भर्खरै :

अब ध्यान दिनुपर्ने एउटा विषय

शनिबार कोरोना भाइरसको कारण निधन भएको महिलाको लासलाई कसैले पनि छुन तयार भएन । लास बोक्न शवबाहन र एम्बुलेन्स पनि तयार भएन । अन्ततः भक्तपुरबाट दुई जना स्वयम्सेवकहरू धुलिखेल पुगेर लास ल्याई पशुपति पु¥याएर दहन गरियो । आइतबार बाँकेको क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको निधन भयो । उनको पनि कोभिड–१९ कै कारण निधन भएको पुष्टि भयो । कोभिड–१९ को सङ्क्रमण सामुदायिक स्तरमा फैलिएसँगै अब यस्ता समाचार अन्यत्रबाट पनि आउनेछ ।
अब यो नमीठो वास्तविकता नेपालले पनि स्वीकार्नुको विकल्प छैन । शनिबारसम्म सरकारले रोग नियन्त्रण र रोकथाममा मात्र केन्द्रित थियो भने अब भाइरसको कारण मर्ने मानिसको लास कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि थपिएको छ । अत्यन्त सङ्क्रामक रोग भएको हुनाले कोही पनि मानिस सो भाइरसको कारण मरेको व्यक्तिको लास नजिक आउन नचाहनु स्वाभाविक र आवश्यक छ । त्यसो भए लासको व्यवस्थापन कसले कसरी गर्ने ? अब यो विषयमा पूर्वतयारी गर्नुपर्ने चरणमा हामी पुगिसकेका छौँ ।
कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिएका अधिकांश देशमा मृत शरीरको व्यवस्थापन एउटा चुनौती बनेको थियो । लास व्यवस्थापनसम्बन्धी कति समाचार अतिरञ्जनापूर्ण र झूटा थिए । तर, ठूलो सङ्ख्यामा एकैचोटि लासको व्यवस्थापन सहज भने पक्कै हुने गर्दैन । तर, अधिकांश पश्चिमा देशको लासलाई गाड्ने चलनको कारण पनि उनीहरूको लागि कठिनाइ भएको थियो । खुला स्थानको अभावमा सहरभन्दा निकै टाढा टाढासम्म लासको व्यवस्थापन गरिएको थियो ।
नेपालमा अधिकांश जनताको लास जलाउने चलन छ । त्यसकारण नेपालमा खुला स्थानको खोज्दै हिँड्नुपर्ने अवस्था छैन ।
तथापि लास लिएर घाट वा शव दहन स्थलसम्म पु¥याउनसमेत अहिले जोखिम मानिएको हुनाले सरकारी निकायले त्यसको निम्ति तयारी गर्नुपर्छ । देशभरमा विद्युत्तीय शवदहन गृह काठमाडौँमा मात्र छ । त्यसकारण शनिबार धुलिखेलमा निधन भएकी महिलाको लास त्यहाँ लगेर उपयुक्त ढङ्गले दहन गरियो । तर, अन्यत्र शवदहन त्यत्ति सहज नहुनसक्छ ।
शनिबार शव दहनमा संलग्न स्वयम्सेवकहरूलाई सूर्यविनायकस्थित सैनिक व्यारेकमा क्वारेन्टिनमा राखिएको छ । शव दहनपछि यसरी स्वयम्सेवकहरू निश्चित दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकोले यसको निम्ति तालिम प्राप्त जनशक्ति धेरै सङ्ख्यामा आवश्यक पर्ने देखियो । त्यसरी तालिम प्राप्त स्वयम्सेवक वा सुरक्षाकर्मी हामीसँग कति छन् ? नभए त्यस्ता जनशक्तिको उचित प्रबन्धको निम्ति सरकारले सोच्न विलम्ब गर्नुहुन्न ।
नेपालमा विगतमा फैलिएका महामारीको समयमा लासको समेत सही व्यवस्थापन गर्न नसकेको इतिहासकारहरूले लेखेका छन् । त्यो विगत आज दोहोरिन दिनुहुन्न । कोभिड–१९ भाइरसको प्रतिरोधमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवकको मनोबल उँचो राख्ने सरकारले कुनै कसर बाँकी राख्नुहुन्न । कोभिड–१९ विरुद्धको लडाइँमा उनीहरू नै वास्तविक सिपाहीँ हुन् । उनीहरूलाई आवश्यक सुरक्षा सामग्रीको कुनै कमी नहोस् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले यो विषम परिस्थितिमा इमानदारीका साथ आफ्नो धर्म निर्वाह गरे मात्र यो लडाइँ हामी जित्न सक्छौँ ।
विपत्तिको बेला एकै क्षेत्रमा मात्र ध्यान दिएर पक्कै पुग्दैन । सर्वत्र ध्यान दिन सके मात्र यो विपद्लाई पार लगाउन सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *