भर्खरै :

भारतमा कोभिड–१९ को प्रतिरोधमा थप कदम


नयाँ दिल्ली
भारतमा सोमबारदेखि कोभिड –१९ को संक्रमण रोक्न थप कडा कदम चालिएको छ । पीटीआई समाचार संस्थाअनुसार भारतका ३० वटा प्रान्त र युनियन टेरिटरी(युटी) लाई पूर्ण बन्द गरिएको छ । बन्द त्यहाँ ५४८ वटा जिल्लामा लागु भएका छन् । बाँकी चार प्रान्त र युटी भने आंशिक रुपमा बन्द गरिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म ४६८ जना मानिसमा कोभिड–१९ भाइरसको संक्रमण देखिएको पुष्टि गरेको छ । तीमध्ये ४२४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतको पश्चिम बंगाल र हिमाञ्चलमा दुई महिनाअघि पहिलो पटक कोभिड–१९ को संक्रमण फैलिए यता हालसम्म भारतमा नौ जना मानिसको यो रोगको संक्रमणको कारण निधन भएको छ ।
“तीन वटा प्रान्त÷युटीहरूका निश्चित क्षेत्रमा मात्र लक डाउन गरिएको छ”, सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ,“एउटा युटीमा निश्चित गतिविधिमा रोक लगाइएको छ ।”
लक डाउन गरिएका भारतका प्रान्त र युटीहरूः चन्डीगढ, दिल्ली, गोआ, जम्मु र कास्मिर, नागाल्यान्ड, राजस्थान, उत्तराखण्ड, पश्चिम बंगाल, लद्दाख, झारखण्ड, अरुणाञ्चल, बिहार, त्रिपुरा, तेलांगाना, छत्तिसगढ, पञ्जाब, हिमाञ्चल, महाराष्ट्र, आन्द्र प्रदेश, मेघालय, मणिपुर, तामि नाडु, केरला, हरियाना, दमन दिउ–दद्रा–नगर हभेली, पान्डुचेरी, अन्डमन निकोबर, गुजरात, कर्णाटक र आसम ।
बुधबारबाट भारत सरकारले सबै आन्तरिक उडान पनि निषेध गर्ने घोषणा गरेको छ । भारतमा सबै अन्तर्राष्ट्रिय उडान यसअघि नै बन्द गरिएको छ । बुधबारअघिका सबै उडानमा यात्रुलाई एक अर्काेबाट परको सीट व्यवस्था गर्ने नागरिक उड्डयन विभागका अधिकारीले बताउनुभयो ।
यसैबीच विश्व स्वास्थ्य संगठनले सोमबार भारतसँग महामारीविरुद्ध लड्ने क्षमता रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले विगतमा पोलियो र विफर उन्मुलन गर्न भारतले ठूलो सहयोग गरेको चर्चा गर्दै कोभिड–१९ भाइरसको महामारीविरुद्ध आक्रामक रुपमा लड्नुपर्नेमा जोड दिनुभयो ।
“भारत पनि चीन जस्तै धेरै जनसङ्ख्या भएको देश हो । कोभिड–१९ भाइरसको संक्रमणका भविष्य सघन जनसङ्ख्या भएका देशमा के हुन्छ भन्ने कुरामा निर्भर रहन्छ”, रायनले भन्नुभयो,“त्यसकारण भारतले जनस्वास्थ्यमा गम्भीर कदम चाल्न जारी राख्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *