भर्खरै :

लेनिन कथा – २१ क्रान्तिपछिका दिन

‘गल्ती भए सुधारौँला, नजाने सिकौँला’
उनीहरू यसरी बस्थे
            क्रुप्सकाया स्मोल्नीको लामो, चौडा गल्लीमा हिँडिरहेकी थिइन् । साँझ परेको थियो । उनी घर फर्किइरहेकी थिइन् । दिनभरको काम धेरै थियो । शिक्षक र मजदुरहरूसँग भेटघाट गर्नुपरेको थियो । स्कूल, पुस्तकालय, बालभवन, मजदुर क्लव आदि खोल्नु थियो । शिक्षालाई कामदारहरूको लागि नयाँ ढङ्गले व्यवस्थित बनाउनु थियो । उनी थाकेकी थिइन् तर खुसीका साथ घर फर्किरहेकी थिइन् ।
            उनको घर स्मोल्नीमा थियो । घर पनि के भन्नु, अग्लो छत भएको लामो कोठा थियो । कोठाको एउटा भागलाई सुत्ने कोठामा फेरिएको थियो । त्यसको एकातिर फौजी कम्बल बिछ्याइएका फलामका दुईटा खाट थिए । नजिकै मकल पनि थियो ।
            कोठामा नुहाउने कोठा भएर जानुपथ्र्यो । नुहाउने कोठामा बीस–बाइसवटा वास– मेसिन थिए । तिनलाई पहिले स्मोल्नी विद्यालयका छात्रछात्राहरूले प्रयोग गर्थे । “अब सबै हाम्रो लागि हो,” क्रुप्सकायाले बेलाबेलामा ठट्टा गर्थिन् । कोठामा साधारण फर्निचरहरू थिए । एक आलमारी, एउटा भाँडा राख्ने दराज, लेखपढ गर्ने एउटा सानो टेबल, एउटा सोफा, दुईटा कुर्सी, र सानो खालको एउटा गोलो टेबल थिए । गोलो टेबल खाना खानेबेला उपयोगमा आउँथ्यो । साथै, पाहुनाहरूसँगै बसेर महत्वपूर्ण राजकीय मुद्दाबारे कुराकानी गर्न पनि प्रयोग गरिन्थ्यो ।
            क्रुप्सकायाले छालाको कोट फुकालिन् र मकलनिर उभिइन् । लेनिन अझै फर्किएका थिएनन् । काम गर्ने ठाउँ नजिक भएकोले मात्र उनी स्मोल्नीमा बस्न राजी भएका थिए । जनकमिसार परिषद्का  अध्यक्ष (लेनिन) को कक्षमा नयाँ समाजवादी जीवनको निर्माणसँग सम्बन्धित मुद्दाहरू हल हुन्थे । यहीँबाट रुसका जमिनदार र सेठ–साहुहरूलाई सदाको लागि अन्त्य गर्ने अध्यादेशहरू जारी भएका थिए । यहीँबाट रेलमार्ग, जहाज, बैङ्क र कलकारखानाहरूलाई राजकीय सम्पत्तिमा फेरेर मजदुर वर्गलाई तिनको सञ्चालनको जिम्मा दिइएको थियो ।
            अब हरेक चीज नयाँ थियो, अभूतपूर्व थियो । हरेक चीज रूसमा पहिलोचोटि निर्माण भइरहेको थियो ।
            लेनिनको कक्षमा बिहानदेखि साँझसम्म मजदुर, किसान, सैनिक र नाविकहरूको जमघट भइरहन्थ्यो । यो नयाँ समाजमा, मजदुर र किसानहरूको जीवनको निर्माण कसरी गर्ने भनी रायसल्लाह लिन उनीहरू आइरहन्थे ।
            “खाना खाने समय निकाल्न पनि नपाउने भए,” क्रुप्सकायाले लेनिनको बारेमा सोँचिन् । त्यसै बेला कसैको पदचाप सुनियो । उनै त होइनन् ? उनै हुन् जस्तो छ । उस्तै छिटो तर हलुका पाइला । नुहाउने कोठाको ढोका खुल्यो र लेनिन कोठामा प्रवेश गरे ।
            “अलिबेर सुस्ताउँ भनी सोचेँ,” लेनिनको आँखामा प्रसन्नताभाव थियो । झ्यालबाट बाहिर हेर्दा उनले शरद् सुरु भएको अनुभूति गरे । “सुन न, थोरै घुमेर आउने कि, के भन्छ्यौ ?” “म भन्छु, नौ बज्यो, कामको दिन पनि सकिसक्यो,” क्रुप्सकायाले जवाफ दिइन् ।
            “साथी जेल्तिशेभलाई पनि भन,” त्यसै क्षण जेल्तिशेभ कोठामा आइरहेको देखेर लेनिनले भने । जेल्तिशेभ सैनिक थिए र घरको कामकाजमा उनलाई मद्दत गर्थे । “जेल्तिशेभ तपाईंको कामको दिन सकियो । अब घर गई आराम गर्नुस् । हजुर ? जेल्तिशेभले आश्चर्यमिश्रित स्वरमा अनायासै सोधे । हजुर, अहिल्यै !” लेनिनले दृढतापूर्वक दोहोर्‍याए ।
            जेल्तिशेभलाई घर फर्किने इच्छा पटक्कै थिएन । उनलाई लेनिनको सेवा गर्न, खाना ल्याइदिन, स्टलदेखि अखबार ल्याइदिन, मकलमा आगो सल्काउन धेरै मनपथ्र्यो ।
आज छिट्टै घर नफर्कने अर्को विशेष कारण थियो । उनले क्रुप्सकायालाई एक चीज भेटी दिन चाहन्थे । 
            “कुनै छात्राले छोडेको जस्तो छ । मैले भेटेँ । हजुरलाई काम लाग्ला भन्ने सोचेँ,”  भन्दै उनले गोजीबाट सानो खालको एउटा ऐना निकालेर क्रुप्सकायातर्फ बढाए । साथै लेनिनको कस्तो प्रतिक्रिया होला भनी छड्के नजरले लेनिनलाई हेरे ।
            लेनिनले सम्भवतः यसको समर्थन नै गरे किनकि उनी खित्खिताए । हाँसो रोकिएपछि भने : “उफ्, म पनि कति बेकुफ छु है ! तिम्रो लागि कहिल्यै ऐना किन्ने कुरासमेत सोच्न सकिनँ ?” “तिमीलाई सोच्ने फुर्सद नै कहाँ हुन्छ !” क्रुप्सकायाले हाँस्दै जवाफ दिइन् ।
            क्रुप्सकाया र लेनिनले हलुवा खाए । त्यसमा थोरै सूर्यमुखीको तेल राखिएको थियो । लेनिनले फेरि क्रुप्सकायालाई बाहिर हिउँमा घुम्न जाने कुरा सम्झाए । उनलाई शरद्को पहिलो हिमपातमा विचरण गर्न औधी मनपथ्र्यो ।
            क्रुप्सकायाले आफ्नो छालाको टोपी लगाइन् र जेल्तिशेभबाट उपहारमा पाएको
ऐनामा हेरिन् ।
            “भोलोद्या, हेर त म कति बुढी भएकी छु,” अनायास उनले भनिन् । “हैन, कहाँ हुनु !” लेनिनले क्रुप्सकायाको कुरा सकिन नपाउँदै जवाफ फर्काए ।
            क्रुप्सकायाको नरम र सुन्दर केश फुल्न थालेको थियो । निधारमा हलुका मुजा पर्न थालेको थियो । तर, लेनिनको लागि उनी अझै उस्तै थिइन् ।  निर्वासित भई शुशेन्स्कोय पुगेको साँझमा जस्तै । हरियो बत्ती ल्याइदिएको साँझमा जस्तै । “तिमी कामले असाध्यै थाक्छ्यौ क्यार ?” लेनिनले चिन्तित स्वरमा सोधे ।
            “हैन, त्यति थाक्दिन,” क्रुप्सकायाले जवाफ दिइन् र लेनिनलाई चाँडै तयार हुन भनिन् । लेनिन फेरि काममा फर्किनुपर्छ भन्ने उनले बुझेकी थिइन् । केही समय विचरण गरिसकेपछि उनी फेरि सिँढीबाट तेस्रो तला उक्लनेछन् । राति अबेरसम्म जनकमिसार परिषद्का अध्यक्षको कोठाको बत्ती बलिरहनेछ । लेनिन काममा लागिपर्नेछन् । मजदुर र किसानहरूको दुनियाँकै पहिलो र नयाँ राज्यको निर्माण कसरी गर्ने हो ? यस्तै विषयको सोचविचारमा डुब्नेछन् ।
नजाने सिक्नेछौँ 
            स्मोल्नीको ढोकामा पहरेदार उभिएका थिए । “हजुरको अनुमतिपत्र !” तिनले बन्दुक अगाडि ल्याई तीनैजना मजदुरहरूलाई रोके । तीमध्ये दुईजना अलि बुढा र दारीवाल थिए । तेस्रो युवक थियो । उसको नाम रोमान थियो । “अनुमतिपत्र कहाँ दिइन्छ ?” एकजनाले बन्दुक पन्छाउँदै शान्तिपूर्वक सोध्यो । “एए… अगाडि बढ्ने कोसिस नगर्नू !” पहरेदार चिच्याए ।
            “अनुमतिपत्र कमान्डेन्टले दिन्छ ।”
            त्यसैबेला स्मोल्नीको कमान्डेन्ट, भूतपूर्व नाविक मल्कोभ आफँै ढोकामा आए । “हजुर, कसलाई खोज्नु भो ?” “लेनिनसँग भेट्नु थियो । जरुरी काम छ,” रोमानले जवाफ दियो ।
            “अति जरुरी काम छ,” दोस्रोले पनि उसलाई साथ दियो ।
            “हेर त यिनलाई !” मल्कोभले उनीहरूलाई तलदेखि माथिसम्म हेर्दै भने । “अक्टोबरका दिन कहाँ थियौ ?”
“शीतल दरबारमाथि हमला गर्नेहरूसँगै थिएँ । अरू कहाँ हुनु ?” रोमानले पनि जवाफ फर्कायो ।
            पन्ध्र मिनेटपछि तीनैजना जनकमिसार परिषद्को स्वागत कक्षमा उभिएका थिए । कोठा अलि ठुलो थियो, तर फर्निचरहरू साधारण थिए । बीचमा काठका दुईटा बेन्चहरू र त्यसका दुवैतिर एक–एकवटा टेबल र केही कुर्सीहरू थिए । मजदुरहरूले कोठामा नजर दौडाए । “ठ्याक्कै हाम्रै घरजस्तो रहेछ !”
            त्यसै बेला सेक्रेटरीले ढोका खोले : “आउनुस् साथी, लेनिनले हजुरहरूको प्रतीक्षा  गरिरहनुभएको छ ।” लेनिन आफँै उठेर तिनलाई स्वागत गरे । मजदुरहरूले नियाले, लेनिन होचो कदका र फुर्तिला थिए । उनका सजीव आँखामा एक अद्भूत चमक थियो । “नमस्ते, साथीहरू । बस्नुस् ।” तिनलाई बसालेर लेनिन पनि बसे । टेबल अर्कोतिर नभई तिनकै छेउमा । उनको हातमा कलम थियो । कलम चलाउँदै उनले छिटो–छिटो सोधिरहेका थिए : “कुन कारखानाबाट आउनुभयो ? के गर्नुहुन्छ ? कारखानाको कामकाज कस्तो चलिरहेको छ ? कच्चा पदार्थ छ ? मजदुरको नियन्त्रणमा आएपछि काम गरिरहेको छ त ? यहाँ के कामले आउनुभयो ? हेर्नुस्, दकस नमान्नुस् !” यति भन्दै लेनिनहल्का मुस्कुराए ।
            लेनिनको मुस्कुराहटले रोमानको हिम्मत बढ्यो र उसले कुनै भूमिकाबिना यहाँ कुन कामले आएको हो खुलस्त बतायो । रोमान र उसका साथीहरू लेनिनलाई कारखानाको बारे मा बताउन चाहन्थे । तर, अब उनीहरू त्यहाँ काम गर्दैनथे । उनीहरूलाई जनकमिसार (मन्त्रालय) मा काम गर्न पठाइएको थियो । जारकालीन रूसका कर्मचारीहरू सोभियत सरकारसँग काम गर्न चाहँदैनथे । त्यसैले उनीहरू नोकरी छोडेर भागेका थिए । नभाग्नेहरूमा पनि धेरैजसो कामचोर थिए । यसकारण मजदुरहरूलाई पठाइएको थियो ।
            “सोभियत सत्तालाई सहायता गर्न ?” लेनिनले कुरा काटे । “अनि के भयो त ?” लेनिनले आँखा चिम्स्याएर ध्यानपूर्वक रोमानलाई हेरिरहे । रोमानले सङ्कोच मान्दै आफ्नो फुस्रो कपाल सुम्सुम्याउन थाल्यो ।
            “हामीले राम्ररी काम गर्न सकिरहेका छैनौँ, भ्लादीमिर इल्यीच । त्यसैले हामीलाई फिर्ता बोलाउन भनिदिनुस् । कारखानामा भए केही काम त गरिन्थ्यो । तर, यहाँ मन्त्रालयमा हाम्रो स्थिति ठ्याक्कै अन्धाको जस्तो भएको छ ।”
            “तपाईँहरूले के ठान्नुभएको छ ? मलाई राज्य सञ्चालन गर्न सजिलो छ त ?” जवाफको साटो लेनिनले प्रश्न गरे । “तपाईँहरू मलाई यो कामको अनुभव छ भन्ने ठान्नुहुन्छ ? म पनि त पहिला कहिल्यै जनकमिसार परिषद्को अध्यक्ष भएको थिइन । हाम्रा अरू जनकमिसारहरू पनि त पहिला कहिल्यै जनकमिसार हुनुहुन्नथ्यो ।”
            एकजना मजदुरले अझै पनि असहमति प्रकट गर्दै शिर हल्लायो : “हामीलाई सबैथोक बिरानो छ, नयाँ छ ।”
            “तर, पुरानोलाई हामीले जरैदेखि उखेलिदिएका छौँ ! यस्तो स्थितिमा तपाईं आफै बताउनुस्, नयाँको निर्माण कसले गर्छ ?”
            लेनिन मजदुरहरूको अझै नजिक सरे र सम्झाउँदै भन्न थाले, “सही हो, मजदुरहरूले जानकारी र अनुभवबिना मन्त्रालयमा काम गर्न कठिनाइ झेल्नुपरेको छ । तर, सर्वहाराहरूसँग एक खालको जन्मजात सुझबुझ छ । मन्त्रालयहरूमा हाम्रा, पार्टीका, सोभियतहरूका नीतिहरू लागू गर्न अत्यावश्यक छ । यो काम मजदुरहरूले गरेनन् भने कसले गर्छ त ? सबै ठाउँमा मजदुरहरूको नेतृत्व, मजदुरहरूको नियन्त्रणको खाँचो छ ।”
            “तर, गल्ती भयो भने नि…?”
            “गल्ती भए सुधार्नेछौँ । नजाने सिक्नेछौँ । यसैगरी साथीहरू,” उभिँदै लेनिनले दृढतापूर्वक भने । “पार्टीले तपाईँहरूलाई पठाएको हो, आफ्नो कर्तव्य पूरा गर्नुस् ।” फेरि आफ्नो उत्साही मुस्कानका साथ दोहोर्‍याए, “नजाने सिक्नेछौँ ।” लेनिनसँग भएको यो कुराकानीपछि मजदुरहरूको सारा सङ्कोच हरायो । सारा काम नसिक्दासम्म अब उनीहरू बिहानदेखि साँझसम्म मन्त्रालयमा डटिइरहने छन् ।
            “साथी लेनिन, हामी कसम खान्छौँ, आफ्नो कर्तव्य पूर्णरूपमा पालन गर्नेछौँ,” मजदुरहरूले भने ।
            जनकमिसार परिषद्का अध्यक्षको कक्षबाट निस्कँदै गर्दा उनीहरूले आपसमा भनिरहेका थिए, “लेनिनले ठिक्कै भन्नुभएको हो । मजदुर–किसानहरूको सरकार हाम्रो सरकार हो र हामीले नै यसको सारा भार उठाउनुपर्छ ।”
नेपाली अनुवादः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *