भर्खरै :

महामारीको साझा प्रतिरोध गरौँ

कोभिड–१९ को फैलिँदो सङ्क्रमणलाई मध्यनजर गरी सरकारले बिहीबारबाट सुरु हुने तय भएको एसईई परीक्षा र सबै विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय ग¥यो । साथै बिहीबारदेखि नै देशभरका विद्यालय बन्द गर्न सूचनासमेत जारी गरेको छ । सरकारले सम्भावित सङ्क्रमण रोक्न २५ जनाभन्दा बढी मानिस भेला नहुन सूचना सार्वजनिक गरेको छ । सरकारले यस्ता निर्णयमार्फत अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने सङ्केत गरेको छ । महामारीको प्रतिरोध सबैको साझा दायित्व हो । सरकारले महामारी नियन्त्रण र रोकथामको निम्ति जारी गरेको सूचनाको गम्भीरतापूर्वक पालना गर्नुपर्छ । सानो गल्तीले पनि अकल्पनीय क्षति हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
सरकारले जारी गरेको सूचनाको पालनामा सबै नागरिक इमानदार बन्न जरुरी छ । यस्तो परिस्थितिमा सबै नागरिकले एकअर्काप्रति सहयोगी र सद्भावपूर्ण व्यवहार गर्न आवश्यक छ । अनावश्यक आत्मविश्वास र अन्धविश्वासको कारण हेलचक्र्याइँ गर्नु आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नुसरह हुन्छ । तर, महामारीका समाचारले आत्तिएर वा डराएर आत्मबल कमजोर बनाउनु पनि उपयुक्त होइन । रोगको प्रतिरोधको लागि आफू, आफ्नो परिवार र समुदायमा मानिसबीच आत्मविश्वास र आत्मबलका साथ काम गर्न आवश्यक छ । यस्तो परिस्थितिमा साना स्वार्थ र लोभमा फस्नाले सिङ्गो समुदाय र देशले ठूलो क्षति सामना गर्नुपर्ने हुनसक्छ । नाफाको लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले समाजलाई यस्तो बेला अझ हानी पु¥याउने गर्छ ।
सरकारले सम्भावित सङ्क्रमणलाई ध्यान दिएर विभिन्न महत्वपूर्ण निर्णय गरेसँगै सोको कार्यान्वयनमा कडाइ गर्न जरुरी छ । सिमाना क्षेत्र र स्थानीय तहमा खोलिएका कतिपय हेल्थ डेस्क नाममात्रका छन् । त्यहाँ स्वास्थ्यकर्मीले गतिलो ढङ्गले स्वास्थ्य परीक्षण गरिरहेका छैनन् । त्यस्तै ‘फ्रन्टलाइन’मा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितताको लागि सरकारले विशेष ध्यान दिनुपर्छ । सरकारले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नमा ध्यान दिन जरुरी छ ।
सरकारले देशभरका सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको पूर्ण परिचालन गर्नुपर्छ । साथै अन्य विभिन्न क्षेत्रबाट स्वयम्सेवाको लागि युवाहरूलाई आह्वान गर्न जरुरी छ । तिनलाई आवश्यक तालिमसहित तयारी अवस्थामा राख्न तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।
महामारीबारे भ्रमपूर्ण समाचार दिने सञ्चारमाध्यमलाई तत्कालै कारबाही गरी सरकार स्वयम्ले सही सूचनाको जिम्मेवारी लिनुपर्छ । सञ्चारमाध्यमले यस्तो परिस्थितिमा सबभन्दा बढी जिम्मेवार र उत्तरदायी भूमिका निभाउन जरुरी छ ।
महामारीको समय कुनै समुदाय, देश वा भूगोलप्रति घृणा फैलाउनु अमानवीय हो । यो रोग कुनै क्षेत्र, भूगोल वा जातिसँग कदापि सम्बन्धित छैन । तसर्थ यसलाई कसैप्रति लाञ्छना वा दोषारोपण गर्नुहुन्न । यस्तो समयमा कसैले आफूसँग भएका अत्यावश्यक सामान लुकाउने, महँगोमा बेच्ने जस्ता अपराध गर्नु अमानवीय कृत्य हो । यस्तो काम कसैबाट नहोस् । कानुनी कारबाही आफ्नो ठाउँमा छँदै छ, यस्तो काम गर्नु मानिस भएर पालना गर्नुपर्ने मानवीय कर्तव्यविपरीत हो । त्यस्तो मानवीय भावनाबाट कोही पनि च्युत नहोऔँ । हरेक नागरिकले जिम्मेवारीपूर्वक सिङ्गो संसारमा भयावह बनिरहेको यो महामारीको साझा प्रतिरोध गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *