भर्खरै :

सत्तारुढ दलबीच गहिरो मनमुटाव प्रधानमन्त्रीले टेरेनन् पार्टीलाई

काठमाडौँ, १८ असार । सत्तारुढ नेकपाका नेताहरूबीच गहिरिँदो मनमुटाव शुक्रबार उत्कर्षमा पुगेको देखियो । नेकपाको चालू स्थायी समिति बैठकलाई प्रधानमन्त्री एवम् सो दलका नेता केपी ओलीले मतलब नै नगरेको मात्र होइन, बरु पार्टीसँग कुनै परामर्श नै नगरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । प्रम ओलीको सिफारिसको मसी सुक्न पनि नपाउँदै राष्ट्रपतिले संसद अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । स्थायी समिति बैठकको लागि पूर्वनिर्धारित समयमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका सबै नेताहरूलाई संसद अधिवेशन अन्त्यको भित्रभित्र बन्दै गरेको योजनाबारे मेसो पनि पाएनन् । संविधानले संसद विघटन वा अधिवेशन आमन्त्रण र समापनको अधिकार प्रधानमन्त्रीलाई दिइएकोले प्रधानमन्त्रीले चालेको कानुनसम्मत भए पनि पार्टीको स्थायी समिति बैठक चल्दै गरेको अवस्थामा समेत कुनै जानकारी नदिई चालेको सो कदमले नेकपा विभाजनको निकट सँघारमा पुगेको विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एउटा पद त्याग्न पार्टी स्थायी समितिमा अन्य सदस्यहरूले राखेको विचारलाई लत्याएर यस्तो विचार राख्ने नेताहरूलाई बिहीबारको कदमबाट हाँक दिएका छन् । यसले नेकपाभित्र भित्रभित्र विस्फोटनको अवस्थामा पुगेको मतान्तर अझ गहिरो बनाएको छ । विश्लेषकहरूका अनुसार संसद अधिवेशन अन्त्यको अवस्थामा प्रधानमन्त्रीले कदाचित पार्टीको निर्णय आफ्नो प्रतिकूल बन्ने अवस्थामा यसअघि नै ल्याउन खोजेको दल विभाजनसम्बन्धी ऐन अध्यादेशमार्फत ल्याई नेकपामा विभाजन गर्नसक्नेछन् । ओलीकै निकटवर्तीहरूले निर्वाचन आयोगमा ‘नेकपा (एमाले) नामको दल दर्ता गर्नुले पनि प्रधानमन्त्री नेकपा आफूले भनेको लयमा नचल्ने भए विभाजनको बाटो रोज्ने सम्भावना प्रबल बन्दै गएको छ ।
नेकपाका नेताहरूबीच विवादको उत्कर्ष रूप लिएको यो पहिलोपटक भने होइन । ओली नेतृत्वको सरकार बनेको दुई वर्ष पुग्दा नपुग्दै ‘आधा आधा समय प्रधानमन्त्री चलाउने’ भनी भएको पूर्वसहमतिलाई लिएर विवादको आरम्भ भएको थियो । नेकपा माओवादी केन्द्रका नेताहरू आफ्ना नेता प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै केही दिन उफ्रेका थिए । तर, ओलीले कार्यकारी अध्यक्षको चारो फालेपछि प्रचण्ड ‘त्यागी’ बनेर ओली सरकार पाँच वर्षकै लागि भएको भने । भित्रभित्र सल्किरहेको असन्तोषको आगो केही समय साम्य भयो ।
आफ्ना सहयोगीलाई दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि रिक्त पदपूर्तिको सन्दर्भमा पनि नेकपाभित्रको विवाद झन्डै विभाजनकै तहमा पुगेको थियो । अन्ततः माओवादी केन्द्रकै नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएपछि विवादले अस्थायी विराम लिएको थियो ।
एमालेकै नेताहरू पनि ओली सरकारप्रति सन्तुष्ट भएनन् । यसमा उनीहरूबीच एमालेकालीन मनमुटाव नै मूल कारण हो । एकै दल भएर पनि एमाले धेरै समूह र गुटको भागशान्तिले जोडेको दल थियो । त्यसको परावर्तन नेकपामा देखियो । एमाले नेताहरूबीचको मनमुटाव व्यक्तिगत दुव्र्यवहारकै तहमा उत्रेको थियो । प्रधानमन्त्री ओली उपचारको निम्ति विदेश जाने तरखरमा बसेको बैठकमा नेता माधव नेपालले दिएको सफल उपचारको शुभकामनासमेतलाई ओलीले नकार्दा उनीहरूबीचको बहसको कुरुप जनतासमेत प्रस्ट देखिएको थियो । माओवादी केन्द्रका नेता प्रचण्ड भने एमालेका नेताहरूबीचका यस्ता तल्लो स्तरका मनमुटावबाट आफूले फाइदा उठाउने सोचेका थिए । तर, उनी पनि ओलीको जिद्दीसामु निरीह देखिए । शुक्रबारको घटनाक्रमले ओलीले एकता प्रक्रियाका औपचारिक समारोहमा निकै प्रशंसा गरेका प्रचण्डलाई पनि कुनै मोल नदिएको प्रस्ट देखिएको छ ।
तथापि सिद्धान्तको आधारमा भन्दा आपसी शक्ति र सम्पत्तिको भागबन्डाको आधारमा चलेको नेकपाका नेताहरूबीच यति तल्लो स्तरको मनमुटाव भएर पनि भागबन्डा मिल्नेबित्तिकै ‘संसारकै सबभन्दा एकताबद्ध’ र ‘चमत्कारिक’ पार्टीको रूपमा फलाक्न कुनै लाज मान्ने छैनन् । आज आपसमा तल्लो स्तरमा मनमुटावमा झर्ने नेताहरू पछिल्लो एक वर्षमा नेकपाको गठन ‘संसारमै चमत्कार’ को रूपमा व्याख्या गर्न थाकेका थिएनन् ।
अहिलेका सबै घटनाक्रम कुनै सिद्धान्त र विचारको लागि नभई पद, पैसा र सुविधाकै लागि भएकोले त्यसमा मेलको थोरै सम्भावना हुनेबित्तिकै उनीहरू आपसमा मिल्ने सम्भावनालाई नकार्न नसकिने विश्लेषकहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *