कृति जोगाउन उपत्यकाभन्दा बाहिरका सहरहरूमा नयाँ बस्ती विकास गर्नुपर्नेमा जोड दिँदै शासक दल काठमाडौँकेन्द्रित सोच र मानसिकताबाट टाढा रहनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृतिलाई हरसम्भव जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा अगाडि बढिरहेको बताउँदै भक्तपुरका मौलिक वस्तुहरू प्रवद्र्धन गर्न प्रयासरत रहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डेले कला–संस्कृति र मौलिकताले भरिएको भक्तपुरका सम्पदाहरूबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरूको पुनःनिर्माण मौलिक शैलीमा नै गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाले भैरवनाथ मन्दिरलगायतका यहाँका महत्वपूर्ण सम्पदाहरू पुनःनिर्माण गरी उल्लेखनीय कार्य गरिरहेको चर्चा गर्दै भक्तपुरमा भएका विकास निर्माणका कार्य देशैभरि चर्चाको विषय बनिरहेको छ भन्नुभयो ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भैरवनाथ मन्दिरको ऐतिहासिक पक्षबारे प्रस्ट पार्दै भक्तपुरमा सम्पदाहरूको जीर्णोद्धार, पुनःनिर्माण, संरक्षण र संवद्र्धन गर्न, लोपोन्मुख एवम् लोप भइसकेका भौतिक एवम् अभौतिक सम्पदाहरूलाई भक्तपुर नपाले सांस्कृतिक पुनःजागरणको ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको छ भन्नुभयो ।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख मोहनसिं लामाले भैरवनाथ मन्दिर विज्ञहरूको राय–सुझावको आधारमा कम लागत र निर्धारित समयमा जीर्णोद्धार सम्पन्न हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको आय–व्यय र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भैरवनाथ मन्दिर जीर्णोद्धारको क्रममा सङ्कलित आर्थिक सहयोग रकम रु. ५ लाख १६ हजार ९५८ रुपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *