भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (दुई भञ्ज्याङबीच)

नेहरू आत्तिँदा
झमक्क रात परेको थियो । नेहरूले अमेरिकासँग तत्काल र खुला हस्तक्षेपको अपिल गरे । चिनियाँहरू भारतीय भूभागमा अगाडि बढेमा उनले अमेरिकी बमवर्षक विमान र लडाकु टोलीलाई चीनविरुद्ध परिचालन गर्न आग्रह गरे । खासगरी उनलाई चिनियाँहरूले भारतीय सहरहरूमा हवाई हमला गर्ने डर थियो । नेहरूको अपिल विस्तृत थियो । जस्तो त्यसमा १५ टोली पठाउन भनिएको थियो । यसको अर्थ उनले केही उच्च अधिकारीहरूसँग यस विषयमा सल्लाह गरेका थिए तर यसको विषयमा मन्त्रिमण्डलका कसैसँग पनि कुरा गरेका थिएनन् । उनको अपिलको एकप्रति सदाझैँ परराष्ट्र मन्त्रालयमा नपठाएर प्रधानमन्त्री सचिवालयमा राखिएको थियो । यस विषयमा भारतमा २ वर्षसम्म कसैलाई केही थाहा थिएन ।
१९६५ को मार्चमा काङ्ग्रेस सांसद सुधीर घोषलाई राष्ट्रपति केनेडीले नेहरूको अपिलबारे बताएका थिए । सुधीर घोषले यही कुरा लोकसभामा भनेपछि रडाको मच्चियो । घोषमाथि असंलग्न नीतिका पितामाथि कलङ्क पोतेको आरोप लाग्यो । प्रधानमन्त्री लालबहादुर शास्त्रीले घोषलाई बोलाए र आफूलाई त्यस्तो अपिलबारे केही थाहा नभएको र त्यसको कुनै प्रमाण नभएको बताए । घोषले यस विषयमा अमेरिकीहरूसँग सोध्न अनुरोध गरे र यो कुरा गलत भएमा आफूले खुलारूपमा माफी माग्ने बताए । तर, अमेरिकी दूतावासले घोषको कुरा सही भएको पुष्टि ग¥यो तथा अपिलको प्रति देखाउन सक्ने बतायो । यता प्रधानमन्त्री सचिवालयमा राखिएको अपिलको प्रति पनि भेटियो ।

जोन एफ केनेडीसँग नेहरू


सत्य थाहा भएपछि सत्य बाङ्गोटिङ्गो गर्ने काम सुरु भयो । शास्त्रीले संसदमा चलाखी गरे र नेहरूको अपिलको विषयमा भ्रम छरे । घोषले अमेरिकी वायुसेनालाई बङ्गालको खाडीतिर पठाउने आदेश दिइएको बताएका थिए । शास्त्रीले यसको खण्डन गर्दै बङ्गालको खाडीमा कुनै पनि त्यस किसिमको विमान नदेखिएको बताए । शास्त्रीको मान राख्न घोष मौन बसे । साथै लडाइँले हायलकायल भएको क्षणमा नेहरूले असंलग्न नीतिलाई रद्दीको टोकरीमा फालेर अमेरिकी विमान मगाएका थिए भनी भारतीयहरू सम्झिन चाहँदैनथे । १९६५ मै कृष्ण मेननले समेत नेहरूले कहिल्यै त्यसो गर्नसक्दैनन् भनी नेहरूमाथिको आस्था प्रकट गरेका थिए । उनले भने, “पण्डितजीले यस्तो आग्रह गर्नुभएको थिएन । पण्डितजीको विशेषता थियो, आफूले जस्तो मूल्य चुकाउन परे पनि उहाँले यस्तो खालको कदम उठाउनु हुन्नथ्यो ।”
नेहरूको अपिललाई अमेरिकाले तत्काल सदर गरेको थियो र प्रशान्त महासाँगरबाट भारततिर अमेरिकी लडाकु विमान पठाएको थियो । तर, नेहरूले अपिल पठाएको २४ घण्टाभित्रै सङ्कट ट¥यो । त्यसैले अमेरिकी विमान बङ्गालको खाडी नपुग्दै मोडियो । नेहरूले विमानहरू पनि मागेका थिए । ठुला टर्बो जेट आदि पठाएर नेहरूको त्यो माग पूरा गरियो ।
पराजयले रन्थनिएका नेहरूले अरू गल्ती पनि गरे । नेहरूले सुरुदेखि नै चीनविरुद्धको लडाइँ साम्यवादविरोधी लडाइँ नभएको बताइरहेका थिए । यसो भन्नुको अर्थ असंलग्न नीति र सोभियत सङ्घसँगको सम्बन्ध आफूले बिथोल्न नचाहेको देखाउनु थियो । नोभेम्बर २० को रात उनले देशका सबै प्रमुख सहरबाट कम्युनिस्ट पार्टीका अगुवाहरूलाई पक्राउ गर्ने आदेश दिए । खासमा कम्युनिस्ट पार्टीभित्र पनि सरकारको पक्षमा नभएका नेताहरूलाई पक्राउ गर्ने यसको उद्देश्य थियो । तर, गृह मन्त्रालयको किचलोका कारण गुप्तचर निकायले दिएको पक्राउ गर्नुपर्ने नेताहरूको सूचीलाई काँटछाँट गर्ने समय भए र सो सूची सीधै सबै राज्यका राजधानीहरूमा पठाइयो । यसकारण सरकारको पक्षमा रहेका कम्युनिस्ट नेताहरू अर्थात् सोभियत समर्थकहरूसमेत पक्राउ परे । यो गल्तीबारे नेहरूले गृहमन्त्री शास्त्रीसँग गुनासो गरे । यस कदमले कम्युनिस्ट देशहरूमा भारत बदनाम हुने डर थियो । तर, सबैलाई एकैचोटि जेलबाट छोड्नुले सरकारको मनसायमाथि प्रश्न उठ्ने भएकोले एकएक गर्दै छोड्दै जानुपर्ने निर्णय लिइयो । यसबाट सरकारले गल्ती ढाकछोप भएको ठान्यो ।
देशको सुरक्षाको कुरा चलिरहेको बेला सरकारको स्थिरताको विषयमा विपक्षीहरूले शङ्का गरे । केही काङ्ग्रेसका सांसद र विपक्षीहरू राष्ट्रपति राधाकृष्णनसँग भेट गर्न गए । उनीहरूले संसद विघटन गर्न र सरकारलाई सल्लाहकार र नेहरूलाई प्रमुख सल्लाहकार बनाएर राष्ट्रपति शासन लागू गर्न सुझाव दिए । यसप्रकारको संवैधानिक प्रावधान भने थिएन । यस हिसाबले यो कदम ससानो कूजस्तो हुने थियो । सांसदहरूको यस कार्यले युद्धकालीन नेताको रूपमा नेहरूमाथि अविश्वास देखायो र अराजनीतिक व्यक्ति राधाकृष्णनमाथि विश्वास देखायो । राष्ट्रपतिले सांसदहरूको सुझावमा कुनै प्रतिक्रिया दिएनन् । तर, प्रधानमन्त्रीकहाँ राधाकृष्णन प्रस्तावको विपक्षमा नरहेको बारे चर्चा चल्यो । यी घटनापछि राधाकृष्णनसँगको नेहरूको व्यवहार फेरियो । पहिले राष्ट्रपतिसँगको उनको व्यवहार मैत्रीपूर्ण हुनेगथ्र्यो । यसका अरू दुई कारण थिए । एक, राधाकृष्णन मेननको प्रसङ्गमा मुख्यमन्त्रीहरूको विरोधमा सामेल भएका थिए । दुई, उनले ‘हाम्रो सहज विश्वास र लापरबाही’ का कारण युद्धमा पराजय भएको बताएका थिए ।
तेजपुर
‘चीनले भारत कब्जा गर्दै छ’ भन्ने सोचले सबैभन्दा त्रसित तेजपुर थियो । यो सहर चाकुभन्दा दक्षिणमा ब्रह्मपुत्र नदीको उत्तरी किनारमा बसेको थियो । नोभेम्बर १८ को बिहान कौलले जिल्ला कमिसनरलाई फोन गरेको पछिल्लो सैनिक स्थितिको बारेमा जानकारी गराएका थिए । कौलले स्थितिबारे कति डरलाग्दो चित्र बताए भने कमिसनर लगत्तै परिवारसहित कलकत्तातिर भागे । वास्तवमा उनी त्यस ठाउँबाट सहरवासीलाई अन्त सार्न खटिनुपर्ने कर्मचारी थिए । चिनियाँहरू तेजपुर आउनेछन् भन्ने कौलको चेतावनीले गर्दा उनले आफूपछि आउने कर्मचारीलाई कुर्न पनि जरुरी ठानेनन् । नयाँ जिल्ला कमिसनरले पूरै प्रशासनले काम गर्न छोडेको पाए । त्यसैगरी ठुलाठुला माइक राखेर सहरवासीलाई उनीहरूको हिफाजतको जिम्मा प्रशासनले नलिने बताइँदै थियो ।

केही स्थानीय नेता कार्यकर्ताहरूले ठाउँ–ठाउँमा मान्छे भेला पारिरहेका थिए । उनीहरू भन्दै थिए, “तेजपुर भारतको किल्ला हो । यस्तो बेला भाग्ने होइन । रगतको आहुति दिएर भए पनि तेजपुर छोड्नु हुँदैन ।” यस्ता भेलाहरूको सिलसिला बन्द भएपछि नेताहरू तेजपुर छोडेर भागे । उनीहरूलाई पछ्याउँदै सर्वसाधारण पनि अन्यत्र लागे । मान्छेहरूको भीड बढ्न थाल्यो । त्यसमा जेलबाट छोडिएका अपराधी र शरणार्थीहरू पनि थिए । ब्रह्मपुत्रमा तार्ने डुङ्गाहरूले बढीमा ३÷४ सय मान्छे बोक्न सक्थे । तर, भीडको चापले गर्दा डुङ्गाहरूले एक खेपमा १ हजार मान्छे तारिरहेका थिए । तेजपुरको स्टेट बैङ्कका कर्मचारीहरूले चिनियाँहरूको हात पर्छ भनेर पैसा जलाए । नोट जले पनि सिक्का जलाउन समय नभएकोले त्यसलाई बोरामा राखेर कर्मचारीहरू सहरको तालमा फाल्न गए । तर, मान्छेहरू ती सिक्का बटुल्न तालमा हामफाल्न थालेपछि रोकिए । नेफाबाट आएका आदिवासी र तेजपुरकै बासिन्दाहरूको भीड थपिँदै जाँदा छिट्टै नै तेजपुरमा उपद्रो र लुटपाट भड्किने सम्भावना थियो ।
नयाँ जिल्ला कमिसनरले केही पसलहरू खोल्न लगाए । उनले स्थिति सामान्य बनाउन थाले । सेनाका इन्जिनियरहरूले विद्युत्गृह र अन्य महत्वपूर्ण सेवाहरू हातमा लिए । धन्न धेरै इन्जिनियरहरू थिएनन् । केन्द्र सरकारले सबै चीज ध्वस्त पार्न एक सुरक्षा अधिकारी आसाम पठाएको थियो । ती अधिकारीले आसामलाई तहसनहस पार्ने योजना बनाउँदै थिए । यसमा तेजपुर विमानस्थलदेखि तेलका खानीहरूसमेत थिए । चियाबारीहरू, सम्पूर्ण विद्युत् गृह, खानेपानीको सञ्जाल र अन्य कुरा पनि जलाउने योजना थियो । तर, यो योजना लागू गर्ने कर्मचारीहरूको अभाव थियो । तेजपुरको अस्तव्यस्त स्थितिको लागि पछि राज्य सरकार र स्थानीय प्रशासनमाथि दोष थोपरियो । तर, यसको थोरै दोष गृह मन्त्रालयलाई पनि जान्थ्यो । मन्त्रालयले मान्छेहरू लस्कर लगाएर बाहिरिरहेको दृश्य टुलुटुलु हेरिरहेको थियो । मुद्रा, कागजपत्र, पेट्रोल पम्प र विद्युत् गृह नष्ट गर्न आदेश दिएको थियो । चिनियाँहरूले आफ्नो सिद्धान्त सिकाउँछन् भनेर बालबालिका र युवाहरू हटाउन प्राथमिकता दिइएको थियो । सरकारी कर्मचारी पनि यही कोटीमा परेका थिए । अर्कोतिर मन्त्रीहरूलाई पनि पहिलो प्राथमिकतामा राख्न आसाम सरकारले दिल्लीलाई अनुरोध गरेको थियो । मन्त्रीहरू नै शत्रुको हात लागेमा देशकै बेइज्जत हुने तर्क दिइएको थियो ।
नोभेम्बर २० को बिहान कौलले राज्य सरकारका दुई मन्त्रीहरूलाई आफ्नो हेडक्वाटरमा ब्रिफिङ दिए । उनले चिनियाँहरू आउने, मिसामारीमा प्यारासुटबाट सेना झार्ने र तेजपुरमाथि विमानबाट बमबारी गर्ने सम्भावना रहेको बताए । उनले कोर हेडक्वाटर र उच्च अधिकारीका कार्यालयमा पनि बमबारी हुनसक्ने औँल्याए । मन्त्रीहरू सेनाका गाडीहरूमा फर्किँदै गर्दा तेजपुरका सडक ढाकेर हिँडिरहेका मान्छेको भीड झन् त्रसित भयो ।
कब्जा होइन प्रतिकार
पराजयले भारतीय सेनाको मनोबल घट्यो । त्यसैले तेजपुरबाट नोभेम्बर १९ मा दिल्ली फर्केका जनरल थापरले राजीनामा दिए । नेहरूले थापरको ठाउँमा कौललाई सेनाप्रमुख बनाउने मन बनाएका थिए । उनले यस विषयमा राष्ट्रपतिसँग सल्लाह गरे । कौललाई सेनाप्रमुखमा ल्याउने कुरालाई राधाकृष्णनले अर्थहीन बताए र लेफ्टिनेन्ट जनरल जेएन चौधरीको नाम सिफारिस गरे । चौधरीले दक्षिणी कमान्ड सम्हालिरहेका थिए । नेहरू सहमत भए । भोलिपल्ट उनले लोकसभामा जनरल थापरलाई स्वास्थ्य स्थितिका कारण लामो छुट्टी दिने र उनको ठाउँमा जनरल चौधरीलाई सेनाप्रमुख बनाउने घोषणा गरे । संसद खुसी भयो ।
जनरल चौधरीले उत्तर पूर्वका टुकडीहरूलाई पायक पर्ने स्थानमा रोकिने आदेश दिए । त्यसपछि उनले कौललाई कोर ४ बाट हटाए । उनको ठाउँमा साम मानिकशा आए ।
(मानिकशालाई धेरै पहिले कौलले मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका थिए । मेननले अक्टोबरमा उनलाई नयाँ कोरको जिम्मा दिन चाहेका थिएनन् ।) चौधरीले २४ घण्टाअघिको आदेशलाई काट्दै कोरको हेडक्वाटर फेरि तेजपुरमा सार्न आदेश दिए ।
आसाममा प्रधानमन्त्रीको सन्देशले गलत छाप परेको थियो । त्यसैले लालबहादुर शास्त्रीलाई तेजपुर पठाएर प्रशासन र परिस्थितिबारे अध्ययन गर्न भनियो । दिल्लीबाट आसाम जाने विमान दिनमा एकचोटि मात्र उड्थ्यो । नोभेम्बर २१ को बिहान गृहमन्त्री शास्त्रीको टोली आसाम जान विमानस्थल पुग्यो । मान्छेको हुल देखेर टोलीका एक सदस्य अखबार किन्न त्यतै लागे । चीनले एकतर्फीरूपमा लडाइँ बन्द गर्ने र नेफाबाट फर्किने घोषणा गरेको मुख्य समाचार छापिएको थियो । शास्त्री र उनका साथीहरू तुरून्तै प्रधानमन्त्री निवास गए । भर्खर उठेका नेहरूले लुगा लगाउँदै थिए । उनले चिनियाँ घोषणाबारे थाहा नपाएजस्तो देखाए । जबकि धेरै घण्टाअघि नै घोषणाको खबर पत्रपत्रिकाका कार्यालयहरूमा पुगिसकेको थियो । भारत सरकारले बल्ल चीनको मनसाय भारत कब्जा गर्ने नभई व्यापक प्रतिकार गर्ने रहेको बुझ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *