भर्खरै :

कोरोना संसारकै चुनौती

कोरोना रोगले संसारलाई नै हाँक दिएको छ । संसारका नामुद चिकित्सक र वैज्ञानिकहरूको निम्ति कोरोना ठुलो चुनौती बनेको छ । औषधि नै नभएको कोरोना कस्तो नयाँ रोग ¤ कोरोना रोगको औषधि पर्खदा पर्खँदै संसारमा झन्डै दुई करोड मानिस सङ्क्रमित भए, सात लाखभन्दा बढी मान्छेले ज्यान फाले । हरेक दिन सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढिरहेको छ । यो सङ्ख्या कहिलेसम्म बढ्ने हो यकिन छैन । सामान्यतया अन्य रोग प्रकोपको रूपमा फैले पनि एक–दुई महिनापछि नियन्त्रण हुन्थ्यो या निको हुन्थ्यो । तर कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिएन या पूर्णतः निको पार्न सकिएन । यसको एउटै कारण हो, कोरोना भाइरसको औषधि नहुनु या पत्ता लगाउन नसक्नु ।
कोरोना भाइरस रोग नियन्त्रण गर्न संसारका वैज्ञानिकहरूले खोपको तयारी गर्दै छन् । खोपको तयारीमा रूस, चीन, संरा अमेरिकालगायतका वैज्ञानिकहरू जुट्दै छन् । रूसले खोप छिट्टै नै उपभोगमा ल्याउने जनाएको छ, खोप बिक्रीको लागि तयारी गरिँदै छ । सङ्क्रमित र मृतकको सङ्ख्या दिन दुगुना बढिरहेको हिसाबले रोगविरूद्धको खोप छिट्टै नै बजारमा ल्याउन हतार भइसकेको छ । खोप बजार नै आए पनि सर्वसाधारणको क्षमताले किन्न सकिन्छ कि सकिँदैन ? चिन्ताको विषय छ । सरकारले औषधि निःशुल्क वितरण गरे त हुन्थ्यो । यदि औषधि या खोप महँगो भयो भने या सर्वसाधारण जनताले किन्न सकेनन् भने गरिब जनता रोगका कारण मरेको मरेकै हुन्छन् । आखिर रोग लागे पनि, बाढी पहिरो आए पनि, डुबानमा परे पनि तिनै सर्वसाधारण कर्मशील जनता नै प्रताडित हुन्छन् । हाल कोरोनाका कारण सङ्क्रमित र मृत्यु हने अधिकांश मानिस गरिब वर्गकै परिवारको रहेको बुझिएको छ । रोगप्रति बेवास्ता गर्ने, स्वास्थ्य कमजोर भएका या कुनै न कुनै रोगले च्यापेका र गरिबहरू नै कोरोनाबाट बढी पीडित छन् ।
देश र जनताप्रति जिम्मेवार भएका सरकार, पार्टी र कार्यकर्ता सक्रिय र जनता सचेत भएको देशमा कोरोना भाइरस छिट्टै नियन्त्रण भएको देखिन्छ । चीन, भियतनाम, दक्षिण कोरिया, जापान यसका दृष्टान्तहरू हुन् । कोरोना फैलिएला र आफ्नो देशमा सर्ला भनेर पहिले नै सचेत भएका मुलुक पनि कोरोना भाइरसबाट मुक्त भएका छन् । प्रजग कोरिया र क्युवा यसका उदाहरण हुन् । नेपालमा न सरकार सक्रिय भयो न त सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलका कार्यकर्ताहरू सक्रिय भए । कोरोना भाइरस नेपालमा प्रकोपको रूपमा नफैलिएका कारण तुलनात्मक रुपमा धन्य नेपाली जनता रोगबाट जोगिएका छन् । अन्य विकसित देशमा झैँ यहाँ प्रकोपको रूपमा फैलिए स्वास्थ्य सामग्री, अस्पताल र चिकित्सकहरू पर्याप्त नभएको कारण कीराफट्याङ्ग्राझैँ मर्नेछन् र कुनै ठाउँ–गाउँ शून्य हुन बेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *