भर्खरै :

मध्यपूर्वमा युद्धको बादल

 वाङ चिन
संरा अमेरिकाको हवाई हमलामा परी इरानी सेनाको विशेष कुद फोर्सका प्रमुख जनरल कासिम सोलेमानीको हत्या भयो । यो घटनाले मध्यपूर्वमा तनाव बढाएको छ । इराकी भूमिका इरान र संरा अमेरिकाबीच पछिल्लो समय बढ्दो शत्रुताबीच सोलेमानीको हत्या भएको हो । वाशिङ्टन र तेहरानबीचको पेचिलो शत्रुताको यो एउटा सानो अंश हो ।
जनवरी ८ मा इरानले इराकस्थित संरा अमेरिकी सेना बसेका दुई सैनिक आधारमा मिसाइल हमला गरेर संरा अमेरिकाको प्रतिकार ग¥यो । तथापि, संरा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हमलामा परी संरा अमेरिकाको कोही पनि घाइते नभएको प्रष्टिकरण दिए ।
सन् २०१९ को अक्टोबरदेखि इराकमा आन्दोलन र विरोध प्रदर्शनको लहर उठेको थियो । इराकी जनताले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको वा पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको भन्दै इराकी सरकारलाई त्यहाँका जनताले चर्को आलोचना गरिरहेका छन् । इराकी जनता आफ्नो देशको अस्थिरता र अराजकताबाट वाक्कदिक्क भइसकेका छन् । यस्तो परिस्थितिमा इरानको सहयोगमा चलेको अर्धसैनिक पपुलर मोबिलाइजेसन युनिट (पीएमयू) अर्थात् हस्द अल–शाबी इराकभित्रको सबभन्दा प्रभावशाली शक्ति देखाप¥यो । विरोध प्रदर्शनहरूमा पीएमयूको मुख्य भूमिका रहने गरेको छ ।
बढ्दो तनाव
इराकमा आतङ्कवादी समूह आईएसआईएस व्यापकरूपमा फैलिएको अप्ठ्यारो समय सन् २०१४ मा पीएमयू स्थापना भएको थियो । सिया मुसलमानहरूको यो समूहलाई इरानी सेनाले मद्दत गर्दै आएको छ । विशेषगरी इरानी सेनाको विशेष कुद दस्ताले यसलाई सहयोग गर्दै आएको हो । कुद सेना इरानी सेनाअन्तर्गत विदेशी भूमिमा काम गर्न बनाइएको सैन्य दस्ता हो । आईएसआईएसविरुद्ध वर्षौँ वर्षको लडार्इंपछि इराकमा पीएमयू शक्तिशाली राजनीतिक र सैनिक शक्ति बनेको छ ।

बग्दादनजिक कटैब हेजबुल्लाहलाई निशाना बनाएको र संरा अमेरिकाले सैनिक हमला गरेपछि संरा अमेरिका र इरानबीचको तनावले नयाँ उचाई हासिल गरेको हो । उनीहरूले सन् २०१९ को डिसेम्बरको अन्तिमतिर पीएमयू सम्बद्ध समूहले संरा अमेरिकी सैनिकहरूमाथि हमला गरेको दाबी गरेका थिए । कटैब हेजबुल्लाहका आधारमाथि अमेरिकी सेनाले गरेको हमलाको प्रतिरोधमा सयौँ लडाकूहरू बग्दादस्थित हरित क्षेत्रमा घुसेको थियो । हरित क्षेत्रमा संरा अमेरिकी दूतावास अवस्थित छ । लडाकूहरूले संरा अमेरिकी दूतावासको पर्खाल भत्काउने प्रयास गरेका थिए ।

पीएमयूले इराकको राजनीतिक वृत्तमा आफ्नो स्वाधीन अस्तित्व कायम राखेको छ । यसका लडाकूले इराक सरकारको आदेश मान्ने गर्दैन । यो समूह र यसका समर्थकहरू इराकमा संरा अमेरिकी हस्तक्षेपको विरोधमा उभिएको छ । यसले इराकबाट संरा अमेरिकी सेना पूर्णरूपमा फिर्ता हुनुपर्ने माग गर्दै आएको छ । यसैबीच संरा अमेरिका र केही इराकी राजनीतिक शक्तिले पीएमयूलाई इरानको ‘दलाल’ को बिल्ला पनि लगाइदिएका छन् ।
बग्दादनजिक कटैब हेजबुल्लाहलाई निशाना बनाएको र संरा अमेरिकाले सैनिक हमला गरेपछि संरा अमेरिका र इरानबीचको तनावले नयाँ उचाई हासिल गरेको हो । उनीहरूले सन् २०१९ को डिसेम्बरको अन्तिमतिर पीएमयू सम्बद्ध समूहले संरा अमेरिकी सैनिकहरूमाथि हमला गरेको दाबी गरेका थिए । कटैब हेजबुल्लाहका आधारमाथि अमेरिकी सेनाले गरेको हमलाको प्रतिरोधमा सयौँ लडाकूहरू बग्दादस्थित हरित क्षेत्रमा घुसेको थियो । हरित क्षेत्रमा संरा अमेरिकी दूतावास अवस्थित छ । लडाकूहरूले संरा अमेरिकी दूतावासको पर्खाल भत्काउने प्रयास गरेका थिए ।
संरा अमेरिकाले आफ्नो दूतावासअघि भएको प्रदर्शनको आरोप कटैब हेजबुल्लाह, बद्र सङ्गठन, सराया अल–खोरासानी र असैब अहल अल–हक समूहमाथि लगाएको छ । यी समूहको इरान र विशेषगरी सोलेमानीसँग नजिकको सम्बन्ध भएकोले उनी र पीएमयूका अन्य नेताहरूलाई प्रहारको निशाना बनाउनु जायज भएको संरा अमेरिकाको दाबी हो ।
सोलेमानीको हत्याले मध्यपूर्वका धेरै विश्लेषकलाई चकित बनाएको छ । उनीहरूमध्ये अधिकांशले सोलेमानीको व्यापक बन्दै गएको लोकप्रियताबाट जलेर संरा अमेरिकाले उनलाई मार्ने निर्णय गरेको धारणा राख्छन् ।
सोलेमानी मध्यपूर्वमा अधिकांश तेहरानको सहयोग पाएका सिया समूहका नेता थिए । उनी इराकको पीएमयू र सिरियाका विभिन्न समूहका नेता थिए । इरानभित्र पनि उनी निकै प्रभावशाली मानिन्छन् । उदाहरणको लागि सन् २०१७ को राष्ट्रपति चुनावअघि सोलेमानीले पनि राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गर्न खोजेका थिए । तर, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले उनलाई त्यसो नगर्न सल्लाह दिएपछि रोकिएका थिए । उनलाई धेरैले सन् २०२१ को राष्ट्रपति चुनावको लागि सम्भावित उम्मेदवारको रुपमा हेरेका थिए ।
फरक रणनीति
संरा अमेरिकी सैनिक आधारलाई हानिएका मिसाइल इरानी भूभागबाट इरानी क्रान्तिकारी गार्ड कोर्प (आईआरजीसी) ले हानेको थियो, इरानी सरकारी सेनाले हानेको थिएन । यसको अर्थ इरानले संरा अमेरिकाविरुद्ध युद्ध ‘घोषणा’ नगरेको भन्ने लाग्छ । इरानले इराकस्थित अमेरिकी सैनिक आधारमाथि मात्र हमला ग¥यो । कतार, संयुक्त अरब इमिरेट्स वा साउदी अरबका सैनिक आधारमा छोएको थिएन । यसको अर्थ इरान संरा अमेरिकासँगको द्वन्द्व मध्यपूर्वकै केही क्षेत्रमा मात्र सीमित राख्न चाहन्छ । मध्यपूर्वभरि द्वन्द्व फैलाउने पक्षमा इरान छैन ।
इरानको हमलालाई संरा अमेरिकाले तनाव पनि भनेन । ट्रम्पले आफ्नो वक्तव्यमा ‘इरान बस्न खोज्दैछ’ र यो सबै पक्षको लागि ‘राम्रो कुरा’ भएको बताएका थिए । उनले इरानमाथि थप नाकाबन्दी लगाइने र सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा हस्ताक्षर गरेका सबै पक्षलाई आफूले जस्तै सो सम्झौता त्याग्न ट्रम्पले आग्रह गरे । इरान आणविक सम्झौतामा संरा अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, जर्मनी र युरोपेली सङ्घले हस्ताक्षर गरेको थियो ।
वाशिङ्टनको अन्तिम लक्ष्य भनेको वार्ताको टेबुलमा आउन बाध्य बनाएर इरानी प्रभावलाई न्यून बनाउने हो । ट्रम्प र विदेश सचिव माइक पोम्पेओ दुवैले धेरै पटक इरानी नेताहरूसँग भेट्न वा तेहरानको भ्रमण गर्न आफू उत्सुक रहेको बोलेका छन् । तर, इरानी आणविक सम्झौताबाट हात झिकेर, इरानमाथि आर्थिक नाकाबन्दी थोपरेर र इरानका राष्ट्रिय व्यक्तित्वको हत्या गरेर यस्तो कुरा बोल्नु हावादारी कुरा मात्र हो ।
इरानविरुद्ध ‘अधिकतम दबाब’ दिने संरा अमेरिकी रणनीतिको प्रतिरोधमा इरानले पनि चरणबद्ध रुपमा आणविक सम्झौताका बुँदाबाट पछाडि हटिरहेको छ । हालसालै मात्र इरानले सम्झौताबाट हात झिक्ने अन्तिम घोषणा ग¥यो ।
तथापि, इरानको निर्णय अन्तर्राष्ट्रिय समुदायलाई बेवास्ता गरेर गरिएको भनी हेरिनु उचित हुन्न । इरानले अझै पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग सहकार्य गरिरहेको छ । आईएईएले अहिले पनि इरानको आणविक अनुसन्धान प्रक्रिया अनुगमन गर्न पाउँछ । आईएईएसँग उसको सहकार्यले उसको आणविक पूर्वाधार र अनुसन्धान प्रक्रियालाई विश्वसमक्ष पारदर्शी बनाएको छ । इरानले आणविक हतियार बनाएको भन्ने आरोपलाई आईएईएको अनुगमनले मिथ्या प्रमाणित गरेको छ । यस्तो काम अरू देशले इतिहासमा गोप्य रुपमा गरेको थियो ।
आणविक सम्झौतामा इरान फिर्ता हुनुको एउटै मनसाय भनेको अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नु हो । साथै विशेषतः युरोपेली सङ्घलगायत विभिन्न शक्तिलाई तेहरान र वाशिङ्टनबीचको तनावमा मध्यस्थताको लागि दबाब दिनु हो । साथै इरान आफ्नो सार्वभौमिकता र राष्ट्रिय गौरव जोगाउन पनि प्रतिबद्ध छ ।
संरा अमेरिकासँग तनाव बढाउनु इरानको हितमा छैन । सोलेमानीको हत्यावापत तेहरानले सीमित परिमाणमा मात्र प्रतिरोध ग¥यो । वाशिङ्टनसँग सकारात्मक सम्बन्ध पुनःस्थापनाको लागि यसले केही आशा छोडेको छ ।
तथापि, दुई देशबीच तनाव बढ्ने सम्भावना भने अझै पनि छ । मध्यपूर्वका विभिन्न देशमा सिया सैनिक समूहलाई इरानी क्रान्तिकारी गार्ड कोर्पले मद्दत गर्दै आएको छ । विशेषतः इराक र सिरियामा यस्तो सहयोग गर्दै आएको छ । तिनले संरा अमेरिकी क्षेत्र, सम्पत्ति र व्यक्तिमाथि हमला गर्न सक्छ । इरान र संरा अमेरिकाबीच अहिले कुनै प्रत्यक्ष संवादको माध्यम छैन । संरा अमेरिकामाथि हुनसक्ने कुनै पनि हमलालाई वाशिङ्टनले इरानबाट भएको हमलाको रूपमा बुझ्न सक्छ । त्यसले सो क्षेत्रमा थप अस्थिरता जन्माउनेछ ।
त्यसकारण कूटनीतिक पहलको अत्यन्त खाँचो छ । रुस र युरोपेली सङ्घले दुई देशबीचको तनाव न्यून गर्न भूमिका खेल्न आवश्यक छ ।
इरान आणविक सम्झौताको हस्ताक्षरकर्ता र संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को सदस्यको नाताले चीनले पछिल्लो सङ्कट मत्थर बनाउन रचनात्मक भूमिका खेल्न सक्छ । ‘चीनले अवस्थालाई नजिकबाट हेरिरहेको छ । सम्बन्धित पक्षसँग नजिकको सम्पर्कमा रहनेछ । साथै तनाव न्यून गर्न रचनात्मक भूमिका निभाउने छ । अनि अवस्थालाई सही ढङ्गले व्यवस्थापन गर्नेछ”, चिनियाँविदेशमन्त्रालयको प्रवक्ता केङ शुवाङले जनवरी ८ मा भने ।
कुनै हठ वा शत्रुता होइन, विवेकले मात्र मध्यपूर्वको समस्या समाधान गर्न सक्छ ।

(लेखक चार्हर प्रतिष्ठानका अध्येता र चीनको उत्तरपश्चिम विश्वविद्यालयको मध्यपूर्व अध्ययन प्रतिष्ठानका सह–प्राध्यापक हुन् ।)
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *