भर्खरै :

नयाँ पुस्तालाई देश र जनताको सेवा गर्ने राजनीतिबारे सचेत गराउनु जरुरी

नयाँ पुस्तालाई देश र जनताको सेवा गर्ने राजनीतिबारे सचेत गराउनु जरुरी

भक्तपुर २१, वैशाख । नेपाल कर्मचारी समाज जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले रुसमा सन् १८६१ मा भूदास प्रथालाई अन्त्य गरिएको भनिए पनि यथार्थमा सन् १९१७ को अक्टोबर क्रान्तिपछिको समाजवादी व्यवस्थामा मात्र पूर्णरूपले उन्मूलन भएको र जोत्ने किसानलाई जमिन दिइएको उल्लेख गर्नुभयो ।
फ्रान्सको राज्यक्रान्तिमा पुँजीपतिवर्गले राजतन्त्र उखेलेको तर रुसको डिसेम्बर विद्रोहमा खानदानी, कुलीनवर्गका छोराछोरी र सैनिकहरूले राजतन्त्र र भूदास प्रथाविरूद्ध विद्रोह गरेको बताउँदै सांसद सुवालले जनताको समर्थन नभएका सरकार वा राजाहरू समाप्त भएको इतिहास स्मरण गराउनुभयो ।
“नेपालमा राजा, राणा र पञ्चहरूले जनतालाई अँध्यारोमा राखेको कारण पञ्चायती व्यवस्था समाप्त भएको हो । बहुदल र गणतन्त्रमा पनि शासकहरूले जनताको सेवा गरेनन्  । उनीहरूको गति पनि राजा, राणा र पञ्चहरूकै हुनेमा दुविधा छैन” सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो – “सत्ता प्राप्त गरेर मात्र हुँदैन, परिवर्तन गरेर देखाउनुपर्छ । शासक दलहरूले जनताको समस्या समाधान गर्न सकेनन् । राजनीति नबुझेका भ्रष्ट शासकहरू आफैँ समाप्त हुनेछन् । यसकारण, नयाँ पुस्तालाई देश र जनताको सेवा गर्ने राजनीतिबारे सचेत गराउनु जरूरी छ ।”
औद्योगिक विकासपछि पुँजीपतिवर्ग र सर्वहारावर्गको विकास भएको उल्लेख गर्दै सांसद सुवालले कार्ल माक्र्सले पुँजीवादको उत्थान, विकास र पतनको नियमबारे व्याख्या गरी सर्वहारावर्गको विजयलाई कसैले रोक्न नसक्ने प्रस्ट्याउनुभएको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले जनता राजनैतिकरूपले सङ्गठित नभएसम्म समाज अगाडि नबढ्ने उल्लेख गर्दै क्रान्तिकारीहरू जहाँ गए पनि सेवाभावले काम गर्नु जरूरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले युरोपमा धार्मिक सुधार आन्दोलनपछि विज्ञान र प्रविधि अगाडि बढेको हुँदा औद्योगिक विकास सम्भव भएको चर्चा गर्नुभयो ।
नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सरस्वती सिंख्वाल, प्रज्ज्वल खत्री, कृष्णश्वरी बाखु, शर्मिला थुसा, रामकृष्ण प्रजापति, कृष्णश्वरी सुवाल, रामकाजी खाइजू, राजन कोजु, दिलिप सुवाल, सरला प्रधान, राजन जती र लक्ष्मीप्रसाद सुवालले पुस्तकका विभिन्न विषयमा अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *