भर्खरै :

भक्तपुर महोत्सव मन्थन, मौलिक बाजागाजा संवद्र्धनको चिन्ता

इन्दिरा लाछिमस्यु
भक्तपुर महोत्सव आउन एक महिना बाँकी छ । तयारी गर्ने समय छोटिंदै छ । अहिलेदेखि नै महोत्सवको चर्चा हुनु खुसीको कुरा हो । महोत्सवलाई कसरी भव्य र राम्रो बनाउने भन्ने विषयमा सर्वत्र चर्चा हुनुपर्छ ।
महोत्सवमा बाजागाजा
भक्तपुर महोत्सव हेर्न धेरै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर आउने छन् । भक्तपुरका टोल–टोलमा धेरै बाजागाजा छन् । ती बाजागाजालाई महोत्सवभरि ठाउँ–ठाउँमा व्यवस्थित रूपमा बजाउने बन्दोबस्त गर्नुपर्छ । केही दिनअघि मात्र भक्तपुर नगरपालिकाको आयोजनामा धिमे बाजा प्रतियोगिता भयो । त्यसमा ७७ वटा धिमे बाजा समूहले सहभागिता जनाएका थिए । ती समूहलाई पनि पाँचदिने महोेत्सवमा तालिकाबद्ध गरी रुट बनाएर परिचालन गर्न सके राम्रो हुनेछ । हामीसँग धाँ बाजा समूह पनि प्रशस्त छन् । गत वर्ष सम्पन्न धाँ बाजा प्रतियोगितामा ३७ वटा धाँ बाजा समूहले सहभागिता जनाएका थिए । ती बाजा खलःलाई पनि समूह विभाजन गरी दैनिक नगर परिक्रमाको बन्दोबस्त गर्न सके राम्रो हुनेछ । महोत्सव अवधिभर गाडी, बाइकलगायत सवारी साधन निषेध गर्नुपर्छ । बाजागाजाको लागि तोकिएको ठाउँमा साउन्ड सिस्टम र सन्ध्याकालीन कार्यक्रमको लागि आकर्षक प्रकाश व्यवस्थापन गर्न आवश्यक छ ।

भक्तपुरको सम्पदा र संस्कृति अवलोकन गर्न आउने आन्तरिक पर्यटक पनि धेरै छन् । आन्तरिक र बाह्य दुवै थरी पर्यटकलाई हुने गरी निश्चित समयावधिको नियमित सांस्कृतिक कार्यक्रम गर्ने बन्दोबस्त गर्नुपर्छ । थोरै शुल्कको टिकटको पनि व्यवस्था गर्नुपर्छ । टोल–टोलका सांस्कृतिक समूहलाई पालैपालो त्यो कार्यक्रममा प्रस्तुति गर्न दिइनुपर्छ । त्यसो गर्न सके अहिले विभिन्न बाजा र नाच सिकिरहेका कलाकारले देखाउने अवसर पाउने छन् । त्यसबाट कलाकारको पनि जीविकोपार्जनको माध्यम बन्छ । हाम्रो संस्कृतिको पनि जगेर्ना हुन्छ । अनि नयाँ पुस्ताले पनि त्यसमा ध्यान दिन थाल्नेछन् । यस्तो पहल भक्तपुर नगरपालिकाले गर्न हतार नै भएको महसुस हुन्छ ।

भक्तपुरमा मानिसहरूले आजभोलि धिमे बाजामा अलि बढी चासो दिएको देखिन्छ । धिमे बाजा रमाइलो, नाचगान गर्न मिल्ने र सजिलो पनि भएकोले धिमे बाजा समूह बढेका छन् । धाँ बाजा समूह पनि बढिरहेका छन् । तर, नौबाजा, दाफाभजन आदिमा भने नयाँपुस्ताको संलग्नता कम छ । यसो हुनुको कारण हामी यस्ता बाजागाजा बजाउन सिक्छौँ । ती बाजागाजा चाडपर्वमा मात्र बजाउँछौँ । रमाइलोको लागि बजाउँछौँ । अनि सक्यो । बाजागाजा बजाउने सीपलाई हामीले दैनिक जीवन निर्वाहको माध्यम बनाउन सकेनौँ । आर्थिक आर्जनको माध्यम हुनसकेन । त्यसकारणले पनि यस्ता बाजागाजाप्रति युवा पुस्ताको आकर्षण घट्दै गएको हो ।
अब हामीले के गर्ने त ? हामीसँग सिकाउने गुरुहरू पनि हुनुहुन्छ । भक्तपुर नगरपालिकाले हाम्रा लोपोन्मुख बाजागाजा जस्तै नौबाजा, मालीं बाजा, दाफा भजन आदिको समय–समयमा तालिम सञ्चालन गर्नुपर्छ । त्यस्ता तालिम सञ्चालन गर्नसके गुरूहरूले पनि काम पाउनुहुनेछ । उहाँहरूको आयआर्जन हुनेछ । गुरुहरूबाट नयाँ पुस्ताले बाजागाजा सिक्ने भए । उनीहरूले सिकेको त्यो सीपलाई पेशाको रूपमा अघि बढाउने अवस्था बनाउन जरुरी छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत भक्तपुरका मौलिक बाजागाजालाई पनि अनिवार्य विषयको रूपमा समावेश गर्नुपर्छ । यसो नगर्दा हामीले बाजागाजा जर्गना गर्ने कुरा कुरामा मात्र सीमित हुनसक्छ । यसलाई व्यवहारमा पनि उतार्नुपर्छ । ती बाजागाजाको संवद्र्धनको लागि नियमित कार्यक्रम गर्ने एउटा ठाउँको बन्दोबस्त हुनुपर्छ । हामीसँग यति धेरै बाजागाजा, दाफा भजन, नौबाजा, मनग्य थरीका नाचहरू छन् । ती सबै सांस्कृतिक समूह परिचालन गरी नियमित दैनिक निश्चित समय प्रस्तुतिको कार्यक्रम गर्न सकिन्छ । त्यसको लागि निश्चित स्थानको बन्दोबस्त हुनुपर्छ ।
भक्तपुरको सम्पदा र संस्कृति अवलोकन गर्न आउने आन्तरिक पर्यटक पनि धेरै छन् । आन्तरिक र बाह्य दुवै
थरी पर्यटकलाई हुने गरी निश्चित समयावधिको नियमित सांस्कृतिक कार्यक्रम गर्ने बन्दोबस्त गर्नुपर्छ । थोरै शुल्कको टिकटको पनि व्यवस्था गर्नुपर्छ । टोल–टोलका सांस्कृतिक समूहलाई पालैपालो त्यो कार्यक्रममा प्रस्तुति गर्न दिइनुपर्छ । त्यसो गर्न सके अहिले विभिन्न बाजा र नाच सिकिरहेका कलाकारले देखाउने अवसर पाउने छन् । त्यसबाट कलाकारको पनि जीविकोपार्जनको माध्यम बन्छ । हाम्रो संस्कृतिको पनि जगेर्ना हुन्छ । अनि नयाँ पुस्ताले पनि त्यसमा ध्यान दिन थाल्नेछन् । यस्तो पहल भक्तपुर नगरपालिकाले गर्न हतार नै भएको महसुस हुन्छ ।
भक्तपुरका बाजा समूहहरूले धेरै थरी समस्या सामना गरिरहेका छन् । अहिले त बाजा बनाउने मानिसको पनि अभाव छ । भक्तपुरमा बाजा बनाउने ठाउँ एउटैमात्र छ । बाजा किन्न परे निकै महँगो छ । एउटा धिमेको १२ हजारदेखि १५ हजार पर्छ । पछिमा, नौबाजा किन्न त झन कता हो कता महँगो पर्छ । करखिंमा राखिने एउटा सिङ किन्न पनि अचाक्ली महँगो छ । त्यसमाथि पाउनै गाह«ो । अब त बजाउनेमात्र होइन, बाजागाजा बनाउने र मर्मत गर्ने तालिम पनि आवश्यक भइसकेको छ ।
भक्तपुर नगरपालिकाले विभिन्न बाजागाजा प्रतियोगिता आयोजना गर्नु निकै सकारात्मक हो । त्यस्ता प्रतियोगिताका साथै अब ती बाजालाई नियमित प्रस्तुत गर्ने विषयमा पनि सोच्न जरुरी छ । बाजागाजा बजाउने सीपलाई कसरी पेशामा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनुपर्छ । यसमा नगरपालिकालाई नगरवासीले पनि सहयोग गर्न आवश्यक छ ।
नौ बाजा बजाउन मालीं बाजा नभई हुँदैन । मालीं बाजा पनि हाम्रो संस्कृतिको अङ्ग हो । मालीं बाजा बजाउने मान्छे पनि अब हामीसँग निकै कम छ । पछिमा, नाय्खिं करखिं, धिमेचा बजाउँदा अनिवार्य रूपमा मालीं बाजा हुनुपर्छ । तर, आजभोलि मालीं बाजा बजाउन जान्ने मान्छे पाउन मुस्किल छ । मालीं बाजा बजाउन जान्ने एक जना कलाकारको केही समयअघि निधन भयो । अब त बजाउन जान्ने दुई जनामात्र हुनुहुन्छ । खोजी खोजी उहाँहरूलाई नै बोलाउनुपर्छ । केही नयाँ भाइबहिनीले पनि सिकिरहनुभएको सुन्छु । त्यो राम्रो कुरा हो । यसलाई सबैले आफ्नो संस्कृति मानेर सिक्न आवश्यक छ । लोपोन्मुख बाजागाजाको संवद्र्धन कोही एक्लै लागेर हुँदैन । यसमा सबैको संलग्नता आवश्यक छ ।
भक्तपुरमा धिमे बाजा बजाउने कलाकार हिजोभन्दा अहिले बढेको छ । तर, नौबाजा जस्तो बाजा बजाउने मान्छे कम हुँदै गएको छ । भक्तपुरमा तीन चार ठाउँमा नौ बाजा बजाइन्छ । सुर्यमढी दत्तात्रय, टौमढी र याछेँमा नौबाजा छ । केही समयअघि मात्र याछेँको गुरुको निधन भयो । अब चल्छ–चल्दैन, थाहा छैन । बाजा बजाउने कलाकारहरू त ज्येष्ठ बाजेहरूमात्र हुनुहुन्छ । धिमे बाजालाई मात्र होइन, हामीले दाफाभजन, मालीं बाजा, प्वङ्गा बाजा, नौ बाजालाई पनि साथसाथै लान जरुरी छ । जसरी धिमेबाजा र धाँबाजाको प्रतियोगिता गरेर ती बाजाको प्रवद्र्धन गरियो, त्यसरी नै अरू हामीसँग भएका बाजागाजाको पनि संवद्र्धन गरिनुपर्छ । ती बाजाको संवद्र्धन भने प्रतियोगितामात्र गरेर पनि नहोला किनभने ती बाजा बजाउने मान्छेहरूकै कमी छ । त्यसकारण सुरुमा त तालिम नै सञ्चालन गर्नुपर्छ ।
मैले विभिन्न विद्यालयमा बाजाको प्रशिक्षण दिंदै आएको छु । बच्चाहरू रमाइलो मान्छन् । हाम्रो परम्परागत बाजागाजाको महत्वबारे पनि भन्छु । उनीहरू आफैँ पनि चासो राख्छन् । उनीहरू निकै आकर्षित छन् । मैले नेवार समुदायका विद्यार्थीसँगै तामाङ समुदायका विद्यार्थीलाई पनि प्रशिक्षण दिन थालेकी छु ।
हाम्रा बाजागाजालाई प्राज्ञिक अध्ययनको विषय बनाउन आवश्यक छ । भक्तपुरमा एउटा टोलको बाजाको बोल अर्को टोलको बाजाको बोलसँग मेल खाँदैन । सबैले आ–आफ्नो बोल ठीक भन्छन् । नोटेसन नभएकोले नै त्यस्तो समस्या आएको हो । गुरुपिच्छे बोल फरक पर्न गयो । त्यसकारण नोटेसनमा लान आवश्यक छ । नोटेसन भए आजको पुस्तालाई सिकाउन पनि सजिलो हुन्छ ।
मैले मेरो हजुरबुबाबाट बाजागाजा सिकेँ । बाजा सिक्ने ठूलो रहर ¤ बाजेलाई बाजाको बोल सिकाइ माग्दा सबै बोल एकै बाजी भन्नुहुन्थ्यो । बाजेलाई पटक पटक भन्न लगाउँदै र टिप्टै मैले सिकेको हुँ । नोटेसन भएको भए सिक्न र सिकाउन पनि सजिलो हुन्छ । नोटेसन बनाउने काम म आफैले गर्ने सोच बनाएकी छु । मैले धिमेबाजा र नौबाजाका बोलहरू टिपेकी छु । त्यसलाई व्यवस्थित गर्न सबैको सहयोग आवश्यक छ ।
विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय सङ्गीत महोत्सवमा सहभागी भएँ । सबै देशले आ–आफ्ना बाजागाजा प्रस्तुत गरेको देखेँ । हामीले हाम्रो नौबाजा र नाच प्रस्तुत ग¥यौँ । हाम्रो बाजाको विविधता देखेर विदेशीहरू पनि चकित परे । नेपाल, त्यसमा पनि भक्तपुरबाट आएको भनेपछि उनीहरू यहाँका बाजागाजा र नाचको विविधता देखेर आश्चर्य माने ।
बाजागाजा भनेको देशको गहना र पहिचान हो । यिनै बाजागाजाका कारण हाम्रो देशको नाम संसारभर चम्केको छ । तर, हाम्रो देशका बाजागाजाका कलाकार र गुरुलाई राज्यबाट खोइ त सम्मान ? गर्नुपर्ने मान र सम्मान, कलाकारका समस्या समाधान गर्ने जिम्मेवारी त सरकारको हो । कलाकारहरूले नै त देशको संस्कृति र सम्पदा जोगाइरहेका छन् । तर, कलाकारहरूलाई राज्यले पर्वाह गरेको देखिंदैन । विभिन्न देशमा जाँदा त्यहाँका सरकारले आफ्नो देशको कला र संस्कृति जोगाउन सरकारले निकै ध्यान दिएको देखेँ । त्यही कारण उनीहरू कहाँ पुगे । हाम्रा गुरु र कलाकारलाई खोइ त सम्मान ? यस्तो कुराले त मन दुख्छ । हाम्रो संस्कृति र सम्पदा जोगाउन अरूको भर परेर हुँदैन । जे गर्नुपर्छ आफ्नै मिहिनेतले नै गर्नुपर्छ । केन्द्रीय सरकारले गर्नुपर्ने काम भक्तपुरको सन्दर्भमा नगरपालिकाबाट भइरहनु राम्रो कुरा हो ।
फ्युजन म्युजिक
आजभोलि फ्युजन म्युजिकको चर्चा पनि व्यापक छ । जति पनि हामीले परम्परागत बाजा जस्तै पछिमा, लालाखिं आदि सिक्छौँ, पुरानै तरिकाले गुरुबाट सिक्छौँ । फ्युजन भनेको टाइमिङ मिलाएर त्यस्ता बाजा अरू बाजासँग बजाउनु हो । जस्तै नाय्खिंको ताललाई ड्रमसेटसँग मिलाएर फ्युजन गरिएको हुन्छ । समय र परिस्थितिअनुसार त्यस्ता प्रयोग पनि गर्न सकिन्छ । तर, फ्युजनमा लाने नाममा हाम्रो परम्परागत मौलिकतालाई मास्ने काम भने गर्नुहुन्न ।
जस्तै कुटुम्ब व्यान्डले नेपाली बाजाको फ्युजन गरेको राम्रो लाग्छ । कुटुम्बले नेपालका विभिन्न समुदायले प्रयोग गर्ने सारङ्गी, टुङ्गना, डम्फु आदिको प्रयोग गरेर राम्रो सङ्गीत निकाल्ने गरेको छ । हाम्रो नाय्खिं, लालाखिं, करखिंमा पनि त्यस्तो प्रयोग गर्न सकिन्छ ।
हाम्रो बाजागाजाको प्रचार गर्न नपुगेको पनि हो । आफँैले व्यक्तिगत पैसा राखेर प्रचार गर्न नसकिने ¤ त्यसरी प्रचार गर्न कसले सहयोग गर्छ ? नयाँ तरिकाले म्युजिक भिडियो बनाउने चाहना छ । तर, चाहनाले मात्र पनि नहुनेरहेछ । बाजागाजालाई प्राज्ञिक अनुसन्धानको विषय बनाइनुपर्छ । हामीले बाजागाजा बजाउन सिक्यौँ । तर, हातमा कुनै प्रमाणपत्र छैन । हाम्रा गुरुहरू बाजागाजामा के कोही विद्यावारिधिभन्दा कम हुनुहुन्छ र ? तर, उहाँहरूसँग कुनै प्रमाणपत्र छैन । सिकेको भरमा कहीं जान प्रमाणपत्र हातमा छैन । त्यसैले एउटा सङ्गीत विद्यालय स्थापना गर्नुपर्छ । त्यो विद्यालयमा हामी हाम्रा सबै मौलिक बाजागाजा जस्तै प्वोङा, करखिं, नौबाजा, दाफाभजन, मालीं, लालाखिं, बाँसुरी, धिमे आदि सबै बाजागाजाको प्रशिक्षण दिनुपर्छ । हाम्रा बाजा गुरुहरूलाई त्यो विद्यालयका शिक्षक बनाइनुपर्छ । यसरी प्राज्ञिक अध्ययन र अनुसन्धानको विषय बनाएर जानुपर्छ ।
भ्रमण वर्ष
सरकारले भ्रमण वर्षको घोषणा गरेको छ । तर, आफ्नो मान्छेलाई सरकारी पैसा पोस्नेबाहेक काम भएको छैन । वास्तविक कलाकारलाई कुनै पर्वाह छैन । सरकारी बजेट आफ्नो मान्छेलाई बाँड्ने काम भइरहेको छ । जसले देशको लागि काम गरिरहेका छन्, उनीहरूलाई भने कुनै प्रोत्साहन छैन । यो सरकारले कलाकारलाई सम्मान गर्न केही ध्यान दिएको देखिंदैन ।
(लाछिमस्यु वाद्यवादन कलाकार हुनुहुन्छ ।)
नीरज लवजू र सुनिल सुवालसँग कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *