विश्व आज भविष्यको लागि विगतमा भएका गल्ती सच्याउने योजना बुन्दै छ । तर, कोभिड–१९ महामारीसँगै दक्षिण एसिया र प्रशान्त क्षेत्रमा आँधी हुरी र पूर्वी अफ्रिकामा सलहको प्रकोपले संसारलाई कुनै पनि बखत आइपर्न सक्ने सङ्कटको लागि तयारी भएर बस्नुपर्ने कुरा प्रस्ट बनाएको छ । महामारी, बाढी, हुरी, अनिकाल र डढेलो दोहोरिरहने र अझ भयावह बन्दै जाने देखिन्छ । यसले हरेक वर्ष लाखौँ लाख मानिसलाई प्रभावित बनाउने गरेको छ ।

जगन चापागाई
कोभिड–१९ को महामारीले संसारलाई ब्युँझन घण्टी बजाएको छ । अन्तर्राष्ट्रिय सङ्गठनका अगुवाहरूको नाताले हामी यो महामारीले ते¥साएको खतरा र परिवर्तनका सम्भावित अवसर दुवै बुझ्न सक्छौँ ।
कोभिड–१९ र हालै संसारमा देखिएका विपत्तिहरूले अब कुनै पनि परिस्थिति आइलागे तयारी अवस्थामा रहन लगानी बढाउनुपर्ने देखाएको छ । विपत्ति आएपछि मात्र तयारीको लागि तातिने क्रम रोकिनुपर्छ । हाम्रोसामु छनोट प्रस्ट छ, विलम्ब गर, परिणाम भोग अथवा योजना बनाऊ र प्रगति गर ।
विपत्ति आउनुअघि नै तयारी गर्न हुने लगानी मानिसको जीवन जोगाउन र आर्थिक लाभ दुवैका लागि आवश्यक भएको हामीलाई थाहा छ । उदाहरणको लागि द ग्लोबल कमिसन अन अडाप्टेसनको एक अध्ययनअनुसार जलवायु–अनुकूलन लगानीको लागि लगानीअनुपातको लाभ २ः१ देखि १०ः१ को अनुपातमा देखिएको छ ।
प्रमुख विपत्तिको लागि तयारीको निम्ति दिगो खाका आवश्यक हुन्छ । जलवायु परिवर्तनको प्रभावको सामना गर्न सन् २०३० सम्ममा वार्षिक रूपमा १ अर्ब ४० करोडदेखि ३ अर्ब अमेरिकी डलरसम्मको खर्च हुनेछ । विश्व स्वास्थ्य सङ्गठनले महामारी सामनाको तयारीका लागि तोकेको न्यूनतम आधार पूरा गर्न वार्षिक ३ अर्ब ४० करोड अमेरिकी डलरको आवश्यकता पर्नेछ ।
विपत्तिको तयारी नगर्नुभन्दा यो दुवै वार्षिक खर्च न्यून छ । प्राकृतिक विपत्तिले हरेक वर्ष खरबौँ अमेरिकी डलर बराबरको क्षति भइरहेको छ । सन् २१०० सम्ममा जलवायु परिवर्तनले गर्ने क्षति हरेक वर्षमा ६९ त्रिलियन अमेरिकी डलर बराबरको हुनेछ ।
मानवीय क्षति पनि निकै उच्च छ । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घ र रेड क्रिसेन्ट समाज (आईएफआरसी) को विश्लेषणले विपत्तिको तयारीका लागि केही नगरी बस्नुले बाढी, आँधीबेहरी, अनिकाल र डढेलोको कारण हरेक वर्ष अन्तर्राष्ट्रिय मानवीय सहायताको खाँचो पर्ने मानिसको सङ्ख्या बढ्नेछ । अहिले त्यस्तो सहायता खाँचो पर्ने मानिसको सङ्ख्या १० करोड ८० लाख छन् । सन् २०३० सम्ममा यो सङ्ख्या ५० प्रतिशतले बढ्नेछ । सन् २०५० सम्ममा यो सङ्ख्या २० करोड पुग्नेछ । त्यहाँबाट उता यो सङ्ख्या दोब्बर हुनेछैन ।
महामारीपछि अर्थतन्त्र पुनः सुचारु गर्न सरकारहरूले त्रिलियनका त्रिलियन डलर खर्च गर्नेछन् । त्यसकारण आगामी वर्ष विपत्ति सामना गर्न लगानी बढाउन गम्भीर समय हुनेछ । आगामी दिनमा वित्तीय स्रोत बढ्नेछ । वित्तीय स्रोतको वृद्धिले परिवर्तनप्रति राजनीतिक भोक घट्दै जाने खतरा रहनेछ । त्यसकारण यो समय धनी देशहरूले गरिब देशहरूलाई जलवायु परिवर्तनसँगै भविष्यका खतरा सामना गर्न र अर्थतन्त्र सुचारु बनाउन मद्दत गर्नुपर्छ ।
कुनै पनि देशको सरकारले गर्नसक्ने धेरै महत्वपूर्ण काममध्ये आफ्नो देशले सामना गर्दै आएको विपद्सम्बन्धी तथ्याङ्कको उचित सङ्कलन र विश्लेषणमा लगानी गर्नसक्छ । आँधीहुरी आउन लागेको वा डढेलो लागेको खबर चौबीस घण्टाअघि मात्र थाहा पाए पनि त्यसले गर्ने क्षति ३० प्रतिशतले घटाउन सक्नेछ । पूर्व सावधानी प्रणालीमा ८० करोड अमेरिकी डलर खर्च गरे वर्षको ३ अर्ब देखि १६ अर्ब अमेरिकी डलरसम्म जोगाउन सकिन्छ ।
उदाहरणको लागि अमफन आँधीले भारत र बङ्गलादेशमा ठुलो क्षति निम्त्यायो । दर्जनौँ मानिस मारिए । तर, पूर्व सावधानी प्रणाली नहुँदो हो त क्षति हुने सम्पत्ति र मर्नेको सङ्ख्या अझ बढ्न सक्थ्यो । दसकौँदेखिको येजना र तयारीसँगै ठ्याक्कै मिल्ने पूर्वानुमानले दुवै देशले ३० लाखभन्दा बढी मानिसलाई आँधी आउनुअघि नै अन्यत्र स्थानान्तरण गर्न भ्याए । विगतमा आउने आँधीहुरीको तुलनामा मर्नेको सङ्ख्या त्यसकारण यसपालि न्यून भयो ।

एन्ड्र स्टीर
नयाँ जोखिमको खतरा पूर्वतयारी साझेदारीमार्फत अझ सुलभ र प्रभावकारी पूर्वसावधान प्रविधि बनाउन सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूले अनुसन्धान गरिरहेका छन् । आगामी सन् २०२५ सम्ममा संसारका १ अर्ब मानिसलाई प्राकृतिक विपत्तिबाट जोगाउन यो पहलकदमीले मद्दत गर्नेछ । यसअन्तर्गत मौसम पूर्वानुमानमा आधारित कोष बढाउनु पनि पर्दछ । त्यसले मौसम पूर्वानुमानको आधारमा जोखिममा रहेका समुदायलाई जोखिमबाट जोगाउन आवश्यक स्रोतको व्यवस्था गर्दछ । जर्मनी र बेलायत सरकारले सहायता गर्ने यो अनुसन्धानमूलक आर्थिक कार्यक्रमले आँधीहुरी र तातो हावा चल्दा हुने क्षतिबाट मानिसको जीवन जोगाउनुका साथै क्षति पनि कम गर्नसक्छ ।
तर, यसरी खर्च गरिने पैसा स्थानीय क्षेत्रसम्म नपुगे यो पद्धति निरर्थक हुनेछ । कुनै पनि विपत्तिको पहिलो सामना स्थानीय समुदायले गर्ने हो । त्यसकारण विपत्ति सामनाको लागि स्थानीय सङ्गठन र जनतालाई नै सक्षम बनाउनुपर्छ ।
उदाहरणको लागि एमफन आँधीबेहरी आउनुअघि आइएफआरसीले बङ्गलादेशको रेडक्रिसेन्ट शाखालाई त्यस्तो कोष पठाएको थियो । त्यो पैसा त्यहाँका २० हजार जोखिममा रहेका मानिसलाई तयारी खाना, खानेपानी, प्राथमिक उपचार, सुरक्षा सामग्री र यातायातको बन्दोबस्त गर्न प्रयोग भएको थियो । बङ्लादेश शाखाले कोभिड–१९ को सुरक्षा प्रणालीको निम्ति पनि त्यो पैसा प्रयोग ग¥यो । जस्तै मानिसका बस्ती निसङ्क्रमण गर्न, सामाजिक दुरी कायम गरी बस्न थप ठाउँ उपलब्ध गराउन र व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्न प्रयोग भयो ।
विपत्ति सामनाको निम्ति सबभन्दा उत्तम उपाय पनि स्थानीय समुदायसँगै हुन्छ । सन् २००९ मा फिलिपिन्समा अन्डो समुद्री आँधी आयो । त्यसपछि त्यहाँका जनताले सरकारी अधिकारीहरूसँगको सहकार्यमा भविष्यमा पनि त्यस्ता बाढीबाट जोगिने खालका घरहरू बनाए ।
आगामी वर्ष कोभिड–१९ को महामारीबाट देशहरू मुक्त भएपछि संसारका नेताहरूले एउटा गम्भीर परिस्थितिको सामना गर्नेछन् । विपत्तिको तयारीको लागि लगानी बढाएर उनीहरूले आगामी दशक र त्यसपछिको समयको लागि पनि आफ्नो नियतिलाई आकार दिन सक्छन् र मानिसलाई सुरक्षा दिशातिर उन्मुख गर्नसक्छन् ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला
Leave a Reply