भर्खरै :

संसदीय राजनीतिमा ‘कम्युनिस्ट’ नेकाजस्तै गिरे !

काठमाडौं, ९ भदौ । नेपालको संसदीय राजनीतिमा असली प्रतिपक्षबारे अझै केही भ्रम बाँकी छन् । कोही प्रमुख प्रतिपक्षी नै असली प्रतिपक्ष भएको दाबी गर्छन् । नेपाली काङ्ग्रेस, एमाले र माओवादी पालैपालो प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरेका पार्टी हुन् । तर, ती कुनै पनि पार्टीले असल प्रतिपक्षीको भूमिका निर्वाह गरेनन् । सरकारको नीति तथा कार्यक्रम सत्ता र प्रमुख प्रतिपक्षीको सहमतिमा पारित भएको इतिहास लेख्नेहरू कसरी असल प्रतिपक्ष हुनसक्छन् ?
कोही नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई सँगै जोडेर असली प्रतिपक्ष बताउँछन् । तर, यी दुई पार्टीको संसदीय राजनीतिबारे दृष्टिकोण फरक देखिन्छ । नेमकिपाले संसद्को क्रान्तिकारी उपयोग गर्दै आएको छ । नेपालको राजनीतिमा निर्वाचनलाई प्रयोग गरी देश र जनताको सेवा गर्ने नीति लिएको पहिलो पार्टी नेमकिपा नै हो । पञ्चायती निर्वाचनलाई उपयोग गर्न अहिलेको नेकपाभित्रको माले, माओवादीसमेत चुकेका थिए । राष्ट्रिय जनमोर्चाले निर्वाचनमा एमालेबाट वा हालको नेकपासँग संयुुक्त मोर्चा गरी संसद् र स्थानीय तहमा केही स्थान सुरक्षित गरेको हो । संविधान घोषणापछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् तत्कालीन सांसद चित्रबहादुर केसी एमाले – माओवादीको संयुक्त सरकारमा सामेल भई मन्त्री बनेका थिए ।
कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् । सरकारमा गएर कर्पाेरेटहरूको सञ्चालक समिति हुनेहरू कम्युनिस्ट हुनसक्दैनन् । यसकारण पुँजीवादी सरकारमा जानेहरू असल प्रतिपक्ष होइनन् । मौका नपाएसम्म इमानदार हुनेहरू कम्युनिस्ट हुँदैनन् । चुनाव जित्न पुँजीवादी पार्टीसँग संयुक्त मोर्चा गर्नु कम्युनिस्टको चरित्र होइन ।
नेकालाई भारतपरस्त, सामन्त एवम् पुँजीपति वर्गको पार्टी भनी विरोध गरेका एमाले र माओवादीका नेताहरू बहुदल र गणतन्त्रमा नेकासँग मिलेर पटक–पटक सरकारमा गए । अहिले एमाले र माओवादीका ‘नेकपा’का नेताहरू एकआपसमा ‘कर्पाेरेटबाट सञ्चालित’ भनी आरोप–प्रत्यारोप गर्दै छन् ।
केही दिनअघि नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रम केपी ओलीलाई सेना र प्रहरीका हतियारका ठेकेदार, त्रिशुली जलविद्युत्का एजेन्ट एवम् रक्सी व्यापारी दीपक भट्टलगायत माफियासँग सम्बन्धित बताए । ओली गुटको आङछिरिङ शेर्पासँग सम्पर्क रहेको अगाडि नै सार्वजनिक भएको हो । त्यसो त दाहाल स्वयम् नगरकोट सडक, कृषि मल, मेलम्ची खानेपानी आयोजनाका खराब ठेकेदार शैन्लुन कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीका घरभेटी हुन् । यसले नेपाल कम्युनिस्ट पार्टी दाबी गरी चुनावमा धेरै स्थान लिएर सरकारमा पुगेकाहरू असली कम्युनिस्ट र प्रतिपक्ष नभएको पुष्टि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *