एकतर्फी घोषणा
१९६२ को नोभेम्बर २१ मा विश्वले हिमालयमा भइरहेको युद्ध चीनको एकतर्फी युद्धविराम र पछि हट्ने घोषणाबाट टुङ्गिएको थाहा पायो । संसार चकित थियो । नोभेम्बरको मध्यरातभन्दा ठीक अघि चीनले आउँदो २४ घण्टामा आफ्ना सेनाको तर्फबाट युद्धविराम हुने र अर्को ९ दिनपछि फर्केर नियन्त्रण रेखाभन्दा २० किलोमिटर पछाडि जाने उद्घोष गरेको थियो । अघिल्लो रात चाउ एनलाइले भारतीय प्रतिनिधिलाई आफ्नो घरमा बोलाएर चीनको मनसाय बताएका थिए । (यो कुरा भारतले भोलिपल्टमात्र थाहा पाएको विषय आफैँमा रहस्यमय छ ।)

सन् १९६२ को युद्धको क्रममा चीनको सिन्जियाङमा चीनले पक्राउ गरेको भारतीय सर्भे टोली ।
चीनले म्याकमाहोन रेखालाई ‘अवैध’ भनेको थियो र दक्षिणका पहाडी फेँदलाई परम्परागत रेखा मान्थ्यो । युद्धबाट ऊ ‘परम्परागत’ रेखामा पुगेको थियो । युद्धविरामपछि ऊ ‘नियन्त्रण’ रेखामा फर्किँदै थियो । त्यो भनेको १९५९ नोभेम्बर ७ सम्मको भारत र चीनको स्थिति थियो । पूर्वमा यो स्थिति म्याकमाहोन रेखा नै थियो । सारमा चीनको प्रस्ताव यस्तो थियो – “चीन म्याकमाहोन रेखाभन्दा २० किलोमिटर पछाडि सरेझैँ भारत पनि २० किलोमिटर पर बस्नुपर्नेछ । भारतले यसो नगरेमा आफूसँग “फर्केर हमला गर्ने अधिकार सुरक्षित” रहनेछ । आफूतिरको रेखामा दुवै पक्षले साधारण सीमाबल राख्न सक्नेछन् । साथै ती चौकी स्थापना गर्ने, सँगै पछि हट्ने र युद्धबन्दीका विषयमा छलफल गर्न सीमामा दुवै पक्षका अधिकारीहरू भेट्नुपर्नेछ । त्यसपछि विवाद सुल्झाउन दुवै देशका प्रधानमन्त्री पेइचिङ वा दिल्लीमा भेट्न सक्नेछन् । भारतले सकारात्मक उत्तर दिने विश्वास छ । हुँदैन भने पनि चीनले आफ्नो प्रस्ताव पालन गर्नेछ ।”
यो प्रस्ताव चाउ एनलाइले १९५९ को नोभेम्बर ७ मा नेहरूलाई लेखेको पत्रअनुरूप थियो । यही प्रस्ताव नाम्का चूको लडाइँपछि दोहो¥याइएको थियो । बारम्बार चीनले यही प्रस्ताव राखिरहेको थियो र भारतले लत्याइरहेको थियो । पछिल्लोपल्ट चिनियाँ आक्रमणपछि अक्टोबर २४ मा भारतले कडा भाषामा चिनियाँ प्रस्ताव लत्याएको थियो । यसपालि विजेताको रूपमा चीनले पुरानै प्रस्ताव राख्यो । फरक कति थियो भने यो पटक उसले आफ्नो प्रस्ताव पालन गर्न कम्मर कसेको थियो । उसले भारत म्याकमाहोन रेखाभन्दा २० किलोमिटर पर नगएमा परिणाम घातक हुने बताइरहेको थियो । साथै पश्चिममा भारत गरम नीतिअन्तर्गत बनाएका चौकीमा फर्किन चाहेमा आफूसँग हमला गर्ने अधिकार रहेकोमा जोड दिइरहेको थियो । यही नै पेइचिङको घोषणाको मूल बुँदा थियो ।
निश्चित÷अनिश्चित
चीनले आफ्नो विचार खुलस्त राख्यो । ‘भारतीय प्रतिक्रियावादीहरूले सैनिक बल प्रयोग गरेर सीमामा परिवर्तन ल्याउने र सोहीअनुसार सम्झौताको लागि दबाब दिने योजना लिएको हुनाले आफूले म्याकमाहोन रेखा पार गर्नुपरेको’ चीनको निष्कर्ष थियो । अहिले ‘भारत होशमा आउन थालेको र सीमा विवाद खुकुलो भएको’ उसको बुझाइ थियो । सीमासम्बन्धी भारतकै कथा प्रचलित भएकोले चीनको कदमलाई सबैले अवाक भई हेरिरहेका थिए ।
थरीथरीका टिप्पणी आइरहेका थिए । कसैले “आफूले दाबी गरेको सम्पूर्ण भूभाग लिएपछि सम्झौताको प्रस्ताव गर्नुले पनि थप आक्रमण गर्ने मनसायलाई पुष्टि गर्छ” भने । यसो हुँदो हो त पछिल्लो सीमा अस्थिर हुने थियो । ढिलोचाँडो भारतले त्यसलाई हत्याउन कोसिस गर्ने थियो र चीन एउटा अन्त्यहीन किचलोमा फस्ने थियो । त्यसैले यो ठम्याइ चिनियाँ उद्देश्यसँग मेल खाँदैन । युद्धलाई फर्केर हेर्दै परराष्ट्र मामिलाका जानकार लर्ड कासियाले १९६६ मा भनेका थिए, “युद्ध मैदानमा विजयी भएपछि फर्केर आफ्नै रेखामा जानु लिखित इतिहासमै पहिलोचोटि भएको घटना हो । शक्तिशाली पक्षले झन् बढी मागहरू राखेर गलत फाइदा लिएन ।” तर, चीनले चाहेको भूमि थिएन । पछि फर्किने कुरा पहिले नै तय थियो । यही कदमले समग्र सैनिक र राजनीतिक क्षेत्रमा चीनको हातमाथि पर्न गयो ।
कुनै पनि सैनिक कारबाहीले भारतलाई सम्झौताका लागि बाध्य गर्नसक्दैनथ्यो । त्यसैले युद्धमार्फत सीमाङ्कन गर्न सकिन्छ भन्ने निश्चित थिएन । तर, युद्धपछि कम्तीमा वर्षौँसम्म यथास्थिति खलबलिनेछैन र भारतले थप अतिक्रमण गर्नेछैन भन्ने निश्चित थियो ।
युद्धविराम धोका
युद्धविरामले भारतीय सेनालाई राहत दिएको थियो । सेनाप्रमुख जनरल चौधरीले आफ्नो सेना प्रत्याक्रमण गर्नसक्ने अवस्थामा नरहेको रिपोर्ट गरेका थिए र आफूमाथि आक्रमण नभएसम्म गोली नचलाउन आदेश दिएका थिए । तर, सदाजस्तै राजनेताहरू टेढिए । धेरैले चिनियाँ घोषणालाई “अपमान” भने । सरकारी अधिकारीहरूले एकतर्फी युद्धविरामको घोषणा गरेर चीनले घाउमा नुन छर्केको ठाने । आसामका केही काङ्ग्रेस सांसदहरूले युद्धविरामको पक्षमा बोले पनि अधिकांश सांसदले पेइचिङको प्रस्तावलाई लत्याइहाल्नुपर्ने विचार राखे ।

सेनाको अवस्था र चर्को राजनीतिक स्वरबीच नेहरू केही समय खेलिरहे । उनले पेइचिङको औपचारिक सन्देश नआइसकेकोले यस विषयमा कुरा गर्न अस्वीकार गरे । सम्झौताको विषयमा भने भारत १९६२ सेप्टेम्बर ८ भन्दा अगाडिको स्थितिमा अडिग रहेको खुलस्त पारे । उनको भाषा पछिल्लोचोटि चीनको प्रस्ताव लत्याउँदाको भन्दा सन्तुलित थियो । यसको पछाडि अमेरिकी राजदूत गालब्रीथ थिए । गालब्रीथ यसबेलासम्म भारत सरकारका गोप्य सल्लाहकार बनिसकेका थिए । उनी आनन्द र चलाखीसाथ क्रियाशील थिए । ठाडै अस्वीकार गर्नाले भारतको स्थिति झन् दयनीय हुने देखेर गालब्रीथले नेहरूलाई ठोस निर्णय नदिन अनुरोध गरेका थिए ।
प्रधानमन्त्री आफ्नो कुर्सीमा बसेपछि सांसदहरू कुर्लिन थाले । कसैले चिनियाँ घोषणालाई ‘कुटिल चाल’ भने र युद्धविराम र सम्झौता अस्वीकार गर्नुपर्ने माग राखे । कसैले बर्बरहरूलाई लघारेपछि मात्र सम्झौता गर्नु ‘शिष्ट र स्वाभिमानी कदम’ हुने बताए । कसैले युद्धविरामलाई ‘चालबाजी’ भने, कसैले ‘अल्टिमेटम’ भने । विपक्षीमात्र नभई काङ्ग्रेसकै सांसदहरू पनि प्रस्ताव अस्वीकार गर्नुपर्ने पक्षमा थिए । कम्युनिस्टहरूबाहेक सबै सांसद मिलेर एउटा संयुक्त वक्तव्य जारी गरे । सारमा वक्तव्य यस्तो थियो – “एकतर्फी युद्धविराम धोका हो । यसले भारतका प्रजातान्त्रिक साथीहरूलाई भ्रममा पार्छ र अर्को आक्रमण गर्न चीनलाई सैनिक तयारीका लागि समय दिन्छ । प्रधानमन्त्री यसमा फस्नु हुँदैन । उहाँले दृढ प्रतिकार गर्ने र सम्झौता नगर्ने वचन दिनुपर्छ ।”
झुलाउने खेल
भारतले चीनको औपचारिक पत्र पायो । सरकारी प्रवक्ताले “पर्खौँ र हेरौँ” भने । भारतले सेनालाई कहिल्यै पनि युद्धविराम पालन गर्न औपचारिक आदेश दिएन । बरु ‘युद्ध बल्ल सुरु भएको छ’ भन्ने भान पार्न खोज्यो । युद्धविराम भएको भोलिपल्ट नेहरूले युवा विद्यार्थीलाई ‘चीनविरुद्धको युद्ध वर्षौँवर्ष चल्ने’ बताए । साथै युद्ध टुङ्ग्याउनका लागि उनीहरूलाई ‘लड्नका लागि योग्य र तम्तयार हुन’ भने ।
चीनसँगको पत्राचारमा भारतले फेरि झुलाउने खेल खेल्न थाल्यो । चिनियाँ घोषणाको दिन सरकारले चिनियाँ मिसनका सदस्यलाई परराष्ट्र मन्त्रालयमा बोलाएर विषय प्रस्ट पार्न भन्यो । नियन्त्रण रेखा भनेको के हो ? उसको प्रश्न थियो । दुई दिनपछि अर्का प्रतिनिधिलाई बोलाएर अरू दुईचार प्रश्न गरियो । नियन्त्रण रेखाभन्दा २० किलोमिटर पर जाने कुरा पश्चिममा मात्र लागू हुन्छ कि सबैतिर ? म्याकमाहोन रेखाभन्दा २० किलोमिटर उत्तरमा जाने भनेको कहाँ हो ? यी प्रश्नलाई पेइचिङले ‘अर्थहीन’ भन्यो । वास्तवमा चीनको युद्धविराम प्रस्तावमै सबै कुरा साफ लेखिएको थियो । तर, भारतले सो प्रस्ताव अस्पष्ट भएको गुनासो ग¥यो । प्रस्तावबारे ‘सोच्नुभन्दा पहिले’ चीनले यसलाई प्रस्ट्याउनुपर्ने उसले ढिपी कस्यो । भारतीय अपेक्षा पुरानै थियो – चिनियाँहरू थागलापारि जानुपर्छ र पश्चिममा नयाँ चौकीहरूभन्दा टाढा बस्नुपर्छ । खासमा, चीनको प्रस्तावअनुसार चिनियाँहरू थागलापारि नै जानुपथ्र्यो । भारत भने यतिमै सन्तुष्ट थिएन । ऊ आफ्ना कर्मचारी र सेना पुरानै अवस्थामा लैजान चाहन्थ्यो । त्यो भनेको पूर्वमा नाम्का चूसम्म र पश्चिममा नयाँ चौकीहरूसम्म थियो । सेप्टेम्बर ८ को अर्थ यही थियो ।
युद्धविरामको एक हप्तापछि चाउ एनलाइले नेहरूलाई पत्र लेखे । उनले चिनियाँ प्रस्तावले कसैको आत्मसम्मानमा चोट नपु¥याउने विश्वास दिलाए र त्यसलाई लागू गर्दा लेनदेन नहुने तर्क गरे । चीन पछि फर्कँदैमा सीमा भिडन्तको अन्त्य नहुने र भारतले सहकार्य नगरेमा युद्धविराम बिथोलिने उनले बताए । भारतको झगडालु दृष्टिकोण फेरिएको थिएन । नेहरूले झन् चिढाउने जवाफ पठाए । उनले भारतका पुराना मान्यताहरू दोहो¥याए । साथै उनले युद्ध चीनले सुरु गरेको हो भनी मान्नुपर्ने सर्त तेस्र्याए । अन्तमा उनले चीनले आफ्नो ‘जटिल प्रस्ताव’ लाई प्रस्ट गर्नुपर्ने दोहो¥याए र भारतको ‘स्पष्ट प्रस्ताव’ लाई स्वीकार्न अनुरोध गरे ।
डिसेम्बर ८ मा चीनले कडा शब्दमा भारतले जानाजान विषयलाई अल्झाइरहेको र स्पष्ट जवाफ नदिएको आरोप लगायो । पेइचिङको नोटमा यसो लेखिएको थियो – “भारत सरकारले युद्धविराम स्वीकार्छ वा स्वीकार्दैन ? दुवै देशका सुरक्षा दल १९५९ नोभेम्बर ७ को नियन्त्रण रेखाभन्दा २० किलोमिटर टाढा बस्नुपर्छ भन्ने कुरा मान्छ वा मान्दैन ? दुवै देशका अधिकारीहरू बैठक बस्नुपर्छ भन्ने ठान्छ वा ठान्दैन ?” भारतको जवाफ ‘हुन्छ’ पनि थियो र ‘हुँदैन’ पनि थियो । नेहरू र उनका साथीहरू देशभित्र र बाहिर सुनाउनका लागि चीनसँगको सङ्घर्ष जारी छ, युद्धविरामको धोका अस्वीकार छ भनिरहेका थिए । तर, भारतीय सेनालाई चीनसँग नजिस्किन र म्याकमाहोन रेखासम्म नफर्किन भनिएको थियो । श्रीलङ्काकी प्रधानमन्त्री श्रीमती बन्दरानाइकेमार्फत नेहरूले यस विषयमा चीनलाई घुमाउरो र गोप्य भरोसा दिलाएका थिए ।
२÷३ हजार सैनिक जवान गुमाएपछि अन्तमा गरम नीतिले सास छोड्यो । तर, सम्झौता नगर्ने भारतको पुरानो अडान जीवितै रह्यो । यो अडान फेरिन युद्धले बनाएको तीतो अपमानको घाउ निको हुनुपथ्र्यो अथवा नेहरू र उनका साथीहरू राजनीतिबाट ओझेल हुनुपथ्र्यो । सम्झौता गर्नै हुँदैन भन्ने आधारभूत मान्यता बदलिन आवश्यक थियो ।
फेरि पनि सम्झौता नहुनुमा चीनलाई नै दोष लगाइयो । यसो गर्न सजिलो पनि थियो । सीमा युद्धलाई चीनको भारत कब्जा गर्ने सोचका रूपमा प्रचार गरिएको थियो । उसको विदेश नीतिलाई अहङ्कारी र झगडालु भनिएको थियो । युद्धविराम गर्ने र सुरक्षा दललाई फिर्ता बोलाउने उसको निर्णयको कारण पनि भारत र चीनबाहिर खोजियो । कसैले रुसी चेतावनीका कारण चीनले युद्धविराम गरेको भने । कसैले अमेरिकाले क्युवाबाट हात झिकेको र अब भारतमा हात हालेको हुनाले चीनले युद्धविराम गरेको भने । बाँकीले भारतकै कथालाई स्वीकारे । सारमा भारतीय कथा यस्तो थियो – “चिनियाँहरू रोकिनै पथ्र्यो । उनीहरूको सञ्चारको जालो अचाक्ली तन्किसकेको थियो । भारतले प्रत्याक्रमणको भयले उनीहरू असुरक्षित बनेका थिए ।” नेहरूको शब्दमा भन्ने हो भने “भारतीय जनताको अनपेक्षित आक्रोश” ले गर्दा चिनियाँहरूले पुच्छर लुकाए, अनुहार होइन ।
फर्किरहेका सैनिक
नोभेम्बर २१ पछि युद्धविराम औपचारिकरूपमा लागू भयो । तर, दुई दिन अगाडिदेखि नै नेफामा सङ्गठित लडाइँ बन्द भएका थिए । चाकुमा ब्रिगेड ४८ लाई तितरबितर पार्ने कारबाही नै अन्तिम सङ्गठित कारबाही थियो । चिनियाँहरूले वालोङबाट फर्किरहेका सिपाहीलाई केही गरेनन् । चाकुबाट तल ओर्लेनन् । उनीहरूले जङ्गलमा भौतारिइरहेका भारतीयहरूलाई खोजेनन् । फर्किरहेका सिपाहीहरूलाई युद्धविरामको बारेमा थाहा थिएन । त्यसैले ठाउँ–ठाउँमा झडपहरू भए । कतिपय भारतीय सिपाही एम्बुसमा परे । कोही झडपमा मरे । धेरै सिपाही भोकले मरे ।
पश्चिमी सीमामा स्थिति सहज थियो । चिनियाँहरू छुशल पुगेका थिएनन् । उनीहरू पूर्वी पहाडमै रोकिएका थिए । बरु भारतीयहरूले नै छुशलवरपर बेलाबेला गोलाबारी गरिरहेका थिए । पश्चिम कमान्डमा पूर्वमा जस्तो अन्योल थिएन । अनिर्णयको समस्याबाट सो कमान्ड मुक्त थियो । युद्धविरामपछि पनि उनीहरू लडाइँकै स्थितिमा बसिरहेका थिए । चीनले आक्रमण गरेमा उनीहरू जवाफ दिन तयार थिए । युद्धविरामको केही दिनपछि उनीहरू सीमातिर गस्ती जान थालेका थिए ।
नेफाभन्दा तल बेँसीमा सेना सतर्क थियो । त्यहाँको नयाँ ब्रिगेडलाई चीनले दाबी गरेको रेखापारि नजान आदेश दिइएको थियो । पहाडमुनि नै बस्न भनिएको थियो । सैन्य हेडक्वाटरले गस्ती जान रोक लगाएको थियो । पहाडबाट फर्किरहेका सिपाहीहरूलाई एउटा युनिटमा राखिएको थियो । उनीहरूलाई फेरि सङ्गठित गर्ने र उनीहरूको मनोबल बढाउने काम भइरहेको थियो । हप्तौँसम्म उनीहरू फर्किरहेकै थिए । १९६५ मा मात्र युद्धको क्षतिबारे रिपोर्ट आयो । युद्धमा मर्ने र हराउने भारतीय सैनिकहरूको सङ्ख्या दुई हजारभन्दा बढी थियो । बन्दी अवस्थामै २६ जना घाइते र बिरामी सैनिक मरेका थिए र बाँकी सबैलाई युद्धविरामको ६ महिनाभित्र चीनले रिहा गरेको थियो ।
भारतीय सेनाको आँकडाअनुसार नेफाको लडाइँमा चिनियाँहरूले कुल ३ डिभिजन प्रयोग गरेका थिए । त्यसमध्ये एउटा सामान्य, एउटा हलुका र अर्को रेजिमेन्ट थियो । अघिल्ला दुई डिभिजन तवाङ, सेला र बोम्दीलामा सक्रिय थियो । तेस्रो वालोङमा खटाइएको थियो । भारतले भने २५ पैदल बटालियन परिचालन गरेको थियो । यो ३ वटा डिभिजन बराबर हुन्छ । त्यसैले चिनियाँहरू भारतको भन्दा ठुलो सङ्ख्यामा आएका थिएनन् । तर, भारतीय शक्ति छरपस्ट थियो । भारतीयहरूले एक ठाउँमा जम्मा भएर गरेका कारबाहीमा चिनियाँ पक्षले धेरै क्षति बेहोरेको थियो । भारतीय सेनाले सबैभन्दा ठुलो जवाफ सेलामा दिनसक्थ्यो । तर, त्यहाँबाट ऊ लडाइँ हुनुभन्दा अगाडि नै पछि हट्यो । त्यस्तै नोभेम्बर १७ को तेम्बाङको भिडन्तमा ३ देखि ४ सय चिनियाँ सिपाही मरेको अनुमान थियो । वालोङ र पश्चिममा रेजाङला डाँडामा पनि धेरै चिनियाँहरू मारिएका थिए । अर्कोतिर भारतले एकजना चिनियाँलाई पनि बन्दी बनाएन ।
Leave a Reply