भर्खरै :

पुँजीवादको चोख्याइ

संरा अमेरिकाको अर्थतन्त्रको महत्वपूर्ण तथ्य भनेको त्यसमा जातीय असमानता डरलाग्दो हिसाबले बढ्दै छ र यसले सहन सकिने बिन्दु पार गरेको छ । तर, उल्लेख्य त के छ भने मूलधारका अर्थशास्त्रहरू (विशेषगरी संरा अमेरिकाका उच्च माध्यमिक विद्यालय र कलेजहरूमा अध्यापन गराइने अर्थशास्त्र) मा त्यसबारे कुनै जानकारी छैन । ती अर्थशास्त्रहरूमा त बरु कुनै पनि आवाज नसुनिने बहिरो मौनता छ, तिनले पुँजीवादका सम्बन्धहरू, जाति, जातिवाद र जातीय समानताको कुनै कुरै सुन्दैनन् ।
संरा अमेरिकामा गोरा जातिका जनता किन अफ्रिकी–अमेरिकी जनताभन्दा धनी छन् ? अर्थशास्त्रका विद्यार्थीसित यस प्रश्नको व्यापक जवाफ हुनुपर्ने हो तर यसको विपरीत तिनीहरूसित कुनै जवाफ छैन न त तिनीहरूका पाठ्यपुस्तकमा त्यसबारे कुनै उल्लेख छ । यस्तो दिक्कलाग्दो मौनताका साथ मूलधारका अर्थशास्त्रहरूले कैयौँ महत्वपूर्ण र जल्दाबल्दा प्रश्नको कुनै जवाफ दिएका छैनन् । तर, त्योभन्दा बढी मूलधारका अर्थशास्त्रीहरूले पनि शासकवर्गले जस्तै संरा अमेरिकामा जातीय भेदभावको लामो इतिहास र त्यसको सह उत्पादनका रूपमा रहेका जातीय असमानतालाई अस्वीकार गर्ने, बेवास्ता गर्ने र विभिन्न तवरले इतिहास मेट्ने कुकृत्य गर्दै आएका छन् । त्यतिमात्र होइन, त्यसले अझै पनि बजारको शक्तिले दण्ड दिने र भेदभावपूर्ण व्यवहार न्यूनीकरण गर्नेलाई खुशीयालीका रूपमा मनाउने गर्छ । त्यसैले जब जातीय असमानता र जातीय न्यायको कुरा आउँछ, बजार र पुँजीवादमा असर पार्दछ तिनीहरूले त्यसको प्रतिवाद गरेका सुन्छौ – जातिवाद ? जातीय असमानता ? पुँजीवादलाई दोष नदेऊ ¤ बजार भनेको पक्षपाती हुन्छ, फेरि पनि बजार नै समाधान हो ।
जातिवाद र असमानताबीचको सम्बन्धलाई पूर्णतः बेवास्ता गर्दै मूलधारका (पुँजीवादी) अर्थशास्त्रीहरूले पुँजीवादलाई चोख्याउने गर्दछन् ।
अफ्रिकी–अमेरिकी घरपरिवारको औसत आय गोराहरूको घरपरिवारको औसत आयको प्रतिशत मात्र छ र यो आयको असमानता दोस्रो विश्वयुद्धपछिको पहिलो र दोस्रो दशकमा केही घटेको थियो । तर, अहिले फेरि असमानता सन् १९७० को दशकको भन्दा फराकिलो भएको छ । हरेक पाँच अफ्रिकी–अमेरिकीमध्ये एक चरम गरिबीमा बाँच्ने गर्छन् (यो गोराहरूको भन्दा दोब्बर औसत हो) र हरेक तीनमध्ये एक अफ्रिकी–अमेरिकी बालबालिका चरम गरिबीमा बाँच्ने गर्छन् ।
संरा अमेरिकामा अफ्रिकी–अमेरिकीहरूमा बेरोजगारी दर गोरा अमेरिकीहरूको भन्दा दोब्बरले बढी छ  । संरा अमेरिकामा धेरै लामो समयदेखि नै जातीय आधारमा बेरोजगारी दरमा यसखाले भिन्नता रहँदै आएको छ । अफ्रिकी–अमेरिकीहरूको सम्पत्तिको औसत गोरा अमेरिकीहरूसित रहेको सम्पत्तिको औसतको दसमध्ये एक भागमात्र हुन आउँछ । असमानताका यी प्रमाणहरूका अतिरिक्त जातीय असमानताले सामाजिक जीवनका अन्य पक्षहरू जस्तै– शिक्षा, स्वास्थ्योपचार, औसत आयु, शिशु मृत्युदर, आवास सुविधा, पुँजीमा पहुँच र विषाक्त खाद्यान्नबाट बचावटलगायतमा अफ्रिकी–अमेरिकी जनता निकै पछाडि छन् ।
कोभिड–१९ का कारण अफ्रिकी–अमेरिकी जनता गोरा वर्णका जनताभन्दा दोब्बर बढीले सङ्क्रमित र निधन भएका छन् । कानुन कार्यान्वयन र फौजदारी न्यायको सन्दर्भमा संरा अमेरिकामा प्रणालीगतरूपमै गैरगोरा मानिसलाई बढी प्रताडित गरिन्छ । अधिकांश यी जातिवादी इतिहासहरू अर्थशास्त्रका बारेमा भने मौन छन् ।
तीबाहेक सन् २०२० सम्म आइपुग्दा जातीय असमानताका अनेकौँ प्रमाणहरू छताछुल्ल भइसकेका छन् । निश्चय पनि संरा अमेरिकामा जातिवाद, जातीय बहिष्करण, जातीय हिंसा र जातीय अत्याचारको लामो र अत्यासलाग्दो इतिहास छ र अधिकांश जातीय इतिहास अर्थशास्त्रजस्तो महत्वपूर्ण विषयमा मौन छन् । ती इतिहासमा शासकहरूको वाहियात आत्म वर्णनभन्दा स्रोत साधनहरूको विनियोजनबारे वा वस्तुगत आर्थिक विश्लेषण उल्लेख गरेको भए तिनको राम्रो प्रभाव हुने थियो ।
यस सन्दर्भमा निम्न प्रश्नहरू अनिवार्य, महत्वपूर्ण र तर्कपूर्ण छन् तथा तिनले अमेरिकी अर्थतन्त्र बुझेको र त्यसबाट पे्ररित भएको दाबी गर्नेहरूबाट जवाफ माग गर्छन् । स्रोतहरूको विनियोजनको प्रक्रियाद्वारा अमेरिकी विद्यार्थीहरूलाई अर्थशास्त्रको पाठयक्रम अध्यापन गराएको मान्ने गर्छन् । किन संरा अमेरिकामा यस्तो जातीय असमानता सह्य भइरहेको छ ? कसरी जाति, वर्ण, जातिवाद, र जातिवादका विरासतहरूले अमेरिकी अर्थतन्त्रमा आफ्नो दबदबा कायम राखेका छन् ? कसरी अमेरिकी पुँजीवादी अर्थतन्त्रले जातिवाद, रङ्गभेद र जातीय असमानतालाई बढावा दिइरहेको छ ?

तर, मूलधारका अर्थशास्त्रीहरूसित यी महत्वपूर्ण प्रश्नहरूका खासै केही जवाफ छैन । आफ्नो ८८८ पृष्ठ भएको विशाल पाठयपुस्तकमा ग्रेगोरी म्यान्किउले केही पृष्ठमात्र संरा अमेरिकामा विद्यमान विभेदबारेकोे चर्चामा खर्चेका छन् र ती पनि पाठक वा विद्यार्थीलाई सही सूचना दिनुभन्दा जातीय आयको असमानताले अर्थतन्त्रमा खासै फरक नपार्ने पाठ पढाउनमा केन्द्रित छन् । यहाँ अर्थशास्त्री म्यान्किउ मात्र होइन, जाति र जातिवादबारेको यस्तो मौनता सबैजसो अर्थशास्त्रका पाठ्यपुस्तकहरूले साधेका छन् । क्याककोनेल ब्रु र फ्लिनले आफ्ना लोकप्रिय अर्थशास्त्रसम्बन्धी पाठयपुस्तकमा विभेदका बारेमा चर्चा गर्न ६ पृष्ठ मात्र खर्च गरेका छन् । ती लेखकहरूले स्वीकार गरेका छन् कि विभेदले निश्चय पनि केही आयको असमानता सिर्जना गर्दछ । तर, तिनीहरूले पाठकहरूलाई – अर्थशास्त्रीहरूले कतै पनि जाति, लिङ्ग, वर्ण आदिका आधारमा विभेदीकरण गरेर हेर्दैनन् भनी पुनः विश्वस्त पार्न पनि खोजेका छन् । अधिकांश पाठयपुस्तकका विषयसूचीमा न जाति आउँछन् न जातिवाद लेखिएको पाउँछौंँ, न यी पाठयपुस्तकहरूले संरा अमेरिकामा शताब्दीयौँसम्म रहेको जातिवादको आर्थिक विरासतबारे नै कुनै कुरा स्पष्ट पार्दछन् । त्यतिमात्र होइन, यी कुनै पनि पाठ्यपुस्तकले जातीय सम्पत्ति विभेद, पुस्तैनी सम्पत्ति वा तिनको अर्थतन्त्र र जनजीवनमाथि प्रभावबारे कुनै कुरा बताउँछन् ।
त्यतिमात्र होइन अर्थशास्त्रका विद्यार्थीलाई के भनेर विश्वस्त तुल्याइन्छ भने बजारले नै नाफामा कमी ल्याइदिएर जातिवादी व्यवहारलाई निरूत्साहित तुल्याउने गर्छ । जातीय विभेदको आफ्नो सङ्क्षिप्त निष्कर्षमा अर्थशास्त्री म्यान्किउ लेख्छन् – “प्रतिस्पर्धी बजारसित रोजगारदाताहरूको विभेदको प्राकृतिक उपचार रहेको हुन्छ । तिनीहरू (उद्योगी र व्यापारीहरू) नाफाकै उद्देश्यले बजारमा प्रवेश गर्छन् र विभेदकारी ज्यालाको भिन्नताहरू आफै निर्मूल गर्छन् । यसैले विभेदलाई लिएर कुनै चिन्ता गर्न आवश्यक छैन ।”
यहाँ यो तथ्य उल्लेख गर्नु महत्वपूर्ण छ कि पुँजीवादको महान् र शक्तिशाली कार्यबारे अधिकांश अर्थशास्त्रीहरूले लेखेका छन् । अर्थशास्त्रीहरूले मात्र होइन, अरू विषयका कैयौँ विद्वान, अभियानकर्मी, लेखक र पत्रकारहरूले पनि लेखेका छन् । तर, ती कृतिहरू अर्थशास्त्रका पाठयपुस्तकको स्तरमा आउन सक्दैनन् । ती पाठयपुस्तकहरूले पुँजीवादको प्रभुत्ववादी कथा भन्ने गर्छन् र उमावि र कलेजका करोडौँ विद्यार्थीलाई वर्षौँदेखि त्यही कथा भनिरहेका छन् ।
सरकारी निकाय र संस्थापनमा रहेका शक्तिले सधैँ नै गणितको भाषामा आफ्नो भनाइ राख्दै आएका छन् र तिनीहरू अर्थशास्त्रलाई पूरै प्राकृतिक विज्ञानको अनुभव गराउन सफल भएका छन् । बिजगणित, ज्यामिति र अङ्कगणितले हामीलाई महत्वपूर्ण कथा बताउने गर्छ, जुन कथा यथार्थमा त छ तर तिनलाई संस्थापन पक्षले आफ्नो हितका लागि ठूलो परिष्कार गरिसकेका हुन्छन् । तर, ती गणितीय संरचनाले विद्यार्थीलाई त्यस कथामा के कुरा गुमेको छ केही बताउँदैनन् । तिनले खुलासा गर्नेभन्दा बढी कुरा लुकाउने गर्छन् ।
संरा अमेरिकामा संस्थापनले पस्कने कथा बजारको विभेदका साथ परोक्षरूपमा जातिवादमा आधारित हुने गरेको छन् । ती संरचनागत जातिवादमा आधारित कथाले जातिवादमाथि प्रश्न उठाउनुको साटो जातीय असमानता सहनुपर्ने तर्क गर्छन् । पाठ्यपुस्तकमा समाविष्ट संस्थापनका छलफलहरूमा संस्थापनका बुद्धिजीवीहरूका रचना हुन्छन् र तिनले श्रम एवम् बजारमा विद्यमान विभेदबारे निकै कम मात्र प्रश्न गर्ने गर्छन् । यदि यस्तो हो भने हामी यसलाई कसरी व्याख्या गर्न सक्छौँ ?
यहाँ निश्चय पनि केही महत्वपूर्ण प्रश्नहरू छन् । श्रम र बजारमा समेत विभेदीकरण जातिवादी शासनका महत्वपूर्ण संयन्त्रहरू हुन् जसले जातीय असमानता बढाउनमा योगदान गर्छन् । तर, विभेदीकरणमा मात्र ध्यान केन्द्रित गर्दा अत्यन्त ठूलो प्रश्न हाम्रो आँखाबाट ओझेल पर्न जान्छ । उदाहरणका लागि किन गोरा घरपरिवारको औसत सम्पत्ति अफ्रिकी–अमेरिकी घरपरिवारको औसत सम्पत्तिभन्दा दसगुणा बढी छ ? यस प्रश्नले हामीलाई रोजगार बजारमा किन गोरा मजदुरहरू अफ्रिकी–अमेरिकीहरूभन्दा बढी सीप, मानव संशाधन, शिक्षा र आर्थिक सुरक्षाका साथ प्रवेश गर्छन् भनी प्रश्न उठाउन बाध्य पार्छ ।
आफ्नो प्रसिद्ध पुस्तक– ‘द केस फर रिपारेसन्स’ मा ता नेहिसि कोटेस (Ta Nehisi Coates) ले विगत शताब्दियौँदेखि कसरी अफ्रिकी–अमेरिकीहरू शक्तिशाली प्रणालीकै आधारमा कैयौँ तवरले पिछडिन पुगे भनी वर्णन गर्छन् । उनका अनुसार काला अफ्रिकी–अमेरिकीहरू प्रणालीगतरूपमै शोषणमा पारिएका सम्पत्तिबाट बेदखल गरिएका छन्, आफ्नो श्रमको फलबाट वञ्चित गरिएका छन् र आफ्नो शरीरमाथिको अधिकारलगायत कैयौँ नेसर्गिक अधिकारबाट समेत शताब्दियौँसम्म वञ्चित गरिएका थिए । ती शोषणका संयन्त्रहरूमा औपचारिक र अनौपचारिक किसिमका शुल्करहित श्रम, दास प्रथा, बिर्ता जमिन, मनपरी करतन्त्र, करार परिवर्तन, ज्यालाको चोरी, कैदीबन्दीहरूको श्रम र विभिन्न तवरका बाँधा श्रमहरू हुन् । ती सबै संयन्त्रहरू राज्यकै समर्थन र साथमा हिंसा र हिंसाको धम्कीको आधारमा लागू गरिएका थिए । लेखक कोटेस त्यसलाई अत्याचार भन्छन् ।
अर्का अर्थशास्त्री ड्यारिक ह्यामिल्टनले आफ्नो पुस्तक ‘¥यासियल इक्वेलिटी इज इकोनोमिक इक्वेलिटी’ मा सन् २०२० को असमानता बुझ्न सहायता पुग्नेगरी जातीय इतिहासको आर्थिक पक्षबारे चर्चा गरेका छन् । जातीय सम्पत्तिको भिन्नताको खाडल पुस्तैनी हो र त्यो बदनाम दास प्रथाबाटै अघि बढेको हो । त्यतिबेला काला जातिका मानिसहरू बिर्तावाल गोरा जातिका मानिसहरूको पुँजी वा सम्पत्तिजस्तै थिए । दास प्रथाबाट मुक्तिपछि पनि उक्त असमानता निरन्तर रह्यो । शताब्दियौँसम्म विभेदकारी कानुन र संस्थाहरू बेरोकतोक चले । आज दास प्रथा अन्त भएको सयौँ वर्षपछि पनि गरिब मात्र होइनन् सम्पत्तिका आधारमा मध्यम वर्गीय मानिने काला जातिका मानिसहरूले समेत सम्मानजनक र स्वाभिमानको जीवन जीउन पाएका छैनन् । त्यसको विपरीत रुजवेल्टको न्यू डिल (नयाँ सम्झौता) र पोस्ट वार भिजनले सम्पत्तिका आधारमा मध्यम वर्गीय मानिने गोरा जातिका अमेरिकीहरूलाई आफ्नो सम्पत्तिको अत्यधिक वृद्धि गर्न र आफ्ना नयाँ पुस्तालाई हस्तान्तरण गर्न राम्रै अवसर प्रदान गरेका छन् ।
हो, बीसौँ शताब्दीको अन्तिमसम्ममा लाखौँ अमेरिकी परिवारलाई आवास कार्यक्रम, आर्थिक बोनान्जालगायत कार्यक्रमका माध्यमले धनी हुने अवसर पनि दिएको पाइन्छ तर बहुमत काला जातिका मानिस यस्तो आर्थिक सहायताबाट वञ्चित गरिएका छन् ।
तसर्थ, यदि तपाईँ संरा अमेरिकामा विद्यमान आर्थिक असमानताबारे बुझ्न चाहनुहुन्छ भने तपाईँले अमेरिकी सरकारी प्रतिवेदन र पाठ्यपुस्तकका अतिरिक्त अन्य पुस्तक र बुद्धिजीवीहरूका लेखरचनामा ध्यान केन्द्रित गर्नैपर्ने हुन्छ । अर्थशास्त्रलाई अर्थशास्त्रीहरूको जिम्मामा मात्र छाड्नु सही हो जस्तो लाग्दैन ।
(White washing Capitation) MR online, June 20, 2020
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *