इतिहासमा बाँचेका तीन दिन
- बैशाख १३, २०८१
दामोदर सुवाल
गमलाबाट गोदाबारी फूलहरू
हावाले हल्लिरहेछन् ।
नगरकोटको डाँडामाथि
वैभवशाली शारदीय सौन्दर्य देखाउन
पर्यटकहरूको प्रतीक्षामा उभिरहेछ,
बुढो टावर ।
चाँगुनारायणको सिरानैमा
बादलको कम्बल ओढी
हिमचुलीहरू घाम तापिरहेछन् ।
अलिपर चउरमा
रातो स्वीटर लाएका स्कुले नानीहरू
मेरो अतीतलाई व्युँताउँदै
लुकामारी खेलिरहेछन् ।
फाँटमा खेतीको मेला धुमधाम छ,
सिर्जनाका हातहरू मोती छर्न व्यस्त छन्,
कोही थकाइले दुखेको मासल
जाँडले सेकिरहेका छन्,
कोही सिलावरको बटुकाको जाँडमा
तामाझैं तप्त, चम्किलो अनुहार हेर्दै
आफैसँग सोध्दै छन्,
जीवन किन यसरी उज्यालो छैन ?
पर अरनिको राजमार्ग
चाँदीझैं टल्किरहेछ ।
त्यसमाथि हतारहतार
गाडीहरू गुडिरहेछन् ।
हुनसक्छ, कुनै एउटा गाडीभित्र
सकुशल उपत्यका आइपुगेकोमा
‘सुन बोक्ने’ भरियाहरू भित्रभित्रै
रोमाञ्चित भइरहेका,
वा हुनसक्छ चुँगिकरसँगै ‘उपहार’
दिन बाध्य झोले व्यापारी
मनमनै चेकपोस्टलाई सरापिरहेको,
वा झोलाभरि सपना बोकी
दमले खोक्दै गरेकी कुनै बुढी आमाको छोरो,
सन्तापले असमयमै चाउरिएकी
मुनाको मदन खासातिर दौडिरहेको ।
गमलाका गोदावरी फूलहरू
हावाले हल्लिरहेछन् ।
रातो स्वीटर लाएका स्कुले नानीहरू
मेरो अतीतलाई व्युँताउँदै
लुकामारी खेलिरहेछन् ।
साभारः ‘गर्भिणी युग र कमलका फूलहरू’
Leave a Reply