भर्खरै :

संसारभरिका चरा जोड्छ संसार सारा

            दुई हप्ताअघि तीन जना साना साना बालक गुलेलीले चरा मार्दै हिँडिरहेको देखेँ, घरको कौसीबाट तल झरेँ, बच्चाहरूसँग मायाले कुरा गरेँ, मारेको चार किन्छु भन्दा तीन वटाको एकसय पचास रूपैयाँ भन्यो । सय रूपैयाँ दिन्छु गुलेली मलाई सुम्पन्न भनेँ, मानेनन् । प्रतिगोटा सयको दरले तीनवटै किनेँ । मैले मायाले चरा हाम्रो पर्यावरणको निम्ति कति महत्वपूर्ण छ, त्यसबारे दुई–तीन मिनेट सुनाएँ । हो काका तपाईँले भन्नुभएको ठीक भने । तर, पर पुगेपछि ‘चरा नमारी मासु कसरी खाने नि ?” भन्दै तीन जना बच्चाहरू कुलेलम ठोके । पक्कै पनि उनीहरूले नयाँ गुलेली किने र आजको दिनसम्म पनि चरा मार्दै छन् होला ।
            यो त प्रतिनिधिमूलक घटनामात्रै हो । लेख पढ्दै गर्नुभएका पाठकहरूलाई चरा मारेको अनेक सम्झना याद होलान् ।
            आजभन्दा करिब २५ वर्ष अघि बा–आमाले मलाई व्यासीको धान खेतबारीमा पठाउनुहुन्थ्यो । काम थियो चरा धपाउने, त्यो वस्तुको नाम मलाई याद आएन । तर, त्यो वस्तु डोरीजस्तो थियो, बजार्दा निकै ठूलो स्वरले बज्थ्यो, धान बालीमा रहेका बथानका बथान चराहरू केही समयका लागि उड्थे, फेरि मैले चाल नपाउने गरी आउँथे । म आवाज निकाल्थेँ, चराहरू उड्थे । यसरी त्यतिबेला भँगेराहरूको बथान दुई–चार सयको हुन्थ्यो । तर, आज २५  वर्ष पछाडि चराको आवाज सुन्न कठिन छ ।
            हिजो हाम्रा पुराना घरहरूमा साना–साना दुलाहरू हुन्थे, चराहरूले बच्चा कोरल्ने अनेक ठाउँहरू हुन्थे । तर, आज हाम्रा नयाँ पक्की घरहरूमा चार लुक्ने ठाउँ, बस्ने ठाउँ लगभग छैन । त्यसैले पो हो कि हाम्रो वरिपरि बस्न रूचाउने चराको सङ्ख्या घटेको । बिहान खाना खानुअघि हामी भगवानको नाममा एक डाडु भात र तरकारी कौसीमा चढाउँछौँ । काग, परेवा, भँगेरा त्यो खान भगवानको रूपमा आउँछन् र खान्छन् । सायद भगवान भनेको प्रकृतिलाई भनेको हुनुपर्छ ।
            सन् २०१६ मा चरा संरक्षण नेपाल नामक एक संस्थाले काठमाडौँ उपत्यकामा १०२ प्रजातिका १३ हजार ७९४ वटा चराहरू गणना गरेको थियो । सो संस्थाका अनुसार उपत्यकाका गाउँले परिवेशमा भन्दा सहरी क्षेत्रमा चराको प्रजाति र सङ्ख्या निकै न्यून छ । सहरीकरण, बाक्लो मानव बस्ती, प्रदूषण र हरित क्षेत्रको कमी सहरी क्षेत्रमा चराको प्रजाति कम हुनुका कारणहरू हुन् ।
            संसारभर ११ हजार १२१ प्रजातिका चराहरू छन् । त्यसमध्ये संसारलाई आफ्नो घर मानी संसारको फन्को मार्ने डुलुवा चराका प्रजातिहरू दुई हजार २२५ प्रजाति छन् । ती डुलुवा चराहरूमध्ये १५० प्रजातिका हिउँदे आगन्तुक चराहरू उत्तरी मुलुकहरू रूस, चीन, मङ्गोलियाका साथै कोरिया र युरोपबाट नेपाल आउने गर्छन् । ती एकसय ५० प्रजातिका चराहरूमध्ये ५० प्रजातिका बटुवा चरा नेपालमा केही समय आराम गर्दै डुल्दै भारतसम्ममात्र नभइकन पाकिस्तान, अझ श्रीलङ्कासम्म बास बस्न जान्छन् । नेपालको तल्लो क्षेत्रमा तापक्रम उत्तरी क्षेत्रमा भन्दा बढी हुने हुँदा उत्तरी भेग र नेपालभन्दा उत्तरका देशहरूबाट जाडोबाट बच्न नेपालमा अतिथि भएर प्रवेश गर्छन् र चितवनको बीसहजारी ताल, कोसी टप्पु आरक्ष, जगदीशपुर ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल–तलैयाहरू, पश्चिमको घोडा–घोडी ताल तथा अन्य वन क्षेत्रमा, नारायणी–कोसी–गण्डकी–राप्ती नदीलगायत अन्य पायक पर्ने क्षेत्रमा समय बिताउँछन् । जाडो छल्नका लागि आउने डुलुवाहरू मात्र नभई गृष्म ऋतु प्रवेशसँगै अरू पाहुना चराहरू पनि नेपालको हावामा कावा खान आउँछन् ।
            हिउँदे र गृष्म ऋतुमा आउने चराहरू नेपालसम्म आइपुग्न बाटोमा निकै कठीन यात्रा छिचोलेर आउँछन् र फर्कँदाको यात्रा पनि उत्ति नै सकसपूर्ण हुन्छ । चराहरूसँग कम्पास र नक्सा हुँदैन तर उनीहरू तारा, चन्द्रमा, सूर्य, खोला–नाला, पहाड तथा अन्यको सहारा लिएर हावामा पनि आफ्नो अलग बाटो बनाएर बसाइँसराइँ गर्छन् । संसारभर ८  वटा यस्ता बाटाहरू छन् भने नेपाल मध्य एसिया बाटोको नामले चिनिन्छ । ती ८ वटा बाटाहरू (फ्लाइ–वे) को अवस्थामा दिनानुदिन भौतिक परिवर्तन भइरहेका छन् । केही वर्षअघि भएका  पोखरी, पहाड, वनज·लहरू सहरीकरण, वन विनाश तथा अन्य कारणले लोप भइरहेका छन् । यसले गर्दा आगन्तुक चराहरूको बाटो पहिचानमा कठिनाइ आउँछ, कति प्रजाति चराहरू बाटो भुल्छन् र बाटोमै मर्छन् । ती चराहरू अनेक व्यवधान छिचोल्दै नेपालको तराई क्षेत्र, भारत, पाकिस्तान र श्रीलङ्का पुग्छन् तिनीहरूको जीवन पनि कष्टकर नै हुन्छ । खेतबारीमा प्रयोग गरिएका विषादीमा हुर्केका कीरा–फट्याङ्ग्रा, प्रदूषित ताल–तलैया र जलक्षेत्रका माछाहरूको चपेटामा परेर धेरै प्रजातिले सास्ती व्यहोर्छन्, चोरी शिकारीबाट बच्नु अर्को चुनौती त बाँकी नै छ ।
            प्रत्येक चरा प्रजातिको हाम्रो पर्यावरणीय प्रणालीमा अलगअलग भूमिका हुन्छ, एउटा प्रजाति लोप हुनेबित्तिकै यो प्रणालीमा आँच आउँछ । त्यसैले स्थानीय होस् या आगन्तुक चराहरूको संरक्षण गर्न तिनका बाटामा पर्ने सबै देशहरू एकजुट भई त्यहाँका बास स्थान सुनिश्चित गर्ने, अन्तरदेशीय समन्वयात्मक तथा दिगो र एकीकृत योजना तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरू भनिएअनुसार हुबहु अवलम्बन र पालना गर्नैपर्छ । चराहरूसँग मानिसको भविष्य पनि जोडिएको छ, पर्यावरणीयरूपमा मात्रै नभइकन, सांस्कृतिक, धार्मिक तथा आर्थिकरूपमा पनि । चरा पर्यटन उपत्यकाको शिवपुरी, गोदावरी, नगरकोट, चितवन राष्ट्रिय निकञ्ज, कोसी टप्पु आरक्ष क्षेत्र, जगदीशपुर ताल, बिसहजारी ताल, घोडाघोडी तालजस्ता ठाउँहरू फस्टाइरहेको छ र अर्थोपार्जनको गतिलो स्रोत पनि बन्दै गरेको परिवेशमा आगन्तुक चराहरूको उचित संरक्षण गर्नु आवश्यक छ । संसारलाई जोडी एक ढिक्का बनाउने चरा जगतको संरक्षण गर्ने विश्व प्रवासी चरा दिवस मई ९, २०२० का दिन प्रण गर्नु अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *