भर्खरै :

आ–आफ्ना सीमा ननाघौँ !

दुई हप्ता अगाडि काठमाडौँमा हल्ला चल्यो – ओली सरकार ढाल्न भारतीय गुप्तचर विभागका मानिस राजधानीमा ओइरिएका छन् । सोल्टी होटल, नारायणथानको एक होटल र द्वारिका होटलमा तिनीहरू बरोबर आउने गर्छन् र नेपालकै राजनैतिक दलका नेता र सांसदहरूसँग अलग – अलग तथा समूहमा समेत भेटघाट र बैठकहरू गर्छन् । ती बैठकहरूमा भारतीय राजदूतावासका कर्मचारी र कहिलेकाहीँ राजदूतहरूसमेत सामेल हुन्छन् ।
माथिका समाचारबारे प्रधानमन्त्री ओलीले खुलासा गरेपछि केही राजनैतिक व्यक्तिहरूले प्रधानमन्त्रीलाई भारतीय राजदूतलाई बोलाएर सोध्न र नेपाल छोड्न दबाब दिन आग्रह, घुर्की र शक्ति देखाउन हाँक दिए । त्यस्ता हाँक दिनेहरूलाई राम्रो थाहा भएकै हुनुपर्छ, नेपाल र भारतबीचको कूटनैतिक खेल र मिचिएका नेपालका सीमाहरूमा भइरहेको अतिक्रमण, बाँध बाँधेर नेपाल डुबानमा पार्ने काम तथा कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा प्रकाशन अनि नेपाली भूमिमाथि बनाइएको भारत र चीन जोड्ने सडकको भारतका रक्षामन्त्रीद्वारा उद्घाटन !
नेपालीमा एउटा उखान छ, ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ । भन्नुपर्ने विषय प्रस्ट र शिष्ट भाषामा भनेको भए अभिव्यक्ति स्वतन्त्रताभित्रै पर्नु स्वाभाविक छ । तर, चिनियाँ राजदूत हाउ याङ्छीले १९ असारको दिन राष्ट्रपति विद्यादेवी भण्डारी, २१ असारको दिन माधवकुमार नेपाल, २३ असारको दिन झलनाथ खनाल र २५ असारको दिन पुष्पकमल दाहाल (प्रचण्ड) लाई घेटघाट गरेको समाचारमा आयो (नागरिक, २८ असार २०७७) ।
त्यस समाचारलाई कसैले चिनियाँ राजदूतको सक्रियता, चलखेल र ‘हस्तक्षेप’ समेत भने । भेटघाटको आशय, समाचारको चुरो बाहिर नआउँदै मुखमा आएको प्याच्च बोल्दा बोल्ने व्यक्तिको व्यक्तित्व आफै नचाहेर पनि बाहिर प्रकट हुन्छ ।
हामी नेपालीहरूको विदेशी कूटनैतिक व्यक्तिहरूबारे च्वाट्ट बोल्ने र लेख्ने बानी कसरी विकास भएको होला भनी घोत्लिनु पनि मनासिब हुन्छ । हाम्रा पनि केही महामहिम राजदूतज्यूहरूका विदेशको राजदूतावासमा बिहानैदेखि रातीसम्म पिएर बस्ने, मित्र देशको ऐन–कानुनविपरीत पोशाक र सुनको गहनामा सजिने र औपचारिक कार्यक्रमहरूमा सामेल हुने, मित्र देशका राष्ट्रपति र प्रधानमन्त्रीहरूसँगको कुराकानीमा सीमा मिचेर बोल्ने, दुई देश र ती देशका जनताबीचको मित्रतालाई अझ प्रगाढ एवम् सुमधुर बनाउनभन्दा आफ्नै नातागोता र परिवारका सदस्यहरूको व्यापार तथा व्यवसायमा मात्रै ध्यान दिने आदि बानी व्यवहारले हामी अन्य देशका राजदूतहरूलाई पनि त्यही आँखाले हेर्र्छौँ ।
सम्भवतः यसैकारण संसद्को परराष्ट्र तथा मानव अधिकार समितिले राजदूतहरूको फिर्ति भएपछि ती देशमा गरिएको अनुभव तथा आफ्ना गतिविधिबारे लेख्न लगाउने र प्रकाशित गर्ने निर्णय गरेको थियो । त्यस्तै दुई देशका गुप्त विषयहरूको रेकर्ड राख्ने र सम्बन्धित पदाधिकारीहरूको अध्ययनको विषय बनाउने निर्णय गरेको थियो । तर, यसबारे परराष्ट्र मन्त्रालय मौन छ । के मन्त्रालयका जिम्मेवार माथिल्ला कर्मचारीको ध्यान जानुपर्ने होइन र ?
केही सांसद र राजनैतिक व्यक्तिहरूसँग मित्र राष्ट्रका प्रतिनिधिहरूका भेटघाटबारे प्रशासनले खबर बाहिर ल्याउने गरेको पनि छ । सम्भवतः परराष्ट्र मन्त्रालयले नै प्रशासनलाई खबर दिन लगाउने होला । नयाँ राजदूतले भेटघाट गर्ने इच्छा जाहेर गर्दा मन्त्रालयले प्रशासनलाई खबर गरेर बाटो देखाउने र आवश्यक बन्दोबस्त मिलाउने गरेका पनि हुन्छन् ।
तर, त्यस्तो भेटघाट गर्नुभन्दा पहिल्यै कार्यकर्ता र पत्रकारहरूलाई भेटघाटको उद्देश्य नबताउनु आश्चर्यको विषय होइन । हरेक राजदूतावासका विभिन्न विभागहरूले आ–आफ्नो विषयबारेका तत् – तत् देशको घटना, परिवर्तन र विकासबारे सूचना दिइरहन्छन् । यद्यपि, हाम्रा राजदूतावासबारे समाचारमा आएअनुसार श्रमिकहरूको समस्याबारे बढी पढ्न पाइन्छ, भ्रष्टाचार र दूतावासका कर्मचारी तथा राजदूतहरूकै बारे गुनासा र विरोधहरू पढ्न पाउँछौँ । तर, हाम्रा केही राजदूतहरूले मात्र आफूले काम गरेका देशहरूबारे कलम चलाएका छन् । जसरी अन्य देशका राजदूत र कूटनैतिक व्यक्तिहरूले नेपालको विषयमा लेखे, त्यसो गर्न राजनैतिक पार्टी, हाम्रा सांसद र पत्रकार मित्रहरूले छलफल गर्नु आवश्यक छ । नत्र हामीले पनि भारतीय मिडियाले अहिले नेपालको बारे लक्ष्मण रेखा नाघेजस्तै आरोपको सामना गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *