कोरोनाको महामारीले चीनको हुपेई सहरमा दन्त्यकथाको राक्षसले जस्तै दुःख दिएको थियो । नयाँ वर्षको हर्षोल्लास मनाउन तम्तयार बसेको उहान सहरवासीको निम्ति महामारी नचिताएको सपना थियो । डिसेम्बरको अन्त्यतिर फैलिन सुरु भएको महामारी रोकथाम गर्न सरकारले २३ जनवरीबाट लकडाउन घोषणा गर्‍यो । झन्डै तीन महिनापछि अप्रिलको दोस्रो साता लकडाउन खुल्यो । एक करोड दस लाख जनसङ्ख्या बस्ने उहान सहरले तीन महिनामा भोगेको समयको धेरै कोणबाट भविष्यमा लामो समय चर्चा हुनेछ ।

            संसारका धेरै देशका सरकारको निम्ति कोरोना भाइरसमाथि विजय हासिल गर्न आज हम्मेहम्मेको अवस्था छ । संसारभर प्रभुत्वको धाक लगाउने महाशक्ति संरा अमेरिकाको निम्ति महामारी फलामको च्युरा साबित भएको छ । संसारले विकसित भन्ने विशेषण जोड्दै आएका देशहरूसमेत कोरोनाको कम्पनले गलेका छन् । कोभिड–१९ भाइरसको खोप वा औषधी आज बनिसकेको छैन । तर, कम्तीमा आज आधारभूतरूपमा कोभिड–१९ का लक्षण र रोकथामका तरिकाबारे संसारलाई थाहा छ । जब उहानमा यो भाइरसले वितण्डा मच्चाइरहेको थियो, तब संसार यो रोगसँग अपरिचित थियो । त्यसकारण, पनि उहानलाई यो रोग नियन्त्रण गर्न समय लाग्यो । उहानले निकै दुःख गरेर हासिल गरेका जानकारी आज संसारभरका मानिसको निम्ति उपयोगी बनेको छ ।

            याङ्जी नदीको उहान सहरका तीन नगर उछाङ, हानखौ र हानयाङले राक्षसी भाइरसको प्रतिरोध गरिरहेका थिए, संसार अन्योलमा थियो–उहान र समग्र चीनले त्यसमाथि जीत हासिल गर्नसक्ने हो वा होइन ! संसारमा आफ्नैमात्र शासन चिर स्थायी भएको चाहने कति शक्तिले त उहानमा फैलिएको कोरोना भाइरसले याङ्जी नदीको पानी नै सुकेर जाओस् भन्ने कामनासमेत गरे । तर, इतिहासका हरेक चुनौतीलाई वीरतापूर्वक सामना गर्दै अघि बढिरहेको चीनले फेरि अर्को एउटा पहाड छिचोलेर आफ्नो अब्बलता पुष्टि गर्‍यो । जनवरीदेखि अप्रिलसम्म उहानको निम्ति सहज र सरल पक्कै थिएन । तर, यो तीन महिनामा उहानलाई समयले धेरै कुरा सिकाएर गयो, उहानले संसारलाई धेरै कुरा सिकायो पनि ।

            राक्षसले दुःख दिएको तीन महिना उहानले कसरी बितायो ? उहानले कसरी पछार्‍यो त्यो राक्षसलाई ? उहानसँग कुन त्यस्तो विशेष हतियार छ जुन हतियारले राक्षसमाथि तीन महिनामा विजय प्राप्त गर्नसक्यो ? न्यु योर्क, नयाँ दिल्ली, रिओ डी जेनेरिओसँग नभएको र उहानसँग भएको त्यो हतियार के हो ? चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूह र विदेशी भाषा प्रेसले प्रकाशित गरेको पुस्तक ‘कोरोना भाइरसले बन्दी बनेको उहान, साहस र दृढ सङ्कल्पका कथाहरू’ (Wuhan in Corona Virus Lockdown : Stories of Courage and Determination) उहान र सिङ्गो चीनको शक्ति र विशेषता बुझाउन क्षमता भएको पुस्तक हो । चिनियाँ र अङ्ग्रेजी भाषामा चीनबाटै प्रकाशित यो पुस्तकको नेपाली संस्करण मकालु प्रकाशनले प्रकाशित गरेको छ ।

            आज पनि धेरै मानिस कोभिड–१९ लाई अङ्क गणित र रोग फेरिँदा लक्षणको आधारमा मात्र बुझिरहेका छन् । कहाँ कति जना सङ्‍क्रमित भए, कति निको भए र कतिले जीवन गुमाए भन्ने अङ्क गणितकै आधारमा मात्र कोभिड–१९ बारे चर्चा भएको सुन्छौँ । तर, उहानले कोरोना महामारी सामना गर्दाको अनेकन कोण समावेश यो पुस्तकले महामारीलाई सामाजिक एकता र बलिदानी भावनाको कोणबाट प्रस्तुत गर्न खोजेको देखिन्छ । उहानमा कुनै एउटा पक्षको जोडबलमा मात्र महामारीको सलहलाई पराजित गर्न सम्भव भएको थिएन । महामारीको प्रतिकार हरेक क्षेत्रका व्यक्तिको त्याग र समर्पण भावनाको कारण सफलतामा पुगेको हो ।

            कोरोना भाइरसको महामारीविरुद्धको उहानले लडेको लडाइँमा स्वास्थ्यकर्मीहरू हतियार र बर्दी नलगाएका सेना थिए । स्वास्थ्यकर्मीसँग भएका थर्मोमिटर र सिरिन्ज हतियार थिए भने उनीहरूले लगाएका पीपीई सुट नै बर्दी थियो । उहानमा कुनै अज्ञात तर भयानक राक्षसले हमला गरेको खबर चीनमा फैलिएलगत्तै चिनियाँ जनमुक्ति सेनाअन्तर्गतका विभिन्न चिकित्सा विज्ञानको अध्ययन हुने शिक्षण प्रतिष्ठानहरूबाट स्वास्थ्यकर्मीेहरूको ठुलो सङ्ख्या ‘समयसँग प्रतिस्पर्धा’ गर्दै उहान पुग्यो । अन्योलको भुमरीमा अलमलिएका उहानका जनता आफ्नो सहरमा जनमुक्ति सेनाका चिकित्सकहरू आइसकेको सूचना सुनेर सन्तोषको श्वास फेरे । याङ्जी नदीमा बाढी आउँदा उहानले भोगेको सङ्कटको सामना गर्न उहानवासीलाई जनमुक्ति सेनाले नै साथ दिएको थियो । जनमुक्ति सेनाले आजसम्म चिनियाँ जनतालाई कहिल्यै पनि निराश बनाएको छैन । उहानका विभिन्न अस्पतालको जनमुक्ति सेनाका विभिन्न टुकडीले जिम्मा लिएपछि जनशक्ति अभावको कारण आत्तिएका उहानका चिकित्सकहरूले सन्तोषको श्वास फेरे । डिसेम्बरको अन्तिम सातादेखि नै उहानका अस्पतालहरूमा बिरामीको चाप निकै बढेको थियो । उहानका चिकित्सकहरूलाई पनि आफू कस्तो रोगसँग लडिरहेको भन्नेबारे प्रस्ट चित्र थिएन । एक त नयाँ रोग, त्यसमाथि बिरामीको चाप । त्यसले उहानका चिकित्सकहरूले दिनको निकै कम समय आराम गरेर खट्दा पनि महामारी रोक्न सकेनन् । उनीहरू आत्तिएका थिए, थकित थिए । तर, उनीहरू जिम्मेवारीबाट च्यूत भएनन् । उनीहरूमध्ये केही चिकित्सक स्वयम् सङ्‍क्रमित भए । तथापि, उनीहरूमा कतिबेला आफू निको भएर अस्पतालमा आफ्नो जिम्मेवारी पूरा गर्नतिर लागौँ भन्ने हुटहुटी थियो ।

            नोबेल कोरोना भाइरसको सङ्‍क्रमणविरुद्ध लड्ने सबभन्दा जोखिमको फ्रन्टलाइन हो, सङ्‍क्रमणले गम्भीर विसञ्चो भएका बिरामीको उपचार भइरहेको सघन उपचार कक्ष । कुनै पनि बेला चिकित्सक आफैँलाई सङ्‍क्रमण हुनसक्थ्यो । तर, चिनियाँ स्वास्थ्यकर्मीहरूले उहानको त्यो विषम समयमा प्रदर्शन गरेको हौसला र साहस आज पनि संसारको निम्ति प्रेरणादायी हुनसक्छ ।

            उहानमा दस दिनको अन्तरालमा दुई अत्याधुनिक सुविधासम्पन्न कोरोना सङ्‍क्रमित बिरामीको उपचार हुने अस्पताल स्थापना भयो । यो पुस्तकमा ती दुई अस्पताल र त्यत्ति छोटो समयमा चमत्कार गर्न भूमिका खेल्ने नायकहरूको कथा लेखिएको छ । रातारात अस्पतालको नक्सा कोर्नेदेखि चौबीसै घण्टा सयौँ सङ्ख्यामा डोजर चलाउने चालकदेखि अस्पताल निर्माणको लागि आवश्यक विभिन्न सामान चीनका विभिन्न प्रान्तबाट रातारात उहान ल्याइपुर्‍याउने चालकसम्म यो चमात्कारिक परियोजनाका नायक हुन् । नयाँ वर्षको पूर्वसन्ध्यामा रातदिन काम गर्दा ती मजदुरमध्ये कसैले पश्चाताप गरेनन् । बरु यो काममा आफूले भाग लिन नपाएको भए जीवनमा निकै ठुलो कुरा गुमाएको महसुस हुने उनीहरुले सुनाए ।

            उहान लकडाउनमा बन्द भएपनि सहरका सडक भने सफा थिए । सफाइ मजदुरहरू यस्तो प्रतिकूल परिस्थितिमा अझ जिम्मेवारीपूर्वक सहरलाई स्वच्छ र सहरवासीलाई स्वस्थ राख्न तल्लीन भएर लागे । एम्बुलेन्स चालकदेखि सहरका रेस्टुराँ सञ्चालकहरूसम्मले आफ्नो हितभन्दा समाजको निम्ति काम गर्ने भावनाले जोखिम मोलेर लागे । फलतः उहानवासीको निम्ति तीन महिना लामो लकडाउन कष्टप्रद बनेन ।

            उहानले यसअघि विभिन्न समयमा चीनका विभिन्न स्थानमा आइलागेको प्रकोपको समयमा सहायता गरेका गाउँ र नगरले पनि उहानलाई दुख्दा यतिबेला सकेको सहयोग गरे । ती गाउँ र सहरले आफ्नो ठाउँमा हुने कृषि उत्पादन रातभर टिपेर र प्याकिङ गरेर उहान पठाए । चीनका अन्य सबै प्रान्तले आ–आफ्नो ठाउँको विशेषताअनुसारका उत्पादन उहान पठाएर मद्दत गरे ।

            चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताले महामारीको समयमा खेलेको भूमिकाले पार्टी र सरकारप्रति जनताको विश्वास अझ अगाध बनेको छ । चिनियाँ समुदायमा अलगअलग ग्रीडको व्यवस्था छ । ती प्रत्येक ग्रीडमा चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले घर–घरमै पुगेर जनताका आवश्यकता र समस्या समाधानका लागि तदारुकता देखाए । फलतः रोगबारे जनता सचेत भए । समयमै रोगी पत्ता लाग्यो । उपचार सम्भव भयो । रोग थप फैलिन पाएन । उहानका जनताले पनि सरकारका प्रत्येक सूचनाको अक्षरशः पालना गरेर महामारीविरुद्धको लडाइँमा योगदान गरे ।

            मास्क, पीपीई र गगल्स बनाउने मजदुरहरूले प्रतिकूल परिस्थितिमा पनि आफ्नो उत्पादनलाई कसरी निरन्तरता दिए र देशको आवश्यकता पूरा गरे भन्ने कथा निकै शिक्षाप्रद छ । नयाँ वर्षको समय भएकोले धेरै मजदुर आफ्नो घर गइसकेको हुनाले कतिपय स्वयम्सेवकलाई तालिम दिएर पनि ती आवश्यकता पूरा गरेको देखियो । चिनियाँ जनताको यो समर्पणभावले उनीहरूको निम्ति देश र जनताको सेवा नै सबभन्दा उँचो हुने गरेको वास्तविकता बुझ्न सक्छौँ ।

            महामारीको सामनामा हरेक क्षेत्रका जनताले कसरी योगदान गर्नसक्छ भन्ने कुरा बुझ्न यो पुस्तक नेपालको आजको सन्दर्भ उपयोगी देखिन्छ । उहानको लडाइँलाई समग्रतामा बुझ्न यो पुस्तक उपयुक्त छ । कोरोनाविरोधी लडाइँमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टी त होमियो नै । तर, यो लडाइँमा मानिसहरूले नागरिक तहमा कसरी सहभागिता जनाए भन्ने चित्र बुझ्न यो सान्दर्भिक कृति हो ।

            सुन्दर अनुवादले पुस्तक पठन अझ सुरुचीपूर्ण बनाएको छ । सन्दर्भअनुसारका तस्वीरले पुस्तकको सौन्दर्य थपेको छ । १२६ पृष्ठको यो पुस्तकको पठनले नेपाली जनताको कोरोना महामारीविरुद्ध चालू सङ्घर्षमा थप हौसला थप्नसक्छ । 

नीरज image
नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *