भर्खरै :

हँसिया हथौडाको झन्डा बोकी पुँजीपतिवर्गको सेवा गर्नु पाखण्ड

हेटौँडा, १७ असार । बाग्मती प्रदेशसभाको बैठक मङ्गलबार पनि भयो । बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयकमाथि छलफल भयो ।
उक्त छलफलमा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सत्तालिप्सामा नलाग्ने र पदको राजनीति नगर्नेले मात्र जनताको दुःख–पीडा अनुभव गर्नसक्ने उल्लेख गर्दै मजदुर किसान निराश हुने तर भूमाफिया तथा ठग ठेकेदारहरूले उत्सव मनाउने खालको बजेट आउनु दुर्भाग्यपूर्ण रहेको प्रस्ट पार्नुभयो । बजेटमा कर्मचारीतन्त्र हाबी भएको व्यापक जनगुनासो रहेको बताउँदै उहाँले प्रजातन्त्रको भावना र सङ्घीयताको मर्मविपरीत सरकार क्रियाशील हुनुले देशमा अझै सामन्ती पञ्चायती व्यवस्था जिउँदै छ भन्ने पुष्टि गरेको छ भन्नुभयो ।
सांसद गोसाईले हँसिया हथौडा अङ्कित झन्डा बोक्ने तर पुँजीपति वर्गको सेवा गर्ने काम पाखण्ड हो भन्नुभयो । उहाँले भन्नुभयो, “रकम विनियोजन भनेको पैसाको लापरबाही वितरण होइन । जनताको करको पैसाले जनताको सेवा, दीर्घकालीन हित सम्भव भयो कि भएन, त्यो नै जनताको सरकारको विषय हो ।”
सांसद गोसाईले भन्नुभयो, “तेस्रो वर्ष आइपुग्दा पनि शासक दलमा परिपक्वता नदेखिनु दुर्भाग्यपूर्ण हो । समग्र प्रदेशको विकास र भविष्यलाई ध्यान दिन नसक्नु सङ्कीर्णता तथा वैचारिक दरिद्रता हो ।
छलफलमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले भन्नुभयो, “पुँजीवादी अर्थव्यवस्था र समाजवादी अर्थव्यवस्थाबीचको सङ्घर्ष सयौँ वर्षदेखि चालू छ । समाजवाद नै उत्कृष्ट व्यवस्था हो ।” उहाँले भन्नुभयो, “बजेटमा न विकास अवधारणा परिवर्तन भएको छ न त परम्परागत विकास पद्धति नै बदलिएको छ । जनतासँग नजोडिएको विकास, दलाल पुँजीपति पोस्ने नीति, भ्रष्ट ठेकेदार हुर्काउने मार्ग प्रशस्त गरेको देखिन्छ ।”
प्रदेशको कृषि समस्या समाधान गर्न प्रदेश सरकारमा कुनै योजना नभएको बताउँदै सांसद सैँजूले रासायनिक मल कारखाना खोलेर प्रदेशको उपलब्धि देखाउन माग गर्नुभयो । उहाँले शिक्षा तथा स्वास्थ्यको समस्या समाधान गरेर जनहितको पाइला चाल्न ढिलो भएको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *