भर्खरै :

काममा फर्कियो वाइड बडी जहाज

काठमाडौँ, ६ फागुन । चीनको हुवान प्रान्तको उहान सहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ ।
उहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । उक्त जहाजबाट कोरोना भाइरस फैलिएको उहानबाट फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइने छ ।
चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । “जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान सुरु गरिनेछ”, उहाँले भन्नुभयो ।
निगमको निर्धारित तालिकाअनुरूप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।
वाइड बडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जनाको टोली शनिबार चीनको उहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *