भर्खरै :

डढुवा रोगको सङ्क्रमणका कारण आलु उत्पादनमा ह्रास

कञ्चनपुर, ६ फागुन (रासस) । हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा तीस प्रतिशतभन्दा बढीले ह्रास आएको छ । व्यावसायिकरूपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।
दाना लाग्ने बेलादेखि नै बोटहरु मरेपछि उत्पादनमा कमी आएको हो । व्यावसायिकरूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान लक्ष्मण चौधरीले दश कठ्ठा जग्गामा मुस्किलले एक बोरीमात्रै आलु उत्पादन भएको जानकारी दिनुभयो । Fआलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरु मर्न थालेका थिए”, उहाँले भन्नुभयो, Fबर्सात् हटेपछि डढुवा लागेपछि सबै आलु बालीमा नोक्सानी भयो ।” दश कठ्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन नभएको चौधरीले गुनासो गर्नुभयो । बीउमात्रै पाँच बोरी बारीमा रोपिएकामा त्यो पनि उत्पादन भएको छैन”, उहाँले भन्नुभयो, गत वर्षमात्रै तीस क्विन्टल आलु उत्पादन भएको थियो । यस वर्ष एक बोरी आलु पनि उत्पादन भएको छैन ।”
मल, कीटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उहाँले बताउनुभयो । अर्का किसान पुरन चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । पिपलाडी आलु खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेको छ । यस क्षेत्रका तीन दर्जनभन्दा बढी किसानले व्यावसायिकरूपमा आलु खेती गर्दै आएका छन् । गत वर्षमात्रै यस क्षेत्रका किसानले पहिलो पुस्ताको आलुको बीउ मात्रै सात लाख मूल्य बराबरको बिक्री गरेका थिए । कार्डिनल २०, आइपीवाई आठ ३० र खुमलउज्जल ३० गरी ८० क्विन्टल आलुको पहिलो पुस्ताको बीउ उत्पादन गर्दै आए पनि यस वर्ष आलु खेतीबाट लागत खर्चसमेत उठाउन नपाएको चौधरीले बताउनुभयो ।
बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले खेतमा लगाएको आलुको बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको गुनासो गर्नुभयो । आलुको बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन”, उहाँले भन्नुभयो । आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ । सिजनमा बजारमा रु. २० प्रतिकिलोका दरले बिक्री हुने आलुको मूल्य रु. ३० बढी रहेको छ ।
तरकारी व्यवसायीका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरैमात्रै आएपछि भारतीय आलुमा निर्भर रहनुपरेको छ । भारतीय व्यापारीले मनोमानीरूपमा मूल्यवृद्धि गरी आलु बिक्री गर्दै आएका छन् । यसबाट उपभोक्ता मर्कामा परेका छन् । जिल्लाका बेलौरी, पुनर्वास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ । पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागतरूपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।
वर्षा र डढुवा रोगका कारण प्रतिहेक्टर चार मेट्रिक टन आलुको उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो । Fउत्पादकत्व घटेको छैन”, उहाँले भन्नुभयो । आलुको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको जनाइएको छ  । जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । ती क्षेत्रफलमा उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ । उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ । उहाँका अनुसार प्रतिहेक्टर आलुको उत्पादन १३ मेट्रिक टन रहेको छ । यसैगरी कञ्चनपुरका किसानले डढुवा रोगका कारण गोलभेँडा खेतीमा नोक्सान व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *