भर्खरै :

कोभिड–१९ प्रतिरोधमा स्थानीय तहको भूमिका

अनिरव
कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको प्रतिरोधको सबै मिलेर गर्नुपर्ने लडाइँ हो । चीनमा कोभिड–१९ फैलिएको बखतमै संसारका शक्तिशाली र विकसित देशका सरकार र नागरिकले त्यसलाई साझा शत्रु मानेर संयुक्त लडाइँ नलड्दा आज यो विश्वव्यापी महामारी बनेको छ । हिजो आफ्नो देशमा यस्तो महामारी नआउन भनी घमण्ड गर्ने देशहरू समेत यो महामारीको शिकार बनेका छन् । यद्यपि कुनै देश यसबाट प्रभावित भएकोमा कसैले खुशियाली मनाउने समय भने यो पक्कै होइन । यो लेखको मूल मनसाय कोभिड–१९ महामारीको समयमा स्थानीय तहको सरकारले के कस्ता भूमिका खेल्न सक्छन् भन्ने विषयमा केही छलफल गर्नु हो ।
स्थानीय तहको सरकार जनतासँग दैनिकरूपमा प्रत्यक्ष सम्पर्क र संवादमा रहने सरकार हो । कुनै पनि विपत्तिमा सबभन्दा पहिले जनताको घर–दैलोमा पुग्ने सरकार स्थानीय तहको सरकार हो । अनि समस्या पर्दा जनताले सबभन्दा पहिले गुहार्ने सरकार पनि स्थानीय सरकार नै हो । कोभिड–१९ भाइरस आजसम्म नेपालमा महामारीको रूपमा फैलिएको छैन । सरकारी तथ्याङ्कअनुसार सोमबारसम्म दुई जना नेपाली नागरिकमात्र यो भाइरसबाट सङ्क्रमित छन् । ती दुवै सङ्क्रमित पनि बाहिरबाट सङ्क्रमित भएका हुन् । नेपालमै सङ्क्रमण भएको अहिलेसम्म कोही पनि बिरामी छैन । तर, यसको अर्थ यो भाइरसले नेपाललाई हमला गर्दैन भन्ने कुरा बिलकुल सत्य होइन । संसारका विभिन्न देशमा यो भाइरसको सङ्क्रमणको ढाँचा हेर्दा पहिले खासै नदेखिएका देशमा केही दिनभित्रै यसको सङ्क्रमण निकै बढेको देखिएको छ । त्यसकारण नेपालले पनि यसमा लगातार सजग बन्न जरुरी छ । सानोभन्दा सानो कमी–कमजोरीले पनि ठूलो हानी हुनसक्छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ को सामुदायिक सङ्क्रमण (कम्युनिटी ट्रान्समिसन) भएको छैन । यो हाम्रो लागि सुखद् पक्ष हो । सामुदायिक सङ्क्रमण नहुँदासम्म भाइरसलाई नियन्त्रण गर्न सकिने सम्भावना अधिक हुन्छ । तर, सबभन्दा बढी सावधानी अपनाउनुपर्ने समय पनि यही हो । यही बेलामा आवश्यक पूर्वतयारी र सजगता अपनाइएन भने यसले कुनै पनि बेला सामुदायिक सङ्क्रमणको रूप लिनसक्छ र त्यत्तिबेला भाइरस नियन्त्रण बाहिर जान सक्छ । आज इटालीको निम्ति भाइरसको सङ्क्रमण रोक्न हम्मेहम्मे भइरहेको छ । यसको एउटा कारण सुरुको चरणमा भएको लापरबाही र कमजोरी भएको बताइएको छ ।
सङ्क्रमणको यो चरणमा स्थानीय तहको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ अर्थात् भाइरसको सङ्क्रमणले भयावह रूप लिइनसकेको आजको अवस्थामा सङ्क्रमण हुनै नदिने चरणमा स्थानीय तहको भूमिका अझ बढी हुन्छ । स्थानीय तहका कुनै पनि काम प्रचारबाजीको लागि भन्दा पनि जनताको जीवनमा उल्लेखनीय प्रभाव पार्ने काम गर्नु हो । नेपालका अधिकांश स्थानीय तहलाई कामको परिणामभन्दा बढी प्रचारबाजीको हतारो हुने गरेको देखिन्छ । कोभिड–१९ को सङ्क्रमणको रोकथामको सन्दर्भमा पनि केही स्थानीय तहलाई प्रचारबाजीकै बढी भोक लागेको महसुस हुन्छ । प्रचारभन्दा बढी परिणाममुखी काम महत्वपूर्ण हुन्छ ।
सघन सङ्क्रामक रोग भएकोले यो रोगबारे जनताबीच सचेतनाको ठूलो महत्व हुन्छ । कोभिड–१९ भाइरसको सङ्क्रमणबाट जोगिने उपायबारे व्यापक जनतासम्म सही सन्देश पु¥याउन जरुरी छ । जसरी निर्वाचनको समयमा मत माग्न उम्मेदवारको घर–दैलो कार्यक्रम हुन्छ, त्यसरी नै अहिले पनि जनप्रतिनिधि केही स्वास्थ्यकर्मीहरूसहित दुई–तीन जनाको टोली बनाएर जनताको घरदैलोमा जानुपर्छ । भक्तपुर नगरपालिकाले प्रत्येक वडामा जनताको स्वास्थ्यको नियमित जाँच गर्न नर्स नियुक्ति गरेको छ । ती स्वास्थ्यकर्मीको सबभन्दा महत्वपूर्ण जिम्मेवारी यस्तै बेला हुनुपर्छ । स्थानीय जनप्रतिनिधिसहित नर्स र स्थानीय स्वयम्सेविकाहरू घरदैलोमा जानुपर्छ । घर–घरमा जनताको स्वास्थ्य अवस्था बुझ्ने, ज्वरो र रक्तचाप नाप्ने, सावधानीका उपाय सिकाउने, नगरवासीले यात्रा गरेको रेकर्ड सङ्कलन गर्ने, कुनै चोक, सडक वा गल्ली फोहोर भए सरसफाइको लागि सम्बन्धित कर्मचारी परिचालन गर्ने, गम्भीर खालका बिरामी भए अस्पताल लान व्यवस्था गर्ने, जनतालाई स्वास्थ्य र महामारीको वास्तविकता अवस्थाबारे बुझाउने काम स्थानीय तहले गर्न जरुरी छ । ज्येष्ठ नागरिक, शारीरिक अपाङ्ग र बालबालिकालाई अझ विशेष स्याहार गर्न जरुरी छ ।
सर्वसाधारणलाई सरसफाइबारे जनचेतना जगाउन स्थानीय तहले नगरका विभिन्न भागमा साबुन पानीले हात धुने बन्दोबस्त गर्नुपर्छ । मानिसको हिंडडुल हुने नाकामा पानी, साबुन र हातमा लगाउने स्यानिटाइजरसहित हेल्थ डेस्क बनाउन सकिन्छ । यसको निम्ति स्थानीय टीम, क्लव, महिला समूह, सहकारी संस्था, खेलकुद समूह आदि परिचालन गर्न सकिन्छ ।
भीडभाडमा सङ्क्रमण फैलिने सम्भावना उच्च हुने भएकोले नगर र गाउँमा धेरै मानिस जम्मा हुने क्षेत्रमा स्थानीय तहले विशेष ध्यान दिन जरुरी छ । जस्तैः तरकारी बजारमा बढी मानिसको भीड लाग्ने गरेको हुन्छ । स्थानीय सरकारले त्यस्ता बजारलाई विकेन्द्रीकरण गरी एकै ठाउँमा धेरै मानिस भेला नहुने अवस्था बनाउन सक्नुपर्छ । स्थानीय चमेना गृह, विशालबजार र पसललाई सङ्क्रमणप्रतिरोधी व्यवस्था जस्तैः पसलभित्र पस्नुअघि र बाहिरिए पछि स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, मास्क लगाउन अनिवार्य गर्नुपर्छ ।
अझै पनि मानिसहरूमा जथाभावी थुक्ने, सिङ्गान फाल्ने आदि फोहोरी बानी हराइसकेको छैन । स्थानीय तहले मानिसलाई यस्ता खराब बानी त्याग्न जनचेतना जगाउन जरुरी छ । मानिसको शरीरबाट आउने थुक र सिङ्गानका छिटा नै सङ्क्रमणका प्रमुख माध्यम हुन् ।

स्थानीय तहअन्तर्गत रहेका सञ्चारमाध्यमले यो समयमा प्रभावकारी सञ्चारको भूमिका खेल्न जरुरी छ । जस्तैः एफएम, टेलिभिजन, अनलाइन आदि सञ्चारमाध्यमले सही सूचना सम्प्रेषणमा भूमिका खेल्नुपर्छ । जनतामा सही र आधिकारिक समाचार पु¥याउन र जनताका समस्या बुझ्न जनप्रतिनिधिले सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नसक्छन् । भारतको केरलाका जनता सही र आधिकारिक समाचारको लागि त्यहाँका मुख्यमन्त्रीको सामाजिक सञ्जाल फेसबुक र ट्वीटर सन्देशमाथि भरपर्ने गरेको अनुभव छ । जनप्रतिनिधिले सामाजिक सञ्जालमा आउने गुनासा र टिप्पणीबाट पनि जनताको समस्या बुझ्न मद्दत पुग्छ । आपत्कालमा जनतासँग संवादको सबभन्दा उपयुक्त माध्यम सामाजिक सञ्जाल नै हुन् । त्यसकारण सामाजिक सञ्जालमा दैनिक केही समयको सक्रियताले जनतासँगको संवादलाई बलियो बनाउन सक्छ । आवश्यक परे जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सन्देश दिनु पनि उपयुक्त हुन्छ ।

कतिपय स्थानीय तहअन्तर्गत स्वास्थ्य चौकी र अस्पताल पनि सञ्चालनमा छन् । ती स्वास्थ्य चौकी र अस्पताललाई सकेसम्म कोभिड–१९ को पहिचानको लागि सक्षम वा न्यूनतम सुविधासम्पन्न बनाउन जरुरी छ । त्यहाँका स्वास्थ्यकर्मीलाई रोग प्रतिरोधको लागि मानसिक, प्राविधिक र क्षमताको आधारमा सक्षम बनाउन जरुरी छ । केही स्वास्थ्यकर्मीहरू कोही सङ्क्रमित आए उचित उपचार गर्न आफूलाई तयारी राख्नु कता हो कता ‘बरु राजीनामा दिएर घर बस्छु’ भन्ने मनस्थितिमा छन् । त्यस्ता स्वास्थ्यकर्मीलाई कसरी रोगको प्रतिरोध गर्न प्रोत्साहित गर्ने विषयमा विचार गर्न जरुरी छ । स्वास्थ्यकर्मीलाई आफ्नो दायित्व पालना गर्दा आफू सुरक्षित भएको महसुस गराउन जरुरी छ ।
स्थानीय तहको सरकारअन्तर्गत बजार अनुगमन समिति बनेको हुन्छ । त्यस्ता समिति सक्रिय बन्ने समय यही हो । कालोबजारी, अत्यधिक मूल्यमा सामान बेचेको, कम गुणस्तरीय सामानको बेचबिखन गरेको आदि समस्यामाथि नियन्त्रण गर्न अनुगमन समितिले ध्यान दिन जरुरी छ ।
कोठामा बस्ने डेरावाल जनताको समस्यालाई पनि स्थानीय पालिकाले उपेक्षा गर्न मिल्दैन । तिनका दैनिक समस्या समाधानको निम्ति ध्यान दिनु स्थानीय सरकारको भूमिका हो ।
स्थानीय तहअन्तर्गत रहेका सञ्चारमाध्यमले यो समयमा प्रभावकारी सञ्चारको भूमिका खेल्न जरुरी छ । जस्तैः एफएम, टेलिभिजन, अनलाइन आदि सञ्चारमाध्यमले सही सूचना सम्प्रेषणमा भूमिका खेल्नुपर्छ । जनतामा सही र आधिकारिक समाचार पु¥याउन र जनताका समस्या बुझ्न जनप्रतिनिधिले सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नसक्छन् । भारतको केरलाका जनता सही र आधिकारिक समाचारको लागि त्यहाँका मुख्यमन्त्रीको सामाजिक सञ्जाल फेसबुक र ट्वीटर सन्देशमाथि भरपर्ने गरेको अनुभव छ । जनप्रतिनिधिले सामाजिक सञ्जालमा आउने गुनासा र टिप्पणीबाट पनि जनताको समस्या बुझ्न मद्दत पुग्छ । आपत्कालमा जनतासँग संवादको सबभन्दा उपयुक्त माध्यम सामाजिक सञ्जाल नै हुन् । त्यसकारण सामाजिक सञ्जालमा दैनिक केही समयको सक्रियताले जनतासँगको संवादलाई बलियो बनाउन सक्छ । आवश्यक परे जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सन्देश दिनु पनि उपयुक्त हुन्छ ।
सङ्कट र महामारीको समयमा महिनौँ घरमा बस्नुपर्ने अवस्था आउन सक्छ । चीनमा हामीले त्यही देख्यौँ । त्यस्तो अवस्थामा विद्यार्थीहरूलाई रचनात्मक कार्यमा संलग्न गराउने उपायबारे स्थानीय सरकारअन्तर्गतको शिक्षा समितिले सोच्न जरुरी छ । चीनमा विभिन्न विद्युत्तीय एप्सको प्रयोग गरी शिक्षणलाई निरन्तरता दिएको कुराबाट नेपालले पनि केही सिक्न सकिन्छ । मानिस एकोहोरो घर बस्दा सामना गर्नुपर्ने दिक्दारी अन्त्यको निम्ति अनेक रचनात्मक उपायबारे पनि विचार गर्नु उपयुक्त हुन्छ ।
स–साना काम गरे पनि व्यानर झुण्ड्याउनुपर्ने प्रचारमुखी व्यवहार उपयुक्त होइन । परिणामले काम बोल्ने अवस्था बनाउन जरुरी छ । जनताको जीवनमा हरेक समयमा महसुस हुने स्थानीय सरकार र जनप्रतिनिधि नै वास्तवमा सफल स्थानीय सरकार र जनप्रतिनिधि हुन् । कार्ल माक्र्सको एउटा भनाइ छ– विशेष परिस्थितिमा चालिने प्रत्येक कदमको महत्व सामान्य समयमा चालिने हजारौँ कदम बराबर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *