भर्खरै :

बाँकी दिनमा पनि घिन्ताङघिसी र नाचगान प्रदर्शन नगरौँ

गाईजात्रा सामाजिक र राजनीतिक व्यङ्ग्य गर्ने सांस्कृतिक पर्व हो । यस पर्वमा घिन्ताङघिसी र परम्परागत तथा आधुनिक नाचगान, नाटक, एकाङ्की आदि साहित्यिक प्रदर्शन हुने मनोरञ्जनात्मक र देश विदेशमा भएका विविध घटनाबारे जानकारी दिने उपदेशमूलक या शिक्षामूलक पर्व हो । जनैपूर्णिमादेखि सुरु हुने यो पर्व कृष्ण जन्माष्टमीसम्म चालू रहन्छ । तर, कोराना महामारीको कारण कहीँ कतै भीडभाड नगर्न या जमघट नगर्न सरकार, स्थानीय तह, स्थानीय प्रशासन र गुठी संस्थानजस्ता सरोकारवाला निकायले आग्रह गरेको हुँदा यो वर्ष घिन्ताङघिसी, कुनै प्रकारको नाचगान र साहित्यिक गतिविधि नभएको हो । जसरी स्थानीय जनताले सापारुको दिन नाचगान र घिन्ताङघिसी प्रदर्शन नगरी सहयोग गरे अबका बाँकी दिनमा पनि घिन्ताङघिसी र नाचगान प्रदर्शन नगरी कोरोना भाइरसको प्रकोपबाट बच्ने उपाय खोज्नुपर्छ ।
गाईजात्राको दिन कुनै पनि बाजागाजा र घिन्ताङघिसी प्रदर्शन नगरेको कारण ‘साँचा’, ‘ताहामचा’, प्रतिमा र गाई घुमाए पनि सुनसानझैँ लाग्छ, गाईजात्राको दिन पनि शून्त्mैँ लाग्छ । चालै नपाइकन कोरोना रोगको सङ्क्रमण समुदायमा फैलिरहेको बेला जात्रालाई औपचारिकतामा सीमित राख्नु सकारात्मक पक्ष हो । समयअनुसार हिँड्न या अघि बढ्न जान्नुपर्छ । यो नै बुद्धिमत्तापूर्ण कार्य हो । यही शिक्षा अबका बाँकी दिनमा पनि लिनुपर्छ । गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित राख्न साथ दिने, सल्लाह दिने र व्यवहारमा लागू गर्ने सम्बन्धित सबै निकाय र व्यक्तिहरूलाई भक्तपुर नगरपालिकाले धन्यवाद पनि दिएको छ ।
घिन्ताङघिसी र नाचगान एक समय या एकवर्ष रोकेर अर्को वर्ष हुँदैन भन्ने कुरा होइन । मुख्य कुरा घिन्ताङघिसी र नाचगान प्रदर्शन होइन, स्वास्थ्य हो, जीवन हो । कोरोनाको कारण अमेरिका, ब्राजिल, भारत र इरानमा झैँ नेपालमा पनि मान्छे कीराफट्याङ्ग्राझैँ मरे भने नाचगान र घिन्ताङघिसी उनीहरूको निम्ति सदाको लागि अन्त्य हुन्छ । जीवन रहेसम्म घिन्ताङघिसी र नाचगान भइरहन्छ । विगतमा झैँ नाचगान र घिन्ताङघिसी प्रदर्शन नहुँदा, हेर्न नपाउँदा हामीलाई कता कता नमज्जा जस्तो अवश्य हुन्छ । कहीँ कतै रससङ्ग या मनोरञ्जन नभएको जस्तो हुन्छ । तर, यसले हाम्रो चाहनालाई सधैँ रोक्दैन । हामी पछिल्ला वर्षमा संयमतापूर्वक मिलेर नाचगान गरौँला, मनोरञ्जन गरौँला, व्यङ्ग्य गरौँला, देश विदेशको शिक्षा लेऔँला र नाचगानलाई निरन्तरता दिएर जीवन्तता देऔँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *