भर्खरै :

अस्थायी अस्पताल र वैकल्पिक बन्दोबस्तबारे सोचौँ

काठमाडौँ उपत्यकालगायत अधिकांश सहरी क्षेत्रमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । दैनिक झन्डै चार सयको दरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । सङ्क्रमितको बढ्दो सङ्ख्यासँगै अस्पतालमा बिरामीको चाप बढिरहेको छ । कोभिड–१९ का बिरामीको उपचारको निम्ति अस्पतालमा अलग बन्दोबस्त गरिएका शय्याहरू क्रमशः भरिन थालेका छन् । समाचार स्रोतहरूअनुसार वीरगञ्जका अधिकांश अस्पतालले थप बिरामी भर्ना गर्नसक्ने क्षमतामा छैनन् । सङ्क्रमणको दर यही गतिमा बढ्दै गए यो अवस्था देशको राजधानी काठमाडौँमा पनि आउन धेरै दिन लाग्नेछैन । सरकारले सम्भावित अवस्थाको निम्ति तयारी थाल्न विलम्ब गर्नुहुन्न ।
कोभिड–१९ का बिरामीलाई अस्पतालका सामान्य शय्यामा उपचार गर्दा सङ्क्रमण अरू रोगका बिरामीलाई समेत फैलिने भएकोले अस्पतालभित्र पनि यो रोगका बिरामीको लागि अलग खण्ड अथवा अलगै अस्पतालको स्थापना हुनुपर्छ । सिकिस्त बिरामीलाई अस्पतालको आईसीयू वा भेन्टिलेटरसहितको शय्याको बन्दोबस्त गर्नुपर्ने हुन्छ भने सामान्य बिरामीलाई साधारण अलग कक्ष (आइसोलेसन वार्ड) को बन्दोबस्त हुनुपर्छ ।

नेपालमा कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको पनि महिनौँ भइसकेको छ । तथापि, सरकारले अझै पनि उपचारको निम्ति पूर्वाधारयुक्त आईसीयू कक्षको सङ्ख्या बढाउन सकेको छैन । सरकारले अझै पनि देशभर पीसीआर परीक्षणको लागि आवश्यक भौतिक पूर्वाधार र किट्स प्रशस्त बन्दोबस्त गर्न सकेको छैन । सङ्क्रमितको दर यसरी नै बढ्दै गए त्यस्ता सुविधासम्पन्न विशेष कक्षको अभाव हुँदै जानेछ । सरकारी र सामुदायिक अस्पतालले मात्र त्यसको भार बहन गर्न सक्नेछैन । त्यसको निम्ति निजी अस्पतालहरूको पनि साथ लिन आवश्यक छ । विपद्को बेलामा जनताको निम्ति प्रयोग गर्न तयार नहुने निजी अस्पताललाई सरकारले कडा कारबाही गर्नुपर्छ ।

अस्पतालभित्रै सबै बिरामीलाई राख्न शय्या अपुग हुने भएकोले सम्बन्धित निकायले अन्यत्र पनि साधारण अलग कक्षको स्थापना गर्नुपर्छ । त्यसको निम्ति सरकारले रङ्गशाला, खुला चौर, सभागृह, भोजगृह, खेलकुद तथा व्यायामशाला आदिमा बन्दोबस्त गर्नुपर्छ । सरकारले तत्कालै विदेशबाट आएका नेपालीहरूको निम्ति होल्डिङ सेन्टर बनाइएका भोजगृहहरूलाई सङ्क्रमितको आइसोलेसन वार्डमा परिणत गर्नुपर्छ । त्यसबाट पनि नपुग्ने अवस्थामा अन्य क्षेत्रमा पनि बन्दोबस्त गर्न सरकारले तयारी थाल्नुपर्छ ।
नेपालमा कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको पनि महिनौँ भइसकेको छ । तथापि, सरकारले अझै पनि उपचारको निम्ति पूर्वाधारयुक्त आईसीयू कक्षको सङ्ख्या बढाउन सकेको छैन । सरकारले अझै पनि देशभर पीसीआर परीक्षणको लागि आवश्यक भौतिक पूर्वाधार र किट्स प्रशस्त बन्दोबस्त गर्न सकेको छैन । सङ्क्रमितको दर यसरी नै बढ्दै गए त्यस्ता सुविधासम्पन्न विशेष कक्षको अभाव हुँदै जानेछ । सरकारी र सामुदायिक अस्पतालले मात्र त्यसको भार बहन गर्न सक्नेछैन । त्यसको निम्ति निजी अस्पतालहरूको पनि साथ लिन आवश्यक छ । विपद्को बेलामा जनताको निम्ति प्रयोग गर्न तयार नहुने निजी अस्पताललाई सरकारले कडा कारबाही गर्नुपर्छ ।
चीनको उहान सहरमा दस दिनमा कोभिड–१९ का बिरामीको उपचार गर्ने दुई वटा अस्पताल स्थापना भएको समाचार संसारभर निकै चर्चित भयो । नेपालको सन्दर्भमा त्यस्तो चमत्कार सजिलो छैन । तथापि कम्तीमा हामीले हाम्रो क्षमताले भ्याउने आकार र सुविधाका स–साना अस्थायी अस्पताललाई स्थापनाको निम्ति योजना बनाउन जरूरी छ । कोभिड–१९ का बिरामीको सङ्ख्या बढ्दै गएसँगै बिरामीलाई गरिने व्यवहारमा पनि विभेद हुने सम्भावना बढ्नेछ । विभिन्न उच्च पदाधिकारीहरूलाई विशेष सेवा र विपन्न एवम् गरिबलाई कमसल सेवा हुनु हुँदैन । उपचारमा विभेद हुँदा मानिसले रोग लुकाउन खोज्नेछन् । मानिसहरूले रोग लुकाउँदा रोग अझ धेरै मानिसमा फैलिनेछ । संसारभर चिकित्सक र स्वास्थ्यकर्मीहरू नै कोभिड–१९ विरूद्धको लडाइँमा अग्रपङ्क्तिमा लड्ने सेतो लुगा लगाएका लडाकुहरू हुन् । उनीहरूलाई हतोत्साहित हुने काम कहीँबाट नहोस् । सरकार र सर्वसाधारण सबैले उनीहरूलाई प्रोत्साहन गर्ने गतिविधि गरौँ । स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गरौँ । समयले सबैको परीक्षा लिने गर्छ । स्वास्थ्यकर्मीहरूको निम्ति यो समय आफ्नो पेशाप्रतिको इमानदारी पुष्टि गर्ने परीक्षाको समय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *