भर्खरै :

सिद्धान्तशून्यता, नेकपा र पतनको बाटो

शासक दल नेकपाका एक नेताले गत साउन २२ गतेको ‘गोरखापत्र’ दैनिकको विचार स्तम्भमा लेखे, “नेपालका राजनीति बुझ्ने सबैलाई थाहा छ, अहिले नेकपा पनि सिद्धान्तहीन पार्टी बनाइएको छ ।” उनले अगाडि थपे, “सबैभन्दा ठूलो पार्टी त भइयो, साथै काङ्ग्रेसजस्तै भद्रगोल पनि भइएछ ।”
नेमकिपाका अध्यक्ष का. रोहितले आजभन्दा केही दशक अगाडि भन्नुभएको थियो, “सिद्धान्तहीन र खराब एकताभन्दा झगडा र फूट झन् असल कुरा हो ¤” (खोटा विचारहरूको खण्डन) । विशेषगरी तत्कालीन अवस्थामा वामपन्थीहरूबीच चलेको सङ्घर्षको सन्दर्भमा उहाँले यो अभिव्यक्ति दिनुभएको थियो । साथै, उहाँले एक सन्दर्भमा भन्नुभयो, “प्यास लाग्यो भनेर विष पिउनु गलत हुनेछ ।” नेपाली वामपन्थी आन्दोलनको आरोह–अवरोहलाई नजिकबाट अध्ययन गर्नुभएका र लामो अनुभव हासिल गर्नुभएका वरिष्ठ राजनीतिज्ञ का. रोहितको भनाइ आज झनै सान्दर्भिक तथा मननयोग्य अनुभव हुन्छ । फूटको पीडा जति असह्य हुन्छ सिद्धान्त बन्धकमा राख्नु, विचारधारामाथिको विमर्शमा पूर्णविराम लगाउनु, दीर्घकालीन उद्देश्यमाथि घात गर्नु र पुँजीवादी दलदलमा फस्दै जानु त झन् आत्महत्या साबित हुनेछ । समयले हामीलाई यही शिक्षा दिँदै छ ।
नेमकिपाका अध्यक्ष का. रोहितले विसं २०५१–५२ सालतिर संसद्बाट घोषणा गर्नुभयो – “एमाले भाइ काङ्ग्रेसमा परिणत भयो ।” का. रोहितले आवेशमा आएर त्यसो बोल्नुभएको थिएन । एमालेले लिएको नीति, उसको प्रवृत्ति र कार्यशैली आदिका आधारमा अध्यक्ष रोहितले सटिक विश्लेषणका साथ घोषणा गर्नुभएको थियो । त्यो एउटा गम्भीर आलोचना थियो । त्यस घोषणाले नेपाली राजनीतिक वृत्तमा हल्लीखल्ली मच्चायो । तत्कालीन एमालेले पुँजीवादी विचारलाई पूर्णरूपमा स्वीकारेको, अन्य वामपन्थी तथा कम्युनिस्ट पार्टी समाप्त पार्न आक्रामक किसिमले लागेको, हरेक क्षेत्रमा काङ्ग्रेसकै डोब पछ्याएको आदि कारणले का. रोहितले भाइ काङ्ग्रेसको संज्ञा दिनुभएको थियो । तर, एमाले नेतृत्वले सुध्रिने लक्षण कहिल्यै देखाएन । सत्ताको घृणित खेलमा बरु काङ्ग्रेसलाई पनि उछिन्ने ढङ्गमा लाग्न थाल्यो ।
यसै सन्दर्भमा केही प्रश्न उठ्नु पनि स्वाभाविक छ – के कुनै राजनीतिक दल लामो समयसम्म बिनासिद्धान्त बाँच्न सक्छ ? के कुनै सिद्धान्तहीन पार्टी कम्युनिस्ट पार्टी कायम रहिरहन सक्छ ? स्थापना गर्दा कम्युनिस्ट पार्टी नाम राखेपछि सधैँका लागि कायम रहने धार्मिक संस्था हो र कम्युनिस्ट पार्टी ? यी सवालको जवाफ समयले मागिरहेछ । का. लेनिनले दिनुभएको महत्वपूर्ण विचार आज पनि उत्तिकै सान्दर्भिक छ – “आपूmलाई कुनै नाम दिनु एउटा कुरा हो, र साँच्चै त्यस्तो हुनु अर्कै कुरा हो ।”
गोरखापत्रको लेखमा स्वीकारोक्ति यसप्रकार दिइएको छ – “बैठक कहिल्यै नबस्ने, बेलाबेलामा आमसभा हुने केन्द्रीय समिति रोल नं. २२८ मा मेरो नाम छ रे ¤” उनी थप प्रस्ट पार्दै भन्छन् – “… फेसबुके साथीहरूले लेख्ने गरेको पोस्टबाहेक केही थाहा नपाउने केन्द्रीय सदस्यका रूपमा अहिले पनि नेपाल कम्युनिस्ट पार्टीको परिचय बोकेर उभिइरहेको छु ।” उनका यी भनाइबाट नेकपाको वास्तविक अवस्था र त्यसका केन्द्रीय सदस्यहरूको हैसियत छताछुल्ल हुन्छ । गम्भीर राजनीतिक छलफल, वैचारिक बहस, सैद्धान्तिक तर्क–वितर्क, विचारको आदान–प्रदान आदि शून्य अवस्थामा पुगिसकेको पार्टी भनेको मृत घोषणा मात्र गर्न बाँकी दल होइन र ? नीति, नेतृत्व, नेता, विधि र पद्धति नभएको पार्टी कम्युनिस्ट पार्टी कसरी कायम रहन सक्छ ? केन्द्रीय सदस्यको समेत धारणा, विचार नसुन्ने र केन्द्रीय सदस्यलाई समेत पल – पलमा अवमूल्यन् गर्ने र दासतुल्य व्यवहार गर्ने या भजनमण्डलीका रूपमा व्यवहार गर्ने दलले कसरी प्रजातान्त्रिक मूल्य, मान्यताको रक्षा गर्ला ? कम्युनिस्ट चरित्र कसरी जोगाउन सक्ला ? यी र यस्तै शङ्का, उपशङ्का, आलोचनाको घेरामा छ यतिखेर, सत्तासीन नेकपा ।
पाइला – पाइला गरी एमालेले सिद्धान्त छोड्दै गएको त्यस लेखमा यसरी स्वीकारिएको छ, “माओ त्से तुङका पाँच दार्शनिक रचनाहरू, हुनान किसान आन्दोलन छानबिन (माओ त्से तुङ), लाल किताब (माओ त्से तुङ), पढेर हामीले कोअर्डिनेसन बनाएका थियौँ । नेकपा (माले) को चाँैथो राष्ट्रिय महाधिवेशनमा हामीले माओ त्से तुङ विचारधारा छोडेर चर्को उग्रवादी सोचलाई बिदा दिएका थियौँ ।” सिद्धान्त शून्यतामा पुग्न तत्कालीन एमालेले पार्टीभित्र तयारी कसरी अगाडि बढायो र आत्मसमर्पण तथा विसर्जनको बाटो कसरी लियो भनेर यस भनाइले पनि प्रस्ट पार्छ । माओ त्से तुङ विचारधारालाई समेत चर्को उग्रवादी देख्ने दोषी नजरकै कारण आज नेकपा पँुजीवादी पार्टीमा पतन भएको हो भन्ने विश्लेषण गलत हुनेछैन । तत्कालीन ‘झापाली गुट’ को व्यक्तिहत्याको अराजकतावादी बाटोको खुलेर सैद्धान्तिक खण्डन तथा विरोध नेमकिपाले बेलैमा गरेको यहाँ स्मरणीय छ । अराजकतावादीहरूले अन्ततोगत्वा अवसरवादी तथा संशोधनवादी बाटो लिने खतरा रहनेबारे नेमकिपाले खबरदारी गरेकै थियो । नेमकिपाको आलोचना, सैद्धान्तिक विरोधप्रति समयमै गम्भीरतापूर्वक मनन नगरिइँदा आज देशको वामपन्थी आन्दोलनले ठूलो धक्का अनुभव गर्दै छ । अर्को एउटा दुर्घटना सन्निकट छ । नेकपाभित्रको पदको झगडा, गुटको जुधाइ, स्वार्थको लडाइँ, भारतीय एकाधिकार पुँजी तथा साम्राज्यवादी शक्तिलाई रिझाउने खेल देखेर जग हाँस्दै छ ¤ महामारीमा महिनौँ लामो यो झगडा माक्र्सवाद – लेनिनवाद तथा माओ त्से तुङ विचारधारालाई बलियो बनाउन, समाजवादउन्मुख नीति लागु गर्न, समाजको तल्लो वर्गको हितका निम्ति र देशमा मौलिक परिवर्तन ल्याउन भइरहेको पटक्कै होइन । यी विषयसँग यो झगडा, यो गृह कलहको कुनै साइनो छैन । तैपनि, राज्यकोषको चरम दुरूपयोग गर्दै, राज्यको ठूलो शक्ति र समय बैठकको नाउँमा बर्बाद पारिइँदै छ, त्यो पनि जनता ठूलो आपत् विपत्मा फसिरहँदा ।
का. रोहितको भनाइ यहाँ पनि सान्दर्भिक छ – “कम्युनिस्टहरू पद र पैसाका निम्ति सङ्घर्ष गर्दैनन् । तिनीहरू नाउँ कमाउन वा ठूला–बडा बन्न कम्युनिस्ट बनेका होइनन् । तिनीहरू क्रान्तिको सेवा गर्न कम्युनिस्ट बनेका हुन् ।” (खोटा विचारहरूको खण्डन) नेकपाका नेता कार्यकर्ताहरूको आजको स्थिति, मनस्थिति जगजाहेर भइसकेको छ । पार्टी निर्माणकै सन्दर्भमा लेनिनको शिक्षा आज पनि मननयोग्य छ– “हरेक परिस्थितिमा अल्झिनुभन्दा फूट झन् राम्रो छ, अल्झिनाले पार्टीको सैद्धान्तिक, विचारधारात्मक र क्रान्तिकारी विकासलाई छेकिदिन्छ, पार्टीलाई परिपक्व हुन दिँदैन… ।”
‘कान्तिपुर’ दैनिकमा गत साउन २० गते सरिता तिवारीको लेख ‘निङ्गलेन्ने कम्युनिस्टाक्की ¤’ मा शासक दल नेकपाबारे भनिएको छ – “नेपालको कम्युनिस्ट मुख्य धारसँग अब केही पनि छैन, लोगो र झन्डाबाहेक । विचार, आन्दोलन, दिशा, लक्ष्य, सपना र निरन्तर क्रान्तिको प्रण केही पनि छैन । यो नैतिक, व्यावहारिक, सैद्धान्तिक हरेक हैसियतबाट शून्यमा खसिसकेको छ । योसँगै हिँडेका मजदुर र किसान आन्दोलनहरू, महिला, दलित, मधेसी आन्दोलनहरू, भाषिक आन्दोलनहरू, सांस्कृतिक आन्दोलनहरू सबैको उत्तराधिकार र स्वामित्व यसले गुमाइसकेको छ, आफ्नै हर्कतले, आफ्नै बेइमानीले ।”
त्यस लेखमा एमाले–माओवादीको यथार्थ लेखिकाले उदाङ्गो पारेकी छन् । नेमकिपाले एमाले–माओवादी या नेकपा एउटा पुँजीवादी पार्टीमा पतन भइसकेको सैद्धान्तिक आधारका साथ र त्यस दलको सरकारका नीति, कार्यक्रम, काम तथा व्यवहारका आधारमा प्रस्ट पारिसकेको छ । भारतीय एकाधिकार पुँजीकै दलाली गरिरहेको, निजीकरण तथा उदारीकरणको आर्थिक नीति अवलम्बन गरेको, संरा अमेरिकी साम्राज्यवादको सेवा गरेको, समाजवादउन्मुख कार्यक्रम ल्याउनुको सट्टा माफिया, तस्कर, अपराधी पोस्ने कार्यक्रम ल्याएको, हिजोका पञ्चायती तथा काङ्ग्रेसी सरकारभन्दा तात्विक भिन्नता नभएको, मौलिक परिवर्तनमा कुनै चासो नदेखाएको आदि कारणहरू अघि सारेर नेमकिपाले नेकपा नाममात्रको कम्युनिस्ट तर, पुँजीपतिवर्गकै स्वार्थ पूरा गर्न तल्लिन पार्टी भनी जनताबीच प्रस्ट्याएको आज होइन । स्मरणीय छ, विदेशी पत्रकारहरूसँगको एक अन्तर्वार्तामा मनमोहन अधिकारीले ‘हँसिया हथौडा’ भनेको ‘कोकाकोला’ भैmँ टे«डमार्क मात्र भएको र ‘कम्युनिस्ट’ नाम जनताको मत बटुल्न र चुनाव जित्नकै निम्ति राखिएको बताएका थिए ।
राजनीतिक दल, अझ भनौँ वामपन्थी पार्टीमा विचलन या पतन बाजा बजाएर आउँदैन र एकै दिनमा हुने पनि होइन भन्ने शिक्षा यी प्रसङ्ग, दृष्टान्त र घटनाले प्रस्ट पार्छ । सैद्धान्तिक विचलनले पार्टी मात्र होइन, सरकारमात्र पनि होइन देश नै नरहने स्थितिमा पु¥याउँछ भन्ने ज्वलन्त उदाहरण पूर्व सोभियत सङ्घ र पूर्वी युरोपको नब्बेको दशकको दुर्घटनाबाट प्रस्ट बुझ्न सकिन्छ । सोभियत सङ्घ विशाल थियो, विघटन भयो । सोभियत समाजवादी व्यवस्था शक्तिशाली थियो, तर बिनारक्तपात अन्त्य भयो । सोभियत कम्युनिस्ट पार्टी सङ्ख्यात्मकरूपमा विश्वकै नम्बर एक राजनीतिक दल थियो र लामो समय सत्तामा बसेको पनि अनुभव थियो तर छिन्नभिन्न भयो । नेतृत्वले गलत बाटो लिएर गद्धारी गरेकै कारण र संशोधनवादी बाटो हुँदै पुँजीवाद तथा साम्राज्यवादसामु घुँडा टेकेकै कारण यी सम्पूर्ण भयङ्कर दुःखद घटना घटेका हुन् । इतिहासले यही वास्तविकता उदाङ्गो पारिसकेको छ ।
तसर्थ, मुखले समाजवाद, माक्र्सवाद भन्दै आफ्नो व्यक्तिगत लाभमा फसेर जनतालाई लात मार्नेहरू, क्रान्तिलाई धोका दिँदै पद र पैसालाई सर्वोपरी ठान्नेहरू, एनजीओ–आईएनजीओको डलर कुम्ल्याउनेहरू, भ्रष्टाचार गरी राज्यको ढुकुटी खोक्रो बनाउनेहरू, सधैँसधैँ भागबण्डाको फोहरी खेलमा रम्नेहरू, सत्ता र सरकारमा पुग्न सारा खराबीसामु आँखा चिम्लिनेहरू, यी सबैसबैको पतन पनि अवश्यम्भावी छ । सिद्धान्त तथा विचारको आधारमा नगरिएको एकताले अन्तरध्वंस निम्त्याउने तीतो यथार्थ फेरि एकचोटी उजागर भएको छ । क्रान्तिकारी एकताले नै मात्र वामपन्थी आन्दोलनको हित गर्ने वास्तविकताबारे बुद्धिजीवी तथा जनताबीच फेरि चर्चा सुरु भएको छ । लेनिनको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ – “… कुनै पनि पार्टीको कमजोरीको सबैभन्दा ठूलो प्रमाण त्यसको छिन्नभिन्नता र स्पष्ट सीमारेखाहरूको अभाव हो, पार्टी आप्mना अयोग्य सदस्य निकालेपछि बलियो हुन्छ ।”
विचारशून्यतामा हराइसकेको नेकपाका धोकेबाज तथा देश र जनताप्रति गैरजिम्मेवार अवसरवादी नेताहरूको अन्त्य पनि संसारका अन्य सिद्धान्तच्यूत तथा धोकेबाजहरूको झैँ दुःखद हुनेमा कुनै शङ्का छैन । तिनको अन्त्यमा कसैले पनि दुई थोपा आँसु समेत चुहाउने छैनन् । बरु क्रान्तिकारी विचारको निरन्तरताका लागि संशोधनवाद तथा अवसरवादविरुद्ध अझ नयाँ उत्साह एवम् तयारीका साथ सङ्घर्षमा होमिनुमा गर्वको अनुभव गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *