भर्खरै :

कालापहाडको कहर

राकस्था
साउको रिन तिरौँला भनी गयाँ कालापहाड,
नौलो लाउन्या धन कमाउन्या होइन मेरो रहड !
कर्णाली प्रदेशतिर चर्चित लोकगीतको एउटा अंश हो यो । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका गरिब पुरुषहरू यतिखेर भारतका उत्तराखण्डका कहालीलाग्दा ‘कालापहाड’ को कहर काट्दै छन् । हिउँदको चिसो कटाउनमात्र होइन नुनतेल, लत्ताकपडा तथा अन्य दैनिक गुजाराका सामानको जोहो गर्न जिल्लामात्र होइन, देशै छोड्छन् मानिस । माथि उद्धृत गीतको अंशमा भनिएझैँ धन कमाउने र नयाँ कपडा लाउनेभन्दा साहुको ऋण तिर्ने बाध्यता हुन्छ पहाडका गरिबजनको ।
२०७६, कार्तिकको अन्तिम हप्तातिर यो पङ्क्तिकार कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका मानिएको नेपालगञ्जमा थियो । अयोध्याको राममन्दिरसम्बन्धी मुद्दा भारतको सर्वाेच्च अदालतमा बहस पैरवी भइरहेको कारण देखाई भारत छिर्ने नेपालको जमुनाह नाका बन्द गरिएको थियो । त्यसैले रुपैडिया हुँदै भारत जाने नेपालीहरू दुई दिनदेखि नेपालगञ्जमै थन्किएका थिए । दुई दिन नेपालगञ्जको एउटा होटेलका सबै कोठामा अटेसमटेस गरी बस्दा पनि नअटाएर भुईँमा रात कटाइरहेका थिए, दैलखबाट झरेका केही श्रमिकहरू । उनीहरूलाई नाका कहिले खुल्ने हो, सहरको खर्च कसरी धान्ने हो भन्ने पीर थियो ।
सन् १८१६ को सुगौली सन्धिअगाडि नेपालको पश्चिम सिमाना किल्ला काँगडासम्म थियो । हालको पश्चिमी नेपालका नागरिक र ‘बृहत् नेपाल’ अन्तर्गत कालापहाड, हालको भारतका नागरिकबीच अद्यापी निकै बलियो भावनात्मक सम्बन्ध छ । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक एवम् राजनीतिक सम्बन्ध अझ घटेको छैन । खेतीपाती कम हुने भारतका उत्तरी अग्ला पहाडका जनता अपहेलित छन्, आवातजावत कठिन छ, विकास निर्माण सजिलो छैन । त्यस हिसाबले भारतको उत्तराखण्ड क्षेत्र कालापहाडको नामले परिचित भए । पूर्वपश्चिम राजमार्ग खुलेपछि भने कालापहाड जान नेपालीलाई निकै सजिलो भयो ।
शोषण र गरिबीको साम्राज्य
गाल नगरेस् आमाकन नहानेस् भाउकन,
म घर आइजानेछियाँ क्या बुझाउँ साउकन !
खस भाषाकै लोकगीतको यो अंशमा भनिएझैँ परदेश गएका खसमले अरू के भन्नु र ¤ घरको याद गर्नुबाहेक मुगलान झरेका मानिसको अर्को विकल्प हुन्न । पुरानो पुस्ताको सम्मान गर्नु र आउँदो पुस्ताको ख्याल गर्नु नै घर बस्ने महिलाको जिम्मेवारी बन्छ । त्यसैले परदेशिने मानिस भन्छन्, आमाको हेरचाह गर्नू, छोराछोरीलाई माया गर्नू ¤ गरिबी नै कर्णाली प्रदेशको बाध्यता हो, नत्र कसलाई पो घरको न्यानो माया त्याग्ने रहर हुन्छ ¤ घर आए साहुको ऋण कसरी बुझाउने भन्ने पिरलो हुन्छ, दुखियालाई । यो प्रदेशमा मासिक सयकडा ५ सम्मको ब्याज असुलिन्छ, ब्याजको चक्रबाट गरिबलाई निस्कन मुस्किल छ । कतिपयको अचल सम्पत्ति लिलाम नै हुन्छ ।
भोक लागे गुँड चना खाएई ममफली नखाएै
बत्तु पैसा अठजान्नान् रातबजार नजाएै !
गृहिणी महिलालाई परदेशिएका आफ्नो खसमको खानपान र स्वास्थ्यकै चिन्ता हुँदो हो । त्यसैले भोक लागे गुँड चना खानुुस् बदाम नखानुस् भन्छिन् (बदाम खाए खोकी लाग्ने विश्वास रहेछ) । श्रमबजारको निम्ति भारत पुगेका नेपाली युवाहरू त्यहाँ व्याप्त ‘रेडलाइट जोन’ मा बरालिँदा पैसा त सकिन्छ नै, विभिन्न यौनरोग पनि लिएर पस्छन् भन्ने प्रस्तुत लोकगीतले इङ्गित गर्छ । पैसा नभए पनि इज्जतको ख्याल गर्न सल्लाह दिन्छिन् महिला – बरु पैसा चाहिन्न रात्रिबजार नजानुस् !
बेरोजगारीको दुष्चक्र
‘पहिला भेडा पाल्थे, भेडाले नै सुर्खेतबाट चामल र नुन बोक्थे । घरखर्च चलेकै हुन्थ्यो । गाउँमा गाडी पुगेपछि भेडा पाल्न छोडे ।’ कर्णाली प्रदेशको एक प्रतिनिधिको निष्कर्ष हो यो । सडक त बन्यो, जनताले भने रोजगारीको विकल्प पाएनन् । कर्णाली प्रदेशका करिब २२ प्रतिशत युवा वैदेशिक रोजगारीमा छन्, त्यसमध्ये अधिकांश भने भारत नै जान्छन् । खुला सीमाको कारण पनि सजिलो नै मान्छन्, भारत जान । फेरि धेरै पुस्तादेखिको दुष्चक्रले पनि काम गरेको होला । कृषिमा करिब १८ प्रतिशतमात्र संलग्न छन् । व्यापारमा १८ प्रतिशत । गाउँमा काम पाइहाले पनि ज्याला कम हुन्छ । यही नै विदेश पु¥याउने ‘पुस फ्याक्टर’ बन्नजान्छ सामान्यजनको निम्ति । गाउँमा राम्रा विद्यालय छैनन् । भइहाले पनि गाउँले जीविकासँग जोडिएको पढाइ हुन्न । राम्रो रोजगारीको निम्ति सामान्य लेखपढले मात्र पुग्दैन । मानिस रोजगारी पाइएला कि भनी पढ्छन्, रोजगारी नपाएपछि बाबुबाजेले झैँ कुम्लो बोकेर विदेशतिर भासिन्छन् ।
बालबच्चाको भरणपोषण
नेपालगञ्जको एक होटेलमा भेटिएका भारतमा श्रम गर्न हिँडेका दैलेख डाँडापराजुलका नागरिकमध्ये अधिकांश युवा नै थिए । केही त किशोर थिए भने केही ६० वर्ष कटेका । देशको औषत् आयुदरभन्दा २२ वर्ष कम आयु हुने पुरानो कर्णाली अञ्चलको निम्ति ६० वर्षको उमेर कमको होइन ।
कामको खोजीको क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका १०–१२ वर्षका बालकदेखि वृद्धसमेत भारत जान्छन् । दुई महिनाको जाडो बिदामा विद्यार्थी अभिभावकसँग भारत गई सामान बेची पैसा कमाउने धुनमा लाग्छन् । कार्तिकदेखि जुुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, बझाङ्ग, बाजुरालगायतका उच्चपहाडी तथा हिमाली जिल्लाका युवा तथा वृद्धहरू करिब ६ महिनाको निम्ति कालापहाड झर्न थाल्छन् । कार्तिकमा धान स्याहारेर चैतमा धान रोप्न फेरि आफ्नो पहाडको घर पुग्छन् तिनीहरू । एउटा भनाइ छ – हँड्नु हैथै, खानु मैथै, पुग्नु चैतै । पहाडमा रोजगारी छैन, खेतीपातीको निम्ति राम्रो सिँचाइ, मलबिउ, सरल प्रविधि उपलब्ध छैनन् । विकासे योजनामा मानिसको काम डोजरले गर्न थाल्यो, डोजरले मालिकलाई फाइदा भयो, स्थानीयले काम पाएनन् । उपभोक्ता समितिमार्फत काम हुँदा मानिस श्रमदान गर्न पाउँथे, अहिले उपभोक्ता समितिमै भ्रष्टाचार व्याप्त हुँदा मानिसले आफ्नै गाउँको बाटो बनाउनसमेत सहयोग गर्न छोडे । गरिब भन्छन्, ‘पैसा कमाउने विकल्प छैन, पैसा नभए भोको पेट भरिँदैन । कालापहाड बाध्यता हो ।’ उनीहरू भन्छन्, ‘गाउँमा आएको सिंहदरबारका सिंह नअघाउञ्जेलसम्म गरिबलाई रोजगारी मिल्दैन । छाक टार्न कालापहाड जानैप¥यो ।’ ‘गाउँमा रोजगारी छैन, घरमै बस्दा वर्षभरि खान पुग्दैन । बालबच्चा पाल्ने कसरी ?’
मानसिक रोगका सिकार
नेपालको सरकारी तथ्याङ्कानुुसार करिब ७ लाख नेपाली भारतमा श्रम बेचिरहेका छन् । तर, यो सङ्ख्या २० लाखभन्दा बढी हुनसक्छ भन्छन् जानकार । भारतमा अधिकांश नेपालीले तल्लोस्तरको काम गर्छन् । तिनीहरूको ज्याला तलबको कुनै निश्चितता हुन्न । उनीहरू कुनै नियुक्तिपत्र पाउन्नन् । नेपाली कामदारको कानुनी सुरक्षा छैन । काम गर्ने ठाउँ सुरक्षित छैनन् । बस्ने स्थिति राम्रो हुन्न । अधिकांश नेपाली निरक्षर वा प्राथमिक तहको शिक्षा पाएका भेटिन्छन् । भारतमा नेपालीले गर्ने काम भन्नु सुरक्षा गार्ड, रेस्टुरेन्ट मजदुर वा ज्यामी नै हो । कुल्ली, कोइलाखानी मजदुर, चिया मजदुर वा अन्य कृषि मजदुर नेपालीको पहिचान बनेको छ, भारतमा ।
नेपाली श्रमिकहरू समयमा ज्याला पाउन्नन् । उनीहरू ओभरटाइमको ज्याला पाउन्नन् । नेपालीको स्वास्थ्य बीमा हुन्न । निर्धारित समत्न्दा बढी समय काम गर्नुपर्ने हुन्छ । कामदारको सुरक्षा हुन्न, सफा खानपान हुन्न । भारतमा नेपालीले सीमित श्रमअधिकार र सामाजिक सुरक्षा उपभोग गर्छन् । आफूमाथिको अन्यायविरुद्ध लड्न नसक्ने र कमजोर मजदुरहरूमा मानसिक रोग देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । कामपछि नेपाल फर्किने क्रममा कयौँ नेपाली भारतमै लुटिन्छन् । बैङ्कबाट नेपालमा विप्रेषण गर्नेसम्मको व्यवस्था छैन । यसरी शोषण, कानुनी सुरक्षाको अभाव, घरपरिवार तथा देशका साथीभाइसँग छुटेर बस्दा मानसिक समस्या आएको विज्ञको ठहर छ ।
महिलाको भरमा गाउँ
श्रीमान् र छोराहरू भारत गएपछि गाउँ करिबकरिब पुरुषशून्य हुन्छ । महिलाको काम आफ्नो घरमात्र होइन गाउँ कुर्ने हुन्छ । घरका खेतबारीदेखि चरिचरणलगायतका सबै काम महिलाकै थाप्लोमा पर्छ । अघिअघि भए महिलाले गोरु जोत्नु हुन्नथ्यो, अब भने खेत जोत्न पुरुष नहुँदा त्यसको विकल्प हुन्न । गाउँको रखवारीसमेत महिलाले नै गर्छन् । गाउँका महिलाहरू दिनमा स्याउलासोत्तर तथा दाउरा सङ्कलन गर्न वा अन्य कुनै काममा जाँदा बाँकी महिलाले सिङ्गो गाउँको रेखदेख गर्नुपर्छ । तर, यसको एउटा सकारात्मक पाटो छ, परिस्थितिले महिलाको क्षमता अभिवृद्धि गरेको छ ।
गरे के हुन्न !
हिमाल, पहाड र तराईका हावापानीसमेत हालको कर्णाली प्रदेशमा पाइन्छ । आँप र केरादेखि सुन्तला, स्याउ र खर्सु (हिमालतिर पाइने डाले घाँस) पाइन्छ । हुम्लाका विभिन्न भागमा पनि केरा, कपास, बाँझको रुख, जुम्ली सल्लो, खस्रे, बुकीजस्ता फरकफरक हावापानीमा पाइने वनस्पति पाइन्छन् । कोदो, भात खाने चिनु, खिर खाने कागुनो, रोटी खाने गहुँ सबै यतै पाइन्छ । जडिबुटीको भण्डार यहीँ छ । जुम्लाको सबैजसो कृषियोग्य भूमिमा स्याउ फलाउन सकिन्छ । हुम्ला, मुगु, जाजरकोट, कालीकोट, डोल्पा पनि स्याउको निम्ति राम्रै ठाउँ हुन् । भेडापालनको निम्ति अतिउत्तम हावापानी यतै पाइन्छ । गाईभैँसी पनि पाल्न सकिन्छ । मुख्य कुरा कृषिसँग जोडिएका उद्योग चाहियो, जाँगर चाहियो, उत्पादन ह्वात्तै बढ्न सक्छ । तर, प्राकृतिक सम्पदामा अत्यन्तै धनी कामगरी खाने नागरिक जहिलेसुकै शासक वर्गको पिल्साइमा पर्दै आएका छन् । शासक पार्टी र नेताको इमान र नियत खोटो भयो । नागरिकसँग एउटा उपाय छ, जनताको मत लिई जनताको छातीमा लात हान्ने शासकहरूलाई दण्डित गर्ने । छद्म क्रान्तिका नायकहरूको घाँटीमा घण्टी बाँध्ने आखिर जनताले नै हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *