भर्खरै :

नेमकिपाका नेता – कार्यकर्तालाई पराजीत देशका जनतालाई जस्तो दुव्र्यवहार भयो

काठमाडौँ, ९ भदौ । तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न २०४५ साल भदौमा रचेको भक्तपुर काण्डको भत्र्सना गर्न मङ्गलबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो ।
कोभिड–१९ को महामारी फैलिरहेको अवस्थामा जारी निषेधाज्ञाका नियम पालना गर्दै अनलाइन माध्यमबाट सो कार्यक्रम आयोजना गरिएको थियो । अनलाइन कार्यक्रममा देशका विभिन्न जिल्लाका साथै विदेशमा रहेका नेपालीहरू पनि सहभागी थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०४५ सालको काण्डमा महिलाहरूले पञ्चायती सरकारले दिएको दुःखका साथै अज्ञानताको कारण पनि थप दुःख सामना गर्नुपरेको बताउनुभयो ।
उहाँले विगतबाट सिकेर अहिलेको नयाँ पुस्तालाई विद्यालयमै विभिन्न विषयको जानकारी दिनुपर्ने र त्यसको निम्ति शिक्षकहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
बिजुक्छेँले २०४५ सालको काण्डमा नेमकिपाका नेता, कार्यकर्ता र समर्थकहरूलाई राज्यले पराजीत देशका जनतालाई जस्तै हेलाहोचो र अपमान गरेको स्मरण गर्दै प्रहरीले सर्वसाधारणलाई अपमान गर्नु कानुनविपरीत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भाषालाई हतियारको रूपमा प्रयोग गर्नु गलत हो ।”
बिजुक्छेँले संरा अमेरिकामा जस्तो जातीय विभेद र हेलोहोचो नेपालमा पनि अनुभव गर्नेहरू भएको बताउँदै सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूले नेपाली भाषाको अतिरिक्त नेपालमा बोलिने अर्को एउटा भाषा पनि सिक्नुपर्ने बताउनुभयो ।
“त्यसो गर्दा सरकारी कर्मचारीहरूलाई जनताले सहजै स्वीकार्नेछन्”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सेना, कर्मचारी, गुप्तचर विभाग र सुरक्षाकर्मीलाई विभिन्न राजनीतिक विचारधाराबारे शिक्षित बनाउने कामलाई चालु राख्नुपर्नेमा जोड दिँदै उनीहरू शासक दलको चाकडीमा मात्र होइन, ऐन कानुनअनुसार जनताको सेवामा सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार पञ्चायती चुनावको उपयोग गरी जनताको सेवा गरेकोे, भ्रष्टाचारको विरोध गरेको, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेको रिसमा पञ्चहरूले नेमकिपालाई समूल नष्ट गर्न भक्तपुर काण्डको षड्यन्त्र रचेको बताउनुभयो ।
उहाँले औपचारिक शिक्षा नभएका महिलाहरूले प्रतिकूल परिस्थितिमा पनि सङ्घर्षको मैदानमा धेरै कुरा सिकेको चर्चा गर्दै महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर काण्डको समयमा नेमकिपाको सङ्गठन जहाँ जहाँ थियो, त्यहीँ त्यहीँ दमन भएको हुनाले सो काण्ड शोषित वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक विचारधारामाथिको दमन भएको बताउनुभयो ।
सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवालले भक्तपुर काण्डजस्तो दमनकारी घटना फेरि फेरि पनि दोहोरिन सकिने भएकोले आगामी दिनमा कामदार जनता सजग हुनुपर्ने बताउनुभयो । उहाँले वर्ग शत्रुप्रतिको घृणा र बदलाको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले भक्तपुर काण्डले मनमा कहिल्यै बिर्सन नसकिने घाउ छोडेर गए पनि त्यत्तिबेलाको सङ्घर्षबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
उहाँले हिजो दुःख दिने पञ्चहरू नै आज काङ्ग्रेस, एमाले र माओवादी भएर शासनको वरपर घुम्दै गरेको देख्दा प्रजातन्त्र र गणतन्त्र जनताको निम्ति आइनसकेको अनुभव हुने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले भक्तपुर काण्डको समयमा भूमिगत जीवनको अनुभव सुनाउँदै सङ्कटको बेलामा नै शत्रु र मित्रको पहिचान हुने बताउनुभयो ।
उहाँले पार्टी र जनतालाई विश्वासघात गरिसकेपछि ह्योजूलाई पार्टीविरुद्ध प्रयोग गर्नसक्नेमा पार्टी नेतृत्व पहिले नै सजग रहेको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको लागि सबै पञ्चायतविरोधी दलहरूलाई एकै ठाउँमा ल्याउन मद्दत गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका कार्यकर्ता शोभालक्ष्मी गोसाईले पञ्चायत सरकारले जेलमा परेकालाई शारीरिक र मानसिक तनाव दिएजस्तै बाहिर रहेका परिवारलाई पनि कहिल्यै बिर्सन नसकिने मानसिक चोट दिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर काण्डका भुक्तभोगी नारायणदेवी सुवालले नेमकिपा समूल नष्ट होस् भनी कामना गर्ने मानिस र राजनीतिक दलको अहिले पनि कुनै कमी नभएको बताउनुभयो ।
अर्का भुक्तभोगी राजेश्वरी प्रजापतिले सङ्घर्ष नै जनताको पाठशाला भएकोले त्यत्तिबेलाको सङ्घर्षले धेरै कुरा सिकेको र पार्टीप्रतिको विश्वास अझ दृढ बनाएको बताउनुभयो ।
अर्का भुक्तभोगी कृष्णमाया लवजूले विरोधीले घर–परिवारलाई त्रसित बनाउन अनेक झूटा प्रचार गरेको स्मरण गर्दै राजनीतिक ज्ञान र लेखपढ नजान्दा धेरै समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ पाँचाँै भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक सृजना सैंजूको सभापतित्वमा भएको कार्यक्रममा सरस्वती सिंख्वाल, देविका दनेखू, गंगा वैद्य र एलिना ताम्राकारले पनि बोल्नुभएको थियो ।
काठमाडौँ
“२०४५ भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ पञ्चायती षड्यन्त्र हो । भक्तपुर काण्डकै कारण पञ्चायती व्यवस्थाको अन्त्य भएको हो ।”
उक्त विचार पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा मङ्गलबार भएको भक्तपुर काण्डको भत्र्सना कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले जनताका राजनीतिक दलविरुद्ध प्रतिक्रियावादीहरूले गर्ने विभिन्नखाले षड्यन्त्रको विरुद्ध कानुनी र गैरकानुनी सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ वकिल, राजनीतिज्ञ, मानव अधिकारवादीहरूले पञ्चायती षड्यन्त्रको विरोधमा कानुनी सङ्घर्ष गरेको उल्लेख गर्दै उहाँले भक्तपुरलगायत देशभरका नेमकिपाका कार्र्यकर्ताहरूले गरेको गैरकानुनी सङ्घर्ष स्मरणीय छ भन्नुभयो ।
“नेमकिपाले लेनिनवादी शिक्षाअनुरूप प्रतिक्रियावादी सङ्घसंस्थामा प्रवेश गरी देश र जनताको सेवा गरेको थियो । देश र जनताको सेवा गरेकै कारण राष्ट्रिय राजनीतिमा सही विचार राख्ने पार्टीको उदयलाई रोक्न भक्तपुर काण्ड रचेर पार्टी नष्ट गर्ने असफल प्रयास गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताले जेलमा पनि उदाहरणीय काम गरे”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा पञ्चायत समाप्त भएको र जनताको जीत भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले नेमकिपाको तत्कालीन वर्ग शत्रु पञ्चायती सामन्ती व्यवस्था थियो, पार्टीले देश र जनताको पक्षमा लिएको विचार पञ्चायती तानाशाहीको लागि आँखाको कसिङ्गर बनेको बताउनुभयो ।
उहाँले प्रतिक्रियावादीहरूले समाजवादी विचार अन्त्य गर्न नेमकिपालाई समूल नष्ट गर्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले भक्तपुर काण्डको बेला भक्तपुरका जनताले भोगेको दुःख कष्टबारे उल्लेख गर्दै पार्टीको इतिहासलाई थप मजबुत र दिगो बनाउन महिला र किसानहरूलाई सचेत र सतर्क पारेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिका सीता प्रजापति, राजवीर डंगोलले पनि पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको स्मरण गर्दै भत्र्सना गर्नुभएको थियो ।
बासुमा गोष्ठी
भक्तपुर काण्डको भत्र्सनामा बासु माध्यमिक विद्यालयको आयोजना मङ्गलबार अनलाइन प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बासु मावि व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले काडमाडौंँ उपत्यकामा भित्रभित्र सक्रिय नेपाल मजदुर किसान पार्टी पञ्चायती व्यवस्थाको ‘मुटुमा गढेको काँडा’ बनेको कारण नेमकिपाविरुद्ध षड्यन्त्र गरेको बताउनुभयो ।
उहाँले नेमकिपा तत्कालीन सत्ताविरोधी सङ्घर्षको अग्रमोर्चामा रहेको भन्दै पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरू नै नेमकिपाको भ्रष्टाचारविरोधी आन्दोलनको तारो बनेका कारण नेमकिपालाई ज्यान मुद्दामा फसाएको उल्लेख गर्नुभयो । उहाँले २०३७ सालमा भएको जनमत सङ्ग्रहमा बहुदल पक्षमा सबभन्दा बढी मत (प्रतिशतमा) भक्तपुरमै खस्दा पञ्चायती व्यवस्थालाई निकै ठूलो धक्का लागेको उल्लेख गर्दै नगर पञ्चायतले चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङलगायतका क्रान्तिकारीहरूको जीवनी पुस्तक प्रकाशित गर्नु पञ्चायती व्यवस्थाको निम्ति चुनौती भइरहेको धारणा राख्नुभयो ।
बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईले भक्तपुर काण्डकै कारण भक्तपुरका जनता पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा प्राणको आहुति दिन तयार भएको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर काण्डले महिलालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक रविलाल प्रधान, शिक्षकहरू विष्णुप्रसाद दुमरु, सुनिता घटुवा, रामहरि ताम्राकार र सूर्यलक्ष्मी बासुकलालगायतले बोल्नुभएको थियो ।
ज्ञानकुञ्जमा भेला
भक्तपुर नपा वडा नं १ ज्ञानकुञ्ज टोलका युवाहरूको सोमबार भेला भयो । २०४५ साल भदौ ९ गतेको भक्तपुर काण्डको भत्र्सना गर्न सो भेलाको आयोजना गरिएको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले भक्तपुर काण्डबारे चर्चा गर्दै नेमकिपालाई समूल नष्ट गर्न पञ्चायत राज्यस्तरबाट सो षड्यन्त्र रचिएको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डको इतिहासबाट सिकेर नयाँ पुस्तालाई क्रान्तिकारी विचारबाट शिक्षित बनाउनुपर्ने बताउनुभयो ।
भेलामा भक्तपुर नपा वडा नं १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर काण्डको समयमा महिलाहरूले खेलेको भूमिकाबारे चर्चा गर्दै महिलाहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सूर्यप्रसाद श्रेष्ठ, कृष्णप्रसाद दुमरु, राजन कोजू, जीवनकुमार जोशी, रामगोपाल बमनु, लक्ष्मण सुवाललगायतले बोल्नुभएको थियो ।
बारा
कलैयामा भदौ ९ को भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गरियो ।
नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बारा जिल्ला समितिका अध्यक्ष मुक्तिप्रसाद यादवले ०४५ सालमा नेमकिपालाई नष्ट गर्न षड्यन्त्र गर्दा पञ्चायती व्यवस्था स्वयम् अन्त भएको बताउँदै प्रतिक्रियावादी शासकहरूले फेरि फेरि पनि षड्यन्त्रको जाल बुन्नसक्ने हुँदा पार्टी कार्यकर्ताहरू सचेत र सजग रहनुपर्छ भन्नुभयो ।
उहाँले कृषिप्रधान देशमा कथित कम्युनिस्ट पार्टीको सरकार हुँदा पनि रासायनिक मल र उन्नत बीउबिजनको अभाव भएको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रका किसानहरूले बाध्य भएर सीमापरिबाट २–४ बोरा मल ल्याएकोलाई अपराध मानी दुःख दिने प्रहरी प्रशासनको व्यवहार बन्द हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका जुबेर अन्सारी, शुभरत्न श्रीवास्तव, रवीन्द्र यादव र विजय यादवले पनि बोल्नुभएको थियो ।
कैलाली
कैलालीमा भदौ ९ को काण्डको भत्र्सनामा अनलाइन गोष्ठी भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती व्यवस्थाले २०४५ सालमा षड्यन्त्र गरेको चर्चा गर्दै पानीमा खेल्ने पानीमै, आगोमा खेल्ने आगोमै सकिएजस्तै पञ्चायत पनि नेमकिपाविरुद्धको षड्यन्त्रकै कारण समाप्त भएको बताउनुभयो ।
नेमकिपा कैलालीका कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुनले भक्तपुर काण्डमा महिलाहरूले गरेको सङ्घर्षको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार चुनावको उपयोग गरी पञ्चायती विकृतिको विरोध गरेको हुनाले पञ्चायती व्यवस्थाले षड्यन्त्र गरेको बताउनुभयो ।
कार्यक्रम नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको थियो ।
वागीश्वरीमा प्रवचन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको भत्र्सनामा मङ्गलबार शिक्षक तथा कर्मचारीबीच जुम बैठक गरी नेपाल प्राध्यापक समाज र नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिले मङ्गलबार स्मरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले ईसापूर्व ६४ मा नीरोले रोममा भएको आगलागीको दोषारोपण लगाई अल्पसङ्ख्यक क्रिश्चियनमाथि दमन गरेको घटना उल्लेख गर्दै पञ्चायती व्यवस्थाले नेमकिपाका नेता कार्यकर्तालाई ज्यानमुद्दामा फसाएको बताउनुभयो ।
उहाँले हिटलरले सन् १९३३ फेब्रुअरीमा संसद् भवनमा आगलागी गराई दोष कम्युनिस्टहरूमाथि थोपरी दमन गरेको भन्दै अमेरिकी साम्राज्यवादले आफैले आतङ्कवादीहरूलाई उकासी ट्वीनटावर ध्वस्त गरेको नाममा युद्ध लादेजस्तै नेमकिपामाथि दमन गरेको प्रस्ट पार्नुभयो ।
उहाँले प्रतिक्रियावादी सङ्घसंस्थाभित्र घुसी प्रतिक्रियावादको विरोध गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायती व्यवस्थाभित्र गई विभिन्न तवरबाट पञ्चायतको विरोध गर्दा पञ्चायती व्यवस्था कोपभाजनमा परेको विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपाको निर्देशनमा भक्तपुर नगरपालिकाले माओ र स्तालिनका जीवनी प्रकाशन गर्दा पञ्चायती मण्डलेहरूलाई सह्य नहुँदा नेमकिपाविरुद्ध खनिएको धारणा राख्नुभयो । उहाँले नेमकिपाले गरेका जनपक्षीय कार्य शासकहरूका निम्ति सह्य नभएको भन्दै सडक र सदनमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्ने नेमकिपाबाहेक कोही नभएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालनका लागि उतिबेलै स्वीकृति दिएको भए आज हाम्रा विद्यार्थी देशका हरेक कुनाकाप्चामा पुगी जनताको उपचारमा जुटिरहेका हुन्थे भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भक्तपुर काण्डमा २७ जना शिक्षकहरूसहित ६७ जनालाई पञ्चायती व्यवस्थाले ज्यानमुद्दामा फसाएको स्पष्ट गर्नुभयो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन चौगुठी र विश्वेश्वरप्रसाद मानन्धरले पनि भक्तपुर काण्डबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *