भर्खरै :

समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड

समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवनको शिलान्यास

भक्तपुर, २१ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा अरनिको सभाभवनको शिलान्यास कार्यक्रम शुक्रबार भक्तपुर नपा वडा नं. ६ देकोचामा सम्पन्न भयो ।
सभाभवन शिलान्यास गर्दै अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएको सामग्रीले पछि अभिलेखको निम्ति सहयोगसिद्ध हुने बताउँदै जग बलियो भए भवन पनि बलियो हुने विचार व्यक्त गर्नुभयो ।
सुविधासम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नपाले देकोचामा जग्गा अधिग्रहण गरेको उल्लेख गर्दै उहाँले स्थानीय निकाय भङ्ग हुँदा देश धेरै पछि परेको बताउनुभयो ।
सरकारको भरमा मात्र बस्न नहुने उल्लेख गर्दै उहाँले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरूको सांस्कृतिक स्तर पनि माथि उठ्ने स्पष्ट पार्दै उहाँले सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा आपराधिक गतिविधि मौलाउने बताउनुभयो ।
जनतालाई इमानदारीपूर्वक काम गर्न हामीले सधैँ प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शासक दलहरूले इमान गुमाउँदा देशलाई घात भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले अरनिको सभाभवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरवासीहरूलाई धन्यवादज्ञापन गर्दै कुनै पनि ठुलठुला योजनाहरू निर्माण गर्दा निर्माण सामग्रीको गुणस्तरको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
अरनिको सभाभवनलाई जनअध्ययन गृहको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि भनपालाई उपलब्ध गराएको खण्डमा चिकित्सा शिक्षा सस्तोमा अध्ययन गराउने नगरपालिकाको तयारी रहेको बताउनुभयो । उहाँले पूर्वाधार भएको सक्षम नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसद्बाट पारित होस् भन्ने जनताको चाहना रहेको उल्लेख गर्नुभयो ।
संसदको गतिविधिबारे प्रस्ट पार्दै सांसद सुवालले नेपाल सरकार भारतको कठपुतली सरकार साबित हुँदै गएको स्पष्ट पार्दै अस्पतालहरूलाई स्वास्थ्य बीमाको रकम समयमै उपलब्ध नहुँदा अस्पताललाई समस्या परिरहेको बताउनुभयो ।
उहाँले सहर, बस्तीको बिचमा धेरै विद्युत् बग्ने हाइटेन्सन लाइन राख्नु उपयुक्त हुँदैन भन्नुभयो । सिंहदरबार कब्जा गर्ने तर देश र जनताको हितमा सिन्को नभाँच्ने, देश र जनताको चिन्ता नलिने र समस्या समाधानको उपाय नखोज्ने सरकार जनताको सरकार नहुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरनिको सभाभवन भक्तपुर नगरपालिकाको एक महत्वपूर्ण नगर योजना भएको बताउँदै योजनालाई समयमै सम्पन्न गर्न सबैको तर्फबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
अरनिको सभाभवन निर्माण कार्यलाई तीव्रता दिन नगर प्रमुखको संयोजकत्वमा निर्माण समिति गठन गरी काम अगाडि बढाइसकेको चर्चा गर्दै उहाँले अरनिको सभाभवन निर्माणले विद्यालय, कलेज र विभिन्न सङ्घ संस्थाका कार्यक्रमहरू गर्न सहज हुने बताउनुभयो ।
२०५८ सालमै तत्कालीन जनप्रतिनिधिहरूले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको स्मरण गर्दै जगन्नाथ क्षेत्र सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन गर्नुपर्ने भएकोले अरनिको सभाभवन नयाँ ठाउँमा बनाउनुपरेको हो भन्नुुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले अरनिको सभाभवन निर्माण नगरवासीहरूको निम्ति मात्र होइन भक्तपुर जिल्ला र देशकै साहित्यिक र सांस्कृतिक गतिविधिको लागि महत्वपूर्ण उपलब्धि साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली वास्तुकार ‘अरनिको’ कलाकार, आर्किटेक्ट र वैज्ञानिकको रूपमा संसारसामु चिनिएको प्रस्ट पार्दै उहाँले सभाभवनको आवश्यकता र अभाव पूर्ति हुने दिनको रूपमा आजको दिनलाई स्मरण गर्नु उचित हुने बताउनुभयो ।
उहाँले अरनिको सभाभवन निर्माणले शैक्षिक र बौद्धिक गतिविधिमा समेत टेवा पुग्ने बताउँदै भक्तपुरको सामाजिक, सांस्कृतिक र राजनीतिक विकासमा यसले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । सांसद गोसाईले अरनिको सभाभवन निर्माणमा पनि जनश्रमदान जुटाएर अगाडि बढ्न सकेको खण्डमा सुनमा सुगन्ध थपिने बताउनुभयो ।
सभाभवन निर्माणको निम्ति वाग्मती प्रदेशसभासमक्ष पनि सहयोगको लागि अनुरोध गरेको स्मरण गर्दै उहाँले वाग्मती प्रदेश सरकार जनताका गतिविधि र समाजको विकासमा उदासीन रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सभाभवन निर्माणको लागि वाग्मती प्रदेशबाट बजेट विनियोजन भइसकेको स्थिति थियो तर फेरि पनि त्यसमा आनाकानी र असहयोग गर्ने स्थिति देखिएको छ ।”
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको गौरवको आयोजनाको रूपमा अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाइएको उल्लेख गर्दै सभाभवन निर्माणसँगै नगरवासीहरू लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा ज्योतिषाचार्य वीरेन्द्रप्रसाद कायष्ठले पनि बोल्नुभएको सो कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले स्वागत मन्तव्य र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपा वडा नं. ६ देकोचामा निर्माण भइरहेको अरनिको सभाभवनको वास्तुकला र संरचनाको डिजाइन भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले गरेका थिए । सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) ११०० जनाको क्षमताको रहेको छ । सभाभवनमा बहुउद्देश्यीय हल १२८ जना, श्रव्यदृश्य ९६ जना, ४ वटा रिहर्सल कक्ष रहनेछन् । सभाभवनको प्रदर्शनी कक्ष १०६२.९९ व.मि., बेसमेन्ट पार्किङ ४६ गाडी र २३१ मोटरसाइकल अट्ने क्षमताको रहेको छ । खुला थियटर ६०० जनाको क्षमताको रहेको छ । सभाभवनको प्लिन्थ एरिया ३२०१ व.मि. रहेको छ भने फोहरासहितको बगैँचाको व्यवस्था हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *