डीपी साह
वीरेन्द्र राजमार्गबाट करिब १६ किमि पश्चिम लालबकैया नदी नजिकै साविक पतौरा गाविस हाल मौलापुर नगरपालिका वडा नं. ५ मा एउटा शिवलिङ्ग छ । आजभन्दा १४ वर्ष पहिला स्थानीय राम एकवाल राय यादवले सपनामा शिवलिङ्ग रहेको देखेपछि भोलिपल्ट स्थानीयहरूलाई भेला गराई आफूले देखेको सपनाको कुरा उनले व्यक्त गरे । उक्त कुरा सुनेपछि स्थानीयहरूले त्यस ठाउँको उत्खनन गर्दा एउटा शिवलिङ्ग भेटाइयो । त्यही बेलादेखि नै त्यस ठाउँमा स्थानीयहरूले पुजा–पाठ गर्नथाले । हरेक वर्ष भदौ महिनाको त्रयोदशीका दिन काबर बोकी शिवलिङ्गको विशेष पूजा–आजा हुँदै आएको छ ।
१२–१३ वर्ष अगाडि त्यस ठाउँमा एक स्थानीयहरु मिलेर मन्दिर बनायो । मन्दिरको चारैतिर जमिनको सतहभन्दा करिब ५ फिट तल पुरानै इटाले बनाई सिमेन्टको पिलरमा मूर्ति कँुदिएको छ । त्यसै ठाउँमा अर्को एउटा शिवलिङ्ग पनि भेटिएको छ । हाल स्थानीयवासीले त्यो ठाउँ वरपर एउटा धर्मशाला बनाउनुका साथै अष्टजाम तथा भजनकिर्तन गर्न एउटा मण्डप पनि बनाइएको छ ।


मन्दिर बनाइएको ठाउँमा पहिले जग्गाधनीहरुले खन–जोत गर्दै आएका थिए । अहिले पनि त्यो ठाउँ व्यक्तिको नाममा रहेको स्थानीयवासी बताउँछन् । उक्त मन्दिर रहेको ठाउँभन्दा करिब १०० मिटर उत्तरतर्फ पुरातत्व विभागले अनुसन्धान गर्दा हाल जमिनको सतहभन्दा ३ फिट तल पुरानै इँट प्रयोग भएको एउटा संरचना भेटिएको छ । अनुसन्धानकर्ताका अनुसार त्यो ठाउँ पहरेदार बस्ने ठाउँ हुने अनुमान गरिएको छ । त्यहाँ रहेको पोस्टरमा पनि पहरेदार बस्ने ठाउँ लेखी झुण्ड्याइएको छ ।
त्यो ठाउँमा अनुसन्धान गर्न बाँकी रहेको कुरा अनुसन्धान टोली बताउँछन् । अहिलेसम्मको दुईवटै संरचना हेर्दा धेरै वर्ष अगाडि त्यहाँ कुनै राजपरिवारको घर तथा दरवार रहेको अनुमान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ६ गते उक्त मन्दिरको उद्घाटन गर्नुभएको थियो । उक्त मन्दिरलाई करनाटककालीन ऐतिहासिक महादेवको नामले हाल पुजिरहेको छ । काठमाडौँमा रहेको पशुपतिनाथको मन्दिरको पुजारीद्वारा उक्त पीठको पूजा–आजा गरिएको छ । फागुन कृष्णपक्ष त्रयोदशीको दिन धुमधामसँग मेलाको आयोजना गरी त्यहाँ भक्तजनहरूलाई सहभागी गराइन्छ । सो अवसरमा ३–४ दिनसम्म भजन–किर्तन गरी शिवको स्तुति गाउने चलन छ ।
अहिले त्यो ठाउँलाई व्यवस्थित गर्न मन्दिर आसपासको क्षेत्रमा रहेका स्थानीयवासीका घरहरू हटाउने कुरा चलिरहेको स्थानीय वासी बताउँछन् । उक्त ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *