भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (दुई भञ्ज्याङबीच)

पश्चिम कमान्ड
आफ्नै अगुवाइमा पश्चिम कमान्डले जोडतोडले तयारी गरिरहेको थियो । काश्मीरी सीमाबाट उसले सेना झिकाएको थियो । सबै यातायातका साधन प्रयोग गरेर सेनालाई लद्दाखमा जम्मा गरेको थियो । लेहदेखि छुशल जाने सडक अक्टोबरको पहिलो सातासम्म तयार भएको थियो । नोभेम्बरको मध्यसम्म छुशलमा एक ब्रिगेड सेना तैनाथ भयो । त्यो आफैँमा चीनले दाबी गरेको रेखाबाहिर थियो । तर, थोरै पूर्वका केही चौकी रेखा उता परेका थिए । यसबाहेक पश्चिमी सीमामा कहीँ पनि चीनले दाबी गरेको भूभागभित्र भारतीय चौकी थिएनन् । पूर्वी कमान्डमा भन्दा उल्टो पश्चिममा सिपाहीहरूको ज्यानबारे सोचिएको थियो । उनीहरूलाई एक्लो ठाउँमा लगेर अनावश्यक बलिवेदीमा चढ्न आदेश दिइएको थिएन । रणनीतिक महत्वका स्थानमा अन्तिम दमसम्म लड्न भनिएको थियो । पूर्वी कमान्डको भन्दा उल्टो कम महत्वका ठाउँबाट पछि हट्न भनिएको थियो ।
चिनियाँहरू लेह आउन चाहे छुशल हुँदै आउनुपथ्र्यो । त्यसैले त्यहाँ विशेष ध्यान दिइएको थियो । चीनले दाबी गरेको रेखाभन्दा ठीक वरबाट पहाडहरूमा पहरा दिइएको थियो । केही डाँडा त १६००० फिट अग्ला पनि थिए । छुशल आफैँ १४००० फिट उचाइमा थियो । जाडोले टुकडीहरूको स्थिति दुःखलाग्दो थियो । भुइँ खन्न सकिन्नथ्यो । हावाको कमीले बानी परेका सिपाही पनि व्याकुल हुन्थे । आगो बाल्ने वा बङ्कर बनाउने सोच्नै सकिन्नथ्यो । सबैथोक उपत्यकाबाटै पु¥याउनुपथ्र्यो । खच्चर जानसक्दैनथ्यो । सेनाले याकको व्यवस्था गर्नसकेन । तैपनि नोभेम्बर १७ सम्म स्थिति बलियो थियो । चिनियाँहरू जाँचबुझ गर्ने मनसायले खुलारूपमा गस्ती गर्न आउँथे । भारतीय पक्षलाई सुरुआती गोली नचलाउन आदेश दिइएको थियो ।
नोभेम्बर १७ देखि चिनियाँ पैदल सेनाको चहलपहल देखियो । १८ तारिख बिहानै भारतीय चौकी, हवाई मैदान र ब्रिगेडमाथि आक्रमण भयो । गोलाबारीपछि भारतीय पक्षको अघिल्लो पङ्क्ति खुकुलो भयो । त्यसपछि चिनियाँहरूले छेउछाउबाट घेरा हाल्न थाले । हतियारबिना घम्साघम्सी भयो । रेजाङला भन्ने डाँडामा कुमाउ बटालियनको एक कम्पनीसँग लडाइँ भयो । भिडन्तमा ज्यान जोगाएर भागेका तीनजना घाइते सिपाही उपत्यकास्थित हेडक्वाटर पुगे । (३ महिनापछि फर्केर सोही डाँडा पुग्दा मरेका भारतीय सिपाहीलाई हिउँले खाएको थियो । चिनियाँ सिपाहीको लास चीनतिरै लगिएको थियो । बाँचेकालाई बन्दी बनाइएको थियो । घटनास्थल हेर्दा चिनियाँहरूको मृतक सङ्ख्या ठुलो देखिन्थ्यो ।) आक्रमणको ५ घण्टापछि पहाडी चौकीहरू पूरै नष्ट भएका थिए । ती स्थान जोगाइराख्न सम्भव नदेखेपछि सारा भारतीय शक्ति ब्रिगेडको हेडक्वाटरमा जम्मा भयो । चिनियाँहरूले उनीहरूलाई पछ्याएनन् । आफूले दाबी गरेको रेखाभित्रै बसे । छुशलमाथि हमला भएन ।
सेला–बोम्दीला क्षेत्र
यस क्षेत्रमा भारतीय तयारीसुस्त गतिमा चलिरहेको थियो । नोभेम्बर १७ सम्म यहाँ सबै मिलाएर १० बटालियन सेना थिए । हातहतियार पनि प्रशस्त थियो । एक ठाउँमा राखिएको भए यो बलियो शक्ति बन्नसक्थ्यो । तर, यसलाई मुख्य तीन स्थानमा बाँडिएको थियो । यी स्थान साँघुरा, अप्ठेरा र भर पर्न नसकिने पहाडी सडकले जोडिएका थिए । प्रतिरोध गर्ने पहिलो स्थान थियो सेला । त्यहाँ ब्रिगेड ६२ तैनाथ थियो । यसका कमान्डर होशियार सिँह थिए र उनीअन्तर्गत ५ बटालियन सेना थियो । दोस्रो स्थान बोम्दीलामा ब्रिगेड ४८ तैनाथ थियो । त्यहाँ ३ बटालियन सेना थियो । तेस्रो स्थान यी दुवैको बीचमा दिराङ जोङ थियो । यहाँ डिभिजनको हेडक्वाटर थियो । यहाँ ब्रिगेड ६५ र २ पैदल बटालियन तैनाथ थियो । यसमध्ये सेलालाई ठुलो महत्व दिइएको थियो । तल बँेसीमा रहेको मिसामारीबाट सेला मालतालसहितको ट्रक त्यहाँ गएर आउन ६ दिन लाग्थ्यो । दूरीको हिसाबले १४० माइल टाढा थियो । हवाई आपूर्तिमा पनि सेलालाई नै जोड दिइन्थ्यो । यति गर्दा पनि सेलामा सामानको कमी देखिन्थ्यो । यसको दाँजोमा बोम्दीलामा अत्यन्त थोरै सामानको आपूर्ति हुन्थ्यो ।
सेला–बोम्दीलाको सबैभन्दा ठुलो कमजोरी बीचको ६० माइल दुरी थियो । सेला बलियो किल्ला बन्न सक्थ्यो । तर, त्यहाँ जाने सडकहरू नै यसका कमजोरी थिए । बीचको उपत्यकामा पर्ने दिराङ जोङ भौगोलिक हिसाबले असुरक्षित थियो ।
(जोङको अर्थ तिब्बती प्रशासनिक एकाइ हुन्छ । यो किल्ला र विहार दुवै हुन्छ । यो मार्ग तिब्बती प्रशासनअन्तर्गत छँदा तवाङ जोङपछि दिराङ जोङ ठुलो केन्द्र थियो ।) तैपनि यसलाई सबल तुल्याउन डिभिजन ४ ले केही पनि गरेको थिएन । हेडक्वाटरका स्टाफ झुपडी र टेन्टहरूमा बस्थे । ट्रेन्चहरू बिरलै खनिएका थिए । मूल सडकतिरबाट आक्रमण हुने ध्यानमा राखेर हेडक्वाटरको रूपरेखा तयार गरिएको थियो । चिनियाँहरू सेलामा लडेर यता आउने भए यहाँ धेरै हमलाकारीहरू मर्ने थिए पनि होलान् । तर, अर्को विकल्पसमेत थियो ।
बेली मार्ग
म्याकमाहोनलाई रेखा खिच्न सघाउन क्याप्टेन बेली १९१३ मा भौगोलिक जाँचबुझमा गएका थिए । फर्किने बेला उनी र उनका साथी तुलुङ ला (भञ्ज्याङ) बाट १४००० फिट उँचो पोशिङला हुँदै तेम्बाङ आएका थिए । १९६२ मा तेम्बाङ गाउँबाट सेला र बोम्दीला जाने सडकमा पुग्न सकिन्थ्यो । जनरल पठानियाले सुरुमा चिनियाँहरू बेली मार्ग हुँदै सेला र बोम्दीलाबीच आउन सक्छन् भन्ने अड्कल काटेका थिए । तर, मार्गबाट ठुलो सङ्ख्यामा हिँड्न सकिन्न भन्ने उनको अनुमानलाई सैन्य हेडक्वाटर र गुप्तचर निकायले सदर ग¥यो । क्याप्टेन बेलीले समेत एकचोटिमा एक दर्जनभन्दा बढी मान्छेले यो मार्ग छिचोल्न नसक्ने लेखेका थिए । त्यसैले त्यो बाटोबाट एकाध चिनियाँहरू पसे पनि उनीहरूलाई दिराङ जोङ वा बोम्दीलाले सखाप पार्ने सोचिएको थियो ।
पठानियालाई डिभिजन ४ को मद्दतले सेलाको रक्षा गर्ने र चिनियाँहरूलाई नेफा हुँदै दक्षिण बेँसी पस्नबाट रोक्ने जिम्मा दिइएको थियो । सुरुमा पठानियालाई चिनियाँहरू आउँदासम्म आवश्यक तयारी पूरा नभएमा फर्केर बोम्दीलामा रहन कोर ४ ले आदेश दिएको थियो । यसरी सुरुदेखि नै डिभिजन ४ लाई फर्केर बोम्दीला जाने विकल्प दिइएको थियो । यहाँ चिनियाँहरूले सेला र बोम्दीलाबीचको सडक काटेमा के हुने हो भन्ने विषयबारे सोचिएका थिए । त्यस्तो अवस्थामा सेला घेराउमा पर्ने थियो । यस्तो स्थितिमा लडाकुहरूमा ठुलो हिम्मत र हवाई आपूर्ति दिनुपर्ने हुन्छ । नोभेम्बर १७ सम्ममा सेलामा एक हप्ता पुग्ने मालसामान जम्मा भएको थियो । सेला घेराउमा परेको अवस्थामा हेडक्वाटर र ब्रिगेड ६५ रहेको दिराङ जोङ कब्जामा पर्ने थियो । सेला नै कब्जा गर्नसक्ने शक्तिले दिराङ जोङको हेडक्वाटर नष्ट गर्नसक्ने थियो । यसमा ध्यान नदिनुका पछाडि “यसपालि चिनियाँहरूले आक्रमण गर्नेछैनन्” भन्ने विचारले काम गरेको देखिन्छ । तर, सेला–बोम्दीलाको फैलावका कारण पठानियाले नोभेम्बरको सुरुदेखि नै ससाना टुकडीहरू चीन आउन सक्ने स्थानहरूमा पठाइरहेका थिए । भुटानतिरबाट चिनियाँहरू पस्न सक्छन् भनेर एउटा कम्पनी दिराङ जोङबाट दक्षिणमा पर्ने फुटाङ पठाइएको थियो । बेली मार्गमा पर्ने पोशिङलामा आसाम राइफल्सलाई सघाउन एउटा पल्टन पठाइएको थियो । ती स्थानमा पठाइएका टुकडीहरू बोम्दीलाबाट झिकाइएका थिए ।
बिस्तारै पठानिया र डिभिजन ४ को ध्यान बेली मार्गतिर गयो । नोभेम्बर १२ मा बोम्दीलाबाट अर्को पल्टनलाई पोशिङला जान आदेश दिइयो । भोलिपल्ट अझै दुइटा पल्टनलाई त्यहाँ जान आदेश दिइयो । नोभेम्बर १५ मा बेली मार्गमा एक बटालियन शत्रुु सेनासँग भएको भिडन्तमा भारतीय टुकडी नष्ट भएको सन्देश आयो । रिपोर्ट डिभिजन हेडक्वाटर दिराङ जोङ पठाइयो । साथै चिनियाँहरूको सङ्ख्याको विषयमा गरिएको अनुमानलाई पठानियाले हलुका ढङ्गले लिए । गुप्तचर निकायले अर्को गर्मीसम्म त्यति धेरै सङ्ख्यामा यस मार्गबाट कोही पनि आउन नसक्ने निष्कर्षमा विश्वस्त पारेको थियो । स्थिति काबुमा ल्याउन उनले बेली मार्गमा अर्को पल्टन पठाए । भोलिपल्ट बोम्दीलामा रहेको पाँचौँ गार्डका बाँकी सबै सिपाही बेली मार्गमा पठाए । शत्रु डिभिजन हेडक्वाटरतिर मोडिन सक्छ भनेर पठानियाले दिराङ जोङबाट एक पल्टन सिपाही सम्भावित बाटोतिर पठाए । त्यसको सट्टा भर्ना गर्न बोम्दीलाबाट एउटा कम्पनी दिराङ जोङतिर लाग्यो ।
एकएक गर्दै नोभेम्बर १६ सम्म बोम्दीलामा तीन बटालियन (१२ कम्पनी) सेना घटेर ६ कम्पनीमा झ¥यो । त्यसको रक्षाको लागि लगभग १८ कम्पनी सेना चाहिन्थ्यो ।
पाँचौँ गार्डका सिपाहीहरू रातमा हिँडेका थिए । तेम्बाङ पुग्दा नोभेम्बर १७ को बिहान भयो । त्यहाँ उनीहरूले ट्रेन्चहरू खने । दिउँसोपख उनीहरूमाथि हमला भयो । चिनियाँहरूको सङ्ख्या १५ सय अनुमान गरिएको थियो । भारतीयहरूले उनीहरूलाई ३ घण्टासम्म रोकिरहे । उनीहरूतिर ठुलो क्षति भयो । तर, छिट्टै भारततिर हतियारको कमी भयो । त्यसैले ब्रिगेड ४८ सँग बोम्दीलामा भेट्ने गरी पछाडि फर्किने अनुमति माग्यो । रात छिप्पिँदै जाँदा घना जङ्गलमा गार्डका सिपाहीहरू तितरबितर भए । कोही पनि बोम्दीला फर्किएन । एक हप्तापछि बचेखुचेका सिपाहीहरू तल बेसीमा देखिए । फेरि पनि असन्तुलित सेनाबीच लडाइँ भएको थियो । हतारहतार दौडेका सिपाहीहरू आफूले सकेजति बोकेका गोलीगट्ठाका भरमा लडे । उता चिनियाँहरू भने सङ्ख्या र शक्तिले ठुला थिए । त्यसैले भारतीय सिपाहीहरूले मूल्य चुकाउनुप¥यो । यससँगै चिनियाँहरूले बोम्दीला र दिराङ जोङबीचको सडक काट्न पुगेका थिए ।
अघोर दुःख
तेम्बाङमा लडाइँ भएकै दिन बिहान सेलामा चिनियाँहरूलाई भारतीय सेनाले जोडदार जवाफ दिइरहेको थियो । एकाबिहानै चिनियाँहरूले सेलाभन्दा धेरै माइल उत्तरमा आक्रमण गरेका थिए । दिउँसोसम्ममा ५ पटक हमला भइसकेको थियो । तर, केही हप्ताअघि तवाङनिर हार खाएर हायलकायल भएको गढवाल ४ राइफल्सका सिपाहीहरूले पाँचै हमला विफल पारिदिएका थिए । योजनाअनुसार ब्रिगेड ६२ का कमान्डर ब्रिगेडियर होशियार सिँहले गढवालीलगायत अन्य टुकडीहरूलाई भञ्ज्याङ वरपर आउन भने । पर्याप्त हतियार र रासनसहित जम्माजम्मी पाँच बटालियन सेना सेलाको रक्षा गर्न सक्षम थियो । तर, चिनियाँहरूले दुईतिरबाट आक्रमण गरिरहेको चाल पाएपछि जनरल पठानियाले पछि हट्ने योजना बनाए र यसको तयारी गरे । १७ तारिख दिउँसोतिर उनले कोर ४ को हेडक्वाटर तेजपुरमा टेलिफोनमार्फत दिराङ जोङको हेडक्वाटर दक्षिण सार्न अनुमति मागे । कौल वालोङ क्षेत्रमा हेलिकप्टरमा थिए । कोर ४ का स्टाफ अफिसरले पठानियाको अनुरोध मान्न अस्वीकार गरे ।
चिनियाँहरूले तेम्बाङ कब्जा गरेपछि पठानियाले सेलाबाट बिग्रेड ६२ हटाउन अनुमति दिनुपर्नेमा जोड दिए । उनले सेलामा सबैथोक जहाजबाट मात्र पु¥याउनुपर्ने देखेका थिए । शत्रुले एक हप्तासम्म घेराउ गरेको खण्डमा सेलाको सेनाका जगेडा साधन रित्तिने थियो र उसलाई शत्रुले हराउन सक्थ्यो । यसबीच दिराङ जोङका सैन्य अधिकारीसहितका टुकडीहरू प्रतिकारको अवस्थामा थिएनन् । उनीहरूबीच लडाकू सैनिकको सङ्ख्या थोरै थियो । चिनियाँहरूले उनीहरूलाई सजिलै नष्ट गर्नसक्थे । पहिले बेली मार्गलाई कम आँकेर गल्ती गरेका पठानियाले शत्रु सेनालाई बढाइचढाइ गरेर अर्को गल्ती गरे । सारमा उनको विचार यस्तो थियो – “सेलाको ब्रिगेड झरेर दिराङ जोङको सैन्य शक्तिसँग मिल्नुपर्छ र सडक रोक्ने चिनियाँहरूलाई नष्ट पारेर सम्पूर्ण शक्ति बोम्दीलामा केन्द्रित गर्नुपर्छ । त्यसपछि भारतको स्थिति बलियो हुनेछ ।” समय हुन्थ्यो भने उनको विचार असरदार हुने थियो । कोर ४ का अफिसरहरूले सुरुमा यसै भनेका थिए । पठानियाले यसमा ठुलो जोड लगाए । तर, ढिलो भइसकेको थियो । उनीहरू एक ठाउँमा भेट्नसक्ने स्थिति थिएन । यसरी डिभिजन ४ सँग दुइटा विकल्पमात्र थियो । एक, आफूसँगको सरसाधन नरित्तिँदासम्म आफ्नो स्थान नछोड्ने । दुई, सबैथोक जोखिममा राखेर शत्रुले कब्जा गरेको सडक हुँदै बोम्दीला पुग्ने ।
१७ तारिख साँझ पठानियाले कोर ४ हेडक्वाटरमा फेरि फोन गरे । कौल वालोङ क्षेत्रबाट फर्केका थिएनन् । त्यसबेला थापर र सेन तेजपुर आएका थिए । पठानियाले उनीहरूसँग कुरा गरे । सेलाबाट सेना हटाउन अनुमति मागे । उनीहरू कौलभन्दा माथिल्ला अधिकारी थिए र चिनियाँ हमलाको प्रतिकारसम्बन्धी योजनाका निर्माता थिए । उनीहरूलाई स्थितिबारे जानकारी थियो । तैपनि उनीहरूले पठानियालाई आदेश दिन मानेनन् र कौललाई पर्खनुपर्ने बताए । भारतीय सेनाले नेफाका डाँडाहरूमा भोगिरहेको दुःखभन्दा पनि अघोर दुःखदायी क्षण थियो त्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *