भर्खरै :

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

– शरच्चन्द्र भण्डारी
काठमाडौँ, २१ चैत । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो ।
विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को जोखिमका कारण यही चैत २५ गतेसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ¥हास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो ।
एसियाली विकास बैँक
(एडीबी) ले मनिलामा शुक्रबार सार्वजनिक गरेको ‘एसियाली विकास परिदृश्य’ अनुसार कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधले चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ । चालु आवको पहिला सात महिनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको छ ।
गत माघको अन्त्यतिर सागसब्जी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको, महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुनेछ ।
आव २०७६÷७७ को पहिला सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्गुचन आएको छ । सुधारिएको व्यापार सन्तुलनले गत माघको अन्त्यसम्म चालुखाता घाटा अघिल्लो वर्षको सोही अवधिको रु. १ अर्ब ५० करोड डलरबाट १ अर्ब डलरमा राख्न सहयोग पुगेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आव २०७५÷७६ को कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । यद्यपि चालु आवको अन्तिम त्रयमासमा विप्रेषण आप्रवाहमा कमी आएमा चालुखाता घाटा अझ बढ्ने छ ।
कोभिड–१९ चाँडै समाप्त हुने, यसपछिका आर्थिक गतिविधि निर्वाध सञ्चालन हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडिबीले आगामी आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले आव २०७७÷७८ (सन् २०२१) मा ४५६ मेगाबाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ । प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्नेछ ।
कोभिड–१९ का कारण उत्पन्न अवरोधपछिका गतिविधिहरू सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आव २०७७÷७८ मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ । पुँजीगत वस्तु आयातमा वृद्धि हुँदा चालु खाता घाटा चालु आवको कुल गार्हस्थ्य उत्पादनको ५.० प्रतिशतबाट ५.६ प्रतिशतले बढ्ने तर यो घाटा पेट्रोलियम पदार्थको मूल्यमा कमी आउने तथा निरन्तर विद्युत् आपूर्तिका कारण पेट्रोलियम पदार्थको आयातमा क्रमशः कमी आउने र भारतमा विद्युत् निर्यातमा वृद्धि हुने कुरामा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ ।
आव २०७७÷७८ को सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको छ । असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषि उपजमा कमी ल्याउनुका साथै पूर्वाधारहरूमा क्षति पु¥याउन त्रास पनि कायम छ । प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमहरूको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरूको खर्च कमजोर बनाउँछ । कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्नेछ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *