भर्खरै :

विचार नपु¥याउँदा सङ्क्रमितको सङ्ख्या बढ्दो

  • श्रावण १८, २०७७
  • – वस्तुराज ‘शीतल’
  • विचार

कोरोना पीडित तथा मृतकहरूको सङ्ख्या अहिले झन् बढ्न थालेको छ । सरकारले लकडाउन खुकुलो पार्दै लगेपछि र नेपाल–भारत सीमामा कडाइ नगरेपछि पीडित र मृतकहरूको सङ्ख्या बढेको देखिन्छ । सरकारले पूर्णतः लकडाउन खुला गरेको छैन । लकडाउन खुकुलो पारे पनि विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार हरेक मानिसले सामाजिक दुरी कायम गर्नुपर्छ, मास्क प्रयोग गर्नुपर्छ, स्यानिटाइजर लगाउने या बरोबर साबुन–पानीले हात धुनुपर्छ । खुकुलो भयो भनेर कोरोना भाइरसबाट बच्न अपनाइने कामको जिम्मेवारीबाट पन्छिनु हुँदैन । त्यो जिम्मेवारी सुरुका दिनमा भन्दा अहिले झन् बढेको छ । तर, सबैले त्यो जिम्मेवारी पालना गरेको देखिँदैन । यसले कोरोना सङ्क्रमित र सङ्क्रमितबाट मर्नेको सङ्ख्या बढ्नेमा शङ्का छैन ।
सरकारले लकडाउन खुकुलो बनाएपछि जहाँतहीँ भीड देखिन थालेको छ । बाटो–बाटोमा सामाजिक दुरी कायम नगर्दै हुलका हुल आवतजावत भइरहेको देख्छौँ । मेलापात र देवीदेवताको दर्शन तथा पूजापाठमा मात्र होइन बजारको किनमेल र गाउँ–सहरको घर आँगन, चोक र चौताराहरूमा पनि धेरै मान्छे जम्मा भइरहेको हामी देख्छौँ । आवतजावत, किनमेल, मेलापात र साथीभाइहरूसँगको भेटघाटमा सबैले मास्क लगाएका हुँदैनन् । सामाजिक दुरीको खासै ख्याल गरिँदैन । सुरु–सुरुमा घर–घरमा साबुन पानीले हात धुने र स्यानिटाइजर लगाउने बानी भए पनि अहिले त्यो पनि घटिरहेको छ । यसले गर्दा पनि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्नेमा शङ्का छैन । तराईको क्षेत्रझैँ काठमाडौँ उपत्यका पनि अत्याधिक जोखिममा परेको छ । जोकोही व्यक्ति जुनसुकै ठाउँमा घुमफिर, आवतजावत भइरहेकोले पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको हो । हरेक दिन भारतबाट नेपालमा भित्रिने र अन्य जिल्लाबाट काठमाडौँ भित्रिने मानिसहरूको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमितहरूको सङ्ख्या एकाएक बढेको खण्डमा पीडितहरूको स्वास्थ्योपचार, हेरविचार या स्वास्थ्य परीक्षण गर्न हाल सरकारसँग भएको स्रोत साधनले भ्याउँदैन । त्यस्तो बेला अस्पतालमा बस्ने पर्याप्त शय्या हुँदैन । स्वास्थ्य सेवा सामग्री पुग्दैन । स्वास्थ्य परीक्षण गर्न भ्याउँदैन । अनि कोरोना भाइरसको प्रकोप भयावह हुनपुग्छ । चाहेर पनि सरकारले पुग्दो स्वास्थ्य सेवा दिनसक्दैन । पछि हुने यी यावत समस्या नदोहो¥याउन आम जनता सचेत हुनुपर्छ । कोरोनाको भयावहले फेरि देशमा पूर्णतः लकडाउन गर्नुपर्ने या निषेधाज्ञा गर्नुपर्ने स्थिति नआओस् । निषेधाज्ञा जारी भएपछि फेरि हाम्रो जीवन थप कष्टकर हुनेछ । यसैले हामी सबै बेलैमा सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *