खानदानी वर्गविरुद्ध खानदानीहरूको विद्रोह
- बैशाख १४, २०८१
कोभिड–१९ महामारीको कारण विश्वभर आर्थिक मन्दी देखिन थालेको छ । यो आर्थिक मन्दीले संसारका लगभग सबै देश कुनै न कुनै रूपमा प्रभावित हुनेछन् । संरा अमेरिका, चीन, युरोप, जापानलगायत संसारका प्रमुख आर्थिक शक्ति नै कोरोना भाइरसको महामारीबाट सबभन्दा बढी प्रभावित बनेको अवस्थामा यो आर्थिक मन्दी कुनै क्षेत्रमा मात्र सीमित मन्दी हुनेछैन । यो मन्दी सन् २००८ को एसियाली आर्थिक मन्दीभन्दा व्यापक र गहिरो हुनेछ । संसारका सबै देश यतिबेला एकातिर कोरोना भाइरसको महामारी नियन्त्रणमा केन्द्रित छन् भने अर्कोतिर प्रतिकुल परिस्थितिबीच आर्थिक जीवन सुचारु राख्न योजना बनाइरहेका छन् अथवा दैलोमा आइसकेको आर्थिक मन्दीको सामना गर्ने तयारी गरिरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नोबेल कोरोना भाइरसको महामारीबाट पीडित बनेको चीनले आजसम्ममा लगभग यो विपद्बाट पार पाइसकेको छ । चीन आफ्नो आर्थिक गतिलाई निरन्तरता दिन मिहिनेत गरिरहेको छ । जापान र दक्षिण कोरियाजस्ता देशहरूमा अझै पनि कोभिड–१९ को सङ्क्रमण पूर्ण नियन्त्रणमा आइनसके पनि आर्थिक गतिविधिलाई जोड दिन थालेका छन् । संसारको सर्वशक्तिमान ठानिएको संरा अमेरिकाको लागि नोबेल कोरोना भाइरसको महामारी फलामको चिउरा सावित भएको छ । संरा अमेरिका आज न कोभिड–१९ नियन्त्रण गर्न सक्षम बनेको छ न आर्थिक गतिविधिलाई नै पुनः गति दिन सकेको छ । युरोप पनि महामारीको प्रहारले अझै तङ्ग्रिसकेको छैन ।
विश्वव्यापी आर्थिक मन्दीबाट नेपाल अछुटो हुनेछैन । नेपाली जनताको श्रम बजार मानिएका देशहरू नै आर्थिक सङ्कटमा परेपछि त्यसले प्रत्यक्षरूपमा नेपालको अर्थतन्त्रमा प्रभाव पार्नेछ । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरू स्वदेश फर्केका छन् । यसले हाम्रो अर्थतन्त्रमा उल्लेखनीय योगदान गरिरहेको रेमिट्यान्समा ठुलो कमी आउने निश्चित छ । नोबेल कोरोना महामारीको कारण देशको आन्तरिक अर्थतन्त्र पनि थला परेको छ । नेपाल भ्रमण वर्ष आयोजना गरिएको वर्षमा नै देशले यो विपत्ति भोग्नुप¥यो । स्वभावतः संसारको अर्थतन्त्रमा जस्तै नेपालमा पनि बेरोजगारी बढेको छ । आन्तरिक उत्पादन अझ घटेको छ । परनिर्भरता अझ बढेको छ । तर, नेपाल सरकारले यो आर्थिक सङ्कट सामनाको निम्ति कुनै योजना बनाउन आवश्यक ठानेको छैन । आर्थिक मन्दीले जनताको जीवनमा पार्ने प्रभाव न्यून गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा कुनै तयारी गरेको देखिँदैन । यो विषम परिस्थितिमा पनि सरकारले अझै आर्थिक समृद्धिको भजन गाउन छोडेको छैन ।
सरकारले नेपाली जनतालाई अवस्तुगत कुरामा झुलाउनु ठीक होइन । देशको वास्तविक अवस्थाबारे सूचना पाउनु जनताको हक र सूचना दिनु सरकारको कर्तव्य हो । यही वास्तविकताको धरातलमा उभिएर आजको वास्तविकता बनिसकेको आर्थिक मन्दीको सामना गर्न ठोस योजनाहरू तर्जुमा हुनुपर्छ । यस्ता सङ्कटहरू कतिबेला नयाँ गतिको सम्भावना पनि हुने गर्छन् । विपद् सामना गरिरहेको देशले नै धेरै नयाँ सम्भावनाका ढोका देख्ने गर्दछ । नेपालको वस्तुगत परिस्थितिमा आधारित रहेर सरकारले दिगो आर्थिक विकासका योजनाहरू बनाइनुपर्छ । सिङ्गो संसार नै आर्थिक विपद्मा फसेको समयमा आयात व्यापारबाट देश चलाउने परनिर्भर सोचबाट अब सरकार मुक्त हुनुपर्छ । नेपाली जनतालाई आवश्यक पर्ने वस्तु हाम्रै देशमा उत्पादन गर्न सम्भव नहोला । तर, जनताका आधारभूत आवश्यकताका वस्तु नेपालमै उत्पादन गर्ने विषयमा सरकारले योजना बनाउनुपर्छ ।
विभिन्न देशमा श्रम गरेका अनुभवी नेपाली युवाहरू देशभित्रै छन् । उनीहरूका अनुभव देशको वस्तुस्थितिअनुसार यहाँको आर्थिक उन्नतिको निम्ति प्रयोग गर्ने अवस्था सरकारले बनाउनुपर्छ । तर, सरकार भने आर्थिक मन्दी सामना गर्न कुनै योजना बनाउने सोचमा देखिंदैन ।
Leave a Reply