भर्खरै :

कोभिड– १९ प्रतिरोधमा क्युवालाई चे ग्वे भाराले के सिकाए ?

सन् १९५१ को डिसेम्बर महिनामा अर्नेस्टो चे ग्वेभाराले आफू पढ्दै गरेको मेडिकल कलेजबाट नौ महिनाको लागि बिदा मागे । नौ महिनाको बिदामा उनले मोटरसाइकलबाट अर्जेन्टिना, चिली, पेरू, कोलम्बिया र भेनेजुयलाको यात्रा गरे । यात्राको क्रममा उनी कुष्ठरोगबारे व्यावहारिक अनुभव हासिल पनि गर्न चाहन्थे । आफ्नो चौबीसौँ जन्मदिनमा चेले नदीपारि बसेका कुष्ठरोगीबीच जन्मदिनको खुशी साट्न पेरूको ला कोलोनिया डी सान पाब्लो नदी पौडेर पार गरेका थिए । कुष्ठरोगीलाई राख्न जङ्गलको बीचमा बनाइएका छाप्रामा पुगेर उनले ६ सय कुष्ठरोगीसँग भेटेका थिए ।
कुष्ठरोगी, कुष्ठ रोगबारे अध्ययन गर्ने र उनीहरूप्रति सद्भाव पोख्नेमा मात्र चे सीमित भएनन् । उनी बिरामीसँगै बसेर उनीहरूका कथा–व्यथा बुझ्न चाहन्थे । गरिब र भोका बिरामीसँगको उठ–बस्ले चेको सोचाइमा परिवर्तन भयो । धेरैभन्दा धेरै मानिसलाई रोग लाग्नै नदिने, स्याहार र सरसफाइबारे जनचेतना फैलाउने र चिकित्सकहरूसँग ‘नयाँ औषधि’ हुनुपर्ने आवश्यकता उनले बोध गरे । त्यसको केही वर्षपछि फिडेल क्यास्ट्रोको जुलाई २६ आन्दोलनमा चिकित्सकको रूपमा चे ग्वेभारा सामेल भए । सन् १९५६ को डिसेम्बर २ मा क्युवामा अवतरण भएको ८१ जना लडाकूले भरिएको ग्रान्मा जहाजमा चे पनि थिए ।
क्रान्तिकारी चिकित्सा
सन् १९५९ को जनवरी १ मा क्युवाका तानाशाही शासक फाल्गुनसिओ बाटिस्टालाई सत्ताच्यूत गरियो । त्यसपछि बनेको नयाँ क्युवाली संविधानमा निःशुल्क स्वास्थ्योपचारलाई सबैको लागि मानव अधिकारको रूपमा उल्लेख गरियो । चेका धेरै सपनामध्ये एउटा सपना थियो, त्यो । विसङ्गत सामाजिक प्रणालीको असफलताका कारण पहिल्याएर क्रान्तिकारी सरकारले क्युवाको पिछडिएका क्षेत्रमा अस्पताल र स्वास्थ्य केन्द्रहरू स्थापना ग¥यो । अशिक्षा, साम्प्रदायिकता, गरिबी र आवासविहीनताजस्ता समस्याले जकेडिएको क्युवाली समाजमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिने बन्दोबस्त सरकारले गर्दै लग्यो । क्युवाले सन् १९६४ र १९७४ मा समुदाय र बिरामीबीच राम्रो सम्बन्ध स्थापित गर्न सुधार कार्यहरू गरे । सन् १९८४ मा क्युवाले चिकित्सक र नर्सहरूका टोलीहरू गठन ग¥यो र उनीहरूलाई काम गर्ने स्वास्थ्य चौकीकै छेउछाउ बस्ने बन्दोबस्त मिलाइयो ।
क्युवामाथि संरा अमेरिका अझ बढी आक्रामक बन्दै थियो । त्यसकारण, क्युवाली जनताले सन् १९६० मा देश र क्रान्तिको रक्षा गर्न विभिन्न समितिहरू गठन गरे । ज्येष्ठ नागरिक, असक्त, बिरामी र मानसिकरूपमा अशक्तलाई नियमित हेरविचार गर्नुका साथै समुद्री आँधीबेहरीलगायत कुनै खालको प्राकृतिक प्रकोप आए उद्धार र मद्दतको लागि ती समितिहरू सक्रिय बने । क्युवालीहरूले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको उचित बन्दोबस्त गर्नुका साथै विभिन्न देशमा पनि चिकित्सकीय सहायता लगातार पठाइरहे । यो क्युवाली इतिहासकै महत्वपूर्ण पक्ष भइसकेको छ ।
क्युवाली स्वास्थ्य क्षेत्र क्रान्तिको महत्वपूर्ण भाग भन्नुको अर्थ स्वास्थ्य सेवालाई ठूला सहरमा मात्र केन्द्रित नगरी ग्रामीण समुदायसम्म विस्तार गर्नु हो । जनतालाई जहाँ स्वास्थ्य सेवाको खाँचो हुन्छ, त्यही स्वास्थ्य सुविधा पु¥याउने क्युवाली क्रान्तिको अभ्यासकै कारण उनीहरूलाई स्वास्थ्य सहायताको लागि अरू देशमा जान धेरै परिश्रम गर्नुपरेन । क्युवाली क्रान्तिकारी सरकारले सन् १९६० को भूकम्पपछि चिलीमा चिकित्सकहरू पठाएको थियो । त्यस्तै सन् १९६३ मा अल्जेरियामा स्वास्थ्य टोली पठाएको थियो । त्यतिबेला अल्जेरिया फ्रान्सेली उपनिवेशवादविरूद्ध लडिरहेको थियो । क्युवाको अन्तर्राष्ट्रिय चिकित्सकीय सहायताको जग यही बस्यो । समयान्तरमा यो क्रम बढ्दै गयो । कोभिड–१९ को महामारी विरूद्ध आज संसार लडिरहेको बखत पनि त्यो चालु नै छ ।
सन् १९८० को दशकको उत्तर्राद्र्ध र १९९० को आरम्भतिरका दुई ठूला विपत्तिले क्युवाको अस्तित्वमै चुनौती आइप¥यो । सन् १९९१ को डिसेम्बरमा सोभियत सङ्घ विघटन भयो । क्युवालाई दिँदै आएको ५ अर्ब अमेरिकी डलर बराबरको सहायता सोभियत सङ्घले रोक्यो । अन्तर्राष्ट्रिय व्यापार सबै डावाडोल भयो र क्युवाली अर्थतन्त्रको यात्रा ओरालो लाग्न थाल्यो । त्यही बेला त्यहाँ एड्सको महामारी फैलियो । एड्स सङ्क्रमणको हुरी क्षितिजमा देखियो । अफ्रिकी महादेशको दक्षिणी भागको क्यारिबियाली क्षेत्रमा पछि एचआईभी सङ्क्रमण दर निकै बढेको थियो । अङ्गोला युद्धबाट फर्केका दस लाख क्युवालीमध्ये एकतिहाइलाई एड्स लागेको थियो । क्युवामाथि संरा अमेरिकाले थोपरेको नाकाबन्दीको कारण एचआईभी÷एड्स र अन्य रोगको औषधी थिएन । त्यसले औषधीको मूल्य अचाक्ली बढाएको थियो । वित्तीय पूर्वाधारमा खर्च गर्नुपर्ने पैसा सबै औषधी किन्नमा खर्च गर्न क्युवा बाध्य भयो । पैसाको अभावलाई पार लगाउन क्युवाले पर्यटनको ढोका उघा¥यो । त्यसले क्युवामा यौन व्यवसाय बढ्यो ।
शिक्षा र स्वास्थ्य उपचारबाहेकका अन्य सबै क्षेत्रमा क्युवाले धेरै सेवा–सुविधा कटौती ग¥यो । सन् १९८७ मा क्युवाले एचआईभी रोग परीक्षणको आफ्नै पद्धति विकास ग¥यो । सन् १९९३ सम्ममा १ करोड २० लाख क्युवालीको एचआईची परीक्षण गरियो । सन् १९९० मा क्युवामा विशेषतः समलिङ्गीहरू एड्स रोगका सङ्क्रमित भए । समलिङ्गीहरूलाई घृणा गर्न थालियो । तर, विद्यालयहरूमा समलिङ्गीलाई घृणा गर्न नहुने कुरा पढाइयो । स्वास्थ्य चौकीमा परिवार नियोजनका अस्थायी साधन निःशुल्क उपलब्ध गराउने बन्दोबस्त गरियो । एन्टिरेट्रो भाइरल नामको औषधी पनि यसरी नै निःशुल्क वितरण गरियो ।
एचआईभी÷एड्सको सामना गर्ने क्युवाको सङ्गठित र योजनाबद्ध प्रयासले सफलता हासिल ग¥यो । सन् १९९० को दशकको सुरूआततिर क्युवामा दुई सय एड्सका बिरामी थिए । त्यही बेला क्युवाकै जति जनसङ्ख्या भएको संरा अमेरिकाको न्युयोर्क सहरमा ४३ हजार एड्सका बिरामी थिए । संरा अमेरिकाको तुलनामा क्युवासँग निकै सानो हिस्सामात्र धनसम्पत्ति र स्रोतसाधन छ । तथापि, क्युवाले संरा अमेरिकी नाकाबन्दीका घातक प्रभावलाई सफलतापूर्वक पार लगायो । उनी आफूलाई ध्वस्त बनाउन चाहने संरा अमेरिकाको भन्दा अब्बल एड्स नियन्त्रण कार्यक्रम लागू गर्न सफल भए । त्यो विषम परिस्थितिमा पनि क्युवाको औसत आयुदर र बाल मृत्युदर संरा अमेरिकाको तुलनामा न्यून थियो । संसारभर रहेका हजाराँै प्रतिकूलताबीच पनि संयोजित र स्याहारमूलक उपचार पद्धतिको विकास गर्न सकिने कुरा क्युवाले छर्लङ्ग बनाएको छ ।
कोभिड–१९ को चपेटामा क्युवा
एचआईभीमाथि प्राप्त विजय र सङ्कट सामनाको अनुभवले क्युवालाई कोभिड–१९ नियन्त्रणको लागि पनि तयार बनायो । महामारीको घनत्वप्रति सजग क्युवाले आफ्ना दुई अन्योन्यास्रित जिम्मेवारी कदापि भुलेन ः विस्तृत कार्यक्रममार्फत आफ्नै देशका नागरिकलाई उचित स्वास्थ्य सेवा दिनु र आफूसँग भएका क्षमता अन्तर्राष्ट्रिय क्षेत्रमा बाँडचुड गर्नु ।
महामारी सामना गर्न बजार निर्देशित अर्थतन्त्रको सन्दर्भमा ज्यादै कठिन हुने काम क्युवाले तत्कालै ग¥यो । विद्यालयको युनिफर्म बनाउने सरकारी कलकारखानामा मास्क उत्पादन गर्न थालियो र सन् २०२० को मध्यअप्रिलसम्ममा क्युवामा मनग्य स्वास्थ्य सामग्री उपलब्ध भयो । त्यसविपरीत असीमित उत्पादन क्षमता भएको ठानिएको संरा अमेरिकामा भने स्वास्थ्य सामग्रीको चर्को अभाव कायम नै छ ।
क्युवाली जनस्वास्थ्य मन्त्रालयको उच्च तहबीच भएको छलफलले राष्ट्रिय नीति तर्जुमा ग¥यो । कोरोनाबाट को सङ्क्रमित हो र को होइन भन्ने कुरा पहिल्याउन परीक्षणको सङ्ख्या बढाइयो । कदाचित कोही सङ्क्रमित भए त्यो व्यक्तिलाई क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनमा राखिएका व्यक्तिको खाना र अन्य आवश्यक बन्दोबस्त सरकारकै जिम्मेवारीअन्तर्गत पर्दछ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी (कन्ट्याक्ट टे«सिङ) ले अरू सम्भावित सङ्क्रमित भेटाउन मद्दत पु¥याएको छ । स्वास्थ्य कार्यकर्ताहरू घर–घरमै पुगेर हरेक नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफ्नो वरपर जोखिममा रहेका जो कोहीप्रति विशेष ध्यान दिने गरेका छन् ।
मार्च २ मा क्युवाले नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रण योजना तर्जुमा ग¥यो । चार दिनभित्र सो योजनालाई विस्तृत बनाउँदै बाहिरबाट देशमा फर्किने सबै व्यक्तिको तापक्रम जाँच्ने र उनीहरूलाई आइसोलेसनमा राख्ने बन्दोबस्त गरियो । मार्च ११ मा पहिलोपटक क्युवामा कोभिड–१९ को बिरामी फेला प¥यो । मार्च २२ मा कोरोनाको कारण क्युवामा पहिलोपटक एक नागरिकको निधन भयो । त्यतिबेला सङ्क्रमण पुष्टि भएका बिरामीको कूल सङ्ख्या ३५ थियो भने झन्डै एक हजार बिरामीलाई अस्पतालमा अवलोकनमा राखिएको थियो । ३० हजारभन्दा बढी मानिस घरमै अलग्ग बसेका थिए । त्यसपछि क्युवामा सबै विदेशीलाई स्वदेश फर्किन रोक लगाइयो । यो निर्णयले क्युवाको पर्यटन उद्योगबाट उठ्ने राजश्वमा ठूलो असर पा¥यो ।
क्युवाको नागरिक रक्षा विभागले कोभिड–१९ को शीघ्र प्रतिरोध गर्न उच्च सतर्कता आवश्यक भएको बतायो । हवानाको रक्षा परिषद्ले भेडाडो जिल्लामा महामारीले गम्भीर रूप लिएको सार्वजनिक ग¥यो । त्यो जिल्लामा सबभन्दा बढी गैरपर्यटक विदेशी नागरिकहरू बस्ने गर्छन् । उनीहरूबाट नै त्यहाँ कोरोनाको सङ्क्रमण भएको हुनुपर्छ । अप्रिल ३ मा त्यो जिल्लामा बन्द घोषणा गरियो । त्यहाँको अवस्था देखेका प्रत्यक्षदर्शी मेरियम अनसाराले भनिन्, “जिल्लाभित्र पस्न वा त्यहाँबाट बाहिर निस्कन चाहने जो कोहीको पनि परीक्षण गरी कोभिड–१९ सङ्क्रमित भए नभएको निश्चित गरिन्छ ।” नागरिक रक्षा विभागले सबै पसलहरूमा आवश्यक सबै सामान आपूर्ति सुनिश्चित गरायो । सबै कमजोर तप्काका समुदायको स्वास्थ्य नियमित परीक्षण चालु राखियो ।
भेडाडोमा आठ जना मानिस सङ्क्रमित पुष्टि भए । सानो क्षेत्रको लागि यो सङ्ख्या धेरै हो । क्युवाली स्वास्थ्य अधिकारीहरू भाइरस ‘स्थानीय सङ्क्रमण’ मै सीमित राख्न चाहन्थे । स्थानीय सङ्क्रमणमा कुन व्यक्तिबाट कुन व्यक्तिलाई रोग सरेको हो पत्ता लगाउन सकिन्छ । उनीहरू भाइरसको सङ्क्रमणलाई समुदायस्तरमा फैलिन नदिन भरमग्दुर प्रयास गरिरहेका छन् । समुदायस्तरमा रोग फैलिएपछि कोबाट कसलाई रोग सरेको हो, पत्ता लगाउन सकिन्न । सङ्क्रमण नियन्त्रणबाट बाहिर जान्छ । संरा अमेरिकामा स्वास्थ्यकर्मीहरूले आफ्नो व्यक्तिगत सुरक्षाको लागि पीपीई वस्त्र माग्दै हिँड्नुप¥यो । कोरोना परीक्षण निकै पातलो थियो । सङ्क्रमण हुनसक्ने व्यक्तिमा स्वास्थ्यकर्मीले परीक्षण गर्नु त परको कुरा, सर्वसाधारणले आफू सङ्क्रमित भए नभएको जाँच गर्न अनुरोध गर्नुपरेको छ । तर, क्युवासँग भने भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको परीक्षणको लागि पनि मनग्य उपकरणको बन्दोबस्त छ ।
मार्च महिनाको उत्तर्राद्र्ध र अप्रिलको सुरूमा सङ्क्रमण न्यूनीकरण गर्न क्युवाली अस्पतालहरूले आफ्नो कार्यशैलीमै परिवर्तन गरे । राजधानी हवानाका चिकित्सकहरू साल्भाडोर एलेन्डे अस्पतालमा पन्ध्र दिनको लागि त्यही बस्ने गरी गए । उनीहरूले स्वास्थ्यकर्मीलाई तोकिएको क्षेत्रभित्र सीमित भएर काम गरेका थिए । बिरामी बस्ने ठाउँभन्दा केही पर उनीहरूलाई बस्ने स्थानको बन्दोबस्त गरिएको थियो । पन्ध्र दिनपछि घर फर्किन सबै चिकित्सकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । घर पुगेर पनि उनीहरू अर्को पन्ध्र दिन सामाजिक सम्पर्कमा गएका थिएनन् । त्यसपछि मात्र उनीहरू आफ्नो नियमित काममा फर्केका थिए । नियमित उपचार कार्य सुरू गर्नुअघि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । यसरी ४५ दिन आइसोलेसनमा बस्दा उनीहरूमार्फत समाजमा फैलिने सङ्क्रमणबाट समुदाय सुरक्षित भएको छ ।
क्युवाको स्वास्थ्य प्रणाली स्वास्थ्य चौकीबाट हरेक परिवारमा फैलिएको छ । चिकित्सा विज्ञान पढिरहेको तेस्रो, चौथौ र पाँचौ वर्षका मेडिकल विद्यार्थीलाई स्वास्थ्य चौकीका चिकित्सकहरूले घर तोकेर हरेक दिन स्वास्थ्य परीक्षणमा परिचालन गर्ने गरेका छन् । उनीहरू त्यहाँ पुगेर विभिन्न तथ्याङ्क सङ्कलन गर्ने वा घरमा रहेका ज्येष्ठ नागरिक, बालबालिका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्यलाई विशेष ध्यान दिन्छन् । उनीहरूले रोग निरोधक औषधीको मागबारे तथ्याङ्क सङ्कलन गर्छन् । उनीहरूद्वारा यसरी सङ्कलन गरिएको तथ्याङ्ककै आधारमा निर्णय गर्ने तहका अधिकारीहरूले बन्दोबस्तबारे निर्णय गर्छन् । विद्यार्थीले ल्याएका तथ्याङ्कको आधारमा चिकित्सकले विशेष ध्यान दिनुपर्ने बिरामीको नाममा रातो मसीले गोलो लगाइदिने गरेका छन् । नजिक दूरीमा बस्ने चिकित्सकहरूबीच कसले के गरिरहेको छ, कसले के नयाँ कुरा पत्ता लगायो, क्युवाको जनस्वास्थ्य मन्त्रालयले के–कस्ता नयाँ नियम लागू ग¥यो र कामको चापले स्वास्थ्यकर्मीलाई के–कसरी प्रभावित बनाइरहेको छ भन्ने विषयमा कुराकानी हुने गरेको छ ।
यसप्रकार हरेक क्युवाली नागरिक र स्वास्थ्यकर्मीदेखि घर–घर पुग्ने चिकित्सक एवम् प्रतिष्ठित अनुसन्धान प्रतिष्ठानमा काम गर्ने अध्येतासम्मले क्युवाको स्वास्थ्य नीति तर्जुमा गर्न योगदान गरिरहेका हुन्छन् । क्युवामा अहिले ८९ हजार चिकित्सक छन् । त्यस्तै ८४ हजार नर्स र ९ हजार विद्यार्थी छन् । ती ९ हजार विद्यार्थी सन् २०२० मा चिकित्सक बन्दै छन् । क्युवाली जनता चिकित्सकीय सल्लाहको बेवास्ता गर्ने र अनावश्यक कुरा गर्ने सरकार प्रमुखलाई कदापि पनि सहँदैनन् । (जसरी आज संरा अमेरिका र नेपालका जनताले सहनु परेको छ ।) उनीहरू कुनै व्यापारिक संस्थाको नाफाको लागि नीति बनाउने पक्षमा छैनन् ।
क्युवाली सरकारले हवाना र पिनर डेल रिओ प्रान्तका जनतालाई प्रिभेनहोभिर नामको होमोप्याथिक औषधी निःशुल्क वितरण गर्न स्वीकृत प्रदान गरिसकेको छ । यो औषधी प्रयोग गर्नेमध्ये एक जना हुन्, सुसना हुर्लिच । अप्रिल ८ मा सुसनाको भन्दा दुई घर परको स्वास्थ्य चौकीमा बस्ने तीन जना चिकित्सकमध्ये एकजना डा. ऐसिन हातमा प्रिभेनहोभिरको सानो सिसी बोकेर उनको दैलोमा आइपुगे । डा. ऐसिनले सो औषधीको प्रयोगबारे पनि उनलाई प्रस्ट बताए । चिकित्सकका अनुसार सो औषधीले मानिसको रोग प्रतिरोध क्षमता विकास गर्ने भए पनि इन्टरफेरोन अल्फा २ बी वा अरू कुनै औषधीको विकल्प भने होइन । क्युवाली चिकित्सक प्रणालीको एउटा महत्वपूर्ण पक्ष भनेको अरू देशमा जस्तो त्यहाँ दुई थरी औषधी– एकातिर ‘परम्परागत औषधी’ र अर्कोतिर ‘वैकल्पिक औषधी’ छैन । क्युवामा ती दुई मिलाएर एउटै स्वास्थ्य प्रणाली छ । चिकित्साशास्त्र पढ्ने विद्यार्थीले सबै खालका होमियोप्याथिक पनि पढ्ने गरेका छन् ।
नेपाली अनुवाद ः नीरज
स्रोत ः मन्थ्ली रिभ्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *