भर्खरै :

विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ

औद्योगिकीकरणको विस्तारसँगै यसको सुरक्षामा ध्यान नदिँदा हुनसक्ने दुर्घटनाले जनधनको क्षति तथा वातावरणीय र जनस्वास्थ्यमा पार्ने असरको मूल्य निकै महँगो पर्न जाने गर्दछ । यसको पछिल्लो उदाहरण भारतको आन्ध्र प्रदेश राज्यस्थित भाइजाग, विशाखापटनममा एल.जी. पोलीमर्स उद्योगबाट स्टाइरिन ग्यास चुहिँदा भएको दुर्घटनालाई लिन सकिन्छ । यस घटनालाई विश्वका धेरै सञ्चारमाध्यमहरूले प्रमुखताका साथ प्रकाशन र प्रसारण गरेका थिए ।
यही मे ७ तारिखको बिहान करीब २.३० बजे भएको सो घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १ हजार जनालाई अस्पताल भर्ना गरिएको थियो । बेहोस अवस्थामा अस्पतालमा भर्ना गरिएका तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएको बेला दुर्घटना भएको थियो ।
उद्योगबाट निस्केको ग्यासको मुस्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको थियो । मानिसहरूलाई आँखा पोलेको र सास फेर्न गा¥हो भएको थियो भनी केहीको निस्सासिएर मृत्यु भएको थियो । दुर्घटनामा परी थुपै्र घरपालुवा जनावरहरू गाई, भैंसी, कुकुर, बिरालो, चरा, सर्पहरू मरेका थिए भने विषाक्त ग्यासबाट अन्नबाली तथा वातावरण, हावा, खानेपानीको स्रोतमा पनि नकारात्मक असर पु¥याएको छ ।
यस पोलिमर फ्याक्ट्रीबाट चुहिएको स्टाइरिन ग्यास पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ । स्टाइरिन ग्यास रङ्गविहीन अथवा धेरै दिन राख्दा हल्का पहेँलो हुन्छ । यो १७ डिग्री सेल्सियसमा उम्लिन सक्ने अति प्रज्ज्वलनशील हुन्छ । यी तत्वबाट खानेकुरा राख्ने भाँडाहरू, सामान पोको पार्न आवश्यक प्लाष्टिक, कृत्रिम मार्बल, भुईँमा ओच्छ्याउने वस्तु, फर्निचरलगायत बनाउन सकिन्छ । यो ग्यास सामान्यतः रेफ्रिजरेटरमा राख्ने गरिन्छ । स्टाइरिनयुक्त हावामा श्वासप्रश्वास गर्दा नाक र घाँटीमा खसखस हुने, खोकी लाग्ने, दम आउने र फोक्सोमा पानी जम्नसक्ने विशाखापटनमस्थित होमिभावा क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका संस्थापक निर्देशक डा. रघुनाधा राव बताउनुहुन्छ ।
स्टाइरिनको मात्रा बढी भयो भने स्टाइरिन बिमार हुनसक्छ । यसले टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, कमजोरी महसुस हुने, थकाइ लाग्ने, अचेत जस्तो हुने हुन्छ । केहीलाई मुटुको चालमा अनियमितता हुनसक्छ र बेहोस पनि हुनसक्छ । केही अध्ययनले स्टाइरिन र रक्त क्यान्सरबीच सम्बन्ध हुनसक्ने देखाएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन र क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था (आइएआरसी) को अनुसार स्टाइरिन ग्यास मानवको लागि सम्भाव्य क्यान्सर लगाउन सक्ने रसायनको रूपमा पहिचान भइसकेको रसायन हो ।
घटनाको लगत्तै कोरियामा यसबारेमा पत्रकार सम्मेलन गरी आगामी दिनमा यसखालका दुर्घटना हुन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको त्यहाँको केबीसी टेलिभिजनले समाचार प्रसारण गरेको थियो । यस्तै कार्यस्थलको सुरक्षा, सरसफाइ र कामदारहरूको अधिकारको क्षेत्रमा कार्यरत व्यावसायिकजन्य स्वास्थ्य र वातावरण प्रभावित संस्थाहरूको एसिया सन्जालले आयोजना गरेको वेभनर पत्रकार सम्मेलनमा कोरियाका सियोल विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका प्रा. डोम योङ पिकले यस किसिमका औद्योगिक दुर्घटनाहरू हुन नदिन सरकारहरूले विशेष कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्जालका संयोजक तथा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले यस उद्योगमा भएकोे दुःखद घटनाबाट अन्य उद्योगहरूमा पनि बन्दाबन्दीको दौरान वा खुलेपछि उद्योगहरू सञ्चालनमा ल्याउनुअगावै सबै सम्बन्धित पक्ष र सरकारले पूर्ण सावधानी र सबैखाले व्यावसायजन्य सुरक्षा र स्वास्थ्य एवं व्यक्तिगत सुरक्षा कवचहरूको व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभयो ।
एल.जी. पोलीमर रासायनिक उद्योगबाट ग्यास चुहावट हुँदा कुनै सूचना वा साइरन बजाउने काम भएको थिएन । तथापि, लगत्तै सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र घाइतेहरूलाई तत्काल अस्पताल लैजान सकेका कारण अझ ठूलो क्षति हुन पाएको थिएन । ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिदै घर बाहिर भागदौड गरेका थिए ।
प्रहरीले आसपासका इलाकाबाट सयौँ मानिसलाई सुरक्षित स्थानमा लगेको थियो । घटनालगत्तै उद्योग वरपरका पाँच गाउँ खाली गराइएको स्थानीयवासी नागेश्वर रावले पत्रकार सम्मेलनमा बताउनुभयो । मे ८ मा नेसनल ग्रीन ट्रिबुनलले ६.६ मिलियन अमेरिकी डलर धरौटी राखी अनुसन्धानका लागि समिति बनाएर अनुसन्धान गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको थियो । सन् १९६१ मा स्थापना भएको एलजी पोलिमर इन्डिया प्रालि नामक यस कम्पनीपछि कोरियाको कम्पनीअन्र्तगत सञ्चालित रहँदै आएको छ । हाल यस कम्पनीमा ६०० भन्दा बढी कामदार रहेका छन् । यसको वार्षिक कारोबार २०० मिलियन डलर हुने गर्दछ ।
महाविपत्तिको ३५ वर्षपछि भोपाल
भारतमा पटक–पटक यस किसिमका ग्यास चुहावटको दुर्घटना हुने गरेको छ । सन् १९८४ मा भारतको मध्यप्रदेशको भोपालमा यस्तै दुर्घटना भएको थियो । युनियन कार्बाइड इन्डिया लिमिटेड नामक एउटा कारखानाबाट ठूलो मात्रामा रासायनिक पदार्थ चुहावट भएर हजारौँ मानिसको मृत्यु भएको थियो । युनियन कार्बाइडको कारखानाबाट विषालु ग्यास हावामा फैलिएपछि २४ घण्टाभित्र कम्तीमा तीन हजार जनाको ज्यान गयो भने हजारौँ मानिसको मृत्यु भएको थियो । पाँच लाखभन्दा बढी मानिस प्रत्यक्षरूपमा प्रभावित बनेको विषयलाई विभिन्न समाचार एजेन्सीहरूले आफ्नो समाचारहरूमा उल्लेख गरेका थिए । उक्त चुहावटलाई संसारकै सबैभन्दा ठूलो र नराम्रो औद्योगिक दुर्घटना मानिन्छ । दुर्घटना भएको ३५ वर्षपछि हजारौँ मानिसलाई फोक्सोको रोग लाग्ने गरेको छ भने अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन् ।
सन् १९८९ मा भारतको सर्वोच्च अदालतले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो । तर, धेरै पीडितले थप क्षतिपूर्तिको आशा र उक्त स्थानको सफाइ हुनुपर्ने माग अहिले पनि राख्दै आएका छन् । गत वर्ष उक्त दुर्घटना भएको ३४ औँ वर्ष पुगेको अवसरमा न्यायको माग राख्दै भोपालमा ठूलो जुलुस निकालिएको थियो । भोपाल दुर्घटनापछि भारतले विभिन्न ऐन नियमहरूको तर्जुमा गरी औद्योगिक तथा रासायनिक दुर्घटनाबाट बच्न विशेष जोड दिएको पाइन्छ ।
सन् १९८६ मा वातावरण संरक्षणसम्बन्धी ऐन तथा नियमावली, सन् १९८९ मा जोखिमपूर्ण फोहरसम्बन्धी नियम र जोखिमपूर्ण रसायनको उत्पादन, भण्डारण र निर्यातसम्बन्धी नियम, सन् १९९६ मा रसायनिक दुर्घटना नियम, सन् १९८७ मा उद्योग संशोधन ऐन र सन् १९९१ मा सार्वजनिक दायित्व बीमा ऐनको तर्जुमा गरेको पाइन्छ । यति धेरै कानुनहरूमा औद्योगिक दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक कानुनी आधार भएर पनि विशाखापटनममा अहिले भएको दुर्घटनाले त्यसको कार्यान्वयनका कतै कमजोरी रहेको प्रस्ट हुन्छ ।
औद्योगिक सुरक्षाको प्रश्न
भारतमा मात्र नभएर विश्वका थुप्रै मुलुकहरूमा यस किसिमका दुर्घटनाहरू हुने गर्दछन् । यसखालका औद्योगिक सुरक्षा हुन नदिन र भइहालेमा क्षति हुन नदिन पछिल्लो समय विश्वव्यापीरूपमै उच्च सतर्कता अपनाइएको छ । उद्योग स्थापनादेखि त्यसको नवीकरण गर्दा वा समयसमयमा व्यवस्थापन पक्ष र सरकारी निकायहरूबाट अनुगमन मूल्याङ्कन हुने गरेका कारण अप्रिय दुर्घटनामा कमी आएको छ । उद्योग कारखानाहरूले पनि निश्चित मापदण्ड अपनाउनुपर्ने हुन्छ । मुलुकको आर्थिक विकासका लागि औद्योगिकीकरण हुन आवश्यक छ र त्यहाँ कार्यरत मजदुरहरूको सुरक्षा र वातावरणीय स्वच्छता कायम गर्न राज्यहरूले आवश्यक कानुनहरूको तर्जुमा र त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक हुन्छ र टे«ड युनियनहरूको दायित्व पनि कामदारहरूको सुरक्षित वातावरणमा काम गर्ने अधिकारको रक्षामा आफूूलाई केन्द्रित राख्नुपर्ने हुन्छ ।
विशाखापटनमको यस उद्योगले राज्यबाट समयसमयमा वातावरणीय र औद्योगिक सुरक्षा कायम गरेको भन्ने प्रमाणपत्र पाउन असफल रहेको थियो अर्थात् उद्योगभित्र आवश्यक पूर्वसावधानीहरू यथेष्ट मात्रामा नअपनाइएका कारण यो दुर्घटना हुन पुगेको बताइन्छ । बन्दाबन्दी (लकडाउन) को बेला ग्यास राखेको ट्याङ्कीको तापक्रम नियन्त्रण गर्ने रेफ्रिजेरेसन (चिस्याउने यन्त्र) ले काम नगर्नु, अनुगमन नहुनु र ट्याङ्कीमा रासायनिक प्रक्रिया रोक्न थप्नुपर्ने रसायनहरू समयमा थप्न नसक्नु दुर्घटनाका प्रमुख कारणहरू रहेको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *