भर्खरै :

दलित सङ्घर्ष जातको होइन वर्गको हो

काठमाडौँ, १३ जेठ । १३ जेठ २०७७ को ‘नयाँ पत्रिका’ ले लेख्यो –“भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो, नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादामात्र होइन, विवाह गर्ने र वरवधू छान्ने अधिकार पनि सुरक्षित गरेको छ । तर, पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुङ्गामुढा गरेर लखेटियो, ज्यान बचाउन भेरीमा हामफालेका तीन जनाको शव भेटियो, तीन अझै बेपत्ता ।”
छापिएका तस्वीरहरूमा लेखियो – ‘भेरी नदी जहाँ प्रेम बिलायो’, ‘आफन्तको खोजीमा आफन्त ।’
वरवधू छान्न पाइन्छ, प्रेम र प्रेमिकाको मिलनलाई कानुनले मान्यता दिन्छ – जहाँ साँचो प्रजातन्त्र हुन्छ । प्रजातन्त्र शब्द होइन, बौद्धिक विलास होइन । व्यापक जनतामा हरेक व्यक्तिको अधिकारलाई अर्कोले स्वीकार गरेको हुन्छ । भारतको नक्कल गरेर नेपाल पछि प¥यो, भारतका सिनेमामा हजारौँ कथा देखाइए हजारौँ गीतहरू गाइए । तर, बेलायती उपनिवेशबाट स्वतन्त्रताको ७० वर्षपछि पनि भारतमा यस्तै कहालीलाग्दो स्थिति छ  ।
ईश्वरप्रतिको विश्वास, अन्धविश्वासले भरिएको धर्म र अरूलाई सानो सम्झने र आफूलाई ठूलो ठान्ने सामन्ती संस्कार भएसम्म यस्ता घटनाहरू भइरहनेछन् । रोमियो र जुलियत, नकुल र सविता र उमर खैयामका धेरै–धेरै गीतहरू गाइनेछन् ।
भारतीय स्वतन्त्रताभन्दा पहिले गान्धीजीको विरोध हुँदाहुँदै दक्षिण भारतका एक जीवशास्त्री प्रा. गोराले हिन्दू, मुसलमान र इसाई सबै धर्म र जातका मानिसहरू जम्मा पारेर गाई र सुङ्गुरको मासुसमेत राखेर भोजको आयोजना गरेका थिए । सेनाले गाउँलेहरूलाई घेरेर तिनीहरूको अधिकार सुरक्षित गरे ।
ब्राह्मण प्रोफेसर गोराले आफ्नी छोरीलाई एक दलितसँग विवाह गरिदिएका थिए । प्रा. गोरालाई विश्वविद्यालयले बर्खास्त ग¥यो र गाउँलेहरूले गोरा परिवारलाई आफ्नो गाउँबाट निकाले ।
समाजमा आमूल परिवर्तन गर्न मजदुर, किसान र व्यापक जनतालाई सचेत र सङ्गठित पारी पहिले शोषण र उत्पादनका साधनहरू (खेत–खलिहान, कल–कारखाना, बस सेवा, हवाई सेवा, बैङ्क आदि) लाई राष्ट्रियकरण वा सामाजिकीकरण गरिनुपर्छ । त्यसको निम्ति सर्वहारा (कामदार) वर्गको शासन स्थापना गर्नुपर्छ । वर्गीय र पेशागत सङ्घ–संस्थाहरू सबै विश्वविद्यालयजस्तै शिक्षाको क्षेत्र हुनु आवश्यक छ । क्रान्तिले त्यस्ता सबै आर्थिक, सामाजिक र सांस्कृतिक भेदभाव मेट्नेछ ।
यसको निम्ति प्रेम विवाह मनपराउने र स्वतन्त्ररूपले वरवधूको मिलन गराउने परिवार पनि क्रान्तिको भेलमा बहनैपर्छ । तर, त्यो क्रान्ति २००७ सालको जस्तो होइन, जसमा विदेशीको हित लुकेको थियो । भारतले आफ्नो हितको निम्ति चाक्सीबारीमा आएर घोषणा गरेको २०४६ को आन्दोलन र कथित माओवादी आन्दोलनजस्तो पनि हुनेछैन ।
साँच्चै वर्तमान सरकार पनि कम्युनिस्ट पार्टीको सरकार भएको भए ‘अन्तरजातीय बिहे गर्ने युवाको लास चार वर्षदेखि शिक्षण अस्पतालमा, अत्याचारको शृङ्खलामा अरू दलित पनि’ जस्ता समाचार (नयाँ पत्रिका – १३ जेठ २०७७) छापिने थिएन ।
प्रजातन्त्रको शब्द घोक्ने र घोकाउने नेका, नेकपा, जातिवादी र मधेसवादी दलहरूले निर्वाचनमा सामाजिक भेदभाव र अन्धविश्वासको विरोधमा शिक्षित गर्नुपर्ने थियो तर कहिल्यै गरेनन् । त्यस्तै दलितको नाममा कोही मन्त्री हुँदैमा कुनै भेदभाव समाप्त हुने होइन । सामाजिक भेदभावमा परेका वर्गलाई शिक्षित र सुसंस्कृत गर्नु आवश्यक छ र त्यसबारे शासक दलहरूको आलोचना र विरोध गर्नु आवश्यक छ ।
‘दलित’ शब्दले वर्गको सुरुवात जनाउँछ । दास युगमा यो झन् प्रस्ट भयो । जसरी ज्यामी, किसान, खेताला, मजदुर र किसान कुनै जात होइन । त्यस्तै ‘दलित’ कुनै जात होइन बरु इतिहासको सुरुको एक वर्ग हो । अरू देशमा पनि दास विद्रोहहरू भए – स्पार्टाकस विद्रोह र अरू विद्रोहजस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *