भर्खरै :

नीलबाराही गणनाचको विधिबारे एक चर्चा

नेवार जाति आफ्नो संस्कार र संस्कृतिमा गर्व गर्दछ । गर्व गर्ने आधारहरू पनि धेरै छन् । ऐतिहासिक कालदेखि चल्दै आएको संस्कार र संस्कृतिको विभिन्न विशेषता र महत्वका कारण हिजो जसरी चल्दै आएको थियो त्यसरी नै चल्दै आएको छ । गर्व गर्नलायकका संस्कृतिमा तीनसय वर्षभन्दा पुरानो तर हालसम्म अटुटरूपमा चल्दै आएको ऐतिहासिक नीलबाराही गण नाच पनि एक हो ।

सिठीनखबाट बन्द भएको सांस्कृतिक चाडपर्व गथामुगः च¥हेबाट फेरि सुरु भएको मानिन्छ । वर्षभरिको लागि माना रोपी मुरी फलाउन मरिमेटी लागेर थकान भएकाहरूलाई आनन्दले खान र रमाइलो गर्न चलाउँदै आएको चाड होे गथामुगः च¥हे । गथामुगः च¥हेमा चाड मनाई आनन्दले खानेमात्र गर्दैन रमाइलोको लागि बाजागाजा पनि बजाउने गरिन्छ । गथामुगःको दिन नृत्यनाथको उत्पतिको दिन भएर बाजा नबजाइ नहुने जातिहरू पनि छन् नेपालमा । नृत्यनाथ कला कौशलको लागि पुजिने देवताको रूपमा लिने देवता भएकोले त्यस दिनमा बाजागाजा बजाउनुपर्छ भन्ने चलन छ । बाजागाजा सिकाउने तथा नृत्य सिकाउने पनि गरिन्छ त्यस दिन । त्यही भएर नीलबाराही गणनाचको बेलामा लगाउनुपर्ने मुकुण्डो, पोशाक र गरगहना साथै गणनाचमा बजाउनुपर्ने बाजागाजा पनि पूजाकोठाबाट अनुस्थान गरी निकाल्ने गरिन्छ । जसलाई द्यः पिकायेगु पनि भनिन्छ ।

गुरूपूर्णिमाको कृष्णपक्ष द्वितीयाको दिनदेखि प्रदर्शन हुने गणनाचको पूर्वतयारीस्वरूप द्यः पिकायेगु गरिन्छ । त्यस अनुस्थान गरी निकालेको मुकुण्डो, पोशाक र गरगहना तथा बाजागाजा मर्मत र नयाँ बनाउन पर्ने भए नयाँ बनाउनको लागि निकालिने हो । गणनाचमा लगाउने मुकुण्डो तान्त्रिक विधि विधानपूर्वक जीवन्यास गरेर बनाउने भएकोले त्यस किसिमको मुकुण्डोलाई देवता मानी नाचको बेलामा पूजाअर्चना गर्ने चलन छ  ।
कुनै पनि नृत्य प्रदर्शन वा सिकाएका बाजागाजाको प्रदर्शन गर्नुपूर्व अभ्यासको जरुरत पर्दछ । सापारुको दिनमा प्रदर्शन गर्ने हो वा त्यसपछिका दिनमा प्रदर्शन गर्ने कुनै पनि नाच वा बाजागाजा गथामुगको भोलिपल्टदेखि विधिपूर्वक पूजा आराधना गरी सिकाउने गरिन्छ ।
अनुस्थानिक गणनाचहरूमा भैरव नाच र महाकाली नाच पनि गथामुगः च¥हेको भोलिपल्टदेखि शुभ दिन हेरी तान्त्रिक विधिपूर्वक नृत्यनाथको पूजा आराधना गरी सिकाइन्छ । तर नीलबाराही गणनाच भने गुरूपूर्णिमाको द्वादशीदेखि गुरुपूर्णिमासम्म चारदिन सिकाउने गरिन्छ । त्यसको कारण बुझ्दा नीलबाराही गणनाचको गण फेरेर हालको द्यःछेँ (देवताको घर) बाट मात्र नाच्दै आएको साठी वर्ष भएको र साठी वर्ष एउटै गणमा नाच्दै आउनेलाई धेरै दिन सिकाउन जरुरत नभएको जनधारणा छ । तर, नाच्दै आएको कुनै गणको सदस्यको मृत्यु भएमा त्यसको ठाउँमा पूर्ति गरेका नयाँ गण सदस्यलाई द्यःछेँ (देवता घर) को नासःकुथिमा चार दाम चढाएर गथामुगः च¥हेको भोलिपल्टदेखि शुभ दिन हेरेर सम्बन्धित गुरुको घरमा सिकाउने गरिन्छ । तर उक्त गणका नयाँ सदस्यले गुरुपूर्णिमाको दिनमा नृत्यनाथको पूजा आराधना गरी गुरु सबैलाई भोज खुवाएर विधिवतरूपमा अःखाको नाचमा भाग लिन पाउनेछ ।

नीलबाराही गणनाच तान्त्रिक तथा दैविक विधि विधानको आधारमा चल्ने नाच हो । त्यसै त नीलबाराही देवता आफँै सिकाएर पठाएको गणनाच भनेर प्रसिद्ध छ । त्यसका विभिन्न विधि विधानहरूमध्ये महत्वपूर्ण विधि विधान हो ‘स्यूका’ पूजा । ‘स्यूका’ पूजा शक्ति र कला कौशलताको निमित साधनास्वरूप गरिने पूजा विधि हो । कुनै पनि अनुस्थानिक गणनाचहरूमा ‘स्यूका’ पूजा गर्ने चलन छ । स्यूका पूजामा अक्सर नृत्यनाथलाई पूजा गर्ने गरिन्छ । तर नीलबाराही गणनाचको ‘स्यूका’ पूजामा आ – आफ्नो गणको मन्दिरमा पूजा गर्न जाने गरिन्छ । गणका सेनानायक भैरव महालक्ष्मीको मन्दिरमा पूजा गर्न जाने गर्दछ भने बाराही टिगनीको नीलबाराही मन्दिरमा जाने गर्दछ । कुमारी बोडेको कालिका मन्दिरमा, महालक्ष्मीका प्रतीक सिम्बा धुम्बा चार जना महालक्ष्मी मन्दिरमा, द्वारपाल टिगनीको द्वारपाल मन्दिरमा साथै गणेश चार जनामा दुई जना लाय्कुको पाचो गणेशमा र दुई जनामा महालक्ष्मी मन्दिरको परिसरभित्रको गणेशको मन्दिरमा पूजा गर्न जाने गरिन्छ । ‘ताः’ पूजा र अरू बाजागाजाका मानिसहरू नृत्यनाथको मदिरमा जाने गर्दछन् । तर बाजागाजाका मुख्य मान्छे कोता पूजा गर्न टिकनीको नीलबाराही मन्दिरमा दर्शन गर्न जाने गर्दछ र पूजा गर्नु नपर्ने भनाइ छ ।

पहिले पहिले देशमा रेडियो, टी.भी. र सञ्चारमाध्यमहरू नभएको बेलामा वर्षभित्र गरेका सरकारका काम सार्वजनिक गर्न गाईजात्रा पठाउने गरिन्छ । त्यस्तै नीलबराही गणनाचको ‘स्यूका’ पूजा पठाउनुअघि साँचा छ्वेय्गु अर्थात् गाईजात्रा पठाउने गरिन्छ । गणको ‘स्यूका’ पूजा पठाउँदा कोही भेट्न नहुने र कसैसँग बोल्न नहुने भएर घरबाट कोही ननिस्कनु भनेर जानकारीको लागि पठाएको भनिन्छ ।
‘स्यूका’ पूजा तान्त्रिक विधि विधानपूर्वक गर्ने भएकोले पूजामा आफ्ना गणका देवताहरूको अगाडिको देवताले नै पूजा गर्ने चलन छ । पूजा नसकेसम्म पूजा गर्ने मान्छेले आफूसँगै आएका गणका आफ्नै सदस्यसँग पनि बोल्न नहुने भनाइ छ । सँगै आएको एकै गणका भए पनि तिनीहरू मन्दिरको बाहिर बसिरहेका हुन्छन् । पूजा गर्नेले पूजा सकाएपछि मात्र तिनीहरू भित्र गई देवतालाई विधिपूर्वक ढोगेर प्रसाद लिने गर्दछ । ‘स्यूका’ पूजामा गएका सबै फर्केपछि देवतालाई ब्वकं छाया (देवताहरूलाई छुट्याएको भाग) समय बजि खाने गरिन्छ । त्यस दिन बलि चढाउनुपर्नेले बलि चढाएर ल्याएको भए पनि ‘स्यूका भ्वय्’ भने भोलिपल्ट तथा नाच प्रदर्शन गर्ने पहिलो दिनमा मात्र खाने गरिन्छ ।
गणनाच प्रदर्शनको पहिलो दिन नाच प्रदर्शन गर्नपूर्व भैला द्यःको घरमा ‘स्यूका भ्वय’ खाने गरिन्छ । गणनाचका गुरुहरू थकाली राखेर भैरव, भैरवको ज्वकाल (सहायक) लः भाली, कजिहरू (गणनाच निकाल्ने घरका मुख्य मान्छेहरू) बसेर खाने त्यस भोजमा भने गणका अरू सदस्यहरू कोही हुँदैनन् । बाराही र गणेशले आ–आफ्नै घरमा भोज खाने गर्दछन् ।
भैरवको घरमा भोज खाने काम सकेपछि भैरव र गणेशको मुकुण्डोमा आरती दिने गरिन्छ र आरती लिइसकेपछि भैरवको ज्वकालु (सहायक) र लः भाली गएर गणनाचका सबै सदस्यहरूलाई मुकुण्डोसहित उपस्थित हुन खबर गर्ने गरिन्छ । मुकुण्डोसहित गणनाचका देवता र बाजागाजासहित बाजा बजाउनेहरू सबै उपस्थित भइसकेपछि गुरु र कोतापूजा, ताःपूजा अनि भैरव र अन्तिम गण्ोश बसेर नासःकुथिमा नृत्यनाथलाई पूजा गरिन्छ । गुरुले पूजाको प्रसाद गणका सबै देवताहरूलाई बाँधेपछि कोताः पूजा अनि ताःपूजा आ – आफ्नो स्थानमा बस्न जान्छन् । त्यसपछि गुरुले कजिलाई तीनपटक बोलाउँछन् र कजि आएर आफूले ल्याएको ताः, भुुस्या र अरू बाजाहरू बजाउने सम्बन्धित व्यक्तिहरूलाई प्रदान गर्दछन् भने लः भालीले कोताः पूजालाई कोताः खिं (गणनाचको मख्य बाजा) प्रदान गर्दछ । यसरी बाजा प्रदान गरेपछि गणनाचका मुकुण्डो बोकेर आएका सहायकहरू सम्बन्धित गणका देवताहरू नजिक बस्न जान्छन् । गुरुले कोताःपूजालाई तीनपटक जिलला ? (सुरु गरे हुन्छ ?) भनी सोध्छन् ।
कोताःपूजाले भयो भन्ने आदेश दिएपछि गणका देवताका सहायकहरूले मुकुण्डो लगाउन दिन्छन् । त्यसपछि ताःपूजाले तयारीका लागि सतर्क रहन जनाउदिने किसिमले तीनपटक ताः बजाएलगत्तै प्वंगा पूजाहरूले देवी देवताहरूको साथै नृत्यनाथको साधनासहितको मन्त्र उचारण गरी प्वंगा बजाउँछ । त्यसपछि कोताःपूजाले न्हयाःखिं ताल बजाउँछन् र न्हयाःखिंको तालमा गणनाचको झन्डा, संय (खड्ग र ढाल) चिलाख, राजदण्ड, भैरव, बाराही, कुमारी, सिंद्य, द्वारपाल र गणेशसहित सबै बाजागाजाहरू क्रमशः नाचको निमित प्रस्थान गर्दछन् ।नीलबाराही गणनाच एउटा तान्त्रिक विधि विधान र मन्त्र उच्चारण गरेर नाच्ने भएकोले त्यसमा प्वंगा पूजाको पनि ठुलो हात हुन्छ । गणनाचको सुरुदेखि भित्र नपसेसम्म प्वंगाकै माध्यमबाट मन्त्रोच्चारण गर्ने गरिन्छ । मुखबाट उच्चारण गर्दा टाढासम्म नसुन्ने भएकोले प्वंगाको स्वराग तालमा मन्त्र उचारण गर्ने गरेको जनधारणा छ । यसरी नीलबाराही गणनाच नेवार जातिको एउटा गर्व गर्नलायकको ऐतिहासिक गणनाच हो । तीनसय वर्षभन्दा पुरानो यस नीलबाराही गणनाचलाई संरक्षण र संवद्र्धन गर्नु सबैको जिम्मेवार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *