भर्खरै :

‘नर्थ स्टार कम्पास’ कम्युनिस्ट सिद्धान्तबाट प्रभावित पत्रिका

            कम्युनिस्ट या कम्युनिस्ट समर्थकहरू अन्तर्राष्ट्रवादी हुन्छन् । कम्युनिस्ट या वामपन्थी पक्षले चलाइरहेका पत्रपत्रिकाहरू पनि अन्तरदेशीय हुन्छन् । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीले सञ्चालन गरेका पत्रपत्रिकाले आफ्नो देशको मात्र होइन अन्य देशमा रहेका शोषितपीडित जनताको पक्षमा कलम चलाइरहेका हुन्छन् । क्यानाडाबाट निरन्तर प्रकाशित भइरहेको नर्थ स्टार कम्पास त्यस्तै पत्रिका हो । नर्थ स्टार कम्पासका सम्पादक एवम् अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष मिखाइल लुकास हुन् । उनी वैशाख १२ गते बिते । सन् १९९० देखि सोभियत सङ्घको पुनःस्थापनाको निम्ति निरन्तर अवाज उठाइरहेका विश्वका पत्रिकाहरूमध्ये नर्थ स्टार कम्पास एक हो । यो पत्रिका सोभियत जनतासित मित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्को प्रकाशन हो ।
            कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पुर्‍याई सांस्कृतिक स्तर उठाउने, जनतालाई सुसूचित पार्ने काम कम्युनिस्ट आन्दोलन, मजदुर वर्गीय आन्दोलन, साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादविरुद्ध जनतालाई सङ्गठित गर्ने र कम्युनिस्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावनालाई संसारभर फैलाउने काम क्यानडाबाट प्रकाशित नर्थ स्टार कम्पास र बेलायतबाट प्रकाशित द न्यु वर्करलगायत अन्य पत्रिकाले गरिरहेको कुरा स्मरणीय छ ।
            संसारमा रहेका मार्क्सवाद–लेनिनवादविरोधी पार्टीहरू, कम्युनिस्ट पार्टीलाई धोका दिने, बदनाम गराउने, टुक्रा पार्न अनेक षड्यन्त्र गर्ने विश्वासघातीहरूको गलत कामलाई जनतामाझ पुर्‍याएर उदाङ्ग्याउने काम नर्थ स्टार कम्पासले गर्दै आएको छ । संसारमा घटेका कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टीको इतिहास र मजदुर आन्दोलनहरू पुँजीवादी पत्रिकाले छाप्दैनन्, छापे पनि तोडमरोड गर्छन् र गलत सूचना प्रवाह गर्छन् । सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाए पनि मौन रहने या फैलाउन सघाउने पुँजीवादी र जातिवादी दलहरूको षड्यन्त्रलाई चिरफार गर्ने एउटा सशक्त माध्यम पत्रिका हो । यो जिम्मेवारी नर्थ स्टार कम्पासले निर्वाह गरिरहेको छ । नर्थ स्टार कम्पासमा प्रकाशित तिनै लेख, इतिहास र समाचारहरू नेपालीमा अनुवाद गरेर ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा प्रकाशित भइरहेको हो ।
            सोभियत सङ्घको विघटनपछि पुनःस्थापित पुँजीवादी शासक र त्यसका साम्राज्यवादी सहयोगीहरूविरुद्ध सङ्घर्ष गरिरहेका सोभियत जनताको सङ्घर्षको पछिल्लो विचार बोकेको यो मासिक पत्रिका विश्वका ७६ वटा देशहरूमा प्रत्यक्ष सम्पर्क स्थापित भइरहेको छ । यो पत्रिका अहिले अङ्ग्रेजी, फ्रान्सेली, रुसी तथा स्पेनियाली भाषामा प्रकाशित भइरहेको छ ।
            ‘नर्थ स्टार कम्पास’ पत्रिका आस्थाको पत्रिका हो, कम्युनिस्टहरूको सिद्धान्त र विचारबाट प्रभावित पत्रिका हो । यो पत्रिका साम्राज्यवादी र पुँजीपतिहरूको निम्ति आँखाको कसिङ्गर भएको छ । त्यस्तो पत्रिकालाई अनेक दुःख दिएर, डर धम्की दिएर, झमेला खडा गरेर, पत्रिका बन्द गराउन साम्राज्यवादी मुलुक र सञ्चारमाध्यमहरू लाग्नु स्वाभाविक छ ।
            यहाँ पनि आफूलाई क्रान्तिकारी, महान्, ठूला र कम्युनिस्ट भनिने राजनीतिक दलका पत्रिकाहरू छन् । तर ती पत्रिकाहरूले कम्युनिस्टहरूको सिद्धान्त, विचार तथा विश्वमा भइरहेको कम्युनिस्टहरूको आन्दोलन र मजदुर आन्दोलनलाई स्थान दिइरहेका छैनन् । ती पत्रिकाले साम्राज्यवाद, उपनिवेशवाद, पुँजीवाद, संशोधनवाद र अवसरवादको विरोधमा आवाज उठाई जनतालाई सचेत र सङ्गठित पार्ने काम गरिरहेका छैनन् । कम्युनिस्ट भनिने सबै दल र दलका समर्थक पत्रिकाहरूले आफ्नो भूमिका निर्वाह नगरेकै कारण नेपालको कम्युनिस्ट आन्दोलन पछि परेको हो, कम्युनिस्ट भनिने ठूला दलहरूको नेतृत्वमा सरकार गठन गरे पनि कामदार वर्गको हितमा काम नभएको हो । ठूला दलहरू भागबन्डामुखी भएझैँ यहाँका ठूला पत्रिकाहरू व्यापारमुखी छन् । तर, नर्थ स्टार कम्पास, ‘श्रमिक’ र ‘मजदुर’ त्यसभन्दा पृथक छन् ।
            नर्थ स्टार कम्पास सोभियत सङ्घको विघटनपछि पुनःस्थापित पुँजीवादी शासक र त्यसका साम्राज्यवादी सहयोगीहरूविरुद्ध सङ्घर्ष गरिरहेको मासिक पत्रिका हो । यसले पूर्व सोभियत सङ्घका गणतन्त्रहरूबाट प्रकाशित कम्युनिस्ट र प्रगतिशील अखबारहरूबाट अङ्ग्रेजीमा अनुवाद गरिरहका रचनाहरू प्रकाशित गर्छ । विश्वमा प्रताडित भइरहेका नवउदारवादी भूमण्डलीकरण र साम्राज्यवादविरुद्धका सङ्घर्षका समाचारहरू छाप्छ । समाजवाद र सोभियत सङ्घको पुनः निर्माणको निम्ति सङ्घर्ष गरिरहेका विश्वका साम्राज्यवादविरोधी शक्तिहरूलाई एकगठ तुल्याउने प्रयास यसले गरिरहेको छ । देश विखण्डन गर्न क्रियाशील संशोधनवादी र धोखेबाजहरूको चरित्र उदाङ्गो पार्ने र समाजवादी देशहरूको एकता र मजदुर वर्गीय आन्दोलनलाई जोड दिइरहेको छ । यस पत्रिकामा मार्क्सवाद भन्ने तर मार्क्सवादी सिद्धान्त त्यागी कम्युनिस्ट पार्टीहरूलाई कमजोर बनाउने र समाजवादको उद्देश्यमा आघात पुर्‍याउने गोर्भाचोभजस्ता संशोधनवादी र अवसरवादी नेताहरूलाई उदाङ्गो पार्ने काम गरिएको छ ।
            यसले मजदुर वर्गको पहिलो राज्यसत्ता स्थापना गरेको सोभियत सङ्घको गौरवशाली इतिहासको पक्षमा लेखेको छ । समाजवादी औद्योगिकीकरणको इतिहास, कृषिको सामूहिकीकरण, दोस्रो विश्वयुद्धमा फाँसीवादलाई परास्त गर्नमा सोभियत सङ्घको नेतृत्वदायी भूमिका एवम् जोसेफ स्टालिन र सोभियत बोल्शेविक पार्टीको सही नेतृत्वको पक्षमा यसले वकालत गरिरहेको छ । सोभियत सङ्घको विघटन र पुँजीवादको पुनःस्थापनापछि कलकारखाना बन्द भई रोजगारी गुमेर, भोकमरी फैलिएर, घरबारविहीन भएर छटपटिएका सोभियत जनताको दयनीय स्थितिबारे नर्थ स्टार कम्पासले प्रकाशमा ल्याएको छ । सोभियत सङ्घको विघटनपछि विश्वको महाशक्तिको रूपमा देखिएको संयुक्त राज्य अमेरिकी साम्राज्यवादको दबदबा नर्थ स्टार कम्पासले उदाङ्गो पारेको छ । पुँजीवादी र साम्राज्यवादका दलाल सञ्चारमाध्यमहरूले पुँजीवादको ‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ को हल्ला मच्चाइरहेको बेला पुँजीवादको उदाङ्गो पार्ने काम यसले गरिरहेको छ । वर्गहरूको उन्मूलन नभएसम्म वर्गसङ्घर्ष भइरहनेछ । सर्वहारा वर्गको राज्य सशस्त्र सङ्घर्षबाट मात्र सम्भव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *