भर्खरै :

समुदाय स्तरमा स्यानिटाइजरको उत्पादन गर्ने विधि

– जयराम खाइजू
हाम्रो वरिपरिको हावा, पानी, जमिन, घर, कोठा वा बाटो हामी जहाँ रहन्छौँ, हरेक स्थानमा सूक्ष्म जीवहरू रहन्छन् । भाइरसजस्ता जीवाणु, व्याक्टेरिया, फङ्गस (ढुसी प्रजाति) वा प्रटोजोवाजस्ता एककोषीय जीवहरू जुनसुकै बेला हाम्रो शरीरको सम्पर्कमा आउनसक्छ । तिनीहरूमध्ये केहीको असरले गर्दा हामी अचानक अस्वस्थ बन्नसक्छौँ । यस्तो नहोस् भनी हामी साबुन र सफा पानीले पटक–पटक हातमुख धोइरहन्छौँ । यसले शरीरको बाहिरी सतहको सम्पर्कमा आएका सूक्ष्म जीवहरू नष्ट हुने वा तिनीहरू पखालिएर जाने गर्छ । साबुनजस्तै उपभोग्य सामग्रीमा अल्कोहोलमा आधारित स्यानिटाइजर पनि पर्छ । यसको प्रयोगले हातमा टाँसिएका भाइरस, व्याक्टेरिया र ढुसी र प्रटोजोवाको असरलाई रोकिदिन्छ । अनि हात नाकको सम्पर्कमा गई हुने स्वासप्रश्वाससम्बन्धी समस्या तथा खाना खाएर हुने पाचन प्रणालीसँग सम्बन्धित रोगहरूबाट जोगाउँछ । हात धुन सफा पानीको अभाव भएको स्थानमा यसको प्रयोग धेरै प्रभावकारी हुन्छ ।
कोभिड–१९ को प्रकोपसँगै स्यानिटाइजरको प्रयोग र यसको मागमा व्यापक वृद्धि आयो र बजारमा यसको अभाव भयो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले घरेलु रक्सीबाट स्यानिटाइजर बनाएको समाचार आयो भने ललितपुर उपमहानगरपालिकाका प्रतिनिधिहरूलाई तालिम पनि दियो । नास्टमा प्रयोग भएका उपकरणहरू समुदायमा व्यवस्था गर्न मूल्यको कारणले सम्भव भने देखिँदैन । तर पनि बजारमा उपलब्ध हुने अल्कोहोलबाट भने समुदायमा स्यानिटाइजर बनाएर वितरण गर्न वा घरैमा बनाएर उपयोग पनि गर्न सकिन्छ ।
विश्व स्वास्थ्य सङठनले समुदायमा स्यानिटाइजर उत्पादन गर्ने विधिको गाइड प्रकाशित गरेको छ । यसमा इथाइल अल्कोहोल (इथानोल) मा आधारित र आइसोप्रोपाइल अल्कोहोलमा आधारित गरी दुई सूत्रहरूको व्याख्या गरिएको छ । अन्य अनलाइन स्रोतहरूमा उपलब्ध सूत्रहरू भने सबै उत्तिकै विश्वासिला छैनन् । आइसोप्रोपाइल अल्कोहोल वा इथाइल हल्कोहोलको अलावा हाइड्रोजन पेरोक्साइड र ग्लीसिरोल (ग्लीसिरिन) पनि यसका महत्वपूर्ण रसायनहरू हुन् भने सुगन्ध र रङ दिने रसायनहरू ऐच्छिकरूपमा लिइन्छ ।
अल्कोहोल सूक्ष्म जीवहरू मार्ने सक्रिय तत्वकोे रूपमा प्रयोग हुन्छ । घरेलु रक्सी पनि इथाइल अल्कोहोल नै हो तर यसको गाढापनको मात्रा सूक्ष्म जीवलाई नष्ट गर्न पर्याप्त हुँदैन । कुनै इलेक्ट्रोनिक स्रोतहरूमा भोड्का प्रयोग हुन्छ भनी भ्रम पैदा गर्न खोजेको छ । भोड्कामा ४० प्रतिशत इथाइल अल्कोहोल रहन्छ । औसत घरेलु रक्सीमा पनि त्यतिकै मात्रामा इथाइल अल्कोहोल पाइन्छ भने सुरुको एक पानीमा ४५ प्रतिशतसम्मको मापन भएको छ । कीटाणु नष्ट गर्नको लागि घटीमा पनि ७५ प्रतिशतको अल्कोहोल आवश्यक रहन्छ । रक्सीलाई फ्राक्सनल डिस्टिलेसनको प्रक्रियामार्फत गाढापना बढाउन सकिन्छ । यसको अभ्यास नास्टको प्रयोगशालामा भएको छ । रक्सीको उपयोग गर्ने अर्को उपाय भनेको रसायन बजारमा उपलब्ध हुने इथाइल अल्कोहोलसँग रक्सी मिसाएर यसको गाढापनालाई उपयुक्त स्तरसम्म पु¥याउनु हो ।
ग्लीसिरिन पनि अल्कोहोल रसायनकै परिवारको सदस्य हो तर यसले कीटाणु मार्ने काम गर्दैन । गाढा इथाइल अल्कोहोल र आइसोप्रोपाइल अल्कोहोल जसले कीटाणु मार्ने गर्छ, तिनीहरू चाँडै नै उडेर सुक्छ । कीटाणु मार्ने अवधिभन्दा अल्कोहोल चाँडै नसुकोस् भनी ह्युमिक्टान्टको रूपमा ग्लीसिरिनको उपयोग हुन्छ । विश्व स्वास्थ्य सङठनले सिफारिस गरेका स्यानिटाइजरको सूत्रहरूमा १.४५ प्रतिशत ग्लीसिरिन हुनुपर्ने कुरा उल्लेख गरिएको छ । यसको सट्टामा घ्यूकुमारी (एलोभेरा) वा अन्य छाला नरम पार्ने वस्तुहरू पनि प्रयोग गर्न सकिन्छ । तर, प्रयोग गरिएका वस्तुहरू समुदायमा सजिलै उपलब्ध हुने, एलर्जी नगराउने, विषाक्तता नभएको र अल्कोहोल र पानी दुवैमा घुलिने हुनुपर्नेछ ।
भाँडो र घोलमा रहेका दूषित ब्याक्टेरिया र सूक्ष्म जीवका स्पोरहरू निष्क्रिय गर्न हाइड्रोजन पेरोक्साइडको प्रयोग गरिन्छ तर यो हातको लागि एन्टिसेप्टिक होइन । विश्व स्वास्थ्य सङठनले स्यानिटाइजरमा यसको मात्रा ०.१२५ प्रतिशत निर्धारण गरेको छ । पानीभन्दा फरक देखियोस् भनी खाद्य रङका केही थोपा र सुगन्ध दिने खानामा हालिने रसायन पनि केही थोपा हाल्ने चलन छ । तर, यी वस्तुहरू थप्न वा नथप्न विश्व स्वास्थ्य सङठनले सिफारिस गरेको छैन । यस्ता वस्तुहरूको प्रयोगले कसैमा एलर्जीका प्रतिक्रिया देखाउने प्रकारका जोखिम पनि रहन्छ ।
स्यानिटाइजरको उत्पादन गर्न आवश्यक रसायनहरू उपलब्ध भएपछि सिफारिस भएका सूत्रअनुसारको मात्रा तयार गर्नको लागि हिसाब गर्नुपर्छ । विश्व स्वास्थ्य सङठनले इथाइल अल्कोहोल भए तयारी स्यानिटाइजरमा ८० प्रतिशत र आइसो प्रोपाइल अल्कोहोल भए ७५ प्रतिशत रहेको हुनुपर्ने भनी सूत्रबद्ध गरेको छ । सामान्य अड्ढगणित अथवा घोलको गाढापनाको सूत्रको नियमबाट हामीले लिनुपर्ने अल्कोहोलको आयतन निकाल्न सकिन्छ । मानौँ हामी १० लिटरको स्यानिटाइजर उत्पादन गर्दै छौँ । हामीले किनेको इथाइल अल्कोहोल ९६ प्रतिशतको छ भने १० लिटर र ८० प्रतिशतको गुणनफललाई हामीसँग भएको अल्कोहोलको ९६ प्रतिशतले भाग गरी ८ लिटर ३३३ मिलिलिटर निकाल्न सकिन्छ । त्यसैले १० लिटर स्यानिटाइजर बनाउन ९६ प्रतिशतको इथाइलअल्कोहोल ८३३३ मिलिलिटर लिन्छौँ । रसायन बजारमा वा मेडिकल स्टोरमा उपलब्ध भएको अल्कोहोलको गाढापना यसैको भाँडोमा प्रतिशतको रूपमा उल्लेख गरिएको हुन्छ । इथाइल अल्कोहोलको सत्तामा आइसोप्रोपाइल अल्कोहोलको पनि उपलब्ध अल्कोहोलको गाढापनाको प्रतिशत हेरेर बनाउनुपर्ने स्यानिटाइजरको आयतन र विश्व स्वास्थ्य सङठनको सिफारिस सूत्रअनुसारको ७५ प्रतिशतलाई आधार मानेर हिसाब गर्न सकिन्छ ।
यस्तै हिसाब हाइड्रोजन पेरोक्साइड र ग्लीसिरिनको मात्राको लागि पनि गर्नुपर्छ । विश्व स्वास्थ्य सङठनको सूत्रअनुसार तयारी स्यानिटाइजरमा हाइड्रोजन पेरोक्साइड ०.१२५ र ग्लीसिरिन १.४५ प्रतिशत हुनुपर्छ । मानौँ हामीसँग ३ प्रतिशतको हाइड्रोजन पेरोक्साइड छ भने १० लिटर स्यानिटाइजरको लागि ४१७ मिलिलिटर आवश्यक पर्छ । हामीसँग उपलब्ध भएको ३० प्रतिशतको भए ४१.७ मिलिलिटरको आवश्यकता पर्छ । त्यस्तै ९८ प्रतिशतको ग्लीसिरिन छ भने १० लिटर स्यानिटाइजरको लागि १४५ मिलिलिटर ग्लीसिरिनको आवश्यकता पर्छ ।
मात्राको हिसाब भइसकेपछि मापनको कुरा आउँछ । आयतन नाप्नको लागि भोलुमेट्रिक फ्लास्क अथवा मेजरिङ सिरिन्डर र पिपेट उपयुक्त हुन्छ । तर, स्थानीय क्षेत्रमा उपलब्ध भएका अन्य तेल नाप्ने भाँडो, मेजरिङ जग र सिजिन्जहरू पनि उपयोगमा ल्याउन सकिन्छ । रसायनहरूलाई सुरक्षित तवरले सम्हाल्नुपर्ने हुन्छ । विशेषगरी हाइड्रोजन पेरोक्साइड बढी हानिकारक साबित हुनसक्छ । शरीरलाई सुरक्षित राख्न पञ्जाको प्रयोग अनिवार्य हुन्छ ।
हिसाब गरेको मात्रामा इथाइल अल्कोहोल वा आइसोप्रोपाइल अल्कोहोल, हाइड्रोजन पेरोक्सइड र ग्लीसिरिन नापेर सफा जारमा हाल्नुपर्छ । यसमा १० लिटरको लागि ७० थोपा जति खानयोग्य रङ र पाँच थोपा जति सुगन्ध दिने झोलहाल्न सकिन्छ । त्यसमा निर्मलीकरण गरिएको र सामान्य तापक्रममा ल्याइएको सफा डिस्टिल्ड वाटर वा खानेपानी थपेर स्यानिटाइजरको आवश्यक आयतन पूरा भर्नुपर्छ । बिर्को लगाएर पूरै मिश्रणलाई राम्रोसँग घोल्नुपर्छ । यो घोलमा अल्कोहोलमिटर डुबाएर हेर्नुपर्छ । भाँडोमा दुबाउन नमिलेमा मेजरिङ सिलिन्डरमा राखेर नाप्न सकिन्छ । ८० प्रतिशत अल्कोहोल वा यसमा ५ प्रतिशत थपघट हुँदासम्म यो राम्रो गुणस्तरको रहेको मानिन्छ ।
यसरी तयार गरिएको स्यानिटाइजरलाई हावा लिक नहुने गरी राख्नुपर्छ र ७२ घण्टापछि उपयुक्त भाँडोमा राखी प्रयोग गर्न सकिन्छ वा वितरण गर्न सकिन्छ । स्यानिटाइजर तयार गरेर राखेका भाँडो र वितरण गर्ने भाँडाहरूमा स्यानिटाइजरमा प्रयोग गरिएको रसायनहरूको सूत्र स्पष्टसँग लेखिनुपर्छ र सावधानीहरूको बारेमा जानकारी दिने सड्ढेत वा स्पष्ट भाषामा लेखिनुपर्छ । गाढा अल्कोहोलको मात्रा भएकोले यो चाँडै आगो टिप्नसक्ने प्रकृतिको हुन्छ । त्यसैले स्यानिटाइजर लगाएर तुरुन्तै आगोको नजिक पर्नुहुँदैन । यसको प्रयोग शरीरको बाहिरी भागमा मात्र गर्न मिल्छ, खान मिल्दैन ।
यस विधिबाट विद्यालय तथा कलेजहरूमा स्यानिटाइजर बनाएर उपयोग गर्न सकिन्छ । सहकारीजस्ता सामुदायिक संस्थाहरूले स्यानिटाइजर बनाएर कार्यालयमा उपयोग र सदस्यहरूलाई र समुदायमा वितरण गर्न सकिन्छ । यसरी स्यानिटाइजर बनाउँदा आर्थिकरूपमा केही सस्तो पनि पर्न आउँछ । बजारमा अभाव भएको र यसको उपयोगिता बढेको अहिलेको जस्तो समयमा त यो कामले समुदायमा महत्वपूर्ण योगदान पु¥याउँछ । व्यवसायिकरूपमा उत्पादन गरी बेचबिखन गर्न भने नेपाल सरकारले निर्धारण गरेका केही प्रशासनिक प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ ।

जयराम खाइजू


(लेखक ख्वप इन्जिनियरिङ कलेजमा सम्बद्ध हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *